शेर्पा सिरिज ९ः सगरमाथाको शेर्पा साइनो

आदिम कालदेखि नै हिमाली भूभागमा बसोबास गर्ने शेर्पा जातिले विभिन्न देवीदेवताहरूको पूजाआजा गर्दै आएका छन् । ती देवीदेवताहरूमध्ये क्ष्योमोलाङमा पनि एक हो । हिमाली भेगमा दिर्घयुका पञ्चहिमाली देवीहरू टाशी छिरीङमा, थिङकी स्यल्सङमा, चोपेन डिसाङमा, तकर डोसाङमा र क्ष्योमो मियो लाङसाङमा रहेका छन् । यिनीहरूलाई छेरिङ चेङा भनिन्छ । यिनीहरूको शेर्पा समुदायमा काङसो पूजा हुने गर्दछन् भने यिनीहरूले आ–आफ्नो आर्शीवाद दिने विश्वास गरिन्छ । पञ्चकन्या देवीहरूमध्ये कान्छी देवीलाई क्ष्योमो मियो लाङसाङमा भनिन्छ । च्योमो मियो लाङसाङमाले खाद्यान्न उपलब्ध हुने आर्शीवाद दिने विश्वास गरिन्छ । यी देवीको बासस्थानलाई क्ष्योमोलाङमा भनिन्छ । क्ष्योमोलाङमा शब्दको अपभ्रंश क्ष्योमोलोङमा÷ज्योमोलाङमा हो ।

शेर्पाहरूले आदिम कालदेखि नै छेरिङ चेङको पूजा गर्दै आएका छन् । विश्व इतिहासमा सन् १८०९ देखि हिमालहरूको उचाई नाप्ने कार्य सुरु भयो । हिमालहरूको उचाइ मापनको क्रममा सर्वप्रथम धौलागिरी (८१७२ मि) विश्वको अग्लो हिमाल भनिएको थियो । फेरि सन् १८४८ मा कञ्चनजङ्घा हिमालको उचाइ नापियो । जसको उचाइ ८,५८६ मिटर थियो । यसको उचाइ धौलागिरि हिमालको भन्दा अग्लो हुन आयो र संसारको अग्लो चुचुरो भनिएको थियो । यसरी हिमालहरूको नाप लिने क्रममा १४ ओटा हिमालको मापनपछि क्ष्योमोलाङमा हिमाल १५ स्थानमा मापन गरे । जसको उचाइ ८८४८ मिटर (२९०२८ फिट) हुन आयो । सन् १८५२ मा क्ष्योमोलाङमा नै संसारको अग्लो शिखर भन्ने ठहर भयो । त्यसपश्चात् यस हिमालको नाम रोमन सङ्केतमा पिक फिप्टिन् (पन्ध्रौं पर्वत) प्रदान गरियो । क्ष्योमोलाङमाको मापन बेलायतका सर्वेक्षणकर्ता जर्ज एभरेष्टले गरेका थिए । सन् १८६५ मा भारतका सर्वेयर–जनरल सर एन्ड्रयु बाघले जर्ज एभरेष्टको स्मरणमा पन्ध्राँै पर्वत (चुचुरो)को नाम माउण्ट एभरेष्ट राखिदिए ।

लेखक सेर्कु शेर्पा ।

त्यसैगरी वि.सं. २०१३ तथा सन १९५६ मा इतिहास शिरोमणि बाबुराम आचार्यले माउण्ट एभरेष्टलाई नेपाली न्वारान गरी यस पर्वतको नाम सगरमाथा राखिदिएका हुन् । उनले यस पर्वतको नेपाली नाम शारदा नामक पत्रिकामार्फत प्रकाशन गरेका थिए । हिमाली भूभागमा बसोबास गर्दै आएको शेर्पा समुदायले यसलाई क्ष्योमोलाङमा भनेर सम्बोधन आदिमकालदेखि नै गर्दै आएको हुनाले विश्वको सर्वोच्च शिखरको ऐतिहासिक नाम क्ष्योमोलाङमा, मापनपछिको नाम पिक १५, जर्ज एभरेष्टको स्मारणमा राखिएको नाम माउण्ट एभरेष्ट र नेपालीमा सगरमाथा रहेको छ ।

सर्वप्रथम सन् १९५३ मे २९ तारिख (१६ जेठ २०१०) को दिन सगरमाथाको शिखरमा बिहान ११ः१५ बजे नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पाइला टेकेका थिए । यसरी सगरमाथा आरोहण गरेको समाचार जुन २ मा बेलायतमा र जुन ३, १९५३ मा नेपालमा प्रकाशन भएको थियो । बेलायतलगायत अन्य विकासित राष्ट्र तथा नेपालमा पनि सगरमाथा आरोहणको व्यापक चर्चा भयो । यसपश्चात् पर्यटन विभागबाट प्रकाशन गरिएको प्रतिवेदन जुन २०१८ अनुसार सन् २०१७ सम्ममा विश्वभरिका ३५६ जना महिलाहरूले हालसम्म सफलतापूर्वक सगरमाथाको आरोहण गरिएका छन् । त्यसैगरी विश्वभरिका ५,३०४ जना पुरुषहरूले सगरमाथाको सफलतापूर्वक आरोहण गरेका छन् । सन् २०१८ को वसन्त ऋतुसम्ममा नेपाल पर्यटन बोर्डबाट विभिन्न देशका पुरुषहरू ७८८ जनाले परमिट लिए पनि ५११ जनाले मात्र आरोहण गरेका छन् । त्यसै गरी विभिन्न देशका महिलाहरू ६७ जनाले परमिट लिए पनि ५२ जनाले सफलतापूर्वक सगरमाथाको आरोहण गरेका छन् ।

शेर्पाहरू आरोहण दलको सहयोगीमा जानुअगाडि बौद्ध धर्म गुरुकहाँ गई चन्द्र पात्रोअनुसार साइत हेर्ने चलन छ भने घरमा क्ष्योमोलाङमा आरोहणमा बिघ्नबाधा नआउन भनी लामा आमन्त्रण गरी पूजा गर्ने परम्परा छ । सगरमाथाको आधार शिविरमा पुगेपछि पनि आफ्नो आरोहण दलका सम्पूर्ण सदस्यहरूको साथमा बौद्ध धर्म गुरु आमन्त्रण गरी पर्वतारोहण सफलताको लागि च्योमो मियो लाङसाङमाको पूजा गर्ने र शेर्पा समुदायको परम्परागत श्याब्रु नृत्य गर्ने चलन छ । यसरी पूजा गर्दा हिमालमा भएका देवीदेवताहरू खुसी हुने र पर्वतारोहण कार्य सफल हुने विश्वास गरिन्छ । त्यति मात्र होइन, शेर्पाहरूले सम्पूर्ण हिमाललाई देवीदेवताको रूपमा सदैव पूजा गर्ने परम्परा छ । साथै शेर्पा समुदायको सघन बस्ती भएको कुनै पनि गाउँहरूमा पशुबली निषेधित गरिएको हुन्छ । आदिम कालदेखि नै सगरमाथा क्षेत्रमा पशुहरू काटमार गर्ने चलन छैन भने त्यो क्षेत्रमा बसोबास गर्ने शेर्पाहरूले क्ष्योमोलाङमाको पूजा गर्दै आएका छन् । यी सम्पूर्ण आधारहरूले के पुष्टि गर्दछ भने सगरमाथाको एतिहासिक नाम क्ष्योमोलाङमा रहेको प्रष्ट हुन्छ । यसरी शेर्पाहरूले पर्वतारोहणबाट नेपाललाई विश्वसामु चिनाउन सफल र सक्षम भएको छ ।

हाल सगरमाथाको उचाई ८८४८.८६ मिटर प्रमाणित भएको छ ।


(नेपालनाम्चाले सुरु गरेको शेर्पा इतिहास, संस्कृति, उसको शान, सम्मान र संघर्षको गाथाकथा समेटिने ‘शेर्पा सिरिज’को नवौ श्रृंखलामा शेर्पा इतिवृत समेटिएको युवा लेखक शेर्पाको पुस्तक ‘शेर्पा समुदायको मौलिक पहिचान’ बाट केही सम्पादनसहित यो लेख साभार गरिएको छ । शेर्पा सेरोफेरोसँग जोडिएका कुनै पनि सामाग्री आफ्नो स्पस्ट परिचयसहित नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाई तपाईं पनि ‘शेर्पा सिरिज’को अभिन्न हिस्सा बन्न सादर अनुरोध छ । सम्पादक, नेपालनाम्चा)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button