
आहा ! साँखु, बज्रयोगिनी मन्दिर र मणिचुड दह
केशवराज आचार्य
सिभिल ईन्जीनियर
काठमाडौं जिल्लाको उत्तर पूर्व शंखरापुर नगरपालिकामा रहेका साँखु शहर, बज्रयोगिनी मन्दिर तथा मणिचुड दह प्रकृतिका मनमोहक अवयवहरु हुन् ।
काठमाडौंको मुटुबाट करीब १८ किमिको दूरीमा साँखु शहर रहेको छ । साँखुबाट उत्तर बज्रयोगिनी मन्दिर परिसर करीब दुई किलोमिटरको दूरीमा तथा बज्रयोगिनी मन्दिर परिसरबाट अझै उत्तर मणिचुड पर्वत करीब चार किलोमिटरको दूरीमा रहेका छन् ।
साँखुबाट मणिचुडसम्म गाडी चल्ने सडक भएता पनि पैदल यात्रा वा साईक्लिङका सौखिनहरुका लागि आउन र जान गरेर करीब पाँच घन्टा लाग्ने बाह्र किलोमिटरको दूरी निकै रोमाञ्चकताले भरिने खालको रहेको छ । साँखुबाट जंगल बीचमा ढुँगा ओच्छाइएको सिंढी चढेर बज्रयोगिनी मन्दिर परिसर पुग्न सकिन्छ । बज्रयोगिनी मन्दिर परिसरबाट ठाडो उकालो चढेपछि तामाङहरुको बस्ती घुमारचौर, नार्गाजुन शिवपुरी राष्ट्रिय निकुञ्जको शाखा कार्यालय, वनदेवी माध्यमिक विद्यालय हुँदै खुल्ला चौरको नजिकै रहेको सुन्दर र शान्त मणिचुड (२,०३० मिटर) दह पुगिन्छ । मणिचुडबाट दक्षिण पश्चिम लागे सुन्दरीजलको मूलखर्क, ओख्रेनी हुँदै तारेभीर, नागी गुम्बा, बाघद्वार, शिवपुरी पिक, विष्णुद्वार, पानी मुहान, गुर्जेभञ्ज्याङ पुग्न सकिन्छ भने पूर्व उत्तर लागे झुले हुँदै चौकी भञ्ज्याङ, भोटेचौर वा हैबुङ, चिसोपानी, हेलम्बु, गोसाईकुण्ड लगायतका ठाउँ पुग्न सकिन्छ ।
काठमाडौं उपत्यकाको मुख्य जलाधार क्षेत्रका रुपमा परिचित शिवपुरी निकुञ्ज क्षेत्र भित्र रहेको तथा चारैतिर डाँडाले घेरिएको मणिचुडमा कमण्डलु आकारको दह रहेको छ, जसलाई मणिचुड दहका नामले चिनिन्छ । विविध वनस्पतिले भरिएको प्राकृतिक जंगल, विविध प्रजातिका जलचर तथा थलचरको साझा घर शिवपुरी नागार्जुन निकुञ्ज जैविक विविधताले भरपूर छ ।
यस मणिचुड दहको नजिकै स्तुप, शिव–पार्वती मन्दिर, सानो पाटी र खुल्ला चौर रहेका छन् । मणिचुड दह क्षेत्रमा जनै पूर्णिमाका दिन मेला लाग्ने गर्दछ । मणिचुडलाई पौराणिक कालमा मृगेन्द्र पर्वत भनेर चिनिन्थ्यो । दह रहेको स्थानमा बज्रयोगिनी देवी खेल्न आउने गरेको तथा उनी खेल्दाखेल्दै उनको कमण्डलु खसेकाले कमण्डलु आकारको दह उत्पत्ति भएको भन्ने विश्वास रहेको छ ।
१६ औं शताब्दीमा राजा प्रताप मल्लले बनाएको बज्रयोगिनी मन्दिर हिन्दू र बौद्ध धर्मावलम्वीको साझा तीर्थ हो । नेवारको इष्ट देवता समेत मानिने आगोको रश्मीबाट उत्पन्न भएको हुनाले बज्रयोगिनी देवीलाई उग्रताराको रुपमा पनि पूजा गर्ने गरिन्छ । चैत्र पूर्णिमादेखि एक साता बज्रयोगिनी जात्रा मनाइन्छ । जात्रा हुँदा मुख्य मन्दिर भन्दा माथि रहेको घरमा बज्रयोगिनीलाई राख्ने चलन रहेको छ ।
शंखरापुर भनेर चिनिने काठमाडौं उपत्यकाको सबैभन्दा प्राचिन बस्ती साँखुलाई बज्रयोगिनी मन्दिरका पुजारी जोगदेव बज्राचार्यले शंख आकारमा बसालेका थिए । देवतै देवताको शहर साँखुमा शाली नदी, महादेव, स्वस्थानी, गणेश, नागनागिनी, हनुमान, बद्रीनाथ, वासुकी, माधवनारायण आदिका मूर्ति तथा मन्दिर रहेका छन् । प्राचिनकालमा साँखु तिब्बत ल्हासा व्यापारको प्रवेशद्वार पनि रहेको थियो । राजकुमारी भृकुटीको बज्रयोगिनीमा स्वयंवर गराएर मात्र भोट लगिएको विश्वास गरिन्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)