शेर्पा सिरिज ८ः आहा ! शेर्पा सङ्गीत, नृत्य र कला

बाजा
मानव सभ्यताको विकास सगसंगै आ–आफ्नो समुदाय अनुसार बाजाहरूको विकास गरेको पाइन्छ । शेर्पा समुदायको पनि अन्य समुदायहरूको जस्तै विभिन्न बाजागाजाहरू प्रयोगमा रहेका छन् । शेर्पा समुदायमा धार्मिक र संस्कृति गरी दुई प्रकारका बाजाहरू प्रयोगमा रहेका छन् ।

धार्मिक बाजा
हिमाली तथा उच्च पहाडी भेगमा बसोबास गर्ने शेर्पा समुदायले कुनै पनि धार्मिक पूजापाठ गर्दा प्रयोग गर्ने बाजागाजालाई धार्मिक बाजागाजा भनिन्छ । शेर्पा समुदायले परम्परागत रुपमा प्रयोग गर्दै आएका धार्मिक बाजाहरु दोर्जे ठिल्बु, धोमर, च्योन्दर, ग्यालिङ, बुक्श्यल, सङदुङ, सिलीञेन, ङ, खर्ङङ, कङलिङ, तिङ्श्य, तुङ आदि रहेका छन् । परम्परागत रुपमा शेर्पा समुदायले महायान बौद्ध धर्मको ङिङ्मा प्ररम्पराको धार्मिक विधि अवलम्बन गर्दछ ।

साँस्कृतिक बाजा
शेर्पा समुदायले आफ्नो संस्कृतिमा प्रयोग गर्ने बाजागाजालाई शेर्पा संस्कृति बाजाहरु भनिन्छ । शेर्पा समुदायले आफ्नो संस्कृतिमा प्रयोग गर्दै आएका बाजागाजाहरु ड्रङेन (टुङना), लिङ्फु (बाँसुरी), ग्युमङ÷याङक्षेन (सोङथोर), पिवाङ (हिमाली साराङ्गी) आदि हुन् । यी बाजाहरू शेर्पा सांस्कृतिक नृत्यहरूमा तथा परम्परागत गीतहरूमा प्रयोग हुन्छ ।

ड्रङेन (टुङना)
हिमाली भूभागमा बसोबास गर्नेसम्पूर्र्णले प्रयोग गर्ने बाजाको नाम ड्रङेन (टुङना) हो । यो विभिन्न आकारप्रकारको रहेको छ । शेर्पा जातिले प्रयोग गर्ने ड्रङेनमा छओटा तार हुन्छ । यो बाजालाई शेर्पा जातिको चिनारी भनेर पनि चिनिन्छ । यो बाजा शेर्पा जातिको परम्परागत नृत्य श्याब्रु गर्दा बढी प्रयोग गरिन्छ ।

लुमु (बाँसुरी)
शेर्पा जातिले प्रयोग गर्ने अर्र्कोे बाजा बाँसुरी हो । यो बाजा शेर्पा जातिको लोकगीतहरूगाउँदा प्रयोग गरिन्छ । विशेष गरी हिमाली भेगमा पशुपालन गर्नेहरूले यो बाजाको प्रयोग गर्दछन् ।

पिवाङ (हिमाली सारङ्गी)
पिवाङ पनि एक महत्त्वपूर्ण शेर्पा जातिको बाजा हो । यो बाजाको प्रयोग लोकगीत तथा श्याब्रु गर्दा बढी प्रयोग गरिन्छ । यो बाजा अन्य सारङ्गीभन्दा फरक हुन्छ । त्यसैले यसलाई हिमाली सारङ्गी भनिन्छ ।

लेखक सेर्कु शेर्पा ।

ग्युमङ-याङक्षेन (सोङथोर)
शेर्पाहरूले प्रयोग गर्ने अर्र्कोे महत्त्वपूर्ण बाजा सोङथर हो । यसलाई ग्युमङ अथवा याङक्षेन भनिन्छ । यो बाजाको प्रयोग प्रायः गरी स्वागत नृत्य, शेर्पा लोकगीत तथा श्याब्रु नृत्यमा प्रयोग गरिन्छ ।

कर्ङाङ
शेर्पा समुदायले परम्परागत रूपमा प्रयोग गर्ने अर्र्कोे महत्त्वपूर्ण बाजा कर्ङाङ हो । यो बाजा निगालोबाट बनाएको हुन्छ । यस बाजा शेर्पा जातिको लोकदोहोरी तथा नादिङ गीतहरूमा प्रयोग गरिन्छ । हाल यो बाजा लोप भइसकेको छ ।

बच्छे बाजा
बच्छे बाजा पनि शेर्पाहरूले प्रयोग गर्ने बाजामध्ये एक हो । यो बाजा प्रायःजसो नादिङ तथा लोकदोहोरी गीतहरूमा प्रयोग गरिन्छ । तर यो बाजा पनि हाल शेर्पा समुदायबाट लोप हुन लागेको छ ।

कला
प्राचीन कालदेखि नै शेर्पाहरू हिमाली तथा उच्च पहाडी भू–भागमा बसोबास गर्दै आएका छन् । उनीहरूको कला पनि हिमाली भूगोल अनुकूल नै रहेको छ । शेर्पा समुदायले आदिम कालदेखि नै सम्भोटा लिपि प्रयोग गर्दै आएका छन् । त्यसैले शेर्पा समुदायको सम्पूर्ण कलामा लिपिको प्रयोग सम्भोटा नै गरिन्छ । तर हाल देवनागरी लिपि पनि प्रयोग हुन थालेको छ । शेर्पाहरूको परापूर्व कालदेखि नै गीत, सङ्गीत, चलचित्र, नृत्य, साहित्य कला र हस्तकला आदि कलाहरू रहेका छन । यी कलाहरूको आ–आफ्नो विशेषता रहेका छन् ।

गीत–सङ्गीत
शेर्पा समुदायको प्राचीन कालदेखि नै आफ्नो भाषामा गीतहरू रहेका छन । विगतमा ती गीतहरू कुनै पनि लिखित रूपमा थिएन । कुनै पनि धार्मिक तथा सामाजिक चाडपर्वहरूमा भेला भए पछि सामूहिक रूपमा गीतहरूमा रमाइलो गर्ने परम्परा छ । यसरी रमाइलो गर्दा गीत एकबाट अर्कामा सिकिन्छ । यो प्रकृयाले गीतहरू लोप हुनबाट बचाउन महत्वपूर्ण टेवा पुग्दछ ।

शेर्पाहरूको विभिन्न गीतहरू स्वागत गीत, रमाइलो गर्दा गाउँने गीत, भेट हुदाँ गाउने गीत, बिछोड हुँदा गाउने गीत साथै शेर्पा नादिङ आदि रहेका छन् । यिनीहरूलाई विभिन्न नामले चिनिन्छ । जस्तै ः गदेन, यिठु, श्योर्के, श्याब्रु लु, गलु, ठलु, जलु, क्योलु आदि । कुनै पनि धार्मिक कार्य सकेपछि धर्म गुरुहरूलाई धन्यवाद तथा बिदाइको निम्ति गाउँने गीतलाई गदेन वा यिठु भनिन्छ । विभिन्न चाडपर्व, विवाहजस्ता महिला तथा पुरुषलाई स्वागत, बिदाइ तथा धन्यवादस्वरूप गाउने गीतलाई श्योर्के भनिन्छ । श्योर्के धार्मिक तथा सामाजिक कार्यहरूमा गाइन्छ । विवाह तथा दाइजोमा श्योर्के गाउँदा बुबा, आमा, मामामाइजू, दाजुभाइ, दिदीबहिनी र आफन्तहरूका निम्ति गाउने गीत फरक फरक हुन्छन् । दाइजोमा गाउने गीतलाई लारी लु भनिन्छ । विभिन्न सामाजिक चाडपर्वहरूमा सामूहिक रूपमा आ–आफ्नो ठाँउमा बसेर आनन्द मुद्रामा गाउने गीतलाई ठलु भनिन्छ । सामूहिक रूपमा काँध मिलाएर नृत्य गर्दै गाउने गीतलई श्याब्रु लु भनिन्छ । यसै गरी युवा युवतीहरूले शेर्पा भाषामा गाउने लोक दोहोरी गीतलाई जलु भनिन्छ । कुनै पनि व्यक्तिले बिछोडको समयमा अथवा परिवारबाट टाडिएर एक्लै घरमा हुँदा मनको दुःख व्यक्त गर्ने गीत गाउँछ । यसलाई क्योलु भनिन्छ । त्यसै गरी धार्मिक तथा सामाजिक चाडपर्वमा शेर्पाहरूले सामूहिक रूपमा नेपालीमा गीत गाएर रमाइलो गर्ने चलन छ । यसलाई शेर्पा नादिङ गीत भनिन्छ ।

कतिपय गीतहरू लिखित छन् भने कतिपय गीतहरू अलिखित छन् । विगतमा शेर्पा समुदायको बसोबास क्षेत्रमा शेर्पा मात्र भएको हुनाले यी सम्पूर्ण गीतहरूको क्रमिक रूपमा विकास भएको पाइन्छ । तर आधुनिकता तथा अन्य समुदायसँगको सङ्गतका साथै सन् १९५० पश्चात् पर्यटन उद्योगमा शेर्पाहरू काम गर्न थालेपछि विस्तारै गीतहरू लोप हँुदै गएको पाइन्छ । हाल भाषाको युवा पुस्तामा विकास तथा संरक्षणको खातिर महायान बौद्ध धर्मावलम्बीहरूको नयाँ वर्ष तथा राष्ट्रिय पर्व लोसारको उपलक्ष्यमा हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले वरिष्ठ हास्यव्यङ्ग्य कलाकार स्व.साम्दे शेर्पाको स्मृतिका शेर्पा भाषाको वक्तृत्वकला प्रतियोगिता तथा शेर्पाहरूको परम्परागत गीत श्याब्रुको विकासको लागि श्याब्रु प्रतियोगिता आयोजना गर्दै आएको छ । जहाँ सम्पूर्ण शेर्पाहरूले भाग लिन पाउँछन् । यसरी नै विभिन्न शेर्पाहरू बसोबास गरेको जिल्लाहरूमा पनि श्याब्रु प्रतियोगिता त्यस जिल्लाका शेर्पा किदुगहरूले आयोजना गर्दै आएका छन् । त्यसै गरी शेर्पा सङ्गीतकर्मीहरूले शेर्पाहरूको नादिङ तथा श्याब्रु गीतहरूको दर्जनौँ एल्बमहरू निकालेका छन् । यसरी हाल शेर्पा गीतहरूमा गदेन, यिठु, श्योर्के, श्यब्रु लु, नादिङबाहेक अन्य गीतहरू ठलु, जलु र क्योलु लोपोन्मुख अवस्थामा पुगेका छन् । यी गीतहरू सीमित उमेर समूहले मात्र गाउन सक्छन् । युवा पुस्ताबाट यी गीतहरू टाढिएका छन् । शेर्पा समुदायले शेर्पाहरूको भाषा, भेषभूषा, संस्कारसंस्कृति आदिको संरक्षण तथा प्रवद्र्धनका लागि विधिवत् रूपमा दर्ता गरी सञ्चालन गरी रहेका संघ संस्थले यस कुरामा ध्यान दिन अति आवश्यक देखिन्छ ।

नृत्य
प्राचीन कालदेखि नै शेर्पाहरू शेर्पा नृत्यमा रमाउँदै आएका छन् । शेर्पाहरूले विशेष गरी धार्मिक पर्वमा क्ष्याम (लामा नृत्य), सिङ्गे नृत्य र सामाजिक पर्व तथा विभिन्न उत्सवहरूमा शिली नृत्य, श्याब्रु नृत्य, नादिङ नृत्य र याक नृत्य जस्ता महइभ्वपूर्ण नृत्यहरू प्रदर्शन गर्दछन् । कुनै पनि धार्मिक गुरुको आगमन हुँदा स्वागतका लागि गर्ने नृत्यलाई सेङ्गी नृत्य भनिन्छ । जहाँ सिँह बनाएको हुन्छ । सबैभन्दा पहिला मुकुन्डो लगाएका आउँछन् । यसलाई मिछिरिङ भनिन्छ । सिंहको रूप धारणा गरेको व्यक्तिको साथमा मुकुन्डो लगाउने एक जना व्यक्ति नाच्दछन् । जसलाई सिङ्गे नाठी भनिन्छ । यसरी सिंह बनाएर नचाउने नृत्यलाई सिङ्गे नृत्य भनिन्छ । धार्मिक पर्व मनाउँदा विभिन्न देवीदेउताको रूप धारणा गरी गोन्पाको लामाहरूले नृत्य गर्ने चलन छ । यसलाई क्ष्याम भनिन्छ । कुनै पनि कार्यक्रमहरूमा प्रमुख अतिथिको स्वागतका लागि ३ देखि ५ जना व्यक्तिहरू हातमा तरवार, याक वा चौरीगाईको पुच्छर र झ्याम्टाको साथमा नाच्ने गर्दछन् । यसलाई सिली नृत्य भनिन्छ । यो नृत्य विवाह संस्कारमा दुलही लिएर जाँदा अनिवार्य गरिन्छ । यो नृत्यमा ठाउँअनुसार ३ वा ५ जना नाच्ने परम्परा छ । यसरी सिली नाच्दा विघ्नबाधा हट्छ भने विश्वास छ । कुनै पनि शुभ कार्यमा याक बनाएर नचाउने चलन पनि छ । यस नृत्यलाई याक नृत्य भनिन्छ । कुनै पनि धार्मिक वा सामाजिक कार्यहरूमा सामूहिक रूपमा काँध मिलाएर नृत्य गर्ने परम्परा छ । यसलाई श्याब्रु नृत्य भनिन्छ । त्यसै गरी नादिङ गीतहरूमा नाच्ने नृत्यलाई नादिङ नृत्य भनिन्छ ।

साहित्य
शेर्पाहरूले विगतमा गोन्पमा शिक्षा लिएको हुनाले साहित्यसम्बन्धी लेख रचनाहरू सम्भोटा लिपिमा लेखेका छन् । कथा, कविता, शेर्पाको इतिहास, निबन्ध, लोककथा, उखान टुक्का आदि सम्भोटा लिपिमा रहेका छन् । तर आधुनिक शिक्षाका कारण देवनागरी तथा अंग्रेजी लिपिको सहयोगमा शेर्पा साहित्य लेख्न थालेको पाइन्छ । त्यसै गरी गोरखापत्रको नयाँ नेपाल पेजमा हरेक महिनाको ५ गते र १९ गते शेर्पा भाषाको समाचार तथा साहित्यकला देवनागरी लिपिमा प्रकाशन हुँदै आएको छ । त्यसै गरी अहिले देवनागरी लिपिको सहयोगमा शेर्पा भाषाको अध्ययन अध्यापन गर्न थालिएको छ । हुनत शेर्पाहरूको भाषा सम्भोटा लिपिमा मात्र शुद्ध रूपले लेख्न सकिन्छ । तर, हाल गोन्पामा भन्दा स्कुलमा पढ्ने विद्यार्थीहरूको सङ्ख्या बढी छ । सम्भोटा लिपिमा बुझ्नेहरूको सङ्ख्यामा हिजोका दिनमा भन्दा आज कम भएको हुनाले पनि देवनागरी लिपिको सहयोगमा शेर्पा भाषाको साहित्य लेखिँदै आइएको छ ।

हस्तकला
शेर्पाहरूको आफ्नो विशेष प्रकारको हस्तकला रहेको छ । शेर्पाहरूले आदिम कालदेखि नै गोन्पाभित्र राख्ने भगवान्को मूर्तिहरू माटोद्वारा आफैले निर्माण गर्दछन् । यसलाई जोकु भनिन्छ । मूर्ति निर्माण गर्ने माटो विशेष प्रकारको हुन्छ । सबै प्रकारको माटोबाट मूर्ति निर्माण हुँदैन । शेर्पाहरूको बसोबास क्षेत्रमा रहेको ढुङ्गाहरूमा भगवानको मूर्ति तथा सम्भोटा लिपिमा मन्त्रहरू कुद्ने कार्य गर्दछन् । यसै गरी काठमा छोतर (दोजा), लुङतर (पातका)मा छाप्ने मन्त्रहरू कुद्ने कार्य गरिन्छ । यसलाई पर्सिङ भनिन्छ । काठमा मन्त्रहरू उल्टो कुँदिएको हुन्छ, जुन छाप्दा मन्त्रहरू सुल्टो आउँछ । यसरी पर्सिङ खोप्ने व्यक्तिलाई परवा भनिन्छ । यसरी नै कपडा वा कागजमा देवीदेवताका रूपहरू कोरिन्छ । यसलाई थाङका भनिन्छ । गोन्पाहरूको भित्ताहरूमा देवीदेवताको रूप रङ्गाउँछन् । यसलाई देब्री भनिन्छ । यसरी देवीदेवतासम्बन्धी सम्पूर्ण काम गर्ने व्यक्तिहरूलाई खापा भनिन्छ । शेर्पा समुदायमा ढुङ्गाको काम गर्ने डकर्मीलाई दोम्जो तथा काठको काम गर्ने सिकर्मीलाई सिङ्जो भनिन्छ । हाल विभिन्न धातुबाट मूर्तिहरू निर्माण हुँदै आएको छ । शेर्पाहरूको परम्परागत सीपहरू जस्तै काठमा मन्त्र खोप्ने, ढुङ्गामा मणि तथा भगवान्को रूप खोप्ने, माटोबाट मूर्ति निर्माण गर्ने कार्यहरू लोप हुँदै आएको पाइन्छ ।

(नेपालनाम्चाले सुरु गरेको शेर्पा इतिहास, संस्कृति, उसको शान, सम्मान र संघर्षको गाथाकथा समेटिने ‘शेर्पा सिरिज’को आठौं श्रृंखलामा शेर्पा इतिवृत समेटिएको युवा लेखक शेर्पाको पुस्तक ‘शेर्पा समुदायको मौलिक पहिचान’ बाट केही सम्पादनसहित यो लेख साभार गरिएको छ । शेर्पा सेरोफेरोसँग जोडिएका कुनै पनि सामाग्री आफ्नो स्पस्ट परिचयसहित नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाई तपाईं पनि ‘शेर्पा सिरिज’को अभिन्न हिस्सा बन्न सादर अनुरोध छ । सम्पादक, नेपालनाम्चा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button