शेर्पा सिरिज ७ः अधिकाँश पुरुष र स्त्रीको नाम एउटै हुने शेर्पा संस्कारको नालीबेली

जन्म संस्कार
शेर्पा समुदायमा नवजात शिशुको जन्मलाई धार्मिक तथा साँस्कृतिक मान्यताको आधारमा एउटा धार्मिक जीवन चक्रको सुरुवातको रूपमा लिइन्छ । उनीहरूले त्यो जीवन चक्रलाई बौद्ध धर्मका विभिन्न ग्रन्थहरूमा उल्लेख भएका सिद्धान्तहरूका आधारमा व्याख्या गर्दछन् । कुनै पनि व्यक्तिले उसको जीवनकालमा गर्ने कामको आधारमा पाप वा पुण्य कमाइने र पुनर्जन्म हुने कुरामा विश्वास गर्दछन् । आमाको स्वस्थ्य अवस्था हेरी नवजात शिशु जन्मेको पाँच दिनपश्चात् महायान बौद्ध धर्म विधिअनुसार साङसेर्किम (पूजापाठ) गरी ठु (पवित्र जल) छर्केर सुत्केरी चोख्याउने र बच्चाको न्वारान गरिन्छ, जसलाई अङी मीङ दोउ (बच्चाको न्वारान) गर्ने भनिन्छ ।

यसरी नामकरण गरेमा नवजात शिशुको दीर्घायु रहन्छ भने विश्वास गरिन्छ । साथै शेर्पाहरू बौद्ध धर्मावलम्बी भएकाले बौद्ध विधिअनुसार उपासक–उपासिक (गेञेनफ–गेञेनम) श्रमसेर–श्रमसेरीका (गेछुलफ– गेछुलम) भिक्षु–भिक्षुनि (गेलोङफ–गेलोङम) आदिको शील ग्रहण गर्दा पुनः नयाँ नाम दिने चलन रहेको छ । न्वारान गर्दा टुप्पो नभाँचिएको रूख वा निगालोको बिरुवा ल्याई सो रूख वा निगालोमा सेतो खातक (खादा) भित्र सिक्का, जौं, चामल आदि बेरी टाँगिन्छ । उक्त रूख वा निगालोलाई छोरा भए घरको मूल ढोकाको दायाँतिर र छोरी भए बायाँतिर ढोकामा टाँसेर गाड्ने चलन छ । यसलाई गोतर भनिन्छ । यसले नवजात शिशु छोरा वा छोरी भन्ने कुरा प्रष्ट बुझाउँछ ।

नानीको न्वारानमा आफ्ना आफन्त, नातागोता, छिमेकी र साथीहरूलाई निमन्त्रणा गरी चियापान खुवाउने चलन छ । न्वारानमा आएकाहरूले बच्चाका आमाबुबालाई खातक लगाई दिने र कोसेली अथवा खाममा आफ्नो गच्छेअनुसार रकम राखी आमाको हातमा दिई बच्चाको मुख हेर्ने परम्परा छ । यसलाई आङी गोतर भनिन्छ । शेर्पा समाजमा जन्म दिन मनाउने चलन छैन । तर, आधुनिकताले गर्दा हिजोआज सहरी क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले जन्म दिन मनाउँदै आएको पाइन्छ ।

विवाह संस्कार
शेर्पा समुदायमा विवाहलाई एक महत्वपूर्ण संस्कारको रूपमा लिइन्छ । शेर्पाहरू परम्परागत रूपमा मागी विवाह प्रक्रियालाई अवलम्बन गर्दछन् । तर आधुनिकताको कारण हाल प्रेम विवाहको पनि छिटपुट चलन रहेको छ । विवाह संस्कार ठाउँअनुसार केही आन्तरिक चलन फरक भएतापनि सामान्यतया शेर्पा समुदायको विवाहमा विभिन्न चरणहरू टिज्याङ, लोङ्ज्याङ, देम्ज्याङ, पेज्याङ आदि पार गर्नु पर्दछ । कतिपय अवस्थामा केटाकेटीको मन्जुरीपश्चात् केटा पक्षले मागी विवाहको सबै रीत केटीको घरमा पु-याउने चलन छ ।

शेर्पा समुदायमा विवाहको लागि थरहरूको आधारमा कुटुम्ब तथा स्वाँगेभाइ (दाजुभाइ पर्ने थर) छुट्टयाउने अर्को संवेदनशील र अति महत्वपूर्ण पक्ष हो । एउटा थर भित्र जति उपथरहरू छन् उनीहरू एकअर्कामा स्वाँगेभाइ हुन् र बिहेबारी चल्दैन । उनीहरूमा हाडनाताको सम्बन्ध हुन्छ । त्यतिमात्र होइन, आफ्नो मौलिक परम्पराअनुसार शेर्पा समुदायमा मामाको महइभ्व निकै उच्च पाइन्छ । उनीहरूले बुबाआमापछि दोस्रो बुबाआमाको रूपमा मामालाई लिने चलन छ । त्यसैले गर्दा मामाको छोरालाई पनि मामा (अज्याङ) र नातिलाई पनि मामा नै भनेर सम्बोधन गर्दछ भने मामाको छोरीलाई क्ष्यामा (उरू) भनेर सम्बोधन गर्ने चलन छ । यसरी सम्धी लगाउने क्रममा आमापट्टि सात पुस्तासम्म र बुबापट्टि कहिल्यै सम्धी लगाउन हुन्न भने परम्परागत मान्यता विद्यामान छ । बिहेबारी गर्दा कुटुम्ब र स्वाँगेभाइ छुट्टयाउने कठोर परम्परागत नीतिनियम भएकाले पनि शेर्पा समुदायको विवाहसंस्कार जटिल तथा रोचक मानिन्छ । परम्परागत रूपमा रहेको सात पुस्ते मान्यता, थर हेर्ने चलन, टिज्याङ, लोङ्ज्याङ, देम्ज्याङ र पेज्याङ जस्ता चरणहरू विधिवत् रूपमा पूरा गर्ने चलन छ ।

टिज्याङ (सोधनी)
सबैभन्दा पहिला उमेर पुगेका केटाकेटीको विवाह गर्न मिल्ने कि नमिल्ने अथवा स्वाँगेभाइ पर्छ कि कुटुम्ब भनी थर (रु) हेर्ने चलन छ । यदि कुटुम्ब पर्ने तथा सात पुस्ता कटेको छ भने केटा पक्षले केटीको घरमा सगुन लिएर केटी माग्न आउँछौ भनी सल्लाह गर्न लमी पठाउने चलन छ । यस प्रक्रियालाई टिज्याङ भनिन्छ । केटा पक्षबाट गएको लमी र केटी पक्ष दुवैसँगै बसी केटा र केटीको विवाह गर्न मिल्ने कि नमिल्ने भनी दुवै जनाको लोर्ता (जन्म वर्ष र खाम (धातु हेर्ने चलन छ । यदि लोर्ता र खाम मिलेको खण्डमा केटी पक्षले हुन्छ भनी स्विकारेको अवस्थामा लमीलाई केटी माग्न आउँदा हुन्छ भनी खबर पठाउँछन् ।

लोङ्ज्याङ (मग्नी)
केटा पक्षबाट शुभ साइत हेरी सगुन र खातक (खादा) लिएर लमीको साथमा केटाको बुबा आमासँगै एक दुई जना गाउँले लिएर केटी माग्न जाने चलन छ । यसलाई लोङ्ज्याङ भनिन्छ । केटी पक्षले पनि आफ्ना आफन्तहरूलाई जम्मा गरेका हुन्छन् । यस प्रक्रियमा केटा पक्षले केटी पक्षको सबै जनालाई श्योर्के गर्दै खातक दिने चलन छ । अन्तिममा केटीको बुबाआमाले पेय पदार्थ ल्याउने मिति र खातक तोक्ने चलन छ । त्यो मिति तोकेपछि केटा पक्ष घर फर्किन्छन् । पेय पदार्थ र खातकको तर्जुमातिर लाग्छन् ।

देम्ज्याङ (सुनिश्चितता)
केटी पक्षले तोकेको मितिमा केटा पक्षले गाउँलेहरूका साथमा मागिएको पेय पदार्थ र खातक लिएर केटीको घरमा जाने चलन छ । यसलाई देम्ज्याङ भनिन्छ । केटीको घरमा आफन्त तथा गाउँलेहरू सबै भेला भएका हुन्छन् । केटा पक्षले केटीको बुबाआमालाई श्योर्के गरी खातक दिंदै मागिएको पेय पदार्थ जिम्मा लगाउँछ । साथै उपस्थित सम्पूर्णलाई श्योर्के गर्दै खातक दिने चलन छ । केही कारणबस छुटेको छ भने केटीको बुबाआमाले खातक लिई राख्ने चलन छ । त्यो दिनदेखि केटीमाथि पूर्ण अधिकार लाग्छ अथवा केटीले कारणबस बिहे गर्दिनँ भनेको खण्डमा पेय पदार्थ र खातक सबै हिसाब गरी जारी तिर्नु पर्ने हुन्छ । यो चरणको कार्यक्रमको अन्तिमपल्ट केटा पक्षलाई केटी पक्षको सम्पूर्णको सल्लाह बमोजिम मोटामोटी बिहेको मिति दिन्छन् ।

पेज्याङ (सरसल्लाह)
विवाहको मिति मोटामोटी रूपमा पाएपछि केटा पक्षले विवाहको लागि तर्जुमा गर्छन् । विवाहभन्दा केही महिना अगाडि केटा पक्षबाट फेरि सगुन लिएर जन्ती कति जना आउने र कुन मितिमा आउने भनी सोध्न केटी पक्षकहाँ जाने चलन छ । यसलाई पेज्याङ भनिन्छ । यसमा केटा पक्षबाट आएको लमी र केटी पक्षले विवाहको पूर्ण मिति तोक्ने, कति जना जन्ती आउने र कति बजे आइपुग्ने जस्तो विषयमा छलफल गरी बिहेको टुङ्गो लगाउँछ ।

जेन्दी (बिहे)
विवाहको मिति पूर्ण रूपमा तोकिएपछि दुवै पक्षले विवाहको लागि सबै चाहिने सामानहरू जम्मा गर्छन् । त्यसै गरी केटा पक्षले बिहेको लागि जन्ती आमन्त्रण गर्दछन् । यसलाई देन्ज्याङ भनिन्छ । विवाहको मितिभन्दा हप्ता दिन अगाडि केटा पक्षले आफ्ना गाउँले तथा आफन्तहरूलाई बिहेको निम्तो दिन्छन भने केटी पक्षले पनि सम्पूर्ण इष्टमित्र तथा आफन्त र गाउँलेहरूलाई बिहेको निम्तो दिन्छन् । विवाहको दिन बेहुलाको घरमा गृहशान्तिको लागि साङसर्किम गरी सिपाखोर्लु (भवचक्र) साइत हेरी जन्ती जाने दिशातिर मुख फर्काई राखिन्छ । त्यसै गरी बेहुलीको घरमा पनि महायान बौद्ध धर्मको ञिङ्मा परम्परा अनुसार गृहशान्तिको लागि साङसर्किम गरिन्छ । दुलहालाई पहेलो बख्खु दिने, रातो जालीदार टोपी लगाइदिने, काँधमा पाँच रङ्गे कपडाको धातर भिराइदिने र हातमा पुम्बा (कलश) दिने चलन छ ।

साथै ठाउँअनुसार दुलहाका साथी बुबा र आमा भएको कन्या केटा वा केटीलाई राख्ने चलन छ । जसलाई क्योर्मिन भनिन्छ । दुलहाको साथीलाई घरबाट दुलहीको घरमा जन्ती जाँदा छाता ओडाउने, पेय पदार्थ, दुलहा र दुलही बस्ने गलैंचा बोकाउने चलन छ । जन्तीलाई नै जन्दी भनिन्छ । जन्ती जानुभन्दा अगाडि जेन्दीमा जानेहरूलाई झ्याम्टा बजाउने, ग्यालिङ बजाउने, तरवार बोक्ने, याकको पुच्छर बोक्ने, पेय पदार्थ, फेमार बोक्ने र खातक बोक्ने कामको जिम्मा लगाउने चलन छ । जन्ती जाने क्रममा सम्पूर्ण जन्तीलाई सिन्दुर लगाउने चलन छ भने लामा सिपाखोर्लु (भवचक्र) बोकी सबैभन्दा अगाडि हिंड्छन् । भवचक्र बोक्ने व्यक्तिलाई खोलुवा भनिन्छ । जन्ती प्रस्थान गर्ने बेला बेहुलाको घरको आँगनमा बिहेद्वारको अगाडि एउटा टेबल माथि खाप्से तथा धूप बाली फलफूललाई सझाएर राखिएको हुन्छ । तीन जना महिलाहरूले हातमा चाँदीको फुरुभित्र दूध, पानी र छ्याङ समाएर सगुन राखिन्छ । यसलाई सुज्र्याङ भनिन्छ । खोलुवाले उक्त सुज्र्याङको ञिङ्मा परम्परा अनुसार पूजा गरिन्छ । यसलाई सुज्र्याङ छेतु भनिन्छ । त्यसपछि जन्दी बेहुलीको घरतर्फ अगाडि बड्ने चलन छ ।

लेखक सेर्कु शेर्पा ।

बिहेद्वारको अगाडि एउटा टेबलमाथि खाप्से तथा फलफूलले सझाएर केटी पक्षबाट जन्तीलाई स्वागत स्वरूप सगुन राखिएको हुन्छ, जसलाई खोलुवाले पूजा गरिन्छ । त्यसपछि बिहेमा आएकासबै जना जन्ती बस्न बनाइएका ठाँउमा बस्न जान्छन् । त्यसै गरी सबै जना बसिसकेपछि दुलहीका बुबाआमा तथा आफन्तहरूले जन्तीहरूलाई चियापान खुवाउँदै परिचय आदानप्रदान गर्छन् अनि जन्तीलाई खाना खुवाउँछन् । त्यसपछि बेहुला सहित जन्तीहरूलाई बेहुलीको मूल घरमा लगिन्छ । दुलहाको घरबाट ल्याएको पेय पदार्थद्वारा दुलहीको आमाबुबालाई श्योर्के गर्दै खातक लगाइदिने चलन छ । त्यसै गरि मामालाई श्योर्के गरेर खातक लगाइदिने संस्कार छ । यस खातकलाई स्याङ्दर भनिन्छ । त्यसपछि केटी पक्षका सबैलाई श्योर्के गर्दै खातक लगाइदिने चलन छ । यो खातक लगाइदिने कार्यक्रम सकेपछि बेहुलाको पोसाक फेर्ने कार्य हुन्छ । यसलाई सिल्ज्याङ भनिन्छ । त्यसपछि रातभरि जन्ती र केटी पक्षका सबै जनाले परम्परागत शेर्पा नृत्य तथा नेपाली नृत्यमा रमाइलो गर्ने चलन छ । भोलिपल्ट बिहान जन्तीहरूलाई गाउँघरका घरभेटीहरूले पाहुना चाड खुवाउने चलन छ । यसलाई डेन भनिन्छ । डेन खाएर पुनः दुलहीको घरमा फर्किएपछि खाना खान्छन् । त्यसपछि बेहुला आफ्नो पोसाकमा सजिएर हिजो जहाँ बसेका थिए त्यही ठाँउमा आउँछन् । अनि आफ्नो घरबाट ल्याएको गलैंचा बिछ्याइन्छ । चामलले बेहुलाबेहुली बस्ने ठाँउमा स्वास्तिक चिह्न कोरी बेहुला दायाँपट्टिको स्वास्तिक चिह्नमाथि बस्छन् अनि बेहुलाको साथीले छाता ओढाइदिन्छन् । त्यसपछि पूजा सुरु गर्छन् भने जन्तीहरू परम्परागत शेर्पा नृत्य श्याब्रु गर्छन् । श्याब्रु गर्दा गीतबाट नै दुलही माग्छन् । गीत गाउँदै हिजो जो जसलाई झ्याम्टा, तरवार र याकको पुच्छर जिम्मा दिएको छ । उनीहरू दुलहीको मूल घरमा नाच्दै बेहुली लिन जान्छन् । यो नाचलाई ‘सिली’ नाच भनिन्छ । मूल घरको भित्रबाट सिली नाचको पछिपछि बेहुली र बेहुलीको साथी (क्योर्मिन) निस्किन्छन् । मूलघरको ढोकामा एउटा टेबल माथि खाप्से तथा फलफूल सझाएर बेहुलीको स्वागत स्वरूप सगुन राखिएको हुन्छ । त्यसपछि बेहुला भएको ठाँउमा लगी स्वास्तिक चिह्नमाथि बेहुली राखिन्छ । दुलही बसेपछि दुलहाले हिजो आफ्नो घरबाट ल्याएको पुम्बा बेहुलीको हातमा दिन्छन् भने आफ्नो कुममा भएको धातर पनि बेहुलीको कुममा लगाइ दिन्छन् । यस कार्यपछि बौद्ध धर्मको ञिङ्मा परम्परा अनुसार दुलहा र दुलहीको एक अर्कामा समर्पित भएको घोषणा गरिन्छ । यसलाई ‘मोला’ भनिन्छ । मोलामा विवाहको इतिहास बताउँदै दुलहा र दुलही दुवै जनाको वंशावलीको तीन पुस्ते नाम र थरसमेत खुलाई आजको मितिदेखि वैवाहिक सूत्रमा बाँधिएको घोषणा सबैलाई साक्षी राखेर गर्दछन् । साथै दुवै जनालाई शिरमा नौनी घिउको टीका लगाउँदै आशीर्वाद दिइन्छ । यसलाई ‘ग्येनकुतु’ भनिन्छ । यो कार्य सकेपछि दुलहाले दुलहीका माइतीका मान्यजनहरूलाई र दुलहीले दुलहाका मान्यजनहरूलाई चियापान खुवाउँदै आशीर्वाद लिने चलन छ । जन्तीमा सिली नाच जिम्मा लिनेहरू तरवार र याकको पुच्छर बोकी ज्याम्टाको तालमा सिली नाच नाच्छन् भने अरू बेहुली पाएको उपलक्ष्यमा बिहेमा गाउने परम्परागत शेर्पा गीत गाउँदै बेहुलाबेहुलीको छेउमा बस्छन् । खोलुवाले सिपाखोर्लु बोकी अगाडि बढ्छन् । खोलुवाको पछि बेहुली अनि बेहुला हुँदै अरू आउँछन् । बाहिरपट्टि बेहुली पक्षले जन्तीको बिदाइ स्वरूप सगुन राखिदिन्छन् । दुलहीका माइतीका तर्फबाट सबैलाई खातक लगाई जन्तीको बिदाइ गरिन्छ ।

यसरी विवाह समापन भएपछि दुलही लिएर जन्ती घरमा फर्किन्छन् । जन्ती फर्किन्दा फेरि दुलहाको घरमा स्वागत सुज्र्याङ राखिएको हुन्छ । यसरी बेहुलाको घरमा पुगेपछि दुलहीको स्वागत तथा सफल दाम्पत्य जीवनको लागि परम्परागत श्याब्रु नृत्य गरिन्छ । यसलाई टसिसोलुप भनिन्छ । विवाह भएको तीन दिनपछि बेहुलाबेहुली ससुराली फर्किन्ने चलन छ । यसलाई कर्म लोकुप भनिन्छ । यसरी विवाह कार्यक्रम समापन गरिन्छ ।

दाइजो प्रथा (लारा)
शेर्पा समुदायमा दाइजो प्रथा ठाउँअनुसार फरक फरक छ । दाइजोलाई लारा अथवा नोर भनिन्छ । कुनै ठाँउमा विवाहमा नै आमाबुबा, आफन्त, नातागोता, इष्टमित्र, गाउँले छिमेकी आदिले आफ्नो गच्छेअनुसार नगद, गरगहना, लत्ताकपडा, भाँडाकुँडा, घरपालुवा वस्तु आदि उपहार दाइजो दिन्छन् । तर कुनै ठाउँमा विवाह भएको प्रायः जसो तीन वर्षपछि अथवा बालबच्चा भएपछि दाइजो दिने चलन छ ।

विवाहमा दाइजो दिएको ठाउँमा नै छोरीचेली पूर्ण रूपमा कुटुम्बलाई जिम्मा दिएको मानिन्छ । तर दाइजो नदिएको ठाउँमा विवाह गरी दिए पनि छोरीचेली पूर्ण रूपमा कुटुम्बलाई जिम्मा दिएको मानिदैन । त्यसैले विवाह गरी पठाएको छोरीचेलीको दाइजो नदिई मृत्यु भएमा माइती पक्षले नै मृत्यु संस्कार गर्नुपर्छ । दाइजो यति नै दिनुपर्छ भन्ने छैन । दाइजोलाई आमाबुबा, आफन्त, नातागोता सम्पूर्णको आशीर्वादको रूपमा ग्रहण गरेको मान्छन् । दाइजो प्रथामा पनि विवाहको जस्तै विभिन्न चरणहरू पार गर्नु पर्छ । सम्पूर्ण चरण पार गरिसकेपछि माइती पक्षले दाइजोको मिति तोक्छन् । तोकिएको मितिमा दाइजो लिनगाउँलेहरूका साथमा ज्वाइँचेली जान्छन् ।

माइती पक्षले सम्पूर्ण इष्टमित्र, गाउँलेलाई यस समारोहमा निम्तो दिने चलन छ । दाइजो माग्दा आमाबुबा, मामामाइजू, दिदीबहिनी र आफन्तहरूलाई श्योर्के गर्ने गीत आ–आफ्नो हुन्छ । ज्वाइँचेलीले गीत गाएर दाइजो माग्ने परम्परा छ अथवा गीतबाटै दाइजो माग्ने परम्परा रहेको छ । यसलाई ‘लारी लु’ भनिन्छ । दाइजो आफ्नो गच्छेअनुसार नगद, गरगहना, लत्ताकपडा, भाँडाकुँडा, घरपालुवा वस्तु आदि उपहार दिने चलन छ । दाइजो दिंदा यति नै दिनु पर्छ भन्ने चाहिं छैन । दाइजो माग्न आएका जन्तीहरूलाई गाउँलेहरू कहाँ पाहुना चाड खुवाउने चलन छ । यसलाई ‘डेन’ भनिन्छ । पाहुना चाडमा आउने पाहुनाहरूले घरघरमा परम्परागत शेर्पा नृत्य श्याब्रु गर्दै रमाइलो गर्दछन् । यसै गरी दाइजो मागिसकेपछि माइती पक्षबाट दाइजोमा दिएको सामान र चेलीको समेत मूल्याङ्कन गरी सम्पूर्ण गाउँलेहरू साक्षी राखी बुझाउने चलन छ । यसलाई ‘लारी मोला’ भनिन्छ । यसपश्चात् छोरीचेली पूर्ण रूपमा कुटुम्बलाई जिम्मा दिएको औपचारिक रूपमा घोषणा गर्दछन् । यसपछि दाइजोमा दिएको सामानहरूको साथमा ज्वाइँचेलीले बिदाइ गरिन्छ ।

मृत्यु संस्कार
शेर्पा समुदायको अर्को महत्वपूर्ण संस्कार हो मृत्यु संस्कार । शेर्पा समुदायको मृत्यु संस्कार महायान बौद्ध धर्मको ञिङ्मा परम्पराको बज्रयान विधिअनुसार सम्पन्न गरिन्छ । जसअनुसार कसैको मृत्यु हुन साथ सर्वप्रथम मृतकको सिरानीमा क्ष्योमिन (दीप) प्रज्ज्वलन गर्ने र मृतकको शरीरमाथि खातक राख्ने चलन छ । त्यसपछि गाउँलेहरूलाई खबर गरिन्छ । कोही गाउँलेहरू लामा आमन्त्रण गर्न जान्छन् भने कोही मृतकको लास राख्ने कपडा तथा पूजाको सामग्री जुटाउनतिर लाग्छन् । साथै कतिपयले लामाहरू बस्ने ठाउँको व्यवस्थापन कार्य गर्छन् । लामा मृत्युसंस्कार कार्यको लागि गुफा बसेको र आफ्नो गुरुले मृत्युसंस्कार गर्ने अधिकार दिएको हुनुपर्दछ । लामा आएपछि सर्वप्रथम मृतकको चित्तालाई स्थानातरण गर्न पूजा गरिन्छ । जसलाई फोवा ग्याकु भनिन्छ । त्यसपछि लामाले चि ज्योतिषशास्त्र हेरी लाशलाई कुनकुन वर्षमा जन्मेकाहरूले मात्र छुन मिल्ने बताउँछन् । लामाले जो जसले छुन मिल्छ भन्छन् उनीहरूले लासलाई धार्मिक विधिअनुसार पवित्र पानीले नुहाई सेतो कपडाले बेरी सिङ्गारिदिएर एक ठाउँमा राखि– दिन्छन् । लामाले चि मार्फत दाहसंस्कार गर्ने साइत हेर्दछन् र लासलाई साइत ननिक्लेसम्म घरमा अथवा सार्वजनिक गोन्पामा पूजापाठ गरी राख्ने चलन छ । सम्पूर्ण गाउँले तथा नातागोताहरू धूप, दीपको लागि घिउ र छोवा (प्रसाद) तथा चियापान लिएर जाने परम्परा छ । लास दाहसंस्कार गर्ने दिन सम्पूर्ण नातागोता, आफन्त र गाउँलेहरू जम्मा हुने गर्दछन् । लासलाई लामाले तोकिएको दिशातर्फ लगी महायान बौद्ध धर्म बज्रयान विधिअनुसार पूजापाठ गरी जलाइन्छ । लासलाई जलाएपछि सबै उपस्थित व्यक्तिहरूलाई पैसा दिइने चलन छ । यसलाई लाक्पा रोप्च्या भनिन्छ । मृत्य पश्चात् ४९ दिनसम्म मृतकको चित्त आफ्नो घर वरिपरि नै घुमी रहने विश्वासमा दाहसंस्कारपछि मृतकको तेन (पुत्ला) बनाई सो पुत्लालाई बिहान बेलुका, दिउँसो खाना दिने र मृत्युपछिको कुराहरू बौद्ध धर्मको धार्मिक विधिद्वारा जनाकारी दिन एक जना लामा पुरोहितको रूपमा गेवा नसकुञ्जेल मृतकको घरमा राख्ने चलन छ । जसलाई लोमा भनिन्छ ।

लोमामा बसेको लामाले मृत्यु भएको व्यक्तिले प्रयोग गर्ने कपडाद्वारा मृतकको स्वरूप बनाइ सातु पाल्ने गर्दछ । यसलाई तेन स्योम्बु भनिन्छ । यो सातु पाल्ने कार्य कम्तीमा तीन हाप्तादेखि बढीमा सात हप्तासम्म हुन्छ । अथवा गेवा नसकुञ्जेल सातु पाल्ने कार्य गरिन्छ । मृत्युपछि प्रत्येक हप्ता अरू लामालाई पनि आमन्त्रण गरी पूजा गर्ने चलन छ । यसलाई दिन्जीन अथवा दिन्छिग भनिन्छ ।

सामान्यतया मृत्यु भएको तीन हाप्तामा गेवा गर्ने चलन छ । जसलाई तेस्रो दिन्जीन पनि भनिन्छ । गेवामा नातागोता, आफन्त र गाउँले सबैलाई बोलाइन्छ । गेवा सकेपछि सातु पाल्ने काम पनि सकिन्छ र पुरोहितमा बसेको लामालाई बिदाइ गरिन्छ । तर ४९ दिनसम्म प्रत्येक हप्ता लामा आमन्त्रण गरी मृतकको नाममा पूजा भने गरिरहन्छन् । ४९ को दिनलाई ‘श्यिब्च्यु श्येगु’ भनिन्छ । यो नै मृतकको नाममा गरिने अन्तिम पूजा हो । त्यसपछि मृतकको मृत्यु भएको तिथिअनुसार छोराछोरीले सम्झना स्वरूप केही वर्ष वार्षिक रूपमा पूजा गर्ने चलन छ । यसलाई लोम्ज्यु अथवा गोङ्जोक भनिन्छ । यसरी शेर्पा समुदायमा मृत्युसंस्कार गर्ने चलन छ ।

फोवा ग्याकु
मृतक व्यक्तिको चित्तलाई लामा गुरुजनद्वारा आध्यात्मिक बज्रयानको विधिबाट सुगति र शुद्ध भुवनमा उद्धार गर्ने विधिलाई फोवा ग्याकु भनिन्छ । यो विधि जीवित हुँदा पनि गर्न सकिन्छ । तर शेर्पा समुदायमा कुनै व्यक्तिको मृत्यु हुनासाथ लामा आमन्त्रण गरी यथासम्भव चाँडो फोवा ग्याकु गर्ने चलन छ ।

थोडोल रोकु
कुनै पनि व्यक्तिको मृत्युपश्चात् ४९ दिनसम्मको बीचमा हुने विभिन्न डरत्रास निवारण उपायहरू लामा विधिद्वारा बताउने प्रक्रियालाई थोडोल स्यातु अथवा थोडोल रोकु भनिन्छ । यसको अर्थ हो श्रवण मुक्ति सुनाउनु वा पाठ गर्नु हो । कुनै पनि व्यक्तिको मृत्युपश्चात् गेवा नसकुञ्जेल लामाले मृतकको चित्तलाई यो विधि गरिरहन्छन् ।

ठुसोल किरु
लामा गुरुबाट मृतक शरीर नुहाइदिनको लागि मन्त्र जप गरी तयार गरिएको पवित्र जललाई ‘ठु’ भनिन्छ भने मृतकको शरीरलाई उक्त जलले धुने कार्यलाई ठुसोल किरु भनिन्छ ।

रो गोङ्गु-फुङ्बु गोङ्गु
ठुसोल सकेपछि लासलाई सेतो कपडामा ध्यान गरेजस्तो गरी बेरेर राख्ने चलनलाई रो गोङ्गु भनिन्छ ।

सेम्सो किरु
मृतकको परिवारमा परेको दुःखमा सहभागी भई मृतकका आफन्त तथा गाउँलेहरूद्वारा बत्ती बाल्ने, घिउ, प्रसाद र पैसा राखी मृतकको परिवारमा सात्वना प्रकट गर्ने चलनलाई सेम्सो किरु भनिन्छ ।

केम्क्ष्याङ ग्यङ्गु
मृतकको लास अथवा दाहसंस्कार पश्चात् लासको बदलामा बनाइएको तेन (पुत्ला)को अगाडि फलफूल तथा खाना राखी लामाबाट मन्त्रो उच्चारण गरी मृतकको चित्तलाई खुवाउने प्रक्रियालाई शेङो भनिन्छ भने पेय पदार्थ राखी लामाबाट मन्त्रो उच्चारण गरी मृतकको चित्तलाई खुवाउने प्रक्रियालाइ केम्क्ष्याङ ग्यङ्गु भनिन्छ ।

चि कोरु
मृतकको बारेमा हेरिने ज्योतिष विधिलाई चि ल्हाप् भनिन्छ । यो मृत्युपश्चात् अति महइभ्वपूर्ण मानिन्छ । चि हेरिसकेपछि मात्र मृतकको अन्तिम दाहसंस्कार कुन दिशामा गर्ने, कुन वर्षमा जन्म भएको व्यक्तिहरूले लासलाई छुने र बोक्ने, कस्तो दानधर्म गर्नु पर्ने र तुर्सा (चिहान) मा पुर्खाङ बनाउनु पर्ने वा नपर्ने साथै छपार लगाउनु पर्ने अथवा नपर्ने बारेमा लामाद्वारा जानकारी गराइन्छ । ‘चि’ मा जे देखियो त्यहीअनुसार मृतकको संस्कार गर्ने चलन छ ।

च्यब्तर लोङ्गु
मृतकको लास दाहसंस्कारमा लैजाने बेला लासको अगाडि पाँच जनाले पञ्च रङ्गी बौद्ध धर्मको ध्वजाहरू उठाउने कार्यलाई च्यब्तर लोङ्गु भनिन्छ । यो बोक्ने बेला निलो, सेतो, हरियो, रातो र पहेँलो गरी बोक्नु पर्छ । यसले पञ्च तत्वलाई जनाउँछ । जस्तै: निलो आकाश, सेतो बादल, हरियो जल अथवा समुद्र, रातो आगो र पहेँलोले जमिन वा पृथ्वीलाई जनाउँछ । लास निकाल्दा ‘च्यब्तर’ बोक्नेहरू सबैभन्दा अगाडि हिंड्छन् । त्यसपछि लामाहरू, लास बोक्ने व्यक्ति र मलामीहरू गरी लास जलाउने ठाउँमा जाने चलन छ ।

लम्देन लामा
मृतकको लासलाई दाहसंस्कार गर्न लाँदा लासलाई सेतो कपडाले बाटो देखाए जस्तो गरेर लामाले डो¥याएर लैजाने चलन छ । यसरी सेतो कपडाले डो¥याउने लामालाई लम्देन लामा भनिन्छ । यसको अर्थको हुन्छ– मृतकको चित्तलाई बाटो देखाउने लामा ।

झिन्सेक लुकु
मृतकको दाहसंस्कार गर्दा लामाहरूबाट महायान बौद्ध धर्मको ञिङ्मा परम्पराको बज्रयान विधिद्वारा गरिने यज्ञलाई झिन्सेक बुलु भनिन्छ ।

लाक्पा रोप्च्या गोतु
दाहसंस्कारमा सहभागी भएका सम्पूर्ण मलामीहरूलाई गच्छेअनुसार पाँच, दस अथवा बीस रुपैयाँको दरले रकम वितरण गरिन्छ । यसलाई लाक्पा रोप्च्या भनिन्छ ।

तुटी सोपु
लास जलाई सकेपछि अर्र्कोे दिन लास जलाएको ठाउँलाई लामाद्वारा ‘ठुसोल’ गरी बाँकी रहेको अस्तु र खारानी जम्मा पारी चिहानको रूपमा पुर्नुलाई तुटी सोपु भनिन्छ ।

सुम्बी न्याँपोर
कुनै पनि व्यक्तिको मृत्यु भएको तेस्रो रात चौथौं दिन मृतकको चित्तलाई दुखमय लोकबाट बुद्धको सुखमय लोकमा उद्धार गर्ने पूजा लामाले बज्रयान विधिबाट गर्ने चलन छ । यसलाई सुम्बी न्याँपोर भनिन्छ ।

दिन्जिन
कुनै पनि व्यक्तिको मृत्युपश्चात् प्रत्येक सात दिनमा उनन्चास दिनसम्म मृतकको चित्तको चिर शान्तिको निम्ति मृतकको परिवारले पूजा गर्ने चलन छ । यसलाई दिन्जिन अथवा दिन्छिग भनिन्छ ।

पुर्खाङ अथवा च्योर्तेन
मृतकको परिवारले मृत्यु भएको व्यक्तिको अस्तु राखी मृतकको नाममा निर्माण गरिएको मन्दिरलाई पुर्खाङ भनिन्छ ।

छपार ग्याकु
मृतकको अस्तु धातुलाई धुलो पारेर सफा र शुद्ध माटोमा मिसाई सा–साना चैत्य आकारमा निकाल्ने प्रक्रियालाई छपार ग्याकु भनिन्छ । यसरी निकालेको चैत्यलाई लामाले रब्ने (प्राणप्रतिष्ठा) पूजा गरी धार्मिक आस्था बोकेको ठाउँ अथवा सफा गुफाभित्र अर्थात् गोन्पाहरूको आसपासमा राख्ने परम्परा छ ।

केल्हा श्येङ्गु
कुनै पनि व्यक्तिको एउटा जन्म देवता हुने विश्वास गरिन्छ । यसलाई केल्हा भनिन्छ । मृत्यपश्चात् लामाले ‘चि’ हेरेर मृतकको केल्हा पत्ता लगाउँछ । यसरी ज्योतिष शास्त्रको आधारमा पत्ता लागेको जन्म देवताको मूर्ति वा थङ्का बनाई राख्ने चलन छ । यसलाई केल्हा ज्येङ्गु भनिन्छ ।

गेवा
कुनै पनि व्यक्तिको मृत्यु भएको ४९ दिनभित्र लामाहरू आमन्त्रण गरी पूजापाठ गराई आफ्नो गच्छेअनुसार दानदक्षिणा अर्पण गर्ने, नातागोता, इष्टमित्र, गाउँले तथा आफन्तहरू आमन्त्रण गरी खाना खुवाउने तथा प्रसाद बाँडेर मृतकको नाममा पूजा सम्पन्न गरिन्छ । यसलाई गेवा (दान) भनिन्छ । प्रायः जसो यो धार्मिक कार्य मृत्यु भएको तेस्रो हाप्तामा गर्ने चलन छ । यो धार्मिक विधि नगरेसम्म मृतकको परिवारले एक जना लामालाई पुरोहितको रूपमा घरमा राखिएको हुन्छ । यो कार्य सकेपछि लामालाई बिदाइ गरिन्छ ।

श्यिब्च्यु श्ये गु
कुनै पनि व्यक्तिको मृत्युपश्चात् प्रत्येक सात दिनमा लामा तथा छिमेकीहरू जम्मा गरी मृतकको चित्त शान्तिको लागि ४९ दिनसम्म पूजा गरिन्छ । ४९ दिनको पूजालाई श्यिब्च्यु श्ये गु भनिन्छ । यो नै मृत्यु भएको दिनदेखिको अन्तिम पूजा विधि हो ।

लोम्ज्यु-गोङ्जोक
कुनै पनि व्यक्तिको मृत्यु भएको तिथिमा मृतकको सम्झनामा परिवारले वार्षिक रूपमा केही वर्षसम्म पूजा गर्ने चलन छ । यसलाई लोम्ज्यु अथवा गोङ्जोक भनिन्छ । यो आ आफ्नो गच्छेअनुसार गर्ने चलन छ तर गर्नु पर्छ भन्ने बाध्यता छैन ।

(नेपालनाम्चाले सुरु गरेको शेर्पा इतिहास, संस्कृति, उसको शान, सम्मान र संघर्षको गाथाकथा समेटिने ‘शेर्पा सिरिज’को सातौं श्रृंखलामा शेर्पा इतिवृत समेटिएको युवा लेखक शेर्पाको पुस्तक ‘शेर्पा समुदायको मौलिक पहिचान’ बाट केही सम्पादनसहित यो लेख साभार गरिएको छ । शेर्पा सेरोफेरोसँग जोडिएका कुनै पनि सामाग्री आफ्नो स्पस्ट परिचयसहित नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाई तपाईं पनि ‘शेर्पा सिरिज’को अभिन्न हिस्सा बन्न सादर अनुरोध छ । सम्पादक, नेपालनाम्चा ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button