
शेर्पा सिरिज ५ः पशुपालनदेखि पर्यटनसम्म
सेर्कु शेर्पा
शेर्पा समुदाय हिमाली भेगमा बसोबास गरेतापनि जीविकोपार्जनको लागि विभिन्न आर्थिक क्रियाकलापमा आबद्ध रहेको छ । शेर्पाहरूका परम्परागत आर्थिक क्रियाकलाप भनेको प्रमुख रुपमा कृषि, पशुपालन, पर्यटन, व्यापार हो । परम्परागत रूपमा शेर्पा समुदायको मुख्य आम्दानीको स्रोत पशुपालन तथा कृषि व्यवसायी हो । शेर्पा समुदायले आदिम कालमा आफूले पालेको पशुबाट उत्पादन गरेका घिउ, ऊन, दूध, दही तथा दूधबाट बनेका परिकारहरू वस्तुसँग साटासाट गरी जीविकोपार्जन गर्ने चलन थियो । शेर्पाहरूले हिमाली तथा उच्च पहाडी क्षेत्रमा सदियौंदेखि कृषि तथा पशुपालन व्यवसाय गर्दै आए पनि हाल पर्यटन व्यवसाय तथा वैदेशिक रोजगारका कारण शेर्पा समुदायले परम्परागत रूपमा अवलम्बन गर्दै आएको व्यवसाय लोप हुँदै छ । हाल शेर्पा समुदायको आर्थिक क्रियाकलापमा विभिन्न तत्वहरूले भूमिका खेल्दै आएको छ । शेर्पा समुदायको आर्थिक क्रियाकलापलाई मुख्यतय निम्नअनुसार विवेचना गर्न सकिन्छ –
कृषि
विकट हिमाली तथा उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायमा भू—धरातलका दृष्टिकोणले अन्य समुदायको भौगोलिक क्षेत्रको जस्तो कृषिको प्रधानता पाइँदैन । यद्यपि शेर्पाहरूले मौसम अनुकुलका फसलहरू हिमाली तथा उच्च पहाडी क्षेत्रमा गर्ने चलन छ । हिमाली तथा उच्च पहाडी भेगमा उनीहरूले मकै, गहुँ, जौं, आलु, फापर, कोदो, मुला, गाँजर लगायतका बालीहरू लगाउँछन् । यसै गरी सिमी, भटमास, हिमाली दाललगायतका विभिन्न सागपातहरूका खेतीपाती गर्छन् । साथै स्याउ, किवी, हिमाली नास्पाती जस्ता फलफूलहरूको पनि खेती गर्दछन् । उनीहरूले उत्पादन गरेका वस्तुसँग आफूलाई चाहिने वस्तुहरू साटासाट गर्ने चलन विगतमा रहेको थियो । जस्तै: आलुसँग नुन, चामल, खोर्सानी आदि साटासाट गर्दथे र आफ्नो आवश्यकता परिपूर्ति गर्दथे । तर अहिले उत्पादित वस्तुहरू बजारमा लगी बेचबिखन गर्ने र आफूलाई आवश्यक रहेको वस्तुहरू बजारबाट नै किन्ने चलन रहेको छ ।
पशुपालन
हिमाली तथा उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको अर्थतन्त्रमा पशुपालनले मुख्य भूमिका निर्वाह गर्दछ । चिसो हावापानीको कारण शेर्पा समुदायको बसोबास क्षेत्रमा कृषि उपयुक्त नभए पनि मौसमअनुसारको चरन उपयोग गर्दै पशुपालन पेसालाई महत्वपूर्ण आर्थिक स्रोतको रूपमा अवलम्बन गरेको पाइन्छ । मुलतः उनीहरूले चौंरीगाई, याक, नाक, जोप्क्योक, सुक्चा, किर्कोम, डिम्जो, पामु, तोल्मु, जर्सीगाई, जोलाङ आदि पाल्ने गर्दछन् । यसका साथै उचाइअनुसार आउले गाई र भैंसी पनि पाल्ने गर्दछन् । चौरीगाई, नाक, किर्कोम, तोल्मु, डिम्जो, उराङ र जर्सीगाईको दूधबाट घिउ, छुर्पी, चीजजस्ता परिकारहरू बनाइन्छन् भने याक ऊनको लागि पालिन्छन् । साथै सामानहरूको ढुवानी गर्न याक र जोप्क्योकलाई प्रयोग गरिन्छ ।
तसर्थ शेर्पा समुदायमा आर्थिक गतिविधिका लागि पशुपालन महत्वपूर्ण साधन बनेको छ । तर आधुनिकताले गर्दा हाल हिमाली भेगमा पशुपालन पेसा लोप हँुदै गएको छ । विगतमा चौरीगाई पालन गर्ने समुदाय शेर्पाहरू थिए । आज त्यो सङ्ख्या भौगोलिक विकटता र बजारको समस्याका कारण धेरै घटेको पाइन्छ । साथै शेर्पाहरूको पेसामा आएको परिवर्तनको कारण आदिम कालदेखि पाल्दै आएका केही पशुहरू लोप भएका छन् ।
व्यापार व्यवसाय
आदिम कालदेखि नै शेर्पाहरू व्यापार व्यवसायमा आबद्ध देखिन्छ । आफ्नो गाउँ घरमा उत्पादन हुने मालसामान अरू ठाउँमा निर्यात गर्ने र आफ्नो गाउँघरमा आवश्यक माल सामान अन्य ठाउँबाट आयात गर्ने पेशामा विगत लामो समयदेखि नै शेर्पाहरू आबद्ध रहेका छन् । त्यतिमात्र होइन, काठमाडाँै कोदारी मोटर बाटो बन्नु पूर्व नेपालको मालसामान तिब्बतमा निर्यात गर्ने र तिब्बती मालसामान नेपालमा आयात गरी नेपाल र तिब्बतको व्यापारको निम्ति शेर्पाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । शेर्पा गाउँबस्तीमा उत्पादित चौरीगाईको घिउ, छुर्पी, सेरकाम, चीज, छाला, ऊन, कागज बनाउनुको साथै हिमाली र उच्च पहाडी क्षेत्रमा पाइने जडीबुटीहरू जम्मा पारी याकद्वारा तिब्बतमा निर्यात गर्ने र तिब्बतबाट नुन, भेडा र घोडा आयात गरी नेपालमा बेच्ने गर्दथे । तर हिजोआज शेर्पाहरूले चौरीगाईको घिउ, छुर्पी, सेरकाम र चीजका साथै जडीबुटीहरू जम्मा परी राजधानी काठमाडौँलगायत विदेशी भूमिमा व्यापार गर्दै आएका छन् । यसै गरी हाल शेर्पाहरूले निर्माण व्यवसाय, ठेक्कापाटा, पर्यटन व्यवसाय, होटल तथा रेष्टुरेन्ट व्यवसाय, पर्वतारोहण व्यवसाय, उद्योगधन्धा आदि व्यापार व्यवसायहरू सञ्चालन गर्दै आएका छन् । यसरी व्यवसायको सिलसिलामा शेर्पाहरू मुलुकका बजारमा मात्र नभई बाहिरी देशहरूसँग पनि व्यापार गर्दै आएका छन् ।
पर्यटन
नेपालमा सन् १९५० को राजनैतिक परिवर्तनपछि विश्वका विभिन्न देशहरूसँग सम्बन्ध बढाउँदै विदेशीहरूका लागि नेपाल आवतजावत खुल्ला गरियो । यसै क्रममा सन् १९५२ देखि विदेशीहरूका लागि नेपालमा पर्वतारोहण खुल्ला भए पश्चात् शेर्पा समुदायको जनजीवनमा ठूलो परिवर्तन भएको देखिन्छ । सन् १९५३ मे २९ तारिखमा तेन्जिङ नोर्गे शेर्पा तथा सर एडमण्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेपछि नेपालको परिचय विश्वभर फैलियो । जसले गर्दा शेर्पा जातिको सघन बसोबास क्षेत्रको विकासमा प्रत्यक्ष प्रभाव पा¥यो । यसपछि नेपालमा पर्यटन व्यवसाय विस्तारै विकास हुँदै गयो । पर्यटन क्षेत्रको पर्वतारोहण विकास कार्यसँगै शेर्पाहरू आरोहीको रूपमा, पथप्रर्दशकको रूपमा र त्यस क्षेत्रमा पर्यटकलाई सेवा गर्ने हेतुले होटलव्यवसायमा आबद्ध भए । जसले गर्दा शेर्पा समुदायको जनजीवनमा सकारात्मक प्रभाव पर्नुका साथै समुदायको विकास र परिवर्तनमा ठूलो टेवा मिल्यो । उनीहरूको परम्परागत जीवन शैलीबाट आधुनिकीकरणको प्रक्रियामा क्रमिक रूपमा तीव्र गतिमा विकास भयो ।
यसरी शेर्पा समुदाय बुद्ध धर्ममा विश्वास गर्ने शान्तिप्रेमी, अहिँसावादी, सरल स्वभाव, इमान्दार र परिश्रमी तथा सक्षम पर्वतारोहणको रूपमा विश्वमा नेपाल र आफूलाई चिनाउन सफल समुदाय हो । यसै गरी हिमाली पर्यटन क्षेत्रमा शेर्पा समुदायको संलग्नता आजसम्म पनि त्यतिकै छ । विगतमा शिक्षाको कमीको कारणले गर्दा सहायक पथप्रर्दशक पदमा ट्रेकिङमा काम गरिरहेका शेर्पाहरूलाई पर्यटकले आफ्नो पद सोध्दा शेर्पा भनिएपछि हिजोआज पर्यटन व्यवसायमा सहायक पथप्रर्दशक पदलाई नै शेर्पा भनेर सम्बोधन गरिन्छ ।
…
नेपालनाम्चाले सुरु गरेको शेर्पा इतिहास, संस्कृति, उसको शान, सम्मान र संघर्षको गाथाकथा समेटिने ‘शेर्पा सिरिज’को ५ औं श्रृंखलामा शेर्पा इतिवृत समेटिएको युवा लेखक सेर्कु शेर्पाको पुस्तक ‘शेर्पा समुदायको मौलिक पहिचान’ बाट केही सम्पादनसहित यो लेख साभार गरिएको छ । शेर्पा सेरोफेरोसँग जोडिएका कुनै पनि सामाग्री आफ्नो स्पस्ट परिचयसहित नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाई तपाईं पनि ‘शेर्पा सिरिज’को अभिन्न हिस्सा बन्न सादर अनुरोध छ । सम्पादक, नेपालनाम्चा ।
नमस्ते
मेरो घर ताप्लेजुङ
गाबीस सागु 8 मालिङ्गेनि हो
मेरो बुवा को नाम नुर्बु शेर्पा हो
मेरो थर जुम्बा हो तर अदिकाङ्स शेर्पा दाजुबाई दिदी बहिनी हरुले मरो थर जुम्बा हो बन्दा शेर्पनको थर पनि जुम्बा हुन्छर बन्नु हुन्छ हामी कुन शेर्पा परो जानकनरि पान न है