
‘माइक्रो’ कथाः ‘ए के गरेको ? तान्यो मोराले, लौ न नि’
माइतीघरदेखि सातदोबाटोसम्म
गोविन्द श्रृङ्खला
(यो कथा साठीको दशकको मध्यतिरको हो । कथा म कृषि विकास बैंक मुख्य कार्यालयमा कार्यरत रहँदा लेखिएको हो ।)
घडीले पाँच बजायो ।
यसो हेरें, सहकर्मीका कुर्सिहरु खाली भइसकेका छन् । कम्प्युटरमा व्यस्त मलाई पनि घर जान हतार भयो । कम्प्युटर सट् डाउन गरेंं अनि कपडाले छोपें ।
बाहिर सिमसिम झरी परिरहेको छ । वर्षायाममा काठमाडौंको नियति अहो ! लाग्छ सडकहरु सडक हैनन्, नदीहरु हुन र खाली चौरहरु पोखरी … । सडकमा सवारी साधनको ठेलमठेल छ । फोहोर र हिलो छ्याप्दै अघि बढेका गाडीहरुले वाइकमा हिड्नेहरुको विजोग हुन्छ । छत भएको आफ्नो गाडी नभएका मजस्ता कति मान्छेहरु वाइकमा यस्तै सास्ती सहँदै यात्रा गर्छन् या सार्वजनिक बसको कोचाकोचमा एउटा कुनो च्यप्दै बस्छन् । म पनि प्रायः पानी परेको बेला अफिस जान सार्वजनिक बसकै यात्रामा हुन्छु । बिहान अफिस हिँड्ने बेलामा ठूलो पानी प-यो, निक्कै ठूलो । श्रीमतीलाई भनेँ, ‘हेर त, यस्तै पानी चार-पाँच घण्टा प-यो भने मञ्जुश्रीले काटेको चोभारको छेडो पनि सानो पर्ला ।’
श्रीमती केही बोलिनन् । केही क्षणपछि भनिन्, ‘आज वाइक नलानु न त ?’
मलाई पनि हिलो र पानीले होली खेल्दै अफिस जान मन थिएन । त्यसैले आज अफिस जान बसकै यात्रा रोजेें ।
दिउँसो सुनसान जस्तो देखिने सडकहरु पाँच बज्न पाउंदा नपाउँदै खचाखच हुन पुग्छन् । सडकमा ताँती लागेका साना ठूला गाडीहरु तँछाडमछाड अगाडि पुग्ने दाउ हेरिरहेका छन् । थापाथली इन्जीनियरिङ क्याम्पस अगाडिको बसस्टप मेरो बस चढ्ने ठाउँ । विभिन्न गन्तव्यका लागि बसहरु ओहोरदोहोर गरिरहेका छन् । म सातदोबाटो जाने माइक्रो बस कुरिरहेको छु । भिन्न भिन्न गन्तव्यका लागि यात्रुहरु प्रतीक्षारत छन् । सबैका आँखा गाडी आउने सडकतर्फ नै एकोहोरिरहेका छन् । छेउछाउमा मान्छेहरुको भीड छ, पर खाद्य संस्थानको गेटै नजिक कलेज पढ्ने केटा र केटी उभिएका छन्, दुवैले निर्धक्क चुरोटको सर्को तानिरहेका छन् । सार्वजनिक स्थानमा धुमपान गर्नेलाई कारवाही गर्ने नेपालको कानूनको खुलेआम उपहास गर्दै चुरोटको सर्कोमा आफुलाई समाहित गरिरहेका छन् । घरि अंगालो मार्दै छन् त घरि चुम्वनको मज्जा पनि लिइरहेका छन् ।
अहो ! हाम्रो राजधानी कति आधुनिक भएछ ? आधुनिकता कि विश्रृङ्खलित समाजको जग बसाउने काम ? जाउलाखेल… लगनखेल… सातदोबाटो.. .माइक्रो बस रोकियो । हतार गर्दै बस चढेँ, संयोगले सिट फेला प¥यो झ्यालतिर । पाँच बजेतिर बसमा सीट पाउनु भनेको संयोग नै हो । बस भरिएको छ । सिटमा मात्र होइन, केही यात्रु उभिएका पनि छन् । म सँगैको सीटमा भर्खर गाउँ तिरबाट आएका जस्ता देखिने महिला पुरुष बसेका छन्, साथमा तीन-चार वर्षे बालक पनि छ ।
दुवै मौन छन् । सायद पति पत्नि हुनु पर्छ तर पनि आपसमा दूरी कायम छ । वीचमा बालकलाई राखेका छन् । यो कस्तो अदव हो ? हाम्रो गाउँघरतिर बालबच्चा भएको धेरै बर्षसम्म पनि पतिपत्नी बीच बोलीचाली समेत हुंदैनथ्यो रे । हाम्रा बाआमाको पालामा । तर अचेल… अघिको खाद्य संस्थान गेटछेउको दृश्य आँखामा दोहोरिन्छ, समयले कति छिटो काँचुली फेरेछ ?
जाम लामो छ । हाम्रो बसको अघिल्तिर बग्रेल्ती गाडीहरु रोकिएका छन्, लाग्छ यो जाम छिचोल्न अझै आठ-दश मिनेट त कुर्नै पर्छ । मान्छेको ठेलमठेल् पसिनाको तीव्र दुर्गन्ध बसभित्रको वातावरण ज्यादै उकुसमुकुस छ । यात्रुहरु रुमालले हम्किरहेका छन् शीतलता पाउन । तर मान्छे, मान्छेका बीचबाट निस्केको ताप र रापले यो एउटा प्रक्रिया मात्र बनेको छ, यसले शितलता दिन सकेको छैन । नेपाल राष्ट्र बैंकको प्रवेशद्वार छिचोल्दै चिल्ला गाडिहरु ओहोर दोहोर गरिरहेका छन् । गाडीभित्र बस्ने आकृति राता, पिरा र चिल्ला देखिन्छन् । राम भण्डारको छेवैमा फाटेका कपडामा लपेटिएको एउटा मगन्ते, बटुवासँग दुई-चार रुपिया माग्दै गरेको दृश्य छ । मान्छेहरु बीचमा कति भिन्नता छ यो शहरमा । गाडिको झ्यालबाट यस्ता दृश्यहरु हेरिरहेको छु । अनायास बसभित्रको ठेलमठेलमा नारी आवाज सुनिन्छ, ‘ए के गरेको ? तान्यो मोराले, लौ न नि ।’
यात्रीहरु स-याङ्गव-याङ्ग गर्छन् ।
बाह्र-तेह्र वर्षको ठिटो एउटी महिलाको गलाको सिक्री तान्दा तान्दै समातियो । धन्न चाल पाइछन् ती महिलाले । केटोलाई बसका यात्रुहरुले पिट्दै बसबाट ओराले । एकै छिनमा मान्छेको भिड जम्मा भयो । पुलिसको जिम्मा लगाउने कुरा गर्दा गर्दै गस्तीमा आउँदै गरेको पुलिसले उसलाई भ्यानमा हालेर लग्यो । राजधानी कति असुरक्षित बनेको, दिउँसै मान्छेहरु चोरको फन्दामा पर्ने ? राज्य सञ्चालन गर्ने नेताहरुले भन्ने गर्छन्, राजधानीको सुरक्षा व्यबस्था कडा पारिएको छ । सार्वजनिक बसमा यसै गरि यात्रा गर्ने हो भने सायद उनीहरुले पनि अनुभव गर्दा हुन्, यहाँको सुरक्षा व्यबस्थाको हविगत । केही क्षणको पर्खाइपछि बस अगाडि बढ्यो । विस्तारै… थापाथलीको क्रसिङ्ग पार गर्न नपाउँदै फेरि ट्राफिकले हात खडा ग¥यो, बस रोकियो । बाटो काट्नेको लर्को छ । यसै लर्कोमा एउटा दम्पती पनि छ । महिला सकि नसकि हिडिरहेकी छिन् । उनको टाउको पछ्यौरीले कसेर बाँधिएको छ । पुरुषको काखमा नवजात शिशु छ । सायद ती महिला भर्खर सुत्केरी भएकी हुनु पर्छ । उनिहरुले बाटो काट्न पाउँदा नपाउँदै ट्राफिकले त्रिपुरेश्वरतर्फ जाने सडक खुला भएको संंकेत ग¥यो । सवारी साधनहरु हुत्तिदै अगाडि बढ्ने होड चल्यो । यसै क्रममा एउटा रातो कार ती महिलाको अगाडि घ्याच्च रोकिन्छ ।

ड्राइभिङ्ग सीटमा बसेकी महिलाले कालो चस्मा टाउको माथि राख्दै बोल्छिन्, ‘कस्ता पाखेहरु, बाटो काट्न पनि नजान्ने, मर्ने विचार छ कि क्या हो ?’
उनको यो कर्कश आवाजले मेरो मन पनि नराम्ररी झस्किन्छ । कति संवेदना नभएको नारी आवाज मैले रातो कारतर्फ हेर्छु । उच्च खानदानकी देखिने महिला भित्र कोमलता नभएको ‘महिला’ देख्दा अचम्म लाग्छ । एउटी महिलाले सुत्केरी महिलाको पीडा किन नबुझेकी होली ? मेरो अन्तरमनले प्रश्न गर्छ । ट्राफिकको संकेतसँगै हाम्रो बस पनि अगाडि बढ्छ । बाग्मती पूलको मध्य, सवारीसाधनको भिड, बसको गति अत्यन्तै कम, नाकै छेड्ने गरी तीव्र दुर्गन्ध । हिन्दुहरुको पवित्र बाग्मतीको दुर्दशा । मैले सुनेको छु विदेशतिर शहरका यस्ता नदीहरु पनि स्वच्छ कञ्चन र सफा हुन्छन् रे । फोहोर र ढलको व्यबस्थापन नदीमा हैन वेग्लै नाली मार्फत गरिन्छ रे तर निर्मल हुन सक्ने बाग्मतीलाई हामीले ढलसँग मितेरी लगाइदिएका छौं । हामी कति सभ्य … ?
कुपण्डोल… कुपण्डोल… गाडीको सहचालक कराउँछ । बस रोकिन्छ, यात्रीहरु चढने र ओर्लिने उपक्रम चल्छ । कुपण्डोलको दाँया बाँया रहेका बुटिक र श्रृंगार पसलमा महिलाहरुको भीड देखिन्छ । साउनको महिना महिलाहरुले हरियो चुरा पोते र परिधान लगाउने महिना रे सायद यसैको भीड होला । महिलाहरुमा मात्र पहिरनको यस्तो क्रेज किन होला ? आफैलाई प्रश्न गर्न मन लाग्छ । म गाउँमा जन्मे हुर्केको मान्छे शहरीया संस्कृतिसँग पटक्कै परिचित छैन । मलाई के लाग्छ भने शहरीया भन्दा नवशहरीयाहरु यस संस्कृतिको अनुयायी बनेका छन् । चुरा पोते र श्रृङ्गारका सरसामान किन्न जानेको भिड पेटीमा पनि उत्तिकै रहेको छ ।
सँगैको सडकपेटीमा दुइटी महिला एक आपसमा कुरा गरेको मेरो कानसम्म आइपुग्छ, ‘त्यो हाम्रो घर छेउकी बन्दाना छे नि, कति न शहरीया जस्तो, हिजोसम्म लाउन खान जान्दैनथी । आज लोग्ने विदेश गएर दुई-चार पैसा कमायो भन्दैमा हेर न उसको शहरीया फूर्ती ।’
अर्कीको साउतीको स्वर पनि सुन्न भ्याएँ, ‘तिमीलाई थाहा छ, त्यो त अर्कैसँग लागेकी छे रे नि । लोग्ने विदेशमा … ।’
उनीहरुको आवाज क्रमश असस्पष्ट हुंदै गयो । बसमा अझै यात्रुहरु थपिए । बस अगाडि बढ्यो । कुपण्डोलको उकालो चढ्दै गर्दा हाम्रो बसै नेर एउटा वाइक झण्डै ठोकियो । बसको ब्रेक झयाप्प नलागेको भए दुखद घटना हुन वेर लाग्दैनथ्यो । म अगाडि हुत्तिएँ, अगाडिको सीटमा ठोक्किनबाट रौं बरावर बचेकोमा ठूलो सास फेरें । सम्हालिंदै बाहिर हेरें, वाइक पनि कस्तो अनौठो, पछाडिको पुच्छर निक्कै माथी उठेको । यस्तै वीसको हाराहारीको केटोले हाँकिरहेको वाइकमा सत्र अठार बर्षकी केटी, केटालाई गम्ल्याङ्ग अँगालो हालेर बसेकी छे । बस रोकिएसँगै केटो पाखुरा सुर्किदै ड्राइभर माथी खनियो । मुक्का मुक्कि नै भयो । केटो वर्वराउँदै बसको छेवैमा आउंदा रक्सीको गन्ध ह्वास्स आयो । केटीको हाउभाउ देख्दा लाग्थ्यो, सायद ऊ पनि नशामा थिई । भीडभाड भएपछि ट्राफिक प्रहरी पनि आए । मेरो मनले मलाइ कोट्यायो, हाम्रो युवा पुस्ता केमा अल्झिएको छ, यो कस्तो शहरीया संस्कृति हो, जसले युवाको भविश्य नर्कतिर धकेलीरहेकोे छ । त्यहाँ के के भनाभन हुंदै थियो हाम्रो बस अघि बढ्यो ।
पुल्चोकको साझा पेट्रोल पम्प, ओहो ! के को मेला लागेको ? मैले झ्यालको सिसाबाट बाहिर हेरें । यो त पेट्रोल लिनेको लाइन पो रहेछ । हाम्रो बस अगाडि बढ्दै गयो तर बाइकको लाइन सकिएन । कति लामो लाइन ? नमस्ते सुपर मार्केट नजिकको अकाशे पुल सम्म लाइन देखेर मलाइ लाग्यो हाम्रो देश कति विध्न अभावको भूमरीमा परेको रहेछ । यहाँ तेल छैन,विजुली छैन, खाने पानी छैन, शान्ति सुरक्षा छैन, आपसी सद्भाव छैन, जताततै अभावै अभावले रुग्ण बनेको देशमा सवै भन्दा ठूलो कुरो देशकै अस्मिताको ठेगान छैन । यस्तै अभावको सहारा बन्ने नाटक गर्र्दै कस्ले कति खेर मुलुक कपलप्प निल्ने हो शंका लाग्छ । हुन त सीमाहरु मिचिएका छन्, मुलुकको क्षेत्रफल खुम्चिदो छ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका सम्पदामाथि निर्मम प्रहार भएकै छ तर देश चलाउनेहरु मन्त्रालय फुटाएर सत्ता जोगाउने खेलबाट माथि उठ्न सकेका छैनन् । हामीलाई सम्पन्न हुन नदिने को हो ? मन अमिलो हुन्छ । नेताहरुले देश बनाउने भाषण गर्छन् बनाउँदैनन्, देशको माया गर्नेहरु भाषण गर्ने ठाउँसम्म पुग्नै पाउँदैनन् अनि देश बन्छ कसरी ?
बस एक्कासी जाउलाखेलमा रोकिँदा मेरो विचारतन्द्रा टुट्छ । मान्छेहरु चढ्ने र ओर्लिने क्रमको निरन्तरता छ । नेपाल टेलिकमको गेट अगाडि विदेशी पर्यटक जोडी अँगालो मार्दै जिस्किरहेका छन्, मानौ उनीहरुलाई दुनियाको कुनै पर्वाह छैन, बटुवाहरुको कर्के नजर उनीहरुमाथि छ । बटुवाको हेराइलाई उनीहरुले कुनै महत्व दिएका छैनन्, उनीहरु स्वच्छन्द रुपमा आफ्नो प्रेमको अभिव्यक्ति गरिरहेका छन् । अलि पर एक हुल केटाकेटीहरु भेडा बाख्राको बथान झै लामबद्ध अघि बढिरहेका छन् । पछिपछि शिक्षकहरु उनीहरुलाई नियन्त्रण गरिरहेका छन् । सायद उनीहरु चिडियाखानाबाट आउदै गरेको हुनु पर्छ । केटाकेटीको हुल मानभवनतर्फ अगाडि बढ्छ । यसै क्रममा उनीहरुले कुरा गरेको आवाज मेरो कानमा ठोकिन पुग्छ । एउटा केटो भन्दै थियो, ‘जु को टाइगर त कस्तो दुव्लो !’
अर्कोले थप्दै थियो, ‘त्यो एलिफेण्ट पनि त एकदमै थिन् थियो । अनि त्यो मंकीले त मलाई झण्डै चिथोरेको यार ।’
उनीहरु यस्तै संवाद बोल्दै थिए । मलाई लाग्यो, हाम्रा भावी सन्ततीको भाषा कति विघ्न खिचडी भएको ? उनीहरुले बाघ, हात्ती, बाँदर भनेर चिन्दैनन् । हाम्रो भाषामा पनि जानिनजानी पश्चिमा अतिक्रमण भैरहेको छ । हाम्रो भाषा विकृत भएकोमा हाम्रा अभिभावक मख्ख छन् तर मलाई च्वास्स घोच्यो, मन दुख्यो ।
माइक्रो अगाडि बढ्छ । पाटन अस्पतालको गेटनजिक । अहो त्यहाँको दृश्य कति हृदय विदारक ! एउटी पच्चिस छव्विस वर्षकी युवती छाती पिटिपिटी रोइरहेकी छे । दुई जना मान्छेले उसलाई सम्हालेका छन् । भीडको बीचमा एम्वुलेन्स छ । सबैका मुहार मलिन छन् । भीडको बीचबाट आएको आवाजले मलाई पनि दुखी बनायो । भीडमा कसैले भन्दै थियो, ‘हरे पोहोर मात्र विहे भएको, विधवा भई विचरी… ।’
दुख त शास्वत सत्य हो अनि मृत्यु अन्तिम सत्य । किन मान्छेले यसलाई सहजै स्विकार गर्न सक्दैनन् ? लगनखेलको बसस्टप पुग्दासम्म मेरो मन अमिलो भइरह्यो । मैलाई पनि सत्य पचाउन निक्कै गाह्रो भइरहेको थियो ।
धेरै जसो यात्रुहरु लगानखेलमा ओर्लिए । अब हामी चार पाँच जना मात्र बाँकी रह्यौं । मैले बसको झ्यालबाट बसपार्कको छेउछाउमा लस्कैरै बसेका तरकारी बेच्नेहरुलाई हेरें । उनीहरु तरकारी बेच्नमा व्यस्त छन् । साढे पाँच बजेको समय कर्मचारीहरुको भीड छ, तरकारी किन्न । आफ्नो तरकारीको मूल्य एकोहोरो फलाकिरहेका छन् पसलेहरु । उपत्यकाको तरकारीको मागलाई पूरा गर्ने यी पृष्ठक्षेत्रका बासिन्दा जसले तरकारीको प्रत्येक अंशमा आफ्नो पसिना पोखेका छन्, आफ्ना खाली खुट्टा, ढुंङ्गा गेग्रेटो र काँडाहरु माथि चलाएका छन्, उनीहरुको परिश्रम देख्दा लाग्छ, खाडी मुलुकमा पलायन भएका हाम्रा अरु नेपालीभन्दा उनीहरु सयौंगुना स्वाभिमानी छन् र आफ्नो श्रम स्वदेशी भूमिमा पोखिरहेका छन् ।
माइक्रो लगनखेलबाट अगाडि बढ्दा म पनि ओर्लिने तरखरमा छु । अब त दुई चार मिनेट भित्रै मेरो गन्तव्य आइपुग्छ । झण्डै आधा घण्टाको यात्रामा देखिएका ती विविध पात्र र घटना मानव जीवनका सत्य कथा हुन् । सातदोबाटो आइपुग्यो । माइक्रो रोकियो, म पनि ओर्लें ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)