शेर्पा सिरिज २ः कति र कहाँ छन् शेर्पा ?

नेपालनाम्चाले ‘शेर्पा सिरिज’ सुरु गरेको छ । यो सिरिजमा शेर्पा इतिहास, संस्कृति, उसको शान, सम्मान र संघर्षको गाथाकथा समेटिनेछ । शेर्पा सेरोफेरोसँग जोडिएका कुनै पनि सामाग्री आफ्नो स्पस्ट परिचयसहित नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाई तपाईं पनि शेर्पा सिरिजको अभिन्न हिस्सा बन्न सादर अनुरोध छ ।

शेर्पा सिरिजको दोस्रो श्रृंखलामा शेर्पा इतिवृत समेटिएको युवा लेखक सेर्कु शेर्पाको पुस्तक ‘शेर्पा समुदायको मौलिक पहिचान’ बाट केही सम्पादनसहित यो लेख साभार गरिएको छ । सम्पादक, नेपालनाम्चा ।

नेपालमा वि.सं. २०४७ सालभन्दा अगाडि प्रमाणबिना लगभगको हिसाबमा जनसङ्ख्या प्रस्तुत गर्ने चलन थियो । मातृभाषाको आधारमा र जिल्लाको आधारमा भने वि.सं. २००९ देखि वि.सं. २०११ सालमा जनसङ्ख्याको तथ्याङ्क लिइएको पाइन्छ । यसरी तथ्याङ्क सङकलन गरी प्रकाशित गरिएको तथ्याङ्कअनुसार भोटे शेर्पा भाषा बोल्नेको सङ्ख्या ७०,१३२ जना (वि.सं. २००९/११ रहेको) नेपालको राजनीतिक दर्पण नामक पुस्तकमा लेखेको पाइन्छ । तर वि.सं. २०४८ देखि नेपाल सरकारले जनसङ्ख्याको तथ्याङ्क सङ्कलन सुरु गरेको पाइन्छ ।

नेपाल शेर्पा संघले शेर्पाहरूको जनसङ्ख्या हाल ५ लाख रहेको दाबी गर्दै आएको छ । तर वि.सं. २०४८ को जनगणनाअनुसार नेपालमा शेर्पाको जनसङ्ख्या १,१४,७८० रहेको छ । यो जम्मा नेपालको कूल जनसङ्ख्याको ०.६ प्रतिशत हुन आउँछ । वि.सं. २०५८ को जनगणनाअनुसार शेर्पाको जनसङ्ख्या नेपालमा १,५४,६२२ रहेको थियो । यो जम्मा नेपालको जनसङ्ख्याको ०.६८ प्रतिशत हुन आउँछ । वि.सं. २०६८ को राष्ट्रिय जनगणनाअनुसार शेर्पा जातिको जनसङ्ख्या नेपालमा १,१२,९४६ रहेको देखाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले प्रकाशन गरेको शेर्पा जातिको जनसङख्या वि.सं. २०४८ देखि २०५८ मा अथवा १० वर्षको अवधिमा ३९,८४२ वृद्धि भएको देखाएको छ भने वि.सं. २०५८ देखि वि.सं.२०६८ को अवधिमा शेर्पा जातिको जनसङ्ख्या ४१,६७६ घटेको देखाएको छ । तर नेपालको जनसङ्ख्यामा भने मृत्युदरभन्दा जन्मदर नै उच्च देखाएको छ । यसर्थ शेर्पाहरूको पनि अन्य जातिहरूको जस्तै गरी जनसङ्ख्या वृद्धि हुनुको सट्टा घटेको देख्दा कतै केन्द्रीय तथ्याङ्क विभागको जनगणना प्रकाशन गर्दा गल्ती भएको त हैन ? भन्ने प्रश्न उठेको छ ।

जनसङ्ख्याको हिसाबले हाल नेपालमा शेर्पाहरूलाई अल्प सङ्ख्यकमा राखेको छ । तर जनगणना टिपोट गर्दा भएको समस्याको कारण शेर्पाहरू अल्प सङ्ख्यामा नेपाल सरकारले राखेको शेर्पा अगुवाहरू बताउँछन् । यसरी चित्त नबुझ्दो तरिकाले जनसङ्ख्याको तथ्याङ्क प्रकाशन हुनुमा बहुआयमिक तत्वहरूले भूमिका खेलेको पाइन्छ । हिमाली भूभागमा बस्ने प्रायः सबै समुदायले थरको सट्टा दिशा निर्देशन गर्ने नाम विगतमा लेख्दै आएको पाइन्छ । विगतमा शेर्पा भनेर धेरैले लेखेता पनि वि.सं. २०५४ मा नेपाल आदिवासी जनजाति महासंघको स्थापना तथा २०६२÷६३ दोस्रो जनआन्दोलन पश्चात् थरलाई प्रथामिकता दिनुले पनि शेर्पा समुदायको जनसङ्ख्या घटेको अनुमान गर्न सकिन्छ । उदाहरणको लागि शेर्पाको सट्ट लामा, खम्बाचे, पिनासा, गोपर्म आदि लेख्दै आएको पाइन्छ ।

शेर्पा समुदायको बसोबास स्थान हिमाली तथा उच्च पहाडी क्षेत्रमा भएका हुनाले, तथ्याङ्क सङकलन गर्ने सरकारी कर्मचारी भौगोलिक विकटताले गर्दा सम्बन्धित ठाउँमा नपुग्नाले, सम्बन्धित क्षेत्रको व्यक्तिलाई जनसङ्ख्या टिपोटमा सामेल नहुनाले र शेर्पाहरू विदेश पलायन भएका कारणले गर्दा शेर्पा जातिको जनसङ्ख्याको एकिन तथ्य तथ्याङ्क आउन नसकेको आँकलन गर्न सकिन्छ । नेपालको हिमाली तथा उच्च पहाडी भेगमा बसोबास गर्ने शेर्पा जाति मात्र होइन कि अन्य जातिहरूको जनसङ्ख्या बृद्धिदर घट्दो क्रममा छ । नेपाल सरकारको केन्द्रीय तथ्याङ्क विभागले शेर्पाहरूको जनसङ्ख्या कम हुनुमा जनगणना प्रकाशन गर्दा पनि त्रुटी हुन गएको हुन सक्छ ।

राष्ट्रिय जनगणना वि.सं. २०६८ को जनगणनाअनुसार केन्द्रीय तथ्याङ्क विभागले सन् २०१३ मा प्रकाशन गरेको जातजातिको जनसङ्ख्या प्रतिवेदनअनुसार नेपालको विभिन्न जिल्लामा रहेका शेर्पाहरूको जनसङ्ख्या निम्न प्रकारको छ –
१) ताप्लेजुङ- १२,०४३
२) सङ्खुवासभा- ९,२५७
३) सोलुखुम्बु- १७,६९२
४) पाँचथर- ६९१
५) इलाम- ३,६६३
६) धनकुटा- ७९७
७) तेह्रथुम- १,१६०
८) भोजपुर- ३,०२७
९) ओखलढुङ्गा- १०,३३१
१०) खोटाङ- १,४८४
११) उदयपुर- ५६३
१२) झापा- १,२९८
१३) मोरङ- ६०४
१४) सुनसरी- १,५५९
१५) सप्तरी- ५१
१६) सिराहा- १७
१७) दोलखा- ८,९३३
१८) सिन्धुपाल्चोक- ७,५७८
१९) रसुवा- ५६
२०) सिन्धुली- ४४
२१) रामेछाप- ३,९८०
२२) काभ्रेपलाञ्चोक- १००
२३) ललितपुर- १,०२०
२४) भक्तपुर- २९८
२५) काठमाडौं- २३,४६०
२६) नुवाकोट- ४५८
२७) धादिङ- ६७
२८) मकवानपुर- ३८
२९) धनुषा- ८८
३०) महोत्तरी- २२
३१) सर्लाही- ४२
३२) रौतहट- ३५
३३) बारा- २६
३४) पर्सा- ११९
३५) चितवन- १४४
३६) मनाङ- २५
३७) मुस्ताङ- १००
३८) गोरखा- ४९
३९) लमजुङ- ००
४०) तनहुँ- २९
४१) स्याङ्जा- १४
४२) कास्की- ५११
४३) म्याग्दी- २८
४४) पर्वत- ३२
४५) बाग्लुङ- ००
४६) गुल्मी- ००
४७) पाल्पा- १३
४८) अर्घाखाँची- ००
४९) नवलपरासी- ९५
५०) रुपन्देही- ३९७
५१) कपिलवस्तु- २५३
५२) डोल्पा- ००
५३) जुम्ला- ००
५४) कालिकोट- ००
५५) मुगु- ००
५६) हुम्ला- ००
५७) प्युठान- ००
५८) रोल्पा- ३६
५९) रुकुम- ००
६०) सल्यान- ००
६१) सुर्खेत- ३३
६२) दैलेख- ००
६३) जाजरकोट- ००
६४) दाङ- ६१
६५) बाँके- २१३
६६) बर्दिया- ७६
६७) बाजुरा- १४
६८) बझाङ- ००
६९) दार्चुला- ६२
७०) अछाम- ००
७१) डोटी- १३
७२) डडेलधुरा- २०
७३) बैतडी- ००
७४) कैलाली- ६५
७५) कञ्चनपुर- १८
जम्मा जनसङ्ख्या- १,१२,९४६

राष्ट्रिय योजना आयोगको सचिवालय केन्द्रीय तथ्याङ्क विभागले प्रकाशन गरेको वि.सं. २०६८ को जनगणनाअनुसार सहरी क्षेत्र र ग्रामीण क्षेत्रमा बसोबास गर्ने शेर्पाहरूको जनसङ्ख्या निम्न प्रकार छ –
१) सहरी क्षेत्र- १७,६३७
२) ग्रामीण क्षेत्र- ९५,३०९

यसरी नेपाल सरकारले वि.स. २०४८ सालदेखि प्रकाशन गर्दै आएको नेपालको जनगणनामा वि.सं. २०५८ मा नेपालको ७५ ओटा जिल्लाहरूमध्ये ७१ ओटा जिल्लाहरूमा शेर्पा समुदायको बसोबास देखाएको पाइन्छ । तर वि.सं.२०६८ को प्रतिवेदानमा ५८ जिल्लाहरूमा मात्र शेर्पा समुदायको बसोबास देखाएको पाइन्छ ।

लेखक सेर्कु शेर्पा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button