शेर्पा सिरिज १ः साहसिक शेर्पा सेरोफेरो

नेपालनाम्चाले शेर्पा सिरिज सुरु गरेको छ । यो सिरिजमा शेर्पा इतिहास, संस्कृति, उसको शान, सम्मान र संघर्षको गाथाकथा समेटिनेछ । शेर्पा सेरोफेरोसँग जोडिएका कुनै पनि सामाग्री आफ्नो स्पस्ट परिचयसहित नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाई तपाईं पनि शेर्पा सिरिजको अभिन्न हिस्सा बन्न सादर अनुरोध छ ।

शेर्पा सिरिजको पहिलो श्रृंखलामा शेर्पा इतिवृत समेटिएको युवा लेखक सेर्कु शेर्पाको पुस्तक ‘शेर्पा समुदायको मौलिक पहिचान’ बाट केही सम्पादनसहित यो लेख साभार गरिएको छ । सम्पादक, नेपालनाम्चा ।


परापूर्व कालदेखि नै नेपालको उच्च हिमाली भू–भागमा बसोबास गर्दै आइरहेका शेर्पा समुदायको आफ्नो छुट्टै मौलिक, धार्मिक तथा साँस्कृतिक इतिहास रहेको छ । समयको परिवर्तनसँगै आज २१ औँ शताब्दीसम्म आइपुग्दा शेर्पाहरू उच्च हिमाली भू–भागबाट देशको विभिन्न भू–भाग तथा विदेशी भूमिमासमेत छरिएर बसोबास गर्दै आइरहेको पाइन्छ । सोलुखुम्बुलाई शेर्पाहरूको थातथलो मानिन्छ । शेर्पाहरू आफूहरूलाई बुद्ध धर्ममा विश्वास गर्ने शान्तिप्रेमी, अहिंसावादी, सरल, इमान्दार र परिश्रमी तथा सक्षम पर्वतारोहीको रूपमा विश्वमा चिनाउन सफल समुदाय हो ।

बौद्ध धर्म गुरुहरूका अनुसार सम्भोटा लिपिमा शरप वा शरव लेख्ने चलन छ । शरप वा शरव दुवै पर्यायवाची शब्द हुन् । सम्भोटा लिपिमा लेख्दै आएको शब्दलाई पछिल्लो कालमा देवनागरी र अङ्ग्रेजी लिपिमा शरप शब्द लेख्दा अपभ्रंश भई शेर्पा लेख्न थालिएको हो । हुनत शेर्पा भाषा सम्भोटा लिपिबाहेक अन्य कुनै पनि लिपिमा शुद्ध उच्चारण हुने गरी लेख्न सकिँदैन । नेपाली नागरिकताको प्रमाण–पत्र लिँदा देवनागरीमा नै नाम लेख्नु पर्ने कारणले प्रायः शेर्पाहरूको नाम अशुद्ध लेखिएको पाइन्छ ।

शरप शब्द ‘शर’ र ‘प’ दुई शब्द मिलेर भनेको छ । यसको अर्थ ‘शर’ भनेको पूर्व र ‘प’ भनेको बेली हो । शरप शब्दको अपभ्रंश शेर्पा हो । तसर्थ शेर्पाको अर्थ पूर्वेली हो । शेर्पा शब्दले दिशा निर्देशन भएको पहिचान दिन्छ । जस्तै पश्चिमी भेगमा बस्ने मानिसलाई नुब्री–पा, दक्षिणमा बसोबास गर्नेलाई ल्हो–पा र उत्तरमा बसोबास गर्नेलाई ज्याङ–पा भनिन्छ ।

प्राग इतिहास कालदेखि मानिसहरू आ–आफ्नो सुविधाअनुसार विभिन्न क्षेत्रमा स्थानन्तरण भई बस्नु पर्दा तदनुसार नामकरण भएको देखिन्छ । हाम्रो समाजका प्रमाणित भोट ब्याकरण नियमको आधारमा बसेर कुरा गर्दा ‘शेर’ भनेको पूर्व दिशा र ‘प’ स्वामित्वबोधक शब्द हो । त्यसै हुनाले शरप(शेर्पा) भनेको पूर्व दिशामा बस्ने पूर्वेली भन्ने शाब्दिक अर्थ हुन्छ ।

शेर्पा भन्नाले उच्च हिमाली भागमा बसोबास गर्ने पूर्वका बासिन्दा भनी परिभाषित गरेको छ । पूर्वको बासिन्दा भएको कारणले गर्दा शेर्पा भनेर चिनिएका शेर्पाहरूको उत्पति, बसाइँसरार्इँ र नामकरणको सम्बन्धमा विभिन्न विद्वान्हरूले थुप्रै तर्कहरू राखेका देखिन्छन् । विभिन्न लेखकहरूको अनुसन्धानात्मक ग्रन्थअनुसार शेर्पाहरू नेपालको वर्तमान सीमाङकन हुनु पूर्व तिब्बतको भागबाटै पूर्वी नेपाल प्रवेश गरेको पाइन्छ । भारतमा अङ्ग्रेज साम्राज्यको विस्तार भइरहेको बखत नेपाल बाईसी र चौबीसी राज्यका साथै उपत्यकामा एउटै वंशको तीन छुट्टाछुट्टै राज्यहरू थिए । पृथ्वीनारायण शाहले वि.सं. १८०० मा नेपाल राज्य एकीकरण शुरुवात गरेका थिए । नेपाल राज्य एकीकरण गर्नु पूर्व नेपाल भनेको वर्तमान काठमाडौ, भक्तपुर र ललितपुर मात्र थियो । त्यसताका शेर्पाहरूको बसोबास रहेको भूभाग हालको तिब्बती भूभागसँग सम्बन्धित रहेको र सिमाना नरहेको हुनाले शेर्पाहरूको सामाजिक, साँस्कृतिक तथा आर्थिक क्रियाकलापहरू तिब्बतीहरूसँग मिल्दाजुल्दा छन् । शेर्पाहरूले काठमाडौंलाई पल्वीयुल (नेवारहरूको गाउँ), नेपाललाई यम्बुर, तिब्बतलाई बे(बोद्), भारतलाई ग्याकार, चीनलाई ग्यामिक र अन्य देशलाई इन्जी लुङबा भन्ने गर्थे । अझै पनि बुढापाकाहरू काठमाडौं घुम्न जाँदा नेपाल घुम्न जाने भन्ने भनाइबाट यो कुरालाई प्रमाणित गर्ने आधार भेटिन्छ ।

लेखक सेर्कु शेर्पा

नेपालको राजनीतिक विभाजनलाई विभिन्न समयमा विभिन्न आधारहरू लिएर गर्ने गरेको पाइन्छ । वि.सं. १९१० मा प्रथम मुलुकी ऐन ल्याएको थियो । यस ऐनमा शेर्पा समुदायलाई जातिय श्रेणीकरणमा मासिने मतुवाली अन्तर्गत भोटे भनी उल्लेख गरिएको पाइन्छ । नेपाललाई भीमसेन थापाको पालामा ३९ जिल्लामा विभाजन गरिएका थियो । वीर शमशेरको पालामा पहाडतर्फ २३ जिल्ला र तराईतर्फ १२ गरी जम्मा ३५ जिल्लामा विभाजन गरिएको थियो । त्यसैगरी वि.सं. २०१८ साल वैशाख १ गते तत्कालीन राजा महेन्द्रले १४ अञ्चल ७५ जिल्लामा विभाजन गरेका थिए । तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सफलतापूर्वक सगरमाथा आरोहणपश्चात् वि.सं. २०१० आषाढ ४ गतेको गोरखापत्रको सम्पादकीयमा नेपालको पूर्वी प्रदेश भनेर हालको सोलुखुम्बुलाई सम्बोधन गरिएको थियो । बुढापाकाहरूका अनुसार यसरी जिल्लाहरूको विभाजन हुँदा नामकरण पनि भयो । नामकरण गर्दा शेर्पाहरूले आदिम कालदेखि नै श्यारखुम्बु भनेर चिनाउँदै आएको पूर्व ३ नम्बरको नाम सोलुखुम्बु रहन गयो । त्यसैले शेर्पा भाषा श्यारखुम्बु शब्दको अपभ्रंश सोलुखुम्बु हो । तसर्थ नेपालको हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्म फैलिएर बसेका एउटै भाषा, धर्म, संस्कारसंस्कृति र व्यवसाय अगालेका हिमाली शेर्पा समुदायका मानिसहरू हिजो गाउँ ठाउँ अनुसार परिचाय दिन्थे भने यसपश्चात् जिल्लागत रूपमा परिचय दिन थाले । जस्तै दोलखाको शेर्पा, रामेछापको शेर्पा, सोलुखुम्बुको शेर्पा, सिन्धुपाल्चोकको शेर्पा, खोटाङको शेर्पा आदि ।

शेर्पा समुदायभित्र भने एक अर्कालाई स्यारवा भनेर चिन्थे । सन् १९५३ मे २९ तारिख (१६ जेष्ठ २०१०) को दिन सगरमाथाको टुप्पोमा पहिलो पटक मानव पहिला राख्न तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारी सफल भए । यसरी बेलायतलगायत अन्य विकसित राष्ट्र तथा नेपालमा सगरमाथा आरोहणको चर्चा व्यापक भयो । यसरी सगरमाथा आरोहाणको चर्चा सँगसँगै शेर्पा समुदायको पनि विश्वभर चर्चा भयो । तत्पश्चात् स्यारवा समुदाय विश्वमा शेर्पा नामबाट चिन्न थाले । नेपालमा धर्मराज थापाले “हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा” भनेर गीत गाएका थिए । यसरी शेर्पा समुदायको नाम नेपालको पर्यायवाची शब्दको रूपमा विश्वमा नै प्रस्तुत भएको पाइन्छ । सन् १९५३ भन्दा अगाडिसम्म कुनै पनि विदेशी तथा स्वदेशी अध्ययन अनुसन्धानकर्ताहरूले शेर्पा समुदायको अध्ययन अनुसन्धान गरेको इतिहास पाइँदैन । यसपछि मात्र शेर्पा समुदायको बारेमा विश्वका विभिन्न विद्धान्हरूले अध्ययन अनुसन्धान थालेको इतिहास पाइन्छ । अध्ययन अनुसन्धानको क्रममा शेर्पाहरू गोन्पा शिक्षा लिएका हुनाले अनुसन्धानकर्तालाई भाषाको चुनौतीको सामना गर्नु पर्ने थियो । यसैगरी शेर्पा समुदायले पनि अनुसन्धानकर्ताले सोधेको प्रश्न बुझ्न भाषाका कारण चुनौतीपूर्ण थियो ।

सन् १९५३ मा दुई महिना र सन् १९५७ मा सात महिना मानवशास्त्री क्रिष्टोफ् वोन् फूरर—हैमेण्डर्फले खुम्बु क्षेत्रका शेर्पाहरूको पहिलो प्रजाति शास्त्रीय अध्ययन (इथ्नोग्राफिक स्टडी) गरी सन् १९६४ मा ‘द शेर्पाज् अफ नेपाल’ नामक पुस्तक प्रकाशन गरेका थिए । अध्ययन अनुसन्धानको क्रममा शेर्पाहरू तिब्बतको हिमालयन क्षेत्रबाट नेपालको पूर्वी हिमालयन क्षेत्रमा बसोबास गरेको उल्लेख गरेका छन् । तर बौद्ध धर्म गुरुहरूका अनुसार आदिम कालदेखि नै शेर्पाहरू नेपालको पूर्वी हिमाली क्षेत्रमा बसोबास गर्दै आएका हुन् । तसर्थ यी सम्पूर्ण अध्ययन अनुसन्धान तथा धार्मिक गुरुहरूको भनाइअनुसार शेर्पा समुदाय प्राचीन कालमा तिब्बतको पूर्वी क्षेत्र खाम सलमोगाङबाट ल्हासा हुँदै नाङ्पाला पर्वतबाट हालको सोलुखुम्बु जिल्लामा बसोबास गर्दै आएको पाइन्छ । यसरी आउने क्रममा सोलुखुम्बुमा पहिलो प्रवेश गर्ने व्यक्ति मेमे फछेन हुन् । अध्ययन अनुसन्धानको तिथिमितिमा एक रूपता नभएको हुनाले शेर्पाहरू एक ठाउँबाट अर्र्कोे ठाउँमा बसोबास गरेको मिति अस्पष्ट देखिन्छ ।

यी कुराले के प्रष्ट पार्दछ भने प्राचीन कालमा देशको सिमाना नहँुदा हालको तिब्बत, नेपाल र भारतको हिमाली क्षेत्रहरूमा घरपालुवा जनावरहरू जस्तै चौरीगाई, याक, नाक आदिका साथमा शेर्पा समुदायको बसोबास छरिदै आएको पुष्टि हुन्छ । त्यतिमात्र होइन, हिमाली क्षेत्रमा शेर्पाहरू घरपालुवा जनावरको खर्क तथा चरण क्षेत्रको खोजी गर्दै बसोबास गर्दै आएको पाइन्छ । विभिन्न तिथिमितिमा भएको नेपाल भोट युद्धपश्चात् वि.सं. १८४५ मा नेपाल, तिब्बत र चीनका बीचमा भएको बेत्रावती सन्धिमा चिनियाँ अधिकारीले नेपाल र तिब्बतको केरुङ्ग र कुती क्षेत्रको सिमाना रेखाङ्कन गरेका थिए । त्यसै गरी ई.सं. १९६० मा तत्कालीन चिनियाँ प्रधानमन्त्री चाउ एन लाइ र नेपालका तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला बीचको सम्झौताको आधारमा आधुनिक नेपालको सिमाङ्कन गर्दा शेर्पा समुदायको आदिमथलो नेपालको पूर्वी हिमाली क्षेत्रमा पर्न आएको देखिन्छ ।

डोरबहादुर विष्टको “सबै जातको फुलबारी” नामक पुस्तकमा उहिलेको अविकसित बाटोघाटोको असुविधा भएको र एउटै राष्ट्रिय परम्परा नभएको नेपालमा एक थरीले अर्का थरीको वास्ता गर्ने चलन थिएन । न सरकारी स्तरबाट सबैलाई नजिक ल्याउने प्रयास नै भएको थियो । त्यसैले हाम्रो सम्बन्ध तिब्बती जनता र तिब्बतको भूभागसँग बढी रहिआएको थियो । अनि बाँकी नेपालीले हामीलाई पनि तिब्बतका भोटेभन्दा कुनै फरक दृष्टिले हेर्दैनथे भनि उल्लेख गरिएको पाईन्छ । यी कुराले के प्रष्ट पार्दछ भने शेर्पा समुदायको बसोबास सदियौंदेखि नै नेपालको पूर्वी हिमाली क्षेत्रहरू रहेको पाइन्छ ।


सोलुखुम्बुलाई शेर्पाहरूको बसोबासको आधारमा खुम्बु, फारक र स्योरोङ गरी तीन भागमा विभाजन गरिएको छ । नाम्चेदेखि माथिल्लो भू–भाग खुम्बु भनिन्छ । खुम्बुको अर्थ ‘मलाई थाहा छ’ हुन्छ । खुम्बुमा बसोबास गर्ने शेर्पाहरूलाई खुम्बोक भनिन्छ । जोरसालेदेखि खरिखोलासम्मका क्षेत्रलाई फारक भनिन्छ । फारकको अर्थ “बीचमा” भन्ने हुन्छ । यस क्षेत्रमा बसोबास गर्ने शेर्पाहरूलाई फारक–पा भनिन्छ । खरिखोलाभन्दा तल्लो भू–भागलाई स्योरोङ भनिन्छ । स्योरोङको अर्थ ‘औलमा बसोबास गर्ने’ भन्ने हुन्छ । यस क्षेत्रमा बसोबास गर्ने शेर्पाहरूलाई स्योरे भनिन्छ । यसरी बसोबासको आधारमा त्यहाँका बासिन्दालई खुम्बो, फारक–पा र स्योरे भनेर चिनिन्छ । तर यी तीनै क्षेत्रमा बसोबास गर्ने शेर्पाहरूमा भाइ भाइको नाता पाइन्छ । सोलुखुम्बु जिल्लाको यी तीन क्षेत्रमा परापूर्व कालमा शेर्पाहरू बसोबास गर्दै आइरहेका भएतापनि समय सान्दर्भिक कृषि व्यवसाय, तिब्बतसँगको व्यापार तथा घरपालुवा जनावर चौरीगाई, याक, नाकको साथमा नेपालको हिमाली क्षेत्र पूर्व ताप्लेजुङ देखि पश्चिम दार्चुलासम्म बसोबास गर्दै आएका छन् ।

क्रिष्टोफ् वोन् फूरर—हैमेण्डर्फ लगायतका अहिलेसम्मको सम्पूर्ण देशी तथा विदेशी विद्धान्हरूले मुगलवंशी मङ्गोल मूलका मङ्गोल वंशी भनेर चित्रण गरेको पाइन्छ । साथै शेर्पाहरू नेपालमा मुख्यतः सोलु, फारक र खुम्बुमा बसोबास गरेको उल्लेख गरेको छ ।

एस बी ओर्टनरकोे पुस्तक ‘हाइ रिलिजन’मा शेर्पा समुदायले मूल धर्मगुरूको रूपमा मान्दै आएको पोन्लोप लामा साङ्वा दोर्जेले पाङवुचेमा ई.सं. १६६७ मा, राल्वा दोर्जेले थामेमा ई.सं. १६६७ देखी १६७७ मा र खेन्पा दोर्जेले रिमिज्युङमा ई.सं. १७२० मा गोन्पाहरू स्थापना गरेको उल्लेख गरेको पाइन्छ । यिनै लामाहरूको वंशावलीको आधारमा शेर्पा समुदाय तिब्बतको खाम प्रदेशको सलमोगाङबाट नेपाल आएको भनि अनुमानित मिति अनुसन्धानकर्ताहरूले उल्लेख गरेको पाइन्छ ।
शेरी बी. ओर्टनरले शेर्पाहरू तिब्बतको खाम प्रदेशबाट लगभग ई. सं. १४८० तिर प्रस्थान गरी ई. सं. १५३३ मा खुम्बुमा र ई. सं. १५५३ मा सोलुमा बसोबास गर्न थालेको साथै शेर्पा समुदायको उच्च स्थानमा रहेको पाङ्वुचे गोन्पा ई. सं. १६६७ निर्माण गरेको कुरा उल्लेख गरेको छ । तर, पाङवुचेका स्थानीय तथा हिमालयन शेर्पा साँस्कृतिक केन्द्रको संस्थापक सदस्य ल्हाक्पा नुर्वु शेर्पाका अनुसार ई. सं. १६६७ मा पङवुचेको गोन्पा पूर्ण निर्माण भएको हो । उहाँले त्यो भन्दा अगाडि एक तले गोन्पा रहेको र उक्त गोन्पा हिउँको पहिरोले भत्काएको बताउनुभएको छ ।

हिमालीभूभागमा बसोबास गर्ने मानिसहरू पनि विभिन्न थरमा विभाजन हुन्छन् । तर, उनीहरूलाई ठाउँ विशेषबाट चिन्ने गरेको पाइन्छ । सङ्खुवासभा जिल्लाको अरुण खोलाको माथिल्लो भागमा चेपुवा, हटिया, चेमताङ, किमाथाङ्का आदिमा बस्नेहरूलाई ह्लोमी भन्छन् । सोलुखुम्बुमा बस्नेलाई शेर्पा भन्ने चलन छ । उनीहरू धेरै पर्वतारोहण र पर्यटन–व्यवसायमा विशेष सीप हासिल गरेका हुन्छन् । यस्तै मनाङमा बस्नेलाई न्हेसाङ र लार्केमा बस्ने मानिसलाई न्हुपरी भन्ने चलन छ ।


नेपाल सरकारले वि.सं. २०५२ मा आदिवासी जनजाति उत्थानका लागि राष्ट्रिय आयोग बनाएर नेपालका ६१ वटा जनजातिलाई सूचीकृत ग-यो । जसमध्ये शेर्पा पनि एक हो । अन्तर्राष्ट्रिय परिवेश तथा नेपालका आदिवासी जनजातिको मागलाई सम्बोधन गर्नका लागि उक्त आयोग स्थापना भएको थियो । यसै गरी वि.सं. २०५४ मा नेपाल आदिवासी जनजाति महासंघको स्थापना भयो । यसपश्चात् नेपाल सरकारले सूचीकृत गरेको आदिवासी जनजातिहरू एकै ठाउँमा गोलबद्ध भए । आदिवासी जनजाति भन्नेले आफ्नो छुट्टै मातृभाषा र परम्परागत रीतिरिवाज, साँस्कृतिक पहिचान र संरचना तथा लिखित वा अलिखित इतिहास भएको अनुसूची ५९ अन्तर्गतका जाति वा समुदायहरू आदिवासी हुन् भनी आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ ले किटान गरेको छ ।

यसरी वि.सं. २०५८ मा आदिवासी जनजाति उत्थान प्रतिष्ठानको पहलमा ५९ वटा आदिवासी जनजातिलाई कानुनी मान्यता दिएपछि विस्तारै आदिवासी जनजातिको हकअधिकारले सम्बोधन पाउन थाल्यो । ५९ आदिवासी जनजातिहरूमध्ये शेर्पा समुदाय पनि एक हुन् । प्राचीन कालमा शेर्पाहरू हिमाली तथा उच्च पहाडी क्षेत्रमा बसोबास गर्दै आएका छन् । तर हाल शेर्पाहरू नेपालको पहाडी, तराई क्षेत्रका साथै विदेशी भूमि भारत, चीन, अमेरिका, युरोपियन मुलुकमा समेत बसोबास गर्दै आइरहेका छन् । हालसम्मको अध्ययन अनुसन्धानअनुसार प्रजातीय आधारमा शेर्पा समुदाय मङ्गोलियन हुन् ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button