काठमाडौंको कोठाबाट काठमाडौंकै कालो कथा

सकसपूर्ण राजधानी

कल्पना खरेल

भिडभाडको सहर । कोलाहालको सहर । लाखौँको सपना बोकेको सहर । अवसरहरुको मुहान मानिने सहर । त्यो सहर हो हाम्रो राजधानी । देशकै केन्द्रबिन्दु । तिन जिल्लाको मिश्रण ठुलो सहर राजधानी । पूर्व मेचीदेखि पश्चिम माकालीसम्मको मानिस अवसर खोज्न आउने ठाउँ काठमाडौं । देशकै मुटु मानिने राजधानी । धेरैको सपना साकार पारेको राजधानी । अन्तर्राष्ट्रिय स्तरमा जोडिएको सहर । विभिन्न देश विदेश आउने जाने अन्तर्राष्ट्रिय पुलको काम गरेको राजधानी ।

आज यही सहरको कोठाभित्र शब्द लिपिबद्ध गर्दै छु । कतै थुनिएको जस्तो । कतै बाँधिएको जस्तो । कतै च्यापिएको जस्तो । शरद् ऋतु आकाशमा बादल सल्बलाइरहेको । धम्म अँध्यारो दिउँसै रात जस्तो । झ्यालबाट नियाल्न खोजे । बिना प्रकाश, बिना किरण अन्धकार देखिन्छ । ठुला ठुला महलका कक्कीटका भित्ताहरु । न स्वच्छ वायुको स्पर्श छ । न सूर्यको पारिलो ताप नै छ । ती झ्यालहरु नै व्यर्थ साबित भइरहेछन् । न त्यस झ्यालले घामको प्रकाश नै दिन सक्छ । न त्यो झ्यालले स्वच्छ वायुको स्पर्श दिन सक्छ । न कुनै हरियाली दृश्य नै देखिन्छ । त्यो अँध्यारो कोठामा न खुल्ला आकाश नै देख्न सकिन्छ । मेरो छ महिनाको बसाईको अन्तरालमा कोभिडको प्रभावले सुस्त भए एक महिना ! अरु तीन महिना उपन्यास (निकाहा)भित्र व्यस्त भएँ ! उपन्यास लेखिसकेपछि निस्सासिएँ ! निक्कै सकस भयो !

काठमाडौँमा घर भएका घरबेटीहरु प्रायः माथिल्लो तलामा बस्छन् । आफ्नै घर हुनेहरुलाई खुल्ला आकाश हेर्न स्वच्छ हावा खान कुनै समस्या भएन । आफ्नै घर हुनेहरु सेवा सुबिधा प्रयोग गरेर आनन्दपूर्वक बसिरहेका छन् । तर म जस्तै भाडाको बन्द कोठामा बस्नेहरु कसरी बस्छन् होला ? ती अन्धकार कोठाहरुमा । यस पटकको छ महिना राजधानी बसाइले राम्रै अनुभव गारायो । कैयौँ मोफसलबाट अवसर खोज्दै जानेहरुको कथाव्यथा असामान्य छ ।

Ad

भाडामा लिएका घरहरुको उकुस मुकुसभित्र स्वतन्त्रताविहीन भएर बस्नुपर्ने बाध्यता । रुन चाहँदा दिल फुकाएर रुन नपाइने । हाँस्न मन लाग्दा दिल खोलेर हाँस्न नपाइने । सङ्गीत घन्काएर नाच्न नपाइने । यो भिडको सहरमा कति उकुसमुकुस भएर बाँचेका छन् मानिसहरु । कैयौँ मानिसहरुका दर्दहरु दबिएर डिप्रेसनमा छन् । न स्वच्छ पिउने पानीकै राम्रो सुविधा छ ।

बल्लबल्ल हप्ता दुई हप्तामा पानी आउँछ । त्यो पनि नलढल मिसिएर । बल्लतल्ल मेलम्चीको पानीले मुख देखाएको थियो । त्यही पनि यस वर्षको बाढीले मुहानै भत्काइदियो । अत्यधिक पानीको असुविधाले न राम्रोसँग नुहाउन पाइने । न राम्रो गरी कपडा धुन पाइने । न पिउने स्वच्छ पानी पाइने । पानी जस्तो अत्यावश्यक चिज पाउनमै वञ्चित हुनुपर्ने । बाक्लो बस्ती भित्रको उकुसमुकुस सहर ।

न कतै खुल्ला ठाउँ छ । न कतै खुल्ला पार्क छ । छ त अग्ला अग्ला बिल्डिङ मात्र छ । कंक्रिटका घरहरु मात्र छ । आँगनै मासेर घरमाथि घर बनेका छन् ! भूकम्पको जोखिम मानिने काठमाडौँमा धरहराजस्ता घरहरु बन्ने क्रम बढ्दो छ । राज्यको न कुनै सहरको प्लानिङ छ । राजधानी कुरूप सहरमा परिणत भएको छ । बाटो हिँड्दा गाडी मोटरको भिड । जहाँ हिँड्यो ट्राफिक जामको सामना ब्यहोर्नुपर्ने । समयमा निश्चित गन्तव्यमा पुग्न मुस्किल ! गाडी मोटर धुवाँ, धुलो प्रदूषणको अत्यधिक प्रभाव ।

प्रदूषणले स्वास्थ्यमा अत्यधिक हानि पुर्याइरहेको छ । विकास र अवसर सहजताको लागि प्रदेश सरकार निर्माण गरियो । प्रदेश सरकार राज्यको ढुकुटी मास्ने माध्यम मात्र बन्यो । अझै अवसर खोज्न केन्द्रमै धाउनुपर्ने बाध्यता । सबैलाई राजधानीमै बस्ने महत्वाकाङ्क्षा । राजधानीले कतिलाई धानोस् ? राजधानीको क्षमताभन्दा मानिसको चाप बढी भयो । उच्च शिक्षा हासिल गर्न सबै राजधानी नै धाउने प्रवृति छ । देखासिखी गर्ने हाम्रो प्रचलन छ ।

आफ्नु ठाउँ आफैँ बनाऊँ । प्रभावकारी उच्च शिक्षा आफ्नै ठाउँमा निर्माण गरौँ । राज्यले जुन रकम शिक्षामा लगानी गरेको छ, त्यसलाई सदुपयोग गरौँ । सकेसम्म आफ्ना बच्चालाई राजधानीको सकसमा नराख्दा पैसाको पनि बचत र स्वास्थ्यको पनि बचत । सहज पनि हुन्छ । बच्चाले घरमै बसेर शिक्षा आर्जन गर्न पाउँछन् ।

यो मेरो व्यक्तिगत विचार ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button