सयपत्री र मखमलीका कोपिला लाग्न थालिसकेछन्

सुष्मा खत्री रञ्जित

आकाश खुल्दै छ । गाढा निलो । निख्खर सेता बादलहरू कतै कतै आफ्नै आकार दिएर कल्पनामा डुब्नेहरूलाई झुक्याउँदै छ । २०७८ सालको शरद बनेर खुल्दैछ । बर्षातलाई नआउन र अब त खुल्ने, फुल्ने मेरो पालो भन्छ । तिमीले धेरै विध्वंश गरिसक्यौ । कैयन ठॉउमा बाढी पैरोले धेरैको ज्यान नै लिइसक्यौ ।

कहिले नसुनेको अमेरिकाको न्युयोर्क शहरमा समेत बाढीले परिवारसहित नेपालीको ज्यान गयो । मेलम्चीबाट पानी आउँछ भन्दाभन्दै हिमताल फुटेर गाउँ नै सखाप भयो । केही अघि मात्र परिवारका सबै सदस्य पहिरोले पुरिए । परिवारको के हालत भयो होला त ? दैवको लेखा भनौ कि प्राकृतिक प्रकोप ? मानिसले विगारेको यो पृथ्वीमा अनेकन विपत्त आई नै रहन्छ । सेकेन्ड, मिनेटमा यस्ता खबरहरू सुनिन्छ । रेडियो, टेलिभिजन, सामाजिक संजाल त खोल्यो कि अनेकन यस्ता खबर । भन्दाभन्दै केही अघि मात्र पनि अस्ट्रेलियाको फलायोमा ६ रेक्टर माथिको भूकम्प आयो रे । जहॉको समाचार आए पनि त्यहाँ बस्ने नजिकका वा आफन्तलाई सम्झिइने रहेछ ।

भर्खर इन्द्रजात्रा सकियो । पहिलेको जस्तो कुनै उत्साह नै हुँदैन आजकाल हामीलाई पनि । बच्चाहरू सानो हुँदा पो च्याप्यो, रमाईलो गर्न दगुर्यो । बच्चा हुर्काईयो, पढ्न पठाईयो । अहिले सामाजिक सञ्जालमा ५-१० मिनेट सम्पर्क हुनुबाहेक केही हुँदैन । हुन त यसलाई पनि ठूलो उपलब्धि मान्नुपर्छ पर्छ । ३० बर्षअघि हामी विदेश पढ्न गएको समयमा घरमा फोन सम्पर्क हुनु भनेको बर्षको एक दुई पटक त्यसमा पनि ५-१० मिनेटमात्र । बॉकी मनको कुरा त चिठ्ठीमा रूदै पोखिन्थ्यो । अहिले हामीलाई जस्तो त्यतिबेला हाम्रा बाबुआमालाई पनि त्यस्तै त हुन्थ्यो होला । हुन त बाबुआमा भएपछि मन त जहिले त्यस्तै । सञ्चारमाध्यमले नजिक बनाइदिएको छ नै । हरेक १-२ दिनमा मैलै पनि आमाबाबुसँग सम्पर्क गर्न त पाईरहेको नै छु ।

कुशे औंसी, मातातीर्थ औँसी, तिजपञ्चमी सब परिवार जोड्ने चाडपर्व नै हो । एउटा आउँछ, अर्को जान्छ । अब दशैं, तिहार र छठको पालो । दशैं त अझ आफन्त जोड्ने चाड । पोहोर सालदेखि कोरोना कहरले खुलेर मनाउन नपाएको चाडबाडहरू ।

वातावरण रमणीय देखिदैछ । फूलका बुट्यानहरूमा टन्न सयपत्री र मखमलीका कोपिला लाग्न थालिसकेछन् । बगैंचामा पुतली र झ्यालिन्चाहरू उड्न थालिसकेछन् । तर पनि यो मन एक्लो । एक्लो मनले चाहेर मात्र हुन्न । धेरै जसोको परिवारमा त्यहि त होला भन्ने सोच्यो । सामाजिक संञ्जालतिरको फोटोमा लाईक ठोक्यो । कसैले कसैलाई कुराकानी गर्यौ, भेटघाट गरौं नभन्ने भईसके । तैपनि यो मनले सबसँग जोडिऔं भन्ने खोज्दैछ । हॉसिखुसी बाँचु भन्ने सोच्दैछ । शरिरका सब पिडा बिर्सेर । तैपनि यो मनले भनेजस्तो कहॉ हुन्छ र ?

मनले यी औलासँग मितेरी लगाउनबाहेक कुनै उपाय नै छैन । औँलाले केही शव्द कोर्नुपर्छ भन्नेबाहेक कुनै विकल्प नै छैन । त्यसैले भन्दैछु, हैन लेख्दैछु । समस्त आफन्त साथीभाई परिवारजनमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button