हामी साँच्चै भाग्यमानी नै होइनौं ​र ?

युजल खडका
कक्षा ११, इटहरी, सुनसरी ।

हामी कति भाग्यमानी है ?

‘हाम्रो जीवन दुखमय भएतापनि यसले हामीलाई भाग्यमानी पो भन्छ त’ भन्नु होला ।

म पनि यस्तै भन्थेँ तर आज एक्लै बसेर केही दिनअघिको एउटा घटना सम्झँदा आफू धेरै भाग्यमानी भएको अनुभूति गरेँ ।

केही दिनअघि मलगायत मेरा साथीहरू लकडाउनबाट वाक्क भएर यसो बाहिरफेर घुम्न निस्क्यौं । दिउँसोको टन्टलापुर भदौरे घामले हामीलाई पोल्न थालेको थियो । धेरै बेर हिँडेर गलेका कारणले हामीले कतै बिसाउने निधो गर्यौं । अलिक पर एउटा घरको दलानमा एकछिन शितल ताप्न भनी बस्यौं । भरियाले भारी बिसाउँदा लामो सुस्केरा हाले झै म पनि हाल्दै थिएँ । त्यतिकैमा परबाट एउटा अन्दाजी १२-१३ वर्षको केटो हामीकहाँ आउँदै गरेको देखेँ ।

फाटेको कात्ती परीगएको रातो भेस्ट र ३-४ ठाउँ टालेको जिन्सको हाफपेन्ट लगाएको त्यो फुच्चेको अनुहार अझै मेरो मस्तिष्कमा ताजै छ । उसको त्यो रूप देख्दा मनमा करुणामय भाव आएको थियो । हामीमध्ये कुनै एक साथीलाई उसले चिनेको रहेछ । ऊ त्यस साथीको नजिक आई बोल्न लाग्दा ऊ अलि मानसिक रूपले त्यति स्वास्थ नभएको पत्ता पाएँ । उसले त्यस साथीसँग पैसा माग्न थाल्यो, खुट्टामै लम्पसार परिसकेको थियो । मेरो साथीले आफूसँग पैसा नभएको बारम्बार बताई रहँदा पनि उसले जबरजस्ती गरिरह्यो । मैले पनि उसको मन चोर्ने नियतले आफूसँग गोजीमा भएको पचास रूपैया लान्छौ भनी सोधेँ ।

उसले १० र २० बाहेक अरू पैसाको नोट नचिन्दो रहेछ । अन्तिममा हामीमध्ये एक जनाको खल्तीमा एउटा दसको र अर्को बीसको नोट गरी जम्मा ३० रूपैया रहेछ । उसलाई बोलाई त्यो पैसा दिँदा उसको खुसीको सिमा नै रहेन । गहभरि हर्षाँशु लिई आज त म चटपटे खान्छु भन्दै रमाउँदा उसको मुहारमा खुसी प्रष्ट रूपमा देखिन्थ्यो तर ऊ भन्दा दोब्बर खुसी मलाई मिलेको थियो । ऊ रमाउँदै एक्लै बरबराउँदै हिँड्दै थियो ।

आँखाले भ्याउन्जेलसम्म उसलाई हेरिरहेँ । ऊबाट मैले अनेकौ कुरा सिकेँ । रहर र बाध्यताबीचको भिन्नता चिनेँ, भोको पेटले मान्छे, ठाउँ नचिन्दोरहेछ भन्ने जानेँ र मुख्यतः पैसाको महत्त्व अझ मज्जाले बुझेँ । मैले मनमनै सोचेँ, यतिको उमेरको फुच्चेलाई अरू विद्यालय गएको देख्दा कति जान मन हुँदो हो । आफ्नो उमेरको अरूलाई चिटिक्क परेर हिँडेको देख्दा उसलाई पनि त मन लाग्दो हो ।

साँच्चै नै हामी मज्जाले घर बसी आफ्नो भाग्यलाई दोष दिनु भन्दा बरु ऊ जस्तै अरू बालबालिकालाई सकेसम्मको सहयोग गरे कसो होला ?

हामी साँच्चै भाग्यमानी नै होइनौं ​र ?

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button