
म पनि अछुत रहिनँ
रोजिना कार्की
ललितपुुर, लगनखेल
बढिरहेको कोरोना संक्रमण । अनेक त्रास । कतै संक्रमण भइहाल्ने त होइन । त्रासमा पनि कति बाँच्ने ? कति भाग्ने? अनि कहाँ भाग्ने ? अब भाग्ने होइन, यो सँगै बाँच्ने अनि जति पनि आफुले सकेको उपाय गर्ने । यसरी नै बचिँदै र बाँचिदै पनि आइरहेका थियौं, यत्रो संक्रमण फैलँदा ।
कामको सिलसिलामा बिभिन्न ठाँउमा हिँड्दा बचिँदै हिडियो र कुनै लक्षणसम्म पनि देखिएन अनि लाग्यो कोरोना मनको डर त होइन ? संयोगवश् खोप पनि लगाइयो । त्यसपछि त झन् कोरोनाविरुद्धको कवच नै लगाइयो र समुन्द« मन्थन गरेर निकालिएको अमृत पिएजस्तो भान भयो । लाग्न थाल्यो, अब कोरोना भन्ने भाइरस नै मरिसक्यो । कताकता मनमा खुशी अनि सबैले खोप नपाएकोमा खिन्नता । यसरी नै मनमा अनेक कुरा खेल्थे ।
यसरी नै दैनिक क्रियाकलापमा व्यस्त रहदै सुरक्षा पनि अपनाउँदै चलि नै रहेको थियो । अपसोश श्रीमान बिरामी पर्नुभयो, कोरोनातिर कसैको ध्यान गएन र ज्वरो घट्दा पनि घटेन । तीन दिनपछि जचाउँन जाँदा थाहा भयो, उहाँलाई पोजेटिभ भएछ भनेर । सुन्दा आशालाग्दो (पोजटिभ) शव्द तर त्यो शब्दको व्याख्या अरु नै थियो डर, त्रास छटपटी आदी । अब पालो आयो मेरो, मेरा शरीरमा भएका प्रतिरोधात्मक क्षमता कमजोर हुदै गएका रहेछन् । मौकाको फाइदा लिँदै भाइरस मेरा शरीरमा प्रवेश गरिसकेछन् । मैले जानेका सिकेका उपाय अनि तीन महिना अगाडि पुरा भएको खोपले पनि त्यो भाइरसलाई रोक्न सकेन ।
अब चाँडो विशेक हुन डाक्टरको सल्लाह र प्रियजनहरुको सिकाईको आधारमा आफुलाई पहिलेकै अवस्थामा ल्याउन कोशिस गरिरहेछु ।
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



