… जसले अन्धकारबाट उज्यालोतिर लैजान्छ

सुशीला शर्मा

यो वर्षको गुरु पूर्णिमा आज श्रावण ९ गते मनाईदैछ । विशेष गरेर हिन्दु, बौद्ध र जैन धर्मावलम्बीहरुले गुरु पूर्णिमा मनाउने गर्दछन् । गुरु शब्द नै संस्कृतबाट आएको हो । संस्कृतमा गु भनेको अँध्यारो हो र रु भनेको उज्यालोतिर डो-याउने अर्थात उज्यालो बाटो देखाउने । यसरी जसले अन्धकारबाट उज्यालोतिर लैजान्छ । मार्ग निर्देशन गर्छ ऊ नै गुरु हो । आध्यात्मिक र प्राज्ञिक गुरुहरुलाई समर्पित गर्दै भारत, नेपाल र भुटानमा समेत यो पर्व मनाउने गरिन्छ ।

गुरु पूर्णिमा ऋषि वेदव्यासको जन्मदिनलाई लिएर मनाउने गरेको कथन छ । वेदव्यास, प्रसिद्ध हिन्दु धार्मिक ग्रन्थ वेद, पुराण, महाभारतका रचयिता हुन् । भारत तथा नेपालमा कतिपय सामाजिक कानुन, नियमहरु नै पनि यिनै ग्रन्थमा आधारित भएर निर्माण भएका छन् ।

बौद्धमार्गीहरुमा यो दिन बुद्धले बुद्धत्व प्राप्त गरेपछि भारतको उत्तर प्रदेशस्थित सारनाथमा आफ्ना चेलाहरुलाई उपदेश दिएको दिनको रुपमा मनाउने चलन रहेको छ । गुरु पूर्णिमा जसरी कुनै कालखण्डका विद्धानहरुको जन्मदिवसलाई आधार मानेर मनाउन थालिए पनि यो एउटा ज्ञान उपलब्ध गराउने व्यक्तिहरुप्रतिको सम्मान हो । अवश्य पनि ज्ञान दिनेहरुले समाजको भलाई नै सोचिरहेका हुन्छन् । ज्ञानले समाजको सभ्यता, संस्कृतिलाई अझ मजबुत बनाउन मद्धत गर्ने गर्दछ ।

गुरु दिवस जस्तै गरी विश्व शिक्षक दिवस पनि मनाउने गरिन्छ । यो दिवसले पनि गुरुहरुको विशेष क्षेत्रमा विशेष योगदानलाई आधार मानेर मनाउने गरिन्छ । जसरी भारत, नेपाललगायत हिन्दु सम्प्रदायमा धर्मशास्त्रका रचयितालाई ज्ञानको लागि महामानव मानेर वेदव्यासको जन्मदिवसलाई गुरु दिवस मनाईन्छ । गुरुको महत्व बुझेर नै यस्ता दिवस मनाउन थालिएको हो । प्राचीनकालमा शिक्षक भनेका पुरुष समुदाय र अझ भन्ने हो भने हिन्दु सम्प्रदायमा विशेष कथित उपल्ला जातीका पुरुष नै गुरु हुने गर्दथे । त्यही अनुसार नै समाजमा गुरुको मान्यता पनि विकास हुँदै आयो । तर समय परिवर्तनशील छ । विश्व परिवेश प्रगतिशिल हुँदै गएको छ । महिला पुरुष जो सुकैले पनि आफ्ना ज्ञानको दायरा फराकिलो बनाउँदै र नयाँ पुस्ता र सिकारुहरुलाई आफ्ना ज्ञान बाँड्दै आएका छन् ।

जसले ज्ञान बाँडेका छन् र ती ज्ञानबाट समाज बदल्न सहयोग पुगेको छ त । ती अगुवाहरु नै वास्तवमा गुरु हुन् । हामीले गुरुहरुलाई सम्मान गर्दा या सम्झना गर्दा यस्ता पक्षलाई पनि सम्झनुपर्दछ । ज्ञान बाँड्नेहरु साँच्चै नै प्रसंसा र सम्मानका लायक हुन्छन् । परिवार तहदेखि नै हामीले बा, आमा, दाइ, दिदीबाट जिन्दगीका आधारभूत अनि महत्वपूर्ण ज्ञानहरु सिक्दै आएका हुन्छौ । त्यसैले जसले अन्जानबाट ज्ञानतिर जान मद्धत गरिरहेका हुन्छन्, उनीहरु नै वास्तवमा हाम्रा गुरुहरु हुन् । गुरु दिवस एक दिवस मात्र होइन । समाज रुपान्तरणका अगुवा गुरुहरुप्रति सधैं आदरभाव हुनुपर्ने छ ।

म व्यक्तिगत रुपमा कुनै एकजना व्यक्तित्वलाई गुरु मान्ने भन्दा पनि जीवनमा सिकेका गहन कुराहरु र ती कुराहरु सिकाउने मेरी आमा, बुवा, मेरा विद्यालयका गुुरुबा, गुरुआमा, मेरा आदरणीय मित्रजनहरु, मैले पढेका पुस्तकहरु र त्यसका लेखकहरु सबैलाई एकमुष्ठ रुपमा विशेष स्मरण गर्न चाहन्छु । जुन अँध्यारोबाट उज्यालोतिर लाग्ने भन्ने कथन छ, अवश्य पनि हामीहरुले दिनदिनै केही न केही नयाँ कुराहरु सिकिरहेका हुन्छौं र ती सिकेका, बोध भएका ज्ञानहरुले हाम्रा जीवनलाई उज्यालोतिर नै मोडिरहेको हुनेछ ।

गुरु पूर्णिमाको सबैजनमा शुभकामना ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button