
‘एकादशी, तुलसी, तिलको दान हामीलाई पनि बैकुन्ठ लैजाऊ भगवान’
ब्राह्मणपुत्रको लकडाउन डायरी–८२
आज घर–घरमा तुलसी रोप्ने दिन । तुलसी औषधीय महत्व भएको विरुवा हो ।
चार्तुमास व्रत पनि शुरु भयो । आज असार शुक्लपक्ष हरिशयनी (देवशयनी) एकादशी, मंगलबार काठमाडौं उपत्यकाको चारैतिर रहेको नारायणको दर्शन गर्ने दिन पनि हो । आजको एकादशीलाई जनजनबोलीमा ठुलो एकादशी भन्ने चलन पनि छ ।
घरमा मस्टो बनाउने र त्यहाँ तुलसी रोप्ने, त्यसलाई हरेक दिन पूजा गरेर जीवनमा अन्तिम स्वास जाने बेलामा त्यही मस्टोमा गएर कैलासधाम जाने हाम्रो सनातनीय परम्परा हो । त्यसैले आजको दिन हामीले घरमा नयाँ तुलसी रोप्ने र त्यही तुलसीमा हरेक दिन पूजा आराधना गर्ने गर्दछौं ।
हरेक एकादशीको दिनमा विष्णु सहस्रनाम पाठ गरौं भने घरमा सुख शान्ति, समृद्धि हुन्छ । संस्कृत भाषामा सरल श्लोकमा रहेको विष्णु सहस्रनाम त्यो पाठ गर्दा शरीरका अंग प्रत्यङ्गहरु कम्पन भएको अनुभव गर्न सकिन्छ ।
यदि विष्णुसहस्रनाम पाठ गर्न सक्नु भएन भने रामको नाम स्मरण गरे पनि हुन्छ ।
एकादशीको दिन कपाल, दा¥ही काट्न नहुने नियम छ । एकादशीको दिन चामलको भात खान पनि मनाही छ । यदि व्रत बस्नु हुन्छ भने वा व्रत नबस्नेहरुले पनि चामलको सट्टा गहुँ, रोटी खानुभयो भने राम्रो भन्ने गरिन्छ ।
आजको दिनको महिमा अपार छ । आजदेखि चार महिना भगवान विष्णु योगनिन्द्रामा शयन गर्ने शुरुको दिन हो । त्यसले विष्णु भगवान योग निन्द्रामा रहेको दिनदेखि शुभकार्यहरु बर्जित छन् । चार महिनाको समयमा ध्यान, योग, साधना र तप गर्ने समय हो ।
साधकहरुले चार्तुमास अवधिभर एक समयमात्र भोजन गरेर योगसाधना गर्ने गर्दछन् । चार्तुमासको समयमा कुनै विष्णु मन्दिरमा गएर दर्शन, पाठ, पूजन गर्दा मात्र मनोकाक्षा पुरा हुने शास्त्री नियम छ ।
मंगलवारको दिन एकादशी व्रत यो निकै शुभ दिन मान्न सकिन्छ । आजको देवता पार्वती हुन । ग्रहदेव चन्द्र हुन् ।
आजको दिन व्रत गर्ने, भजन गर्ने, साधना र ध्यान गर्ने बर्षको महत्वपूर्ण दिन हो । आजदेखि चार महिना भित्र पर्ने आठवटा एकादशीको व्रत गर्दा मात्र जीवनमा पुण्य प्राप्त हुने शास्त्रीय वचन छ ।
बालक र बृद्व, रोगी र असक्तहरुका लागि व्रत नगर्न भनिएको छ । व्रत गर्नसक्ने क्षमता र योग्यता भएको ब्यक्तिले मात्र व्रत गर्न पर्दछ ।
आज विहान १२ः११ देखि १ः५३ बजेसम्म अभिजित मुहूर्तको समय छ भने ३ बजेर ३६ मिनेटदेखि ५ बजेर १८ मिनेटसम्म राहुकाल रहेको छ । अभिजित मुहूर्त भएको समयमा राम्रो काम शुरु गर्ने र राहु समय भएको बेला शुभ कार्य बर्जित छ ।
यदि तपाई आज व्रत बस्नु भएको छ भने मौन रहनु होला । कसैप्रति पनि आग्रह, पूर्वाग्रह नराखीकन मनमा केवल आफूले पूज्ने देवताको नाम स्मरण गर्दा मात्र आजको दिने गरेका हरेक कामले सफलता प्राप्त हुनेछ ।
के तपाईले आज आफनो घरमा तुलसी रोप्नु भयो । यदि रोप्नु भएको छैन भने यो औषधिजन्य वनस्पति हो । त्यसैले घरमा तुलसी रोप्नका लागि नेपालनाम्चाको तर्फबाट तपाईसबैमा हार्दिक अनुरोध गर्दछौं ।
मानवको कल्याण गर्ने एकमात्र तुलसीको नजिकै हरेक दिन १ मिनेट मात्र बस्नुभयो र त्यसको सुगन्ध लिनुभयो भने मनमा शान्ति र सद्भाव छाउने छ । त्यसको लागि भनेर, सुनेर हुँदैन ब्यबहारिक प्रयोगको आवश्यक छ ।
तपाईले पनि यो अनुभव लिन चाहनुहुन्छ भने आज घरमा तुलसी रोप्नु होला ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



