हतारमा हुनेहरू धक्का दिएर हिँडिरहेकै छन्

खोपको दोस्रो खुराक नपाएकोले (दाता देशले कृपा नगरेको हुँदा) बढ्दो उमेर, कमजोड स्वास्थ्य र संक्रमणको भयका कारण घरभित्रै खुम्चिएर बस्दै, कहिले करेसाबारीमा गोडमेल गर्दै, कहिले पत्नीलाई सघाउँदै, टि.भी. हेर्दै र विभिन्न प्रकारका पुस्तकहरू पढ्दै र कहिले केही लेख्दै समय बिताइरहेछु । संक्षेपमा, यो नै कोरोनाकालको मेरो दिनचर्या हो ।

कोरोना डायरी

प्रकाशप्रसाद उपाध्याय

कोरोना (कोभिड–१९)बाट विश्व संक्रमित भएको डेढ वर्ष भयो । यस अवधिमा करोडौं मानिस रोगग्रस्त भए, कालकवलित हुनेहरूको संख्याले पनि करोड नाघेको छ । हाम्रो देश यसबाट अछुतो हुने कुरै भएन ।

विभिन्न चरणमा लकडाउन (निषेधाज्ञा) लागे । जीवन कोठाभित्रै सीमित भयो, अहिले पनि भइरहेकै छ । सामाजिक दुरीको नाउँमा भौतिक दूरी पनि जारी छ । कति बेला कुन विषाणुले हमला गर्ने हो भन्ने त्रास समाप्त नभए पनि निषेधाज्ञा खुकुलो पारिएपछि सडकहरूमा मानिसहरूको आवतजावत बढेको देखिन्छ । हतारमा हुनेहरू धक्का दिएर हिँडिरहेकै छन् । यो संक्रमणकाल कहिले सकिने हो र जनजीवन सामान्य हुने हो, कसैलाई थाहा छैन । थाहा छ भने एउटै कुरा– यस कालमा सुरक्षाका मापदण्ड अपनाउ र खोप (उपलब्ध भएको खण्डम) लिएर सुरक्षा कवच धारण गरी बस । अन्यथा … (भनि रहनु पर्ला र ?) ।

म भने खोपको दोस्रो खुराक नपाएकोले (दाता देशले कृपा नगरेको हुँदा) बढ्दो उमेर, कमजोड स्वास्थ्य र संक्रमणको भयका कारण घरभित्रै खुम्चिएर बस्दै, कहिले करेसाबारीमा गोडमेल गर्दै, कहिले पत्नीलाई सघाउँदै, टि.भी. हेर्दै र विभिन्न प्रकारका पुस्तकहरू पढ्दै र कहिले केही लेख्दै समय बिताइरहेछु । संक्षेपमा, यो नै कोरोनाकालको मेरो दिनचर्या हो ।

यसको अतिरिक्त, यस अवधिमा आफ्ना विगतका दिनहरूको समीक्षा पनि हुने गर्दछ । यस क्रममा जीवनमा प्राप्त सफलता–विफलता, मान–अपमान, हेँला–सम्मान र लाभ एवम् हानिका घटनाहरू पनि मस्तिष्कमा आउन थाल्छन् । कहिले छलिएको, कहिले ठगिएको त कहिले पुरष्कृत भएको दृश्य पनि स्मृतिपटलमा प्रकट हुन्छन् । समाजमा विद्यमान दोहरो मापदण्ड (आफ्नो र आफ्नो परिवारको निम्ति एउटा र अरूहरूको निम्ति अर्को), मानवीय मूल्य, मान्यता र आदर्शहरूमा हुँदै गएका ह्रास, समाज र सरकारी निकायहरूमा विद्यमान छल–कपटपूर्ण व्यवहार, अकुत सम्पत्ति जम्मा गर्ने लालसाबाट उत्पन्न भ्रष्टाचार, अनाचार र दुराचारका घटनाहरू र जीवनलाई अर्थपूर्ण बनाउन खोज्ने त्यस्ता व्यक्तिहरूबाट पीडित हुनेहरूका अवस्था आदिका दृश्य पनि आँखा अगाडि आउँदछन्, मन–मस्तिष्कलाई छिचोल्न थाल्दछन् । र, प्रश्न उठ्छ– किन चाहिन्छ मानिसलाई यत्तिको अपार सम्पत्ति, जुन भ्रष्टाचारको माध्यमबाट बटुलिएको हुन्छ र जुन पछि मानसिक व्यथा र दुःखका कारण बन्ने गर्दछन् !

हाम्रो देशमा योगी–बाबा पनि जता–ततै छन् । यीमध्ये सिद्ध पुरुषहरू पनि थिए भन्ने पढिन्छ । तर अधिकांश ढोंगी बाबाहरूका चर्तिकला र तिनीहरूका छवि आजको युगमा टेलिभिजनका पर्दाहरूबाट देख्ने गरिने हुँदा कतै ढोँगी बाबाको चक्करमा परिने त होइन भन्ने डर पनि उत्पन्न हुन्छ । यद्यपि वर्तमान युगमा हाम्रो देश र छिमेकी मुलुकमा अनेक सिद्ध पुरुष, योगी–बाबाहरू र ऋषि–मुनिहरू रहेका वृत्तान्त मैले यस कोरोनाकालमा पढेका केही पुस्तकहरूबाट थाहा पाउने अवसर पाएँ । परमहंस योगानन्दको ६०९ पृष्ठको ‘योगीको आत्मकथा’ भन्ने आत्मवृत्तान्तका ४८ वटा प्रसंगहरू पढ्ने क्रममा भारतमा अलौकिक शक्तिले युक्त अनेक योगीहरूका अलौकिक शक्तिले गरेका चमत्कारपूर्ण कृत्यहरूबारे थाहा पाउँदा दैवी कृपा नभई न त आफ्नो साधना पूरा हुन्छ, न यस्तो शक्ति प्राप्त हुन सक्छ भन्ने भाव एकातिर पलाएर आयो भने अर्कोतिर भगवानको अपरम्पार शक्तिमाथि पनि विश्वासको एउटा भाव पलाएर आयो । नेपालका एकजना लेखक एवम् शिव सेना नेपालका अध्यक्ष अरुण सुवेदीको आत्मवृत्तान्त ‘जीवन यात्रा’ पढ्दा त देशका आराध्यदेव श्रीपशुपतिनाथ मन्दिर क्षेत्रमा बसेका श्यामचेतन बाबा र चुनचुन बाबा (हाल दिवंगत) जस्ता केही योगीहरूमा विद्यमान अलौकिक शक्तिको वृत्तान्त (पृष्ठ १३६, १३७) पढ्दा पनि विस्मित हुन पुगेँ । र, लाग्यो– त्यस्ता अलौकिक शक्ति हुनेहरूले आफ्नो जीवनकालमा जनतालाई पीडा पु¥याउने कथित कर्णधार एवम् राष्ट्रसेवकहरूलाई सद्बुद्धि किन प्रदान गर्न नसकेका होलान ? फेरि, कर्मको फल भोगुन् भनेर त छाडेका होइनन् ? भन्ने भाव पनि पलाएर आयो । ‘देववाणी’(शालग्राम–देवघाटधाम विशेषाङ्क)ले त नेपाल देवर्षि नारदले तप गरेका (गण्डकी र भागीरथीको संगमस्थल) क्षेत्र, ने मुनि, महर्षि अष्यशृङ्ग (रुरु क्षेत्र), मार्कण्डेय, ऋषभदेव र राजर्षि भरत, महर्षि वाल्मिकी र वशिष्ठजस्ता ऋषि–मुनिहरूको तपोभूमि, साधनास्थल र आश्रमस्थल र कृष्ण द्वैपायन व्यासको कर्मक्षेत्र रहेको वृत्तान्त प्रस्तुत गर्नाको अतिरिक्त वराहक्षेत्र, पाशुपतक्षेत्र, त्रिवेणीक्षेत्र, मुक्तिक्षेत्र, हरिहरक्षेत्रका अतिरिक्त देवी सतीका अङ्ग पतन भएका छायाक्षेत्रजस्ता पावन क्षेत्रहरू विभिन्न पौराणिक देवीदेवताहरूको विचरण स्थल रहेको वृत्तान्तले नेपाललाई देवभूमि र तपोभूमि रहेको प्रमाणित गर्ने काम गरेको अनुभव गरायो । समान रूपमा, नेपालका गण्डकी, कोशी र त्रिशुली नदीहरूको पौराणिक महत्व प्रमाणित गर्ने अनेक दृष्टान्तहरूले पनि नेपालका नदीहरूको उद्गम र पावनताको सम्बन्धमा विस्तृत जानकारी प्राप्त गर्ने अवसर जु¥याए ।

यी पुस्तकहरू पढ्दै गर्दा मनमा आस्था–अनास्था एवम् संशयका विभिन्न भावहरू प्रकट भई रहे । सबै विस्तारमा लेख्नु सम्भव छैन । तर विभिन्न पौराणिक ग्रन्थहरूको अध्ययन र तिनमा उल्लिखित वृत्तान्तहरूद्वारा देशलाई तपोभूमिको रूप दिने ऋषि–मुनिहरू एवम् देवभूमिको रूप दिने देवी–देवताहरूका अलौकिक कृत्यहरूबारे प्राप्त जानकारीले दिनचर्यालाई भने रोमाञ्चकारी र अर्थपूर्ण बनाई रहेको अनुभव भइरहन्छ ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button