
‘आई लभ यु’ नभन्नु आज
ब्राह्मणपुत्रको लकडाउन डायरी–७१
भरत शर्मा
आज शुक्रबारे औशी । औशीको दिन बिहान उठेर कसैसँग नबोलीकन हर गंगे भन्दै गंगाजलले स्नान गर्नु पर्छ । तर, स्नान सूर्योदयअघि गरे निकै राम्रो । त्यो पनि सकिएन भने बिहानको भोजन पहिले गर्नु पर्छ । शहरतिर त खाना खाएपछि स्नान गर्ने चलन देखेको छु ।
हरेक औंशीको दिन घरमुलीले पितृहरुको सम्झनामा तर्पण कर्म गर्दा राम्रो । मातातीर्थ औंशी (आमाको मुख) हेर्ने दिन गइसक्यो । अब भाद्र कृष्णपक्षमा कुशे औशी अर्थात बाबुको मुख हेर्ने दिन आउँदैछ ।
आज शुक्रबार र भोलि बिहान ७ बजेसम औशी तिथि परेको छ । अर्थात कहिलेकाही २ दिने औशी पर्ने गर्दछ । यसपटक आज अहोरात्र औशी तिथि र भोलि बिहानसम्म भएकोले शनिवार पनि औशी मनाउन सकिन्छ । औशीको दिन गाउँघरतिर हलो बार्ने चलन छ ।
आज विहान सूर्योदय विहान ५ बजेर १६ मिनेटमा भयो भने सूर्यास्त ७ बजेर १ मिनेटमा हुनेछ । अहिले रातभन्दा दिन लामो छ । आज २७ नक्षत्र मध्ये आद्रा नक्षत्र र चन्द्रमा मिथुन राशिमा रहेको छ ।
औंशीको दिन चन्द्रमा प्रकाश नहुने हुनाले यसदिन धर्तीमा नराकात्मक उर्जा छरिन्छ । औशीको दिन तन्त्रसाधनाका लागि निकै राम्रो दिन मानिन्छ । औशीको दिन देवस्थलको दर्शन र शरीर र मनमा सकारात्मक उर्जाको लागि मठ मन्दिर परिक्रमा गर्दा राम्रो हुन्छ । किनकी नियमित पूजा आरधाना हुने मन्दिर क्षेत्रमा सधै सकारात्मक उर्जा फैलिरहेको हुन्छ ।
औशीको दिन प्रेमप्रस्ताव गर्दा प्रेम असफल हुन्छ । त्यसैले औशीको दिन विवाह आदि बर्जित गरिएको छ । कुनै पनि शुभ कार्य, लगानी र ऋण दिने, लिने काम पनि औशीको दिन गर्नु हुँदैन । औशीको दिन, गरिव, भोका र सत्पात्रलाई दान र सहयोग गर्दा फल प्राप्त हुन्छ ।
शुक्रबारको दिन सौन्दर्यताको सामान खरिद गर्दा राम्रो मानिन्छ । शहरमा अहिले कौशी खेती निकै फस्टाएको छ । कौशी खेतीको लागि बीउबिजन, मल आदि खरिद गर्दा शुक्रबारको दिन निकै राम्रो मानिन्छ । शुक्रबार पश्चिम दिशा छोडेर अन्य तीन दिशातिर यात्रा सफल हुनेछ । औशीको दिन मौन व्रत, जप र ध्यान गर्दा राम्रो मानिन्छ ।
समाजमा औंशीको दिन जन्मिने छोरा–छोरीबारे निकै भ्रम छ । औंशीको दिन जन्मिएको छोराछोरीको विवाहमा बाधा र कष्ट हुने भनिए पनि शास्त्रीय उपाय गरी बाधा हटाउन सकिन्छ ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



