महिलाले पढ्न नहुने भनिएका वेदका कयौँ मन्त्र महिलाले नै लेखेका हुन्

नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा महिला अध्ययन केन्द्रसँगको सहकार्यमा ८१ औँ योगमाया स्मृति दिवसका अवसरमा प्रज्ञा भवनमा मङ्गलबार ‘पौरस्त्य दर्शनका आलोकमा महिला’ विषयक विचार–गोष्ठी आयोजना गरिएको छ । आधा भर्चुअल र आधा प्रत्यक्ष ढङ्गबाट आयोजित उक्त विचार–गोष्ठीको प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गरे ।

विचार–गोष्ठीलाई सम्बोधन गर्दै कुलपति उप्रेतीले महिलाहरूले पढ्न नपाउने भन्ने कुरा वेदको सही व्यवस्थापन नभएको बताए । उनले भने, ‘कुनै कालखण्डमा स्वार्थवस र अन्जानवस वेदको व्याख्या गरिँदा वेद–दर्शनका केही आधारभूत कुराहरू विकृत भएर जान्छन् । त्यसैले यस्ता गोष्ठीले त्यसका आधारभूत मान्यताहरू के छन्, कुन पृष्ठभूमिमा ती संरक्षित भए र तिनीहरूको सन्देश के हो भनेर बुझ्न सहयोग पु-याउँछन् ।’ उनले त्यसको साङ्केतिक महत्त्वलाई बुझेर मनन गर्न सकेमा हरेक युगमा मानवको जीवनलाई निर्देशित गर्ने प्रकारका कुराहरू वेदमा रहेको विचार व्यक्त गरे ।

उपकुलपति डा. जगमान गुरुङले पौरस्त्य दर्शनका आलोकमा महिलाको स्थान विशिष्ट, उच्च र सम्मानित रहेको बताए । उनले भने, ‘पहिले पौराणिक कालमा मात्रै होइन अहिले पनि नेपाली समाजमा महिलाको स्थान सम्मानजनक छ । रितिथितिलाई बुझ्दै हामीले समयअनुसार चल्नुपर्छ । सबैलाई न्याय दिने, मान्य हुने कानुन बनाउनुपर्छ ।’

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव, दर्शनशास्त्र विभागका प्रमुख एवम् विचार–गोष्ठीका सभाध्यक्ष प्रा. जगत्प्रसाद उपाध्यायले वेदमा महिलाको स्थिति के रहेछ, बौद्धदर्शनमा महिलाको अवस्था के रहेछ र हाम्रो धर्मदर्शनमा महिलाको अवस्था के रहेछ भनेर बुझ्नका लागि कार्यक्रम फलदायी भएको ठहर गरे । उनले वैदिक वाङ्मयमा महिलाको अवस्था सम्मानजनक रहेको उल्लेख गरे । उनले वेदका मन्त्रका रचयिता पुरुष र महिला दुवै भएकाले पनि महिलाको स्थान उच्च रहेको विचार व्यक्त गरे ।

गोष्ठीमा ‘वैदिक दर्शन र महिला’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै डा. शुक्रराज अधिकारीले ‘वेद महिलाले भने पढ्नु हुँदैन, पुरुषले मात्रै पढ्नुपर्छ’ भन्ने गलत मान्यता अझै पनि समाजमा व्याप्त रहेको तर तिनै महिलाले पढ्न नहुने भनिएको वेदका कयौँ मन्त्र महिलाले नै लेखेको बताए । उनले वैदिक नारीहरू मन्त्रद्रष्टा ‘ऋषिका’का रूपमा स्थापित भएको बताए । उनले भने, ‘आर्यहरूको धर्म, संस्कृति, आध्यात्मिक ज्ञान आदिको मूल स्रोत मानिएको सर्वप्राचीन र सर्वाधिक मान्य ग्रन्थ वेद हो । समग्र जीवन जगत्, ज्ञान र विज्ञानको स्रोत वैदिक दर्शन हो । यही वेद अहिले महिलाले पढ्नुहुन्न भनिन्छ । तर वेदका ४२२ वटा मन्त्रका मन्त्रद्रष्टा नारीहरू तथा ‘ऋषिका’हरू थिए ।’

विचार–गोष्ठीमा कार्यक्रममा बेलायतबाट भर्चुअलमाध्यमबाट भिक्षु कश्यपले ‘बौद्ध दर्शन र महिला’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै पितृसत्ताको नियन्त्रण र थिचो मिचोले स्त्री हमेसा सीता बनेको तर बुद्ध कहिल्यै नबनेको तर्क गरे ।

त्यस्तै प्रा.डा. शशी अधिकारीले ‘धर्म, दर्शन र कानुनमा महिलाको अधिकार’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै वैदिककालमा महिलाको स्थान समानताउन्मुख भएपनि आधुनिक युगमा लैङ्गिक समानताका लागि महिलाहरू सङ्घर्षरत रहेको उल्लेख गरे । उनले भने, “’संविधान र कानुनले गरेको व्यवस्थाको कार्यान्वयका लागि पितृसतात्मक सोचमा परिवर्तन नआएसम्म कार्यान्वयन हुन सक्दैन । असमानतालाई हटाउँदै समानता लागू गर्न लैङ्गिक विभेदकारी सोचमा नै परिवर्तन आउनुपर्ने र सो परिवर्तन नभएसम्म महिलाले पूर्ण अधिकार पाउन कठिन छ ।’

डा.अधिकारीको गोष्ठीपत्रमाथि साहित्यकार विष्णु प्रभातले टिप्पणी गर्दै महिलाहरूको स्थानमा केही पुरानो वैदिक, उत्तर वैदिक वा ऋग्वेदको कुरा जोड्दा तीन–चारवटा प्रथा जोड्नपर्ने बताए । यसै गरी भिक्षु कश्यपको ‘बौद्ध दर्शन र महिला’ विषयक गोष्ठीपत्रमाथि प्रा.डा. रञ्जना बज्राचार्यले र प्रा.डा. शशी अधिकारीद्वारा प्रस्तुत ‘धर्म, दर्शन, कानुन र महिला’ विषयक गोष्ठीपत्रमाथि संविधानसभा सदस्य डा. विन्दा पाण्डेले टिप्पणी गरेका थिए ।

गोष्ठीमा संविधानसभा सदस्य प्रभा बज्राचार्य, निवर्तमान सङ्घीय सांसद विद्या भट्टराई तथा महिला अध्ययन केन्द्रकी अध्यक्ष सीता ओझाले ‘पौरस्त्य दर्शनका आलोकमा महिला’ विषयमाथि आ–आफ्ना विचार व्यक्त गरेका थिए ।

प्राज्ञ सभा सदस्य तथा सञ्चार संयोजक शशी लुमुम्बूद्वारा सञ्चालित कार्यक्रममा सुनिता साखकर्मी, हेमलता मुडवरी र किशोर नेपाली प्रतिवेदक रहेका थिए ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button