‘सोम खेती बुध घर’ भन्छन्, आज घरकै काम गर्नोस्

ब्राह्मणपुत्रको लकडाउन डायरी–६९
भरत शर्मा

‘सोम खेती बुध घर’ भनेको सोमबार खेतीको काम गर्ने अनि बुधबार घरको । यो भनाइ मान्ने हो भने आज घरभित्रको कामलाई प्राथमिकता दिनुहोस । आज बुधबार हो तर बुधबार मात्र होइन, प्रदोषव्रत पनि हो । आषाढकृष्ण पक्ष त्रयोदशी, रोहिणी नक्षत्र, चन्द्रमा वृष राशिमा रहेको छ । योग शुभ रहेको छ ।

यो महिनामा रोहिणी नक्षत्रलाई पापाक्षणि नक्षत्र मानिएको छ । त्यसैले यस दिन कुनै नयाँ र शुभकर्म नगर्नु भनेर पञ्चाङ्गमा उल्लेख गरिएको छ । ज्योतिषशास्त्रमा औशी आउन लागेकोको त्रयोदशी तिथिदेखि नैं शुभकर्मका लागि त्याज्य मानिएको छ । शनिवार विहान औशी परेको छ । नियमित प्रदोषको व्रत लिने गरेकोले नित्य कर्मको लागि नक्षत्रको दोष लाग्दैन । कुनै शुभ कर्ममात्र नगर्नु भनिएको मात्र हो ।

हरेक दिन, हरेक तिथि र २७ नक्षत्रका महत्व रहेको छ । तर दिन, बार र सूर्य र चन्द्रमाको गतिका आधारमा यो दिन यसो गर्दा राम्रो भन्ने सल्लाह दिन र लिन सकिन्छ । बुधबारको दिन घर मर्मत निर्माण र घरभित्रको हेरचाह गर्दा राम्रो । छतमा खेती गर्ने हो भने सोमबार शुरु गर्दा राम्रो । बुधबार गोडमेल गर्दा सोम खेती बुध घर भन्ने भनाईको पनि सार्थकता हुन आउँछ ।

बुधबार व्रत लिने कम चलन छ । आइतबार, मंगलवार र विहीबारको व्रत गर्नेहरु अलि बडी छन् । शास्त्रमा बुधबारको व्रतको प्रावधान नभएर होला, मैले पनि बुधबार व्रत गर्दा के हुन्छ भन्ने कुराको खोजी गर्दा खास महत्व पाउन सकिनँ । काशीमा अध्ययन गर्न बस्दा गुरुले भन्नुभएको थियो, बुधबार पनि गणेश र कृष्णको व्रत गर्ने बार हो । यदि गृहस्थमा बस्नेहरुले बुधबारको दिन व्रत गर्ने हो भने श्रीमान र श्रीमती दुवैले व्रत गर्नुपर्छ । दुई मध्ये एकले मात्र व्रत बस्दा त्यसको फल प्राप्त हुँदैन ।

बुधबार पनि गणेश आराधना गरिन्छ । छात्र जीवनमा मंगलवार र बुधबारको साँझ काशीका गल्लीमा गणेश मन्दिर खोल्दै दर्शन गर्न जाने गरेको दिनको सम्झना हुँदैछ । मन्दिरमा जाँदा त्यहाँका भक्तहरु लड्ड् चढाउनका लागि लाइनमा हुन्थे ।

यदि कसैको कुण्डलीमा बुध ग्रह कमजोर स्थानमा बसेको छ भने बुधबारको दिन व्रत र गणेशजीको पूजा आराधना गर्दा बुध ग्रह बलवान हुन्छ भनेर सल्लाह दिएको सुनेको छु । काशीमा बुधबारको दिन गणेशलाई लड्डु होइन, सख्खर र गाईको ध्यू चढाउने गरेको देखेको थिएँ । काशीमा बुधबारको दिन मूगको दाल खानुपर्छ भनेर छात्राबासमा मूगको दाल खाने गरेका थियौं । मूगको दाल खाँदा स्वास्थ्य, बुद्धि र धन प्राप्त हुने भन्ने भनाई रहेछ ।

बुधबारको दिन नयाँ कपडा र जुत्ता किन्दा राम्रो हुन्छ । तर, बुधबारको दिन त्यसलाई लगाउन चाहिँ राम्रो मानिँदैन । बुधबार नयाँ कपडा र जुत्ता लगाउँदा छिटो नाश हुने गर्दछ भन्ने मान्यता छ ।

हाम्रो सनातन धर्मभित्र केही नयाँ नियमहरु पनि छन् । कतिले यस्तो कुरा गर्दा पुरातन कुरा गर्ने भनेर खिस्सी उडाउन पनि सक्छन् । मैले त गुरुमुखबाट सुनेको कुरा हो, सकेसम्म पालना गरेको छु । तपाईहरुले पालना गर्ने नगर्ने त्यो मेरो चासो होइन । इच्छा छ भने पालना गर्नुस्, नभए ठीकै छ । मलाई त मेरो हजुरबाले पनि भन्नुभएको थियो, अहिलेसम्म याद छ, बुधबारको दिन ससुराली जान हुँदैन । यदि जानु नै पर्ने भएमा घर पुग्नु भन्दा पहिले खबर दिएर ढोकामा पानी छोएर जान सकिन्छ भन्ने हो । तर, सकेसम्म बुधबार ससुराली नगएको राम्रो भनेर हजुरबाले भनेको कुरा म नातिले मान्दिन भनेर मेरो चाहिँ मन मान्दैन हैं । तपाईहरुको जो इच्छा ।

बुधबारको दिन साली, छोरीलाई पनि आइज भनेर भन्नु हुँदैन भनेर गाउँघरतिर चलन भएको थाहा पाएको छु । अहिले त यस्ता कुरा समाजले नमान्न पनि सक्छन् तर मान्नेले मानेकै छन् ।

बुधबारको दिन बिहानैं घरमा छोरीलाई केही दान दिँदा घरमा मुलीको मनमा शान्ति र धनबृद्धि हुने भन्ने कुरा पनि छ हैं । छोरीलाई जहिले दिए पनि हुन्छ भन्ने मान्यता राख्ने समाजले बुधबार नैं कुरेर छोरीलाई दान नदिन पनि सक्छन् । त्यो पनि तपाईको मर्जी ।

बुधबारको दिन कसैलाई धन सापटी दिने र उधारो लिने दिने काम नगरेको राम्रो भनिन्छ । आज बुधबार रहेछ म उधारो दिन्न भनेर कुनै ब्यापारीले भनेका छन् भने उसले बुधबारको महत्व बुझेका रहेछन् भनेर जान्नुहोस् ।

बुधबारको दिन दिएको ऋण फर्कनका लागि अलि बढी मेहनत गर्नुपर्छ । साँच्ची बैकहरुले बुधबार दिएको धनको ब्याज नदिएर दुःख पाएका छन् कि अध्ययन गर्न पाए गजब हुने थियो । एकजना बैकका मित्र म्यानेसरसँग कुरा गरेर त्यसको बारेमा तथ्यगत अध्ययन गर्न पाए, गजबको आलेख हुने थियो ।

लौ त आज बुधबार यस्तैं भयो । फेरि पनि बुधबारको बारेमा अर्को बुधबार चर्चा गरौंला ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button