
गणेशकै बारदेखि श्री गणेशाय नमः
ब्राह्मणपुत्रको लकडाउन डायरी–६८
भरत शर्मा
मंगलबार ‘गणेश’को सम्झना गर्ने बार हो । हिजो योगिनी नामको एकादशी परेको थियो । महिनामा दुईवटा पक्ष हुन्छन कृष्ण र शुक्ल । अहिले आषाढ कृष्णपक्ष द्वादशी तिथि परेको छ । भोलि बिहान प्रदोषव्रत रहेको छ ।
वेदमा तीनवटा काण्डको बारेमा वर्णन गरिएको छ ।
१) ज्ञानकाण्ड
२) उपासना काण्ड
३) कर्मकाण्ड
ज्ञानकाण्डमा सनातन शास्त्रका ज्ञानका कुरा मात्र वर्णन गरिएको छ । यसमा ज्ञानले जीवनमा कसरी मुक्ति प्राप्त गर्न सकिन्छ भन्ने उल्लेख छ । ज्ञानभित्र जीवनको महत्व खोज्नेहरु ज्ञान काण्डमा रमाउने गरेका छन् ।
उपसाना काण्डमा उपासना र ध्यान गर्दा जीवनमा हुने फाइदाका बारेमा उल्लेख छ ।
कर्मकाण्डमा कर्म सम्बन्धित कुराहरु उल्लेख छ । कर्मकाण्डमा दुइवटा मार्गहरु छन् । पहिलो प्रवृत्ति र दोस्रो निवृत्ति मार्ग ।
प्रवृत्ति मार्गमा गृहस्थ आश्रममा बस्ने गृहस्थ जीवनमा गृहस्थोचित कर्महरु गर्दै जीवन व्यतित् गर्ने सल्लाह दिइएको छ । गृहस्थ जीवनमा गरेका हरेक कर्महरु ब्रह्मामा अर्पण गर्दै श्रीकृष्णर्पणममस्तु भन्दै भगवान श्री कृष्णमा समर्पित हुँदै कर्म गर्नुपर्ने उल्लेछ ।
कलियुगमा सबैभन्दा राम्रो मार्ग देखाउने भगवान कृष्ण हुन भन्ने सनातनीय शास्त्रको मान्यता छ । गृहस्थ जीवनमा बस्नेहरुले गर्ने कर्म भनेको यही हो ।
निवृत्ति मार्ग अलि कठिन छ । त्यसका लागि जीवनमा सन्यासी भएर कर्म गर्दै सरल जीवन बिताउनु पर्छ । परमात्मासँग सिधा सम्पर्क गर्न सक्ने मुक्तिको बाटोका लागि समाधिमा पुग्नु पर्छ । भगवानमा आस्था र विश्वास मात्र होइन, पुरापुर भरोशा राखेर मोक्ष खोजिनु पर्दछ । मोक्ष प्राप्त भएपछि यो दुःखदायी संसारमा फर्केर आउनुपर्दैन भन्ने शास्त्रीय वचन छ ।
ज्योतिषशास्त्रले भनेको छ, मंगलवार शुभ समयमा जन्मिएको व्यक्ति सनातन धर्ममा विश्वास गर्ने, कर्मवीर हुने भन्ने सामान्य मान्यता छ । शिवका पुत्र गणेश र कुमारमध्ये गणेशको कर्मकाण्डमा सबैभन्दा पहिले सम्झना गरिन्छ । सनातन धर्म र संसारका मठ मन्दिरहरुमा गणेशको मूर्ति स्थापना भएकै हुन्छ ।
कर्मकाण्ड गर्दा पहिले गणेशको स्मरण गरेपछि मात्र कर्महरु शुरु हुन्छन् । कुनै मन्दिरमा प्रवेश गर्दा पहिले गणेशसँग अनुरोध गर्नुपर्छ । अनि गणेशलाई नैं मन्दिरमा आएको छु, दर्शन भयो भनेर सूचना दिएर बाहिर निस्कनु पर्दछ ।
पशुपतिनाथको दर्शन गर्न जाँदा समेत पहिले मुलगेट भन्दा अगाडि रहेको गणेशको मन्दिरमा नाम, गोत्र स्मरण गरेर मन्दिर प्रवेश गर्नुपर्छ । त्यसपछि मन्दिर दर्शन गरेर फर्कदा मन्दिरभित्र रहेको गणेश र सूर्यको मन्दिरको दर्शन गरेपछि मात्र बाहिर निस्कनु पर्छ भन्ने दर्शनीय मान्यता छ ।
वास्तवमा शिव र पार्वतीका प्रिय पुत्र गणेशको कर्मकाण्डको शुरु र अन्त्यमा पनि स्मरण गर्नुपर्छ भनेर केही गुरुहरुले भन्ने गर्नुहुन्छ ।
मंगलवार बिहान काठमाडौंको गणेश मन्दिरहरुमा मानिसको भीड लाग्ने गर्छ । काठमाडौं उपत्यकाभित्र कमलादी गणेशलाई साक्षात सिद्व गणेश मन्दिर भनिन्छ । हुनमानढोमा रहेको गणेश मन्दिर पनि उपत्यका भित्रको सबैभन्दा पुरानो र ऐतिहासिक मन्दिर हो ।
कमलादी गणेशमन्दिरमा हरेक दिन गणेशको विधिपूर्वक आराधना हुने गर्दछ । त्यसैले उपत्यकाभित्र गणेशभक्तहरु हरेक मंगलवारको दिन मन्दिरको दर्शनका लागि जाने गर्दछन् ।
मैले पनि हरेक मंगलबार कमलादी गणेशमन्दिरको दर्शन गर्न थालेको एक दशक भयो । हरेक मंगलबार साँझ र सखारै बिहानको समयमा गणेशमन्दिरमा जाँदा दर्शन निकैं सजिलो हुन्छ । भदौं महिनामा पर्ने गणेश चौथीका तीन दिन मन्दिरमा विशेष गणेश पूजा हुन्छ ।
यस पटक गीता प्रेस गोरखपुरले गणेश पुराणाो विशेष अङ्क प्रकाशित गरेको छ । पुस्तक हातमा परेर पनि थन्किएर बसेको छ । गणेश पुराण पढ्ने इच्छा हुँदाहुदै पनि समय मिलेको छैन । अब नेपालनाम्चाको लकडाउन डायरीमा सम्पादक अशोक सिलवालको हरेक दिन, बार, तिथि, पर्व र नक्षत्र र योग करण अर्थात पञ्चाङ्ग हरेर लेख्न आदेश दिए । सम्पादकले भनेको लाइनमा लेख्न खोज्ने सम्पादकका प्यारो मित्र स्तम्भकार भएपछि आफूले सम्मान गर्ने सत्पात्रको कुरा कसरी काट्नु ! त्यसैले आजदेखि बार, तिथि र समयको महत्वको बारेमा लेख्दैछु ।
हरेक अखबार र सञ्चारमाध्यममा दैनिक राशिफल आउने गर्छ । कतिले राशिफलको पनि विश्वास गर्छन् तर हामी राशिफलभन्दा पनि त्यो दिनको महत्वको बारेमा कसरी नेपालनाम्चाका नियमित पाठकहरुलाई जानकारी दिने भनेर चिन्तन गर्दैछौं ।
हरेक दिन बिहान नेपालनाम्चा हेर्न खोज्ने पाठकले दिनको महत्वको बारेमा थाहा पाएर त्यो दिनको शुरुवात नैं सकारात्मक सोचबाट अघि बढ्न सकुन भन्ने सम्पादक महोदयको उद्देश्य हो भन्ने बुझेको छु ।
त्यसको लागि आवश्यक अध्ययन, चिन्नन र मनन गरेपछि लेखन हुनसक्छ भनेर भन्दै थिए । घरका श्रीमतीले भनिन् ‘सम्पादकले भनेकै कुरा लेख्नु पर्ने हो र ?’ मैले भनेँ ‘कुनै पनि अनलाइनको प्रमुख भनेको सम्पादक हुन् । सम्पादकले लेखक, समाचारदाता र विश्लेषकहरुलाई लेखनको बारेमा ‘लाइन’ दिने हो । र, सम्पादकले लेखकको मर्म, भावना र आत्मालाई खुसी बनाउने गरी केही सम्पादन गर्न सक्छन् ।’
लेखक र सम्पादक भनेका कुनै पनि समाचारमाध्यमका ‘पिल्लर’ हुन् । त्यसैले घर निर्माण गर्दा पिल्लर र जगको महत्व भएजस्तै समाचारमाध्यमका लागि लेखक, सम्पादक र समाचारदाता तीनखम्बे हुन् ।
बार त हरेक सातामा फेरिरहन्छ । १५ वटा तिथि औशी र पूर्णिमा जोड्दा महिना दिन हुन्छ । आज, मंगलवार, द्वादशी तिथिको दिन कर्मकाण्ड गर्नेका लागि अग्नि र रुद्रीको साइत भएको दिन पनि हो ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)