
असार-साउनः प्रकृति रिसाउने महिना
ब्राह्मणपुत्रको लकडाउन डायरी–६४
भरत शर्मा
‘आज राति दुई प्रदेशमा धेरै ठूलो वर्षाको सम्भावना’, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ भनेको छ, ‘प्रदेश एक, दुई, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने छ ।’
यो सूचना हो तर सबैभन्दा महत्वपूर्ण समाचार पनि हो । कोरोना महामारीबीच अर्को प्राकृतिक आपदाको संकेत समाचार हो ।
केही दिनअघि राजधानी नजिकै मेलम्ची ट्रजेडी सुन्दै गर्दा भोलि फेरि देशको अर्को क्षेत्रमा भएको विपत्तिको खबरले हामी सबैलाई दुःखी नबनाओस् । मेलम्चीको दुःखद् खबर लेखिरहँदा भनेको थिएँ आपदा टरेको छैन । आज पनि लेख्नु पर्ने छ, असारको अन्तिम र साउनको पहिलो सातातिर पनि आपदा आउने देखिन्छ ।
ज्योतिषीहरुले समय, काल गणना गर्दै बर्षको शुरु बैशाखतिर भनेका थिए, यो बर्ष संवत्सर नैं ‘राक्षस’ भएको कारणले देशमा आपदाको लाइन लाग्नेछ । त्यसको लागि राष्ट्रप्रमुखबाट देश र जनताको रक्षाका लागि यज्ञ गर्नुपर्ने उनीहरुको सुझाव थियो । मतिभष्ट्र नेता र शासकहरुले यस्ता अध्येताका कुरा कहाँ सुन्नु ? नेपाली जनताले दुःखका कुरा सुनेर बर्ष २०७८ कटाउनु पर्ने हो जस्तो छ ।
प्रकृति–माता
माता हुन प्रकृति
प्रकृति–माता ।
घरमा आमा रिसाउँदा
घरका सबै सदस्य भोका
प्रकृति रिसाउँदा
हामी सबै भोका ।
घरमा आमाले माया गर्दा
घरभित्र खुसियाली
प्रकृतिको हरियालीमा
हाम्रो मनमा सुन्दरता ।
एउटा रुख रोप्दा
दश पुत्र समान हुने
सयौं रुख काटदा
सयौं सन्तानको नाश किन नहुने ?
असार–साउन
प्रकृति रिसाउने महिना
देख्यौं नि प्रकृतिको शक्ति
निकै पछि ब्झ्छौं
प्रकृति माताको महिमा ।
सरल शब्दमा बुझौ
प्रकृति भनेको माता हो
माता भनेको प्रकृति हो
जन्म र मृत्यु
माता र प्रकृति हो ।
एउटा रुखको फेदमा बसेर
ऋषिमुनिले ज्ञान पाए
हामीले रुख (प्रकृति) दोहन गरेर
हामी र हाम्रो सन्तानको नाश ग¥यौं
फरक यही हो ।
प्रकृतिको क्रोध कहिलेसम्म
हामी कसैलाई थाहा छैन
तर, प्रकृति घनघोर तडपित भएर
हाम्रै अगाडि रौद्ररुपमा रिसाएकी छिन्
माताले दयाको मीख दिनसक्नु हुन्छ
तर, प्रकृतिसँग भीख माग्नको लागि
हामीसँग कुनै शब्द नैं छैन ।
हामी यति भन्न सक्छौं
माता प्रकृति
हामी दोहोरो महामारीमा छौं ।
यसपटकलाई क्षमा गर्नुहोस्
हामी तपाईको सम्मानमा
हाम्रो गल्तीको क्षमा माग्छौं
हामीलाई माफी दिनुहोस् ।
हामीले भन्ने यति मात्र हो
आगे, प्रकृतिको मर्जी ।