
कोसी बाढीले बगाएको मृग हाम्रो सँगी भयो
कोरोना डायरी
प्रकाशप्रसाद उपाध्याय
धेरै दिनदेखि डायरी लेख्न भ्याइरहेको थिइनँ । किन हो कुन्नि मन उच्चिटिरहेको थियो । कोरोनाको संक्रमणको भय र त्रास त छँदै थियो, असार लागेदेखिको निरन्तरको वर्षा र बाढी–पहिरोका समाचार र तिनले उत्पन्न गरेका भयावह दृश्यबाट पनि मन पनि खिन्न भइरहेको थियो ।
पर्वतीय क्षेत्रको बाढी त कस्तो प्रलयकारी र विनाशकारी ! विशाल ढुंगाहरू बगाउँदै र पुल एवम् घरहरू भत्काउँदै बग्ने पानीको वेग देख्दा नै अत्यास छुट्ने । चियाको कप समाउँदै बाहिर बार्दलीमा पुगेँ, ताजा हावामा सास फेरूँ भनेर । तर देख्दछु, रातभरिको वर्षाले बारी जलमग्न भएको । बाल्यावस्थाका दिन सम्झिन पुगेँ ।
हामी बस्ने गाउँ पनि वर्षायाममा प्रायः सप्तकोशीको बाढीबाट यसै गरी जलमग्न हुने गर्दथ्यो, जसरी मेरो करेसाबारी जलमग्न थियो । राति सुत्दा सुखा देखिने खेत–बारी बिहान उठ्दा जलमग्न देखिन्थे । यो देख्दा बाबा भन्नुहुन्थ्यो– ‘लौ, राति कोसीमा बाढी उर्लेछ । बाहिर ननिस्कनु है, सर्पहरू बगेर आएका हुन्छन् ।’ हुन पनि, सर्पको सट्टा हामी टाढाका खेतहरूमा धानको बालीका मुठाहरू थुप्रिएका देख्दथ्यौँ, जुन किसानहरूले बिहानी पख खेतमा रोप्न भनी बेलुकी आफ्ना खेतहरूमा छाडि गएका हुन्थे, तर ती मुठाहरू भेलमा बग्दै हाम्रा घर–बारीका छेउछाउमा आइ पुगेका हुन्थे । केही दिनपछि पानी सुखेर जान्थ्यो । बाढी घट्दा पानी पनि तानिएको हो वा खेतको जमीनले सोसेको हो थाहा हुँदैन्थ्यो । यद्यपि इनारमा बढेको जलस्तरमा भने धेरै फरक पाइन्न्थ्यो ।
केही दिनपछिको भारी वर्षामा कोसी फेरि उर्लेर आयो । त्यसपालीको भेलमा धानका बालीका मुठाहरू देखिएनन्, बरु एउटा मृगको बच्चो बगेर हाम्रो बारीमा आएको देखियो । बाबाले त्यसलाई समाउनुभयो । हामी सबैले त्यसलाई चामल, गहुँ, दियौँ खानको निम्ति । बाबाले पनि बोटबाट पातहरू टिपेर ल्याउनुभयो र खान दिनुभयो । ऊ रमाएर खान थाल्यो । त्यसपछि त ऊ हाम्रो सँगी नै भयो । हामी दंग पर्दै उससित खेल्दथ्यौँ । ऊ पनि हाम्रो पछि–पछि हिँडने, दगुर्ने । हुर्केर ठूलो भएपछि बाबाले त्यसलार्इृ वन विभागलाई सुम्पिनुभयो । छरछिमेकी भन्थे– ‘काटेर खा’को भा’ हुन्थ्यो । हजुरले बित्थामा वन विभागलाई सुम्पिनुभो ।’ बाबाले भन्नुभयो– ‘आफ्नो बच्चासरह हुर्काएको पाठोलाई कसरी काट्नु ? वन विभागलाई सुम्पेँ, उनीहरूले जे गर्छन्, गरुन् ।’
वर्षा याममा यसरी बाढी आउनु सामान्य कुरा हुन्छ । खहरे खोला त प्रलयकारी हुन्छन्् भने सप्तकोशीको विशाल जलधाराको के कुरा । केही समयपछि फेरि बाढी आयो । तर यस पालीको बाढी पहिलेकोभन्दा बढी प्रलयकारी थियो । कोसीको जलधारालाई एउटा दिशा दिनको निम्ति बनाइएको बाँधलाई जलप्रवाहको वेगले भत्काउन थालेको हल्ला गाउँमा फैलियो । गाउँलेहरू दगुरे त्यता । हाम्रो गाउँदेखि केही फर्लांग टाढा रहेको दसगजा नजिकको बाँध थियो त्यो । हामी केटाकेटी पनि पुग्यौँ तमासा हेर्न । बाटोमा सुनियो, एउटा अजिंगर बगेर आएको रहेछ, जसलाई गाउँलेहरूले लौरो, डण्डाले हिर्काउँदै मारेछन् । हामी अजिँगर हेर्न पुग्यौँ, तर त्यतिबेलासम्म मरेको अजिँगरलाई उनीहरूले गाडिसकेका रहेछन् । बाँधनिर पुग्यौँ, देख्दछौँ मानिसहरू बालुवा, रोडा, गिट्टीहरू भरिएको बोराहरू बाँधमा थुपार्दैछन, र ती बोराहरू पानीको बेगमा नबगुन् भनेर मोटा तारको जाली फैलाउँदैछन् जलको वेगको प्रभावबाट बाँधलाई जोगाउन । हामी पुगेको देख्दा केही बुढापाकाहरू भन्न थाले– ‘याँँ’ तिमीहरूको काम छैन । गई हाल । कथंकदाचित् बाँध भत्कियो भने, तिमीहरू सबै बग्नेछौ । लौ गई हाल ।’ त्यति बेला बुढापाकासित बहस गर्ने चलन थिएन । हामी आज्ञाकारी बालकहरूसरह लगत्तै फक्र्योँ ।
तर, फर्किन थाल्दा हामी अर्को घटनाबाट जोगियाँै । खेतको आलीमा एउटा सर्प लुकेर बसेको रहेछ, हाम्रो पदचाप सुनेर उसले फणा उठायो, तर अगाडि रहेको साथीले सर्पलाई देखेको हुँदा उसले हातमा रहेको लट्ठीले प्रहार ग¥यो । सर्प म¥यो कि पानीमा बगेर गयो, थाहा भएन । कसैलाई हेर्ने साहस पनि भएन । तर हामीले भने कुलेलम ठोक्यौँ । बेलुकीतिर बाबाबाट थाहा पाइयो, गाउँलेहरूले बाँधलाई भत्कनबाट जोगाएका कुरा ।
अहिले जब देशभरि आएको प्रलयकारी बाढीबाट ज्यानमाललाई पुगेको नोक्सानीको समाचारको दृश्य देख्दछु, मानिसहरूलाई असहाय देख्दछु त लाग्दछ, मैले बाल्यकालमा देखेको बाढीको प्रकोप त सामान्य किसिमको रहेछ, किनभने अहिले टेलिभिजनबाट बाढीको प्रलयकारी र विनाशकारी रूप देख्दा कहाली लाग्दछ र ती मानिसहरूप्रति सहानुभूति र समवेदनाको भाव उत्पन्न हुन्छ, जो घरवारहीन भई आफ्ना प्रियजनलाई गुमाएको पीडा सहँदै कष्टकर दिन बिताइरहेछन् ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)



