भगवान, भक्त एन्ड भेरियन्ट

ब्राह्मणपुत्रको लकडाउन डायरी–५९
भरत शर्मा

शहरमा अहिले कोरोना भेरियन्ट भाग–३ को हल्ला चल्न थालेको छ । भेरियन्ट भाग–२ को अन्तिम चरणको समाप्तिसँगै फरि यस्ता सूचना र सन्देश फैलन थालेको हो । महामारीका विभिन्न चरण आउने भविष्यवाणी गर्ने होइन बरु आफू, समाज र देशलाई महामारीबाट बचाउनका लागि के गर्ने भन्ने सोच हुनुपर्ने हो । तर, यहाँ एउटा पक्ष तेस्रो चरण आउदै छ भन्ने चेतावनी दिन्न्छ, अर्को पक्ष यो केही पनि होइन भन्छ । यस्ता कुराले जनता अलमलमा !

महामारीको अचुक उपचार भनेको खोप र स्वास्थ्य मापदण्डको पालना रहेछ भन्ने तथ्यले प्रमाणित गरिसकेको छ । कोरोनाले हरेकले आफनो स्वास्थ्यका लागि आफूले आफैलाई परीक्षण गर्नुपर्ने आचरण सिकाएको छ । विगतमा पुर्खाले गरेको आचरण छोडेका हामीले अहिले आधुनिक, सभ्य र विकसित समाजमा आएर फेरि पनि पुराना र तथ्यपरक सनातन धर्मका आचारसंहिताको पालना गरे कोरोना महामारीबाट बच्न सकिने छ ।

व्यापार, व्यवसाय र आम्दानीको स्रोत बन्द हुँदा व्यक्तिमा पर्ने नकारात्मक सोच र त्यसले पार्ने असरको बारेमा कुनै छलफल हुन सकेको छैन । कतिपयले देशको अर्थतन्त्र राम्रो छ भने पनि व्यक्तिको निजी अर्थतन्त्रमा महामारीले निकै नराम्रो असर पु¥याएको छ ।

देशको अर्थतन्त्र रेसिटेन्सले चलेको छ । अहिले विदेश गएका पाखुरा खियाउने नागरिक स्वदेश फर्केका छन् । तर, फेरि कयौं युवा विदेश जाने सोचमा पनि छन् ।

भक्तहरु मन्दिरको मुलढोकामा
भगवानभित्र एक्लै
भक्तहरुको पर्खाइमा ।

कामना भक्तले गरेको सुनेर
भगवान पनि कामना गर्दैछन्
भक्त र भगवानको कल्याण होस् ।

मानिसका मन मन्दिरमा छ
भगवानको मन भक्तहरुको मनमा ।

भक्त मन्दिर नजिकै पुगेर
दुवै हात जोडेर भन्छन्
तपाईको दर्शन नगरेको धेरै भयो ।

भगवानले के गर्ने
हामी पनि बन्द अवस्थामा छौं ।

भक्तले सोच्न सकेको छैन
भगवानले आशीर्वाद दिन छोडेको छैन ।

कलिकालको समय
भक्त घरभित्र
भगवान मन्दिरभित्र ।

भेट कहिले हुने हो ?
भक्त–भगवान दुवै प्रश्न मात्र गर्छन् ।

भक्त आज पशुपति र बुढानिलकण्ठ पुग्यो
पशुपतिनाथमा गुजर दर्शन
बुढानिलकण्ठमा जमिन दर्शन पायो ।

मन्दिर भनेको मन रहेछ
भक्तले गजुर र जमिन टेक्दा खुसी हुन सक्यो
भगवानले भक्त आएको खबरले
भगवान र भक्त दुवै हर्षित
शिव–विष्णु संवाद भयो ।

भक्तलाई भगवनले भने,
सयम यस्तै छ,
जे काममा खुसी हुने हो, त्यही र त्यत्ति गर्नु
दुःख नमान्नु,
म एक दिन दर्शन दिनेछु
अहिले मौन, धैर्य, शब्दसँग प्रेम गर्नु
म पनि यतिबेला मौन र धैयका साथ
भक्तहरुको प्रतिक्षामा छु ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button