
मेरो ‘खोप’, प्रकाशको ‘बोधिसत्वको खोप’
ब्राह्मणपुत्रको लकडाउन डायरी–५६
भरत शर्मा
नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा चारजना कवियत्री र एकजना कवि विजयी भए । कवि मित्र प्रकाश सिलवालको ‘बोधिसत्वको खोप’ कविताले तृतीय स्थान हासिल गरेर कवितामा ‘आरक्षण’ पाए ।
पत्रकारिता र साहित्यमा दुई दशक भन्दा बढी समयदेखि दौडिरहेका कवि हुन् उनी । साहित्य सन्ध्याले आयोजना गर्ने कविता वाचनदेखि अभियान साहित्य प्रतिष्ठान हुँदै नागार्जुन साहित्य प्रतिष्ठानका संस्थापक सदस्य, महासचिव र अध्यक्ष कवि मित्र सिलवाललाई हार्दिक बधाई ।
संयोग पनि हुनसक्छ कवियत्री मात्र पुरस्कृत भएको प्रज्ञाको यस पटकको कविता महोत्सवमा मित्र सिलवाल पुरस्कृत भए । फेरि महिला मात्र पुरस्कृत हुनुहुँदैन, महिलालाई हेप्ने भनेर महिलावादी कवियत्री मित्रहरु जंगिन पनि सक्नुहुन्छ । मित्र सिलवाल निकै भाग्यमानी कवि हुन् । सबै महिला विजयी भएको बेला एक्का पुरुष कवि विजयी भए ।
धेरै कुरा नलेख्दा राम्रो होला । कविता दिवसको दिन कविता लेख्नुपर्छ । मित्र सिलवाल राष्ट्रिय समाचार समितिमा समाचार लेख्छन् तर उनी रत्नराज्यलक्ष्मी क्याम्पस पढ्दादेखि नै मिठो र सङ्घर्षशील कविता लेख्ने मित्र हुन् ।
सम्पादकले पाँडेगाली गर्ने भए आज । ‘प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको चार जना कवियत्रिको बारेमा नलेख्ने ? केवल कविको बारेमा मात्र लेख्ने । तपाई पुरुषवादी हुनुभयो’ भनेर झपार्न सक्छन् । माफ गर्नुस सम्पादकज्यू ।
पुरस्कृत कवियत्रीलाई चिन्दिन र कुनै जानकारी पनि छैन । अनि मैले के लेख्ने ?
‘देशको नक्सा’का लागि भोजपुरकी कवियत्री कविता राई प्रथम, ‘डढेलोपछि पनि वसन्त आउँछ’ शीर्षकमा धादिङकी कवियत्री अमृता स्मृति द्वितीय, ताप्लेजुङकी सविता बरालको ‘आमा म आएँ अब’, बर्दियाका निरञ्जनकुमारी चन्दको ‘युगीन प्रतिध्वनि’ र प्रकाश सिलवालको ‘बोधिसत्वको खोप’ तृतीय स्थान हासिल गरेको छ ।

प्रज्ञाले आयोजना गरेको कविता महोत्सवका लागि देशभरबाट करिव ७ सय ५० जनाले कविता पठाएका थिए । त्यसमध्ये ४१ वटा कविता छनोटमा परेको थियो । ‘भर्चुअल’ माध्यमबाट कविता महोत्सव आयोजना गरिएको थियो ।
कविता महोत्सवमा सहभागी, छनोटमा परेका र विजयी सबै कवि र कवियत्रीहरुलाई बधाई ।
गद्य होस् वा पद्य, कविताले समाजको चित्र बोल्छ ।
हरेक ब्यक्तिभित्र कवित्व हुन्छ । लेख्नेहरु कवि भएर कहलिन्छन, नलेख्नेहरु कविताको भाव मनमित्र सजाएर राख्छन् । तर पछिल्लो समयमा कविता लेख्ने, पढ्ने, सुन्ने पाठक स्रोता बढ्दै गएका छन् ।
सामाजिक सञ्जालको फैलदो विकासले व्यक्तिले आफना कवितालाई फेसबुकमार्फत पनि लेख्ने गरेका छन् । कविता सुनाउन पनि अब कतै जानु पदैन । फेसबुकमा लाइभ र रेकर्डिङ कविता वाचन गरिरहेका हुन्छन् ।
कविता महोत्सवको अवसरमा मैले पनि एउटा कविता लेखेको छु ।
खोप
हामीलाई चाहिएको छ खोप
महामारीको अलापमा
मनलाई बलियो बनाउने खोप,
देशमा चुनाव हुने रे
तर पहिले खोप त्यसपछि भोट ।
यसपाली नेतालाई गा-हो छ
भोट भाग्न जाँदा खोप लिएर जानुछ
सुनको कचौरामा हामी माग्दै छौं
दक्षिण, उत्तर सबैतिर माग्ने
दक्षिणको किनेर पनि दिएन
उत्तरको किन्ने भनेको मूल्य तोकेन
राम–राम छ
माग्नेको यही हो चाल
मागेर पनि नपाइने भो ‘खोप’
देश धनी भएछ
गरिव देशलाई भनेर
समुन्द्र पारीको धनी देशले
दिने खोपमा नेपाल नाम कटेछ
अब यता पनि छैन, उता पनि छैन
अब हामीले कहिले पाउने खोप ?
तिमीलाई भोट
हामीलाई खोप
देश गरिव जनता धनी
किनेर पनि नपाउने खोप ।
चीनमा अरबले लगाए
दक्षिणतिर लाखले एकैदिन लाए
हामी बीचमा छौं
त्यसैले हामीले हजारको संख्यामा
खोप लगाएर पनि
खुसी छौं ।
…
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)