‘साथी हो, अब घोडालाई सलाम गर्न छोड्नुपर्छ’

डायरी–९
सुशीला शर्मा

आजको दिन प्रसिद्ध प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्माको पुस्तक ‘तँ, तिमी, तपाइ, हजूर’ पढ्न शुरु गर्दै छु । यो शीर्षक पढ्न शुरु गर्ने वितिक्कै मलाई हाम्रो भाषा अनि भाषामा मिसिएको व्यवहारबारे झलक्क सम्झना आईहाल्यो । एक यात्रा विवरणबाट लेखकले पुस्तक शुरु गरेका छन् । लेखक र उनका एकजना साथी कतै जाँदै थिए रे । अलि दुर्गम ठाउँ । घोडाको सवारी गरेर ।

एउटै घोडा भएकोले पालैपालो घोडा चढ्नुपर्ने । लेखकका साथी चढ्दा लेखकचाँहि पैदलै हिँडिरहेका थिए । अनि घोडामा चढेका मानिस देखेर अरु बटुवा तथा गाउँलेले सलाम गर्थे रे । अनि लेखक घोडामा चढ्दा पनि उस्तै गरी बटुवा तथा गाउँलेले सलाम गरिरहे । यस्तो दृष्य देखेर लेखकले ती लेखकलाई मनमा केही कुरा त दगुर्यो नै । आफू गएको सभामा उपस्थित जनमानसलाई उनले भनेछन्, ‘साथी हो, अब हामीले घोडालाई सलाम गर्न छोड्नुपर्छ ।’

यसमा लेखकले मानिसका कतिपय व्यवहार र सुझबुझहरु छुटिरहेका पनि हुन्छन र पछि गएर महसुस हुन पनि सक्छन् । यदि विश्लेषण गरियो भने पहिले गर्दै आएको व्यवहारहरु अन्यायी पनि लाग्न सक्छ र त्यस्तो अवस्थामा मानिसले आफूलाई सच्याउन पनि सक्छ । र, यो कुरा गलत हो भनेर अरुलाई सम्झाउन बुझाउन पनि त सक्छ ।

उनै लेखक श्यामप्रसाद शर्मा भन्छन्, अरुलाई उपदेश दिन जति सजिलो छ, त्यस उपदेशको आधा अंश पनि पालना गरेर हिड्न कति गाहृो छ ।

उनी लेख्छन्, ‘हामी पनि घोडा र गाईभैंसी भएका, दरवार र मोटर भएका मानिसलाई हजूर र तपाई भनी सम्बोधन गर्छौ । नमस्ते गर्छौ । गरीब गुरुवाहरु हो श्रम गर्छन,उनीहरुलाई तँ या तिमी भन्छौं । यस्तो व्यवहारले त मानिसलाई भन्दा पनि उसका जायजेथा,शक्ति,प्रभावलाई पो सम्मान गरिरहेका हुँदा रहेछौं ।’

यही ’तँ, तिमी, तपाई, हजूर‘ शीर्षकभित्रै अहिलेको अवस्थामा पनि समसामयिक लाग्ने अर्को घटना उल्लेख गरिएको छ । एकजना सामान्य मान्छेले आफ्नो गुजाराको लागि नाङ्गलामा पसल सञ्चालन गरिरहेको हुन्छ । बाटोमा हिड्ने बटुवाले त्यो पसलवालालाई ‘ए फलाना यसलाई यो दे त’ भनेर ग्राहकी धर्म निभाउँछ । विस्तारै त्यो नाङ्गलो व्यवसाय फस्टाउँदै गएर सो पसले व्यवसायी नै बन्न खोज्दा फेरि मानिसहरु उसलाई तिमी या तपाई भन्न थाल्छन् । तर कथित ठूलो जात या पहिल्यैदेखिका धनीमानी मानिएकाहरुले भने ती मेहेनत गरेर स्थिति सुधारेका पसलेलाई तपाँई भन्न अझै हिच्किचाउँछन् र आफूलाई चाँहि सधैं ज्यू, हजूर नै भनाउन चाहन्छन् । यस्तै यस्तै तर्कहरु यो पुस्तकले प्रस्तुत गरेको छ । यो सबै अध्ययन गरेपछि फेरि चर्चा गर्ने छु ।

यस्तै प्रसंगलाई जोड्दा हुन त आजकल भाषामा आ आफ्नै शैली र खानदानी परम्परा पनि भईसकेको छ । कसले कसलाई कसरी सम्बोधन गर्ने भनेर । तर हाम्रो भाषामा हाम्रा हैसियत पनि सिधै जोडिएर आउने गर्छन् । हामीले विद्यालयमा व्याकरण नै सिकाउँछौ बालबालिकालाई सम्बोधन, अनादर, न्यून आदर, उच्च आदर र अति उच्च आदर भनेर । अनि यो अति उच्च आदर चाँहि विशेष गरेर पहिले राजा महाराजा उनीहरुकै शाखा सन्तानले बोलिने र बोलाईने भाषाको रुपमा लिईन्थ्यो । तर, आजकल चाँहि अलि कुलिन वर्गले, ब्राम्हण, क्षेत्री समुदायले पनि प्रचलनमा ल्याएको र एकप्रकारले फेसन जस्तो पनि भएको छ । विद्यालयमा पनि बालबालिकाले यो भाषा बोल्न थालेको देखिन्छ ।

पुस्तकमा यो कुरा पनि समेटिएको छ कि पेशागत कर्म गरिरहेका तर समाजले छोइछिटो गराएका श्रमजीवि मानिसहरुलाई कथित उपल्लो जात भनिएकाहरुले सम्बोधन गर्दा तँ भन्ने गर्ने चलन । हामी मानवताको कुरा गरेर पनि थाक्दैनौ अनि आफूले आफैंलाई ठूलो बनाउँछौं अनि आफू जस्तै अर्को मानवलाई सानो र हेयको दृष्टिले हेर्छौ, विभेद गर्छौ, हेप्छौं । र, यस्ता चलनलाई हाम्रो संस्कृति र आफू पनि मानवकै कोटीमा पर्न संघर्षरत अर्को मान्छेलाई या पीडित वर्गलाई समाज भाँड्न लागे, सामाजिक सद्भाव खल्बलिने भो भन्छौं । गहिरिएर विचार गरौं त कतै हाम्रो समाज पछि पर्नुमा कथित ‘ठूला’ जातीय मान्यता र व्यवहार पनि एउटा कारक त होइन् ? जब बुझेनौ कुरा अर्कै थियो, तर समय परिवर्तनशील छ । भेदहरु त धेरैले बुझिसके र बुझ्दैछन् ।

हामी सबै मान्छे बनौं अनि मान्छे मान्छेकै कुरा गरौं न । सानो-ठूलो जातीको अनि हैसियतलाई सलामको कुरा छोडौं ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button