छोरालाई किताब किनेँ

ब्राह्मणपुत्रको लकडाउन डायरी–५३
भरत शर्मा

आइतवार सखारै कान्छो पुत्रको विद्यालयबाट ह्वाटसपमा मेसेज आयो, ‘आजबाट फलानो बुक हाउसमा पाठ्यपुस्तक विक्री हुन शुरु भएको छ ।’ खबर पढेलगत्तै पुस्तक लिन जानेँ निर्णय गरेँ । पुत्रद्वय निन्द्रामा थिए । बाबुको कर्तव्य छोरालाई पुस्तक, विद्यालय भर्ना, विद्यालयमा लिने शुल्क व्यवस्थापन आदि–इत्यादि । त्यसलाई समयमा पूरा गर्दा घरपरिवारमा शान्ति हुने गर्छ ।

‘मलाई किन यति धेरै पैसा लाग्ने स्कूलमा भर्ना गरेको ?’, कक्षा चारमा पढ्ने कान्छो पुत्रले बेलाबेलामा भन्ने गर्छ, ‘मलाई तपाईले नैं त्यो विद्यालय भर्ना गरिदिएको त हो नि ?’

मैले के उत्तर दिने ? ‘हो, हो, मैले नैं भर्ना गरिदिएको हो’, भन्नुबाहेक कुनै उत्तर छैन मसँग ।

आइतबार बिहान पुस्तक लिन काठमाडौंको ताहाचलदेखि ललितपुर जाउलाखेलसम्म जाँदा बाटोमा अनेक तर्कना गर्दै थिएँ । त्रिपुरेश्वर, थापाथलीमा प्रहरीको चेक जाँच पार गरेर ललितपुरतिर दौड्दा बाटो खाली–खाली थियो ।

पुस्तक पसलमा पुग्दा अभिभावकहरुको लामो लाइन रहेछ । हातमा सेनिटाइजर, तापमान नाप्ने मेसिनगनको जाँच र भौतिक दुरीको नियम पालना गर्दै लाइनमा उभिँदा मनले अनेक तर्कनाहरु गर्दै थिए । ३० मिनेट बसेपछि मेरो पालो आयो ।

पहिले विद्यार्थीको नाम, कक्षा र स्कुलको नाम सोधे ।

‘विद्यार्थीको नाम शुभम शर्मा, कक्षा चार, स्कूल डिएभी ।’

‘हामीसँग कक्षा चारको सबै पुस्तक छन्, कापी चाहिन्छ कि चाहिँदैन ?’

कापी त गतबर्ष किनेको नै बाँकीं छ । त्यहीबाट काम चलाउनु पर्ला ।’

मभन्दा अघि र पछि बसेका अभिभावकहरु पनि भन्दै थिए, ‘अनलाइन कक्षामा गृहकार्य काम भएर होला, गतबर्ष किनेको कापी अझै बाँकी छ । यो पटक कापी चाहिदैन ।’ अनावश्यक खर्च किन गर्ने भन्दै अभिभावकहरु खर्च वचत गर्ने अभियानमा एक हुन आह्वान गर्नै थिए ।

अभिभावकहरु भन्दै थिए, ‘अनलाइन कक्षाले मेरो छोराछोरीेले मात्र गृहकार्य नगरेको हो भनेर भनेर चिन्ता गरेको थिएँ । समस्या सबैको एउटै रहेछ ।

चार हजार रुपैयाँ दिएको दुई सय ७८ रुपैयाँ फिर्ता दिए । अब आफै बुझ्नु कक्षा चारको छात्रको किताब मूल्य ।

पुस्तक सूची ः
१) अंग्रेजी– लिटरेचर रिडर्स–४
क) कोर्षबुक (ख) ओर्क बुक

२) नेपाली
क) नेपाली भाषा
ख) नेपाली ब्याकरण

३) गणित

४) सामाजिक
क) सामाजिक अध्ययन र कलात्मक अध्ययन

५) विज्ञान
क) नयाँ विज्ञान

६) कम्प्युटर शिक्षा

सबै गरेर कक्षा चारमा पढ्ने छात्रको किताब ९ वटा रहेछ । नेपाली भाषा र ब्याकरणबाहेक सबै अङ्गेजी भाषामा लेखिएको पुस्तक छन् ।

पुस्तक लिएर घर फर्केपछि नयाँ कक्षाको नयाँ किताब आएको खबरले कान्छो पुत्रको हर्षबढाईं भयो । दाजु चाहिँलाई भन्यो, ‘मेरो पनि किताब आयो–आयो । कक्षा आठमा पुगेको दाजु सुसमको केही हप्ता पहिले नैं ‘नयाँ कक्षाको नयाँ पुस्तक’ पाउँदा भाइलाई भनेको थियो, ‘तँ सानो कक्षामा पढ्ने मान्छेको किताब पछि मात्र आउँछ ।’ त्यसो भन्दा हिस्स परेको केटोले आइतवार नयाँ पुस्तक पाएपछि दाजुलाई पालोको पैचो तिरे जस्तो मेरो किताब हेर्न आउनु भनेर निम्तो नै दियो । नयाँ पुस्तक घरमा प्रवेश भएपछि घरका सबै सदस्य एकैछिन खुसी मनाए जस्तो भयौं ।

कान्छो पुत्र बिल हेर्दैं भन्यो, ‘किताब त महङ्गो परेछ ।‘ ‘तर, बाबाले हरेक बर्ष आफनो लागि कति किताब किन्नु हुन्छ हाम्रो लागि बर्षमा एकपटक त हो नि’, पुत्रद्वय किताब खरिदको अर्थशास्त्रतिर बहस गर्न थाले ।

पुत्रद्वयका पुस्तक वार्ता सुनेपछि आफूलाई पनि बालपनको याद आयो । मैले पनि नयाँ पुस्तक पाएको दिन खुसी भएर पुस्तकको सबै पाना पल्टाउने गरेको थिएँ । यसो सम्झेँ– मलाई त बाले होइन हजुरबाले नयाँ कक्षामा पुगेपछि नयाँ पुस्तक ल्याइदिनुभएको हो । मैले त ‘बा’को कुनै साथ सहयोग पाइन, बाको अनुहार पनि याद छैन । दुई बर्ष उमेर पुग्दा बा बैकुन्ठ जानुभयो । बाको माया मावलको हजुरबाबाट पाएँ नि भनेर चित्त बुझाएँ ।

घडीमा विहानको १०ः३० भएको रहेछ । ए साँच्चै, दुई दिन भयो । नेपालनाम्चाका सम्पादक अशोक सिलवालसँग वात नगरेको । आज त एक पटक कुरा गर्नु प¥यो भनेर घण्टी बजाएँ, अनुहारसहित दर्शनभेट भयो । सम्पादक हिजो मेलम्ची बुझ्न मेलम्ची नै गएका थिए । म दुईदिनदेखि कर्म किसानीमा थिएँ । समय अनुकल नभएपछि हाम्रो संवाद टुटेको थियो ।

कुरोको शुरुवातमैं नमस्कार गर्दैं बिहान छोरोको किताब किन्न गएको र घर फर्कंदा ढिलो भएको जानकारी दिँदै थिएँ, एक्कासी सम्पादक सिलवालबाट आदेश आयो, ‘आजको डायरीको शीर्षक ‘छोराकालाई किताब किनेँ’ र त्यही लाइनमा दायाँ–बाँया नगरी लेख्नु, किताब किनेको यो अनुभव आमअभिभावकको साझा अभिव्यक्ति हुनेछ ।’

एक छिनपछि सोचेँ, होइन, यस्तो सानो कुरामा लेख्दा पाठकप्रति कतै अन्याय त हुँदैन ? हरेक अभिभावकले पुस्तक किनेकैं हुन्छन् । मैले पनि हरेक बर्ष पुस्तक किनेकैं छु । अर्को बर्ष पनि नयाँ पुस्तक किन्नु नै छ । हरेक बर्ष पुस्तक किन्ने बजेटमा उकालो लाग्दै छ । यसबर्ष दुई पुत्रका लागि आठ हजार त पुस्तक खरिदमा खर्च गरेँ । तर, दुवैका लागि कापी नकिन्दा यति भएको हो । कापी पनि थप्ने हो भने १० हजारभन्दा माथि उक्लन्छ किताबकापीको बार्षिक बजेट ।

हरेक बर्ष पुस्तक किन्नु पर्ने अभिभावकको अर्थशास्त्रभित्रका कथा लेखौं कि भन्ने लाग्यो । अभिभावकलाई निकै सकस छ, हरेक बर्ष नयाँ पुस्तक किन्नुपर्ने, बार्षिक विद्यालय भर्ना, हरेक महिना विद्यालयबाट बील, समयमा बील भुक्तानी गर्न नसक्दा परीक्षाको नतिजा नपाउने डरत्रास भोगेका निजी विद्यालयमा छोरा छोरी पढाउने अभिभावकले भन्न नसकोको कथा पनि छ । घरभित्रको अर्थशास्त्र कसलाई भनेर फाइदा पनि छैन । त्यसैले मनभित्र लुकाएर राखेका छन् ।

धनी वर्गका लागि कुनै चिन्ता नहोला । तर, मध्यम र निम्न मध्यमवर्गका अभिभावकहरुको विवशता छ । शिक्षामा विभेद छ । शहर र अहिले त गाउँ–गाउँमा पनि निजी विद्यालय खुलेका छन् । मध्यमस्तरको आम्दानी गर्ने अभिभावकको मन निजीतिरै छ । शिक्षा प्रणालीले दुई खाले शैक्षिक जनशक्ति उत्पादन गर्दैछ । सरकारी शिक्षा नीति, सरकारी शिक्षक र सरकारी संयन्त्र यस्तै हुँदै जाने हो भने भविष्यमा सरकारले निजी विद्यालयसँग साझेदारी गर्ने नीति पनि आउन सक्छ ।

अंग्रेजी भाषा राम्रो हुनुमात्र शिक्षा होइन भन्ने भ्रम हटाउन सकिएको छैन । हामी (मैले) त सरकारी विद्यालय, संस्कृत पाठशाला र सरकारी विश्वविद्यालयमा पढेको हो । के हामीले पढेको शिक्षाका कुनै कमी छ । आफ्नो कमजोरी लुकाउनु हुँदैन । एउटा कमी पक्कै छ, सरकारी विद्यालयमा पढेका हामीजस्ता छात्रहरुको अंग्रेजी भाषा केही कमजोरी अवश्य छ, त्योबाहेक निजीमा पढेका विद्यार्थीको भन्दा कम छैन सरकारी विद्यालयमा पढेका छात्रहरुको अवस्था ।

निजी विद्यालयको खर्चको अर्थशास्त्रमा जोड्दै जाने हो कति हो कति ? सायद निजी विद्यालयमा छोराछोरी पढाउने अभिभावकहरुले किताब किनेको बीलदेखि विद्यालयको शुल्क तिरेपपछि त्यसलाई सम्झन नपरोस भन्दै च्यातेर फाल्नु पर्ने बाध्यता छ ।

मैले अनुभव गरेको तथ्य यही हो । आज मैले पुस्तक किनेँ । तपाई निजी विद्यालयमा छोराछोरी पढाउने अभिभावकहरुले पनि नयाँ पुस्तक किन्नु भयो होला ?

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button