०७१ यताका ‘सिन्धुपाल्चोक’ विपत्ति
राम विष्ट
मेलम्ची, सिन्धुपाल्चोक ।
● २०७१ साउन १७ गतेको जुरे पहिरोमा परी १ सय ४५ जनाको मृत्यु भयो । घर, विद्युत गृह, विद्यालय, रिसोर्ट, निजी व्यापारिक फर्मसमेत १५३ घर पूर्णरूपमा क्षति पुग्यो ।
● २०७२ वैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्पका कारण ३ हजार ५ सय ७१ जनाको मृत्यु भयो। भूकम्पले १ हजार ५ सय ६५ जना घाइते, ८ जना बेपत्ता, ७८ हजार ५ सय ३७ घर पूर्णरुपमा क्षति भयो ।
● २०७३ असार २१ गतेको भोटेकोशी नदीको बाढीले लिपिङ बजारका ३० घर बगायो। तातोपानी नयाँ बस्तीका ३० घरमा क्षति पुग्यो। अरनिको राजमार्ग बन्द भयो ।
● २०७४ साउन ८ गते रातिको पहिरोले लार्चा पुल बगाउँदा भोटेकोशी र तातोपानीको सम्पर्क विच्छेद भयो । अरनिको राजमार्ग पनि अबरुद्ध भयो ।
● २०७५ भदौ २ गते राति साँधी खोलामा आएको पहिरोले पक्की पुल बगायो। पहिरोले २२ घरमा लेदो माटो पस्यो, १२ घर जोखिममा परे ।
● २०७७ असार २४ गते राति बाह्रबिसे नगरपालिका वडा नं. ५ को जम्बु बजार पहिरोले पुरिँदा २ जनाको मृत्यु भयो भने १७ जना वेपत्ता भए । २५ घर बस्न नमिल्ने गरी क्षतिग्रस्त भए। बाह्रबिसेकै खागदलमा बाढी पहिरोले बस्ती पुरिँदा २२ घर क्षतिग्रस्त भयो । भोटेकोशी गाउँपालिकाको बुल्कुटे पहिरोले एक जनाको मृत्यु भयो भने तीन जना बेपत्ता भए। लार्चामा पहिरोले १३ घर क्षतिग्रस्त भएपछि गाउँ नै विस्थापित भयो। लार्चाका विस्थापितलाई तातोपानीस्थित ड्राइपोर्टमा राखियो । अरनिको राजमार्गका खागदल र बुल्कुटेका दुईवटा पक्की पुल पनि क्षतिग्रस्त भए ।
● २०७७ असार ३१ गते राति भोटेकोशी गाउँपालिकाको फुल्पिङ गाउँमा खसेको पहिरोले एकै परिवारका ५ जनाको मृत्यु भयो, ३ घर पूर्ण रुपमा क्षतिग्रस्त भए ।
● २०७७ साउन १८ राति मेलम्ची नगरपालिकाको मेलम्ची बजार नजिकैको पहिरोमा परी ९ जना मजदुरको मृत्यु भयो। सोही रात बरुवामा घर पुरिएर २ जनाको मृत्यु भयो ।
● २०७७ साउन २२ गतेको अविरल वर्षाका कारण चौतारा साँगाचोकगढी नगरपालिका २ सेराफाँटमा ४ घर पुरिए। बलेफी-कात्तिके सडक अबरुद्ध भयो। सयौं रोपनी धानखेत बगायो ।
● २०७७ साउन ३० बिहान जुगल गाउँपालिकाको वडा नं २, गोल्चेस्थित लिदीमा गएको भीषण पहिरोमा ३७ घर पुरिए। पहिरोले पुरिएर बेपत्ता भएका ३९ जनालाई मृत घोषणा ।
● २०७८ साल असार १ गते साँझदेखि सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती, ब्रम्हायणी र भोटेकोशीमा भीषण बाढी । मेलम्ची खोलाले तिम्बु, चनौटे र मेलम्ची बजारमा ठूलो क्षति पुग्यो । नदी तटीय क्षेत्रबाट धेरै मानिस सम्पर्कविहीन भएको स्थानीयको भनाइ छ । यद्यपि प्रहरीले यसको पुष्टि गर्न बाँकी छ । मेलम्ची (ईन्द्रावती)को बाढीले मेलम्ची बजारबाट चौतारा जोड्ने, मेलम्ची बजारबाट दुवाचौर जोड्ने पुल बाढीले बगाएको छ । त्यस्तै हेलम्बुको चनौटेमा रहेको पुल र नाकोटेमा रहेको पुल पनि बगाएको छ ।