
मेरो कल्पनाको स्वर्ग
मनको कुरा
भवानी गौतम
जीवित प्राणीले आफ्नो भौतिक जीवनचक्र पूरा गरेपछिको उसको गन्तब्य हो स्वर्ग । शास्त्रीय मान्यता अनुसार धर्म गर्नेहरूले स्वर्ग र पाप गर्नेहरूले नर्क प्राप्त गर्दछन्, मृत्युपश्चात् ।
मेरो निजी विचारमा स्वर्ग प्राप्तिका लागि मान्छेले आफ्नो देह त्यागको समयको प्रतीक्षा गरिरहनु आवश्यक छैन । रमाएर बाँच्न सके मानवले यहि भौतिक दुनियाँमा नै जिउँदो स्वर्ग प्राप्त गर्दछ । आजसम्म मेरा जो जति आफ्ना आफन्तहरू यस धर्तीबाट अस्ताए, उनीहरु कोही पनि आएनन्, मेरासामु स्वर्गको बयान गर्न । न त कोही आए नर्कको दुखेसो नै पोख्न । त्यसैले म किन बसौं त्यो मिथ्या र अदृश्य स्वर्ग पुग्ने अभिलाषामा, जसको अदृश्य सम्भावनाबाहेकको कुनै सुनिश्चितता छैन ।
मान्छेले स्वर्ग र नर्क दुवैको उपभोग यहि धर्तीमा नै गर्दछ । जगत कल्याण र परोपकारमा रमाउन सकियो भने यहीँ भेटिन्छ स्वर्ग । आपसी सद्भाव, भाईचारा र भातृत्व, यसैलाई म स्वर्ग मान्छु ।
एउटा सानो उदाहरण, दुनियाँको नजरमा सामान्यभन्दा सामान्य जीवन बाँचेको एउटा परिवार तर त्यहाँभित्र आपसी प्रेम, आत्मीयता, सद्भाव र शान्तिपूर्ण माहोल छ भने त्यही भेटिन्छ स्वर्गीय आनन्द र त्यहि हो मेरो कल्पनाको स्वर्ग पनि ।
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)