नौलो नयाँ खासै छैनन्, मौसम धुम्म छ

(साथी सुशीलाले नेपालनाम्चामा कोरोना डायरी सुरु गरेकी छिन् । यहाँ उनले सामान्य लाग्ने जीवनका सत्यहरु लेख्नेछिन् । र, लेख्नेछिन्, जीवनका गीत, आशाको संगीत र आम मानिसका स्वरहरु । उनको डायरी एक प्रतिनिधी डायरी हो । सम्पादक )

डायरी-४
सुशीला शर्मा

दैनिकी उस्तै नै छन् । नौलो नयाँ खासै छैनन् । मौसम धुम्म छ । ओसिएका मझेरी छन् । बाहिर नयाँ भवन बनिरहेकोले दिनभरी झ्याईंझ्याईं आवाज आइरहेछ । घरभित्र बसेर अनलाइन पढ्ने विद्यार्थी र पढाउने शिक्षक, शिक्षिकालाई डिस्टर्व पनि भइरहेको छ । यसमा सम्झौताको सिद्धान्त लागु गरेर मानिस चल्नुपर्ने छ ।

जीवित मानवभित्रका मानिस चल्ने औजारहरु (शरीरका अंगहरु) सबैको उत्तिकै महत्व छ । एउटै अंगमा अलिकति पनि समस्या आइपर्दा त्यसको असर सिधै हाम्रो दिमागमा पर्न जान्छ ।

मान्छेको मस्तिष्कले ज्ञान, स्मरण, खुसी, संस्कृति, दुःख, रहस्य, आतंक, उत्सुकताजस्ता कयौं भावना बोकेको हुन्छ । अनि सबैभन्दा बढी त मानिसले मस्तिष्कका यिनै आरोह, अवरोहसहित आफैलाई बोकेर हिँडेको हुन्छ, मुटुसँग पनि सञ्चार गर्दै । अन्य जैविकीय कुराहरुको रहस्य त त्यही विषयमा विज्ञहरुले जान्ने गर्छन् ।

मानिस विवेकशील प्राणी भएकोले नै मस्तिष्कका विविध अनुभूतिलाई व्यवहारमा उतार्दै अगाडि बढिरहेको हुन्छ । तर यी दिमागी खुराकहरु अहिले कोरोना कहर, डर, संक्रमण उपचार आदिमा एकिकृत भएको छ ।

फेरि अर्को समस्या पनि छ । असार लाग्न लाग्यो, रिन धन गरेर गरेका व्यवसायहरुबाट आम्दानी हुन सकेको छैन । कतिपय व्यवसाय त धरासायी भएका छन् । बैंकका व्याज कसरी तिर्ने ? सधैं यस्तै स्थिति भईरहेमा व्यवसाय कसरी अगाडि बढाउने ? परिवार कसरी सञ्चालन गर्ने ? यस्तै प्रश्नले हाम्रा मस्तिष्कहरु रन्थनिएका छन् र एक आपसमा छलफलको विषय पनि यही भइरहेछ आजकाल । अनि परिवारका अरु सदस्यहरु, प्यारा साना नानीहरु, प्रिय र भेटघाट भइरहने साथीहरुसंग पहिलेकै जस्तरी कहिले भेट्ने होला ? यस्तै यस्तै छन चासो र चिन्ताहरु । कतिपयले त कोरोनाले परिवारका सदस्य गुमाएका छन् । अन्तिम संस्कार पनि परिवारले हेरेर गर्न पाएका छैनन् । उनीहरुको मनमा कस्तो असर पर्यो होला ? तर, हाम्रो मस्तिष्कले यस्ता प्रश्नहरुको समाधान दिन सकेको छैन । अनिश्चित परिस्थितिको सवालको जवाफ तुरुन्त हाम्रो मस्तिष्कमा नहुने रहेछ ।

हाम्रा मस्तिष्कले आफ्नै कुरामात्र पनि सोच्दैन । यस्तो हुन्थ्यो भने त संसार अहिलेको अवस्थामा हुने नै थिएन । हाम्रै देशको कुरा गरौं न । शासन सत्ता चलाइरहेको लोकतान्त्रिक समाजमा यदि शासकहरुले जनआकाँक्षा अनुसार काम गर्न सकेनन् भने त्यसको विरोधमा आवाज उठ्नुपर्छ । त्यो हाम्रो मस्तिष्कमा नै विद्यमान प्रतिरोधको परिणामस्वरुप नै हो । न्यायिक र जनताबाट जनतालाई भन्ने सिद्धान्त अनुसार नै जनताले चुनेर पठाएका नेताहरुको शासन चलिरहेछ । यदि जनताले चुनेका शासकले जनताकै काम गरेनन् भने या स्वार्थमै डुब्न थाले भने फेरि जनताले नै ती शासकलाई अस्वीकार गर्दै नयाँ नेताको विकल्प खोज्न विरोधका कार्यक्रम या जन आन्दोलन गर्न पाउने छुट लोकतन्त्रमा हुन्छ । यसो भन्दैमा फेरि जतासुकैबाट उदण्डता र मनोमानी पनि चल्नु भएन । सभ्य समाजको निर्माणको लागि त जनता या नेता, शासक सबैले असल प्रणाली बसाएर त्यसमै अभ्यासरत हुनुपर्ने हुन्छ । मैले सम्झेको कुरा गरेको हुँ ।

भर्खरै जनप्रतिनिधीस्तरकै नेताले नाम तोकेरै हत्या गर्ने मान्छे जन्मनु पर्यो, हैन भने म आफै यो काम गर्न सक्षम छुजस्ता अभिव्यक्ति दिएको पनि देखियो । हुनत माथि उल्लेखित मस्तिष्कमा भएको विभिन्न भावमध्ये आतंक बोलेको होला । तर मानिसले मस्तिष्कमा भए जति सबै कुराहरुलाई नियन्त्रण नगर्ने हो भने त आतंकै आतंकको संसार पो हुन्थ्यो होला नि ।

त्यसैले हामीलाई न्याय चाहिन्छ, शान्ति चाहिन्छ, अमन चयन चाहिन्छ समानता चाहिन्छ । यसको लागि आवाजहरु पनि उठ्नुपर्छ, प्रतिरोध हुनुपर्छ । व्यापक बहस हुनुपर्छ । तर, आवेश र आतंकको मस्तिष्कले होइन माया, सद्भाव, विश्लेषण, छलफल र सुझबुझसहितको मस्तिष्कले । सकभर हिंसा र रक्तपातरहित ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button