
जिन्दगी जेरीजस्तै जेलिए के गर्ने ?
(साथी सुशीलाले नेपालनाम्चामा कोरोना डायरी सुरु गरेकी छिन् । यहाँ उनले सामान्य लाग्ने जीवनका सत्यहरु लेख्नेछिन् । र, लेख्नेछिन्, जीवनका गीत, आशाको संगीत र आम मानिसका स्वरहरु । उनको डायरी एक प्रतिनिधी डायरी हो । सम्पादक )
पुराना तस्विर र अतितका सम्झना
डायरी-२
सुशीला शर्मा
यदि जिन्दगी जेरी जस्तै जेलिएको छ भने किन चास्नीमा डुबाएर असली स्वादको मजा नलिने ? अहिले विश्वमै मानव जीवन कोरोना महामारीले जेलिदिएको छ । तर, बाँच्ने कला यिनै चौघेराबाट सिक्नु पनि पर्ने छ । त्यो कला भनेको सुरक्षित भएर गर्न सकिने दैनिक काम गर्नु हो । त्यसबाहेक आजकल मिडिया प्रविधिले व्यक्तिमा लुकेर रहेका प्रतिभाहरु प्रस्फुटन गर्न पनि सहयोग पुर्याईरहेको छ । त्यो साथीले, या ती व्यक्तिले जिन्दगीमा यति राम्रो कला पनि प्रस्तुत गर्न सक्दारहेछन् भन्ने कुरा त टिकटकमा प्रस्तुत अभिनय, नृत्य, प्रहसनबाट पनि प्रष्ट हुन्छ । आखिर मानिस सिर्जनशीलल प्राणी हो भनेर त्यसै भनेको होइन ।
ल, अब मनोरञ्जनका कामले पनि थाकियो । के गर्ने त ? अर्को उपाय झिकिहाल्छ मान्छे । म आफू नृत्य, अभिनय जस्ता कुरामा पूरै पछाडि छु । तर नृत्य हेर्न, गीत सुन्न भने सारै रुचि लाग्छ । म पुराना कुरालाई पछाडि नै छोड्ने मान्छे हुँ । तर, सबै कुरा भुसक्कै विर्सन पनि भएन नि भन्ने लाग्छ । के गर्ने त यो सम्झिन ? पुराना फोटोका एल्बम हेर्ने । मेरा केही साथीहरु पनि यो उपाय अप्नाउँछन् । आज बिहान खाना बनाइसकेपछि मैले एक घण्टा पुराना फोटो भूँईमा फिजाएँ । र, एक एक गरेर हेर्न थालेँ ।
फोटोकै विषयमा पनि आज धेरै लेख्न भ्याईदैन जस्तो छ । एउटा जुम मिटिङ छ र त्यसकै तयारी गर्नु छ । मलाई यो जुम मिटिङमा कुरा गर्न पनि त्यति सहज लाग्दैन् । अलि एक्सपोज हुन अप्ठ्यारो मान्ने गर्दागर्दै त्यो त बानी नै भैसकेछ । केही स्वभाव पनि बाहिर खुल्न, बोल्न नसक्ने नै छ । तर, लेखेर अभिव्यक्त भने गरिरहेको हुन्छु । ती फेसबुकमा हुन कि पत्रपत्रिका र अनलाइनमा । यो मेरो व्यक्तिगत स्वभाव हो ।
एल्बममा हेरेका फोटोकै कुरा गरौं न त । शुरुचाँहि उ जमानामा स्टुडियोमा गएर खिचेका फोटो हेरेर गरियो । त्यो भनेको स्टुडियोमा गएर खिचको, नागरिकता बनाउनको लागि खिचेको फोटो हेर्दै गरियो । अरु त दशैं तिहारका पुराना फोटो, कलेज शुरु गर्दाको फोटा, विवाह गर्दाको फोटा, छोराको पास्नीको फोटो आदि आदि । यी फोटोहरुले ती समयका झझल्को त गराई नै हाले । ती फोटोहरुले बालापन र यूवापनका स्मृति दिमागमा ल्याइदियो ।
अब अहिले त सबैको हात हातमा मोबाइल र सयौं फोटो बोकेर हिड्न सकिन्छ । फोटै खिचिरहे पनि भयो । प्रविधको खेल ! फोटा आफूले मात्रै हेरिरहनै पर्दैन । मिनेटभरमै संसारलाई नै देखाउन सकिन्छ । फेसबुक, ईन्स्टाग्राम, टुईटरजस्ता कति माध्यमहरु छन्, फोटो प्रदर्शनका ।
म पनि हातमा मोबाइल भएपछि, सेल्फी होस या केही पनि मन लागेका कुराहरुको फोटो खिच्ने र फेसबुकमा पोस्ट गर्नेमा अग्रपंक्तिमै छु । सायद फुर्सद, रहर र लत पनि हुन सक्छ है । अर्को कुरा, म फोटो मात्रै पोस्ट गरिरहेको हुन्न । त्यहाँ आएका समाचार, लेख, घटना, अन्य बौद्धिक व्यक्तित्वहरुका विचार, कविताहरु पनि पढिरहेको हुन्छु । यो चाँहि सकारात्मक पाटो नै मानेको छु । आफू पनि लेख, कविता लेख्ने र फेसबुकमार्फत नै बाँड्ने पनि गरिरहेको छ्ु । उस्तै विचार मिल्ने पुरुष तथा महिला साथीहरुसंग मेसेन्जरमा पनि कुराकानी गरिन्छ । पढेलेखेकै र नयाँ कुराहरु,नयाँ विश्वसँग साक्षात्कार हुने मानिसहरु नै फेसबुकमा पनि साथी भएकोले उनीहरुबाट पनि धेरै कुरा सिकिराखिएकै भईन्छ ।
मलाई बिनासित्ति सामाजिक सञ्जालमा कसैसँग बैरभाव राख्न नपरे हुन्थ्यो जस्तो लाग्छ । तर, खराब जस्ता लागे भने त साथीबाट हटाउने विकल्प पनि छन् । स्वस्थ र सौहाद्र्ध कुराकानी नै यो भर्चुअल दुनियाँमा सकारात्मक थालनी हुनेछ । यी सब भनिरहनुको कारण फेसबुकमा नि हाम्रा फोटा हुन्छन् र तिनै फोटा हेरेर साथी बन्ने नियम जो छ ।
फोटोहरु हेर्दा केही फोटोहरुले रोमाञ्चक बनाएर एक्लै हाँसिराखिएको हुन्छ । फोटोमा भएका तर हामीलाई छोडेर यस संसारबाट अस्ताइसकेका आफन्तजन, प्रियजनहरुको सम्झनाले धुरुधुरु रुने पनि बनाउँछ । यस्तै नै त हो जिन्दगी । घामछाँया । स्मृतिलाई विस्मृति बनाउन पनि त भएन नि । हाँस्नु–रुनु प्रकृति नै हो । के तपाईहरु पनि यसरी फोटो हेरेर अतितमा जानु हुन्छ ?
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)