‘एक कप कफी पिउन पनि नपाइने कस्तो दिन आयो गाँठे ?’

ब्राह्मणपुत्रको लकडाउन डायरी–४३
भरत शर्मा

बिहीबार मेरा चिनियाँ दाइसाथी प्रा.डा वाङचुङ चीनको हनान प्रान्तको राजधानी चेन्चौंदेखि युनान प्रान्तको राजधानी खुमनिङसम्मको यात्रामा थिए । उनले विमानस्थलभित्र यात्रीहरुले पालना गरेको नियम र अनुशासनको भिडियो र आफूले माक्स लगाएको ताजा तस्वीर विच्याटमार्फत पठाए । भने, ‘चीनमा अहिले पनि स्वास्थ्य मापदण्डको पालना कायम छ ।’

कोरोना महामारीपछि करिव ८० करोड मानिसले खोप लगाएर चीनले विश्वमा पहिलो खोप लगाउने देश भनेर नाम कमाएको छ । प्रा. डा वाङचुङले ‘भेरोसेल’ खोपको दुवै मात्रा लगाइसकेका छन् । उनको विचारमा सायद विमानयात्रामा यात्रा गरिरहेका सबैजसो चिनियाँहरुले खोप लगाइसके पनि सबैले स्वास्थ्य मापदण्डको पालना गरेकैं छन् ।

पहिलो पटक चीनकैं उहानमा देखिएको कोरोनाले विश्व परिक्रमा गरिसकेको छ । नेपाल दोस्रो चरणको महामारीविरुद्व लकडाउनको ४३ दिनमा छ । चीनले सन् २०२१ को अन्त्यसम्ममा सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ । चीनले लक्ष्यभन्दा एक महिना अगाडि नै काम पुरा गर्ने गरी अभियान शुरु गरेको छ ।

ए, साँच्चै, चीनले हामीलाई पनि ‘भेरोसेल’ खोप दुई पटक उपहार दिएको छ । पहिले आठ लाख खोप आएको बेला नै मैले दुवै मात्रा लगाउन पाएपछि मनमनै चीन सरकारलाई धन्यवाद दिइसकेको थिएँ ।

केही दिनअगाडि नेपालमा खोप ल्याउने काममा राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भइन् । भारत, अमेरिका, रुसका राष्ट्रपतिलाई खोप दिन अनुरोधपत्र लेखेकी थिइन् । चीनका राष्ट्रपति सी चिनपिङसँग चाहिँ टेलिफोन वार्ता नै भएपछि सीले चिनियाँ जनताको तर्फबाट नेपाली जनतालाई भनेर १० लाख खोप उपहार दिने घोषणा गरे ।

घोषणालगत्तै चीनले दिएको ‘भेरोसेल’ खोपलाई नेपाल सरकारले लगाउन शुरु गरेको तीन दिन भयो । ६० देखि ६४ बर्षसम्मका नागरिकलाई खोप दिने सरकारको निर्णय अनुसार नैं खोप अभियान २९ गतेसम्म जारी छ ।

६० बर्ष कटेकालाई खोप लगाइदिने घोषणापछि खुसी भएका एक पात्र हुन् जिवेन्द्र सिम्खडा । सिम्खडाले निकै हर्षित हुँदै खोप लगाउँदा भर्ने फारममा पेशा पत्रकार भनेर लेखाए ।

सिम्खडाको रानीवन निवासदेखि पुष्पलाल पार्क, नरदेवीसम्मको यात्राको बीचमा एक्कासी मुलसधारे पानी प-यो । आधाघण्टा सडकछेउ ओत लागेर बस्न बाध्य बनायो ।

पानी रोकिएपछि, सिधै खोपकेन्द्रतिर लाग्यौं ।

खोपकेन्द्रमा फूलमाया तामाङको हातबाट सिम्खडाको पाखुरामा पहिलो डोज भेरोसेल लगाउँदा म फोटोग्राफरको भूमिकामा थिएँ । फोटो खिचेपछि सिम्खडाको अनुहारको खुसीलाई पढ्न थालेँ ।
सिम्खडालाई मैले ‘रानीवन दाजु’ भनेर सम्बोधन गर्छु । दाजुले नै ‘ब्राम्हणपुत्र’ भनेर मेरो बोलाउने नाम राखिदिनुभएको हो । १८ बर्ष भएछ दाजुसँग भेट भएको । १४ बर्षदेखि हामी दाजुभाइ जस्तै दुःख सुखमा सँगै छौं । जन्म जिल्ला र पेशा एकै ।

खोप लगाएपछि दाजुलाई कफीको तलतल लागेछ क्यारे । भन्दै थिए, ‘शहरमा एक कप कफी पिउन पनि नपाइने कस्तो दिन आयो गाँठे ?’

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button