
परिवारलाई नै कोरोना, अनुभव आ-आफ्ना
महामारीमा संक्रमित भएर पनि बाँच्न पाएकोमा भगवानप्रति अनुगृहित छु
अरुणकुमार पाण्डे
कोरोना महामारीको दोस्रो लहरको लकडाउन २०७८ बैशाख १६ गतेबाट शुरु भएको थियो । लकडाउनको १२ औं दिन अर्थात वैशाख २८ गतेको राती मलाई अचानक ज्वरो आयो । नेपाल टेलिकममा कार्यरत श्रीमती कमलालाई अघिल्लो सातादेखि नै सामान्य खोकी लागिरहेको थियो ।
गर्मी महिना भएको र उनलाई दही धेरै खान मन लाग्ने भएकोले खाना खाँदा दाल तरकारीको साँटो चिसो दही र भात खाने, खाजामा दहीचिउरा खाने उनको बानीले खोकीले सताएको हो कि भन्ने पनि लागेको थियो । दुई दिन अघिदेखि छोराछोरीलाई पनि रुघाखोकी लागेको जस्तो भएकोले बैशाख २८ गते राती चारैजनाले पालैपालो तातोपानी तताउँदै वाफ लिंदै गर्यौं । जब मैले ५, ७ मिनेट वाफ लिएँ, त्यहीबेला पछाडि ढाडबाट एक्कासी कामज्वरो निस्किएजस्तो भयो । मैले हतारहतार पसिना पुछेर बाक्लो सिरक ओडेर काम्दै सुतें । त्यही रातबाट ज्वरो आउन थाल्यो, हल्का रुघाखोकी पनि थपियो ।
ज्वरो आएको तीन दिनसम्म बिहानको स्नान, नित्य सन्ध्या र पूजापाठ गर्न सक्दैथिएँ । चारौं दिनदेखि ज्वरोले अझै गलाउँदै लग्यो । पूजापाठमा बस्न सक्ने अवस्था थिएन । त्यहीबीचमा जेठ १ गते तराई बस्ने एकजना भाउजू बितेर जुठो परेकोले नित्य पूजापाठ रोकियो । सामान्य रुघाखोकी पाँचदिनमा ठिक होला भन्ने पनि लागेको थियो । तर ज्वरो आउन छाडेन । जेठ १ गते कमलाको पिसिआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएपछि पतिपत्नी छोराछोरी हामी सबै चारैजनालाई कोरोना पोजेटिभ भएको पक्का भयो । हामीले भान्सा र शौचालय एउटै प्रयोग गरेका थियौं, सुत्ने कोठा अलगअलग थियो, कमला र मेरो भने कोठा एकै ओछ्यान मात्रै बेग्लै थियो ।
शुरुमा सिटामोल छ-छ घण्टामा खाएँ, ज्वरो घटेन । त्यसपछि रुघाको साइनेस र सिटामोल खान थालें, त्यसले पनि ज्वरो घटेन । त्यसपछि दुइटा सिटामोल खान थालें, अझै ज्वरो घटेन । आठौं नवौं दिनदेखि पाँच घण्टाको अन्तरमा डबल सिटामोल खान थालें । खाइन्जेल ज्वरो केही घट्ने तर ९९-१०० भन्दा कम हुँदै भएन, अधिकतम ज्वरो १०२।५ सम्म नि पुग्यो । दशौं दिनको दिन एकजना आफन्तले एजिथ्रोमाइसिन नामको चक्की खान सुझाव दिनुभयो । डाक्टरको परामर्श बिना औषधि कसरी खाउँ भनेर नेपाल कोरिया मैत्री अस्पताल, ठिमीमा गएर डाक्टर भेटेर जचाएँ । अक्सिजन ९५ ठिकै रहेछ । एजिथ्रो खान उहाँले पनि सुझाव गरेपछि तीन दिन त्यो खाएँ । १३ औं दिनमा ज्वरो घट्न शुरुभयो । त्यसपछि ज्वरो कम हुँदै गएपनि नियमित सिटामोल खान छाडिनँ । अझै दुई दिन सिटामोल छाडिनँ । १५ दिनबाट ज्वरो पूर्णरूपमा हट्यो । हल्का खोकी, छातीमा कफ जम्ने, खोक्दा छातीमा खरो हुने मुस्लो उठेको जस्तो हुने गर्दथ्यो । शरीरमा शक्तिहीनताको अनुभूति लामो समयसम्म रहेकै छ ।
कोरोनाका सम्बन्धमा संक्रमित मानिसहरूका आआफ्नै अनुभव रहेको पाइयो । सबैमा एकैखाले लक्षण र असर नहुँदो रहेछ । पहिलो लहरमा कोरोना पोजेटिभ हुनेका अनुभव बेग्लै छन् । दोश्रो लहरमा पनि व्यक्तिपिक्छे छुट्टै अनुभव छन् । भेरिएसन फरक फरक भनेको पनि सायद यही होला । मेरो परिवारमा कोरोना संक्रमित हामी चारैजनाका बेग्लै अनुभव छन् । छोराछोरीलाई जम्मा पाँच दिन बढी असर गरेको थियो । बुढीलाई सात दिन जति र मलाई चौध दिनसम्म ज्वरो आइरह्यो । कसैलाई बताउनै नसक्ने बेहद छट्पटी र पीडा हामी सबैका साझा अनुभूति रहे । लसुन धनियाँ पुदिना केहीको पनि बास्ना र स्वाद हामी कसैलाई आएन । हामी सबैलाई घाँटी दुखेन तर रुघा हल्का लागेको थियो । कमलालाई पटकपटक बमिट भयो । मलाई एकदुई पटक बमिट भएको थियो भने धेरै दिनसम्म पेट निमोठेर ज्यादै कठिन भएको थियो । मलाई रातीराती असीनपसीन हुने र टाउको दुख्ने हुन्थ्यो । दिनमा भन्दा रातमा बेहद छट्पटी हुने गर्थ्यो । छोराछोरीलाई पनि टाउको दुखेको थियो ।
आयुर्वेदिक औषधिको प्रभाव
हामीले आयुर्वेदिक औषधि पर्याप्त प्रयोग गरेका थियौं । बिहान बेलुका दिनको दुई पटक सम्पूर्ण परिवारले नै जडिबुटी राखेर पकाएको पानीको वाफ लिन्थ्यौं । अम्बा, पारिजात तितेपाती र असुरोको पात पकाएर त्यसैको वाफ लिने गर्दथ्यौं । असुरोको पात र धुलो पानीमा पकाएर दुईपटक पिउथ्यौं । ज्वानो बेसार जीरा लसुन अदुवा जेठीमधु ल्वाङ सुकुमेल दालचिनी धुलो आदि पकाएर पानी पटकपटक पियौं । जेठान दाजु गोर्खा आयुर्वेदमा जागिरे हुनुभएकोले आयुर्वेदिक औषधि पर्याप्त पठाउनुभयो । आयुर्वेद वटि, मृगमदासब, कासारिन, सितोपलादी, यष्टिमधु, इमुनो केयर क्वाथलगायतका औषधि मात्रा मिलाएर खाँदै गयौं । चन्द्रप्रकाश गिरि नामका एकजना छिमेकी दाजुले असुरो पाउडर र दिव्य आयुर्वेद भारतले निकालेको पानीमा पकाएर खाने दिव्य पेय नामको जडिबुटी चुर्ण ल्याइदिनुभएको त्यो पनि खायौं । बिहान दिउँसो बेलुका ज्वानो लसुन अदुवा राखेर चामल वा कोदोको पिठोको खोले बनाएर टन्न पिउने गर्थ्यौं । मुग चना आदि गेडागुडी भिजाएर उमारेको दाना पकाएर खाने, मुगको छाँटा दाल पकाएर पटकपटक पिउने गरिरह्यौं । छोराछोरीले थोरै थोरै काजु ओखर किसमिस बदाम पेस्ता छोडा आदि ड्राइफुड पनि खाए तर मैले ज्वोरो नहटिकन खाइन । ज्वोरो हटेपछि डावरको च्यवनप्रास पनि खायौं । आयुर्वेदिक टनिक इमुनो बुस्टर पनि खाइयो ।
एलोपेथिक औषधितर्फ सिटामोल धेरै खाइयो । तीनचक्की एजिथ्रोमाइसिन, जिन्क चक्की, भिटामिन सी र डी का साथै मल्टी भिटामिन खाइयो ।
आध्यात्मिक चिन्तन
कोरोना संक्रमितहरुको मनोबल उच्च राख्नुपर्ने रहेछ । सारा संसारभर दैनिक हजारौं मान्छे मरिरहेका समाचार र सामाजिक संजालमा आफ्ना आफन्त र चिनेजानेका मानिसहरु मरेका श्रद्धाञ्जली समवेदना हेर्दै गर्दा सामान्य चेतनास्तर भएको संक्रमित मानिस अत्तालिनु अस्वाभाविक होइन । भौतिक जीवनको मात्रै चिन्तन गर्नेहरुका लागि मृत्यु धेरै भयावह हुन्छ । कोरोनाबाट मरेका धेरै भन्दा धेरै लासको थुप्रो चिहान र घाटमा जलाइरहेका तस्वीरले पनि मान्छेका मन भकासिन्छ । थोरै समय सामाजिक सञ्जाल हेरे पनि हामीले समाचारहरु धेरै हेर्ने सुन्ने गरेनौं । कोरोनाको खास औषधि आधुनिक चिकित्साले बनाएको छैन, आयुर्वेदमा त सबै रोगका उपचार विधि छन् भलै हामीले त्यसको पहिचान र प्रयोग गर्न जानेका छैनौं । पूर्वीय दर्शनमा शरीरम् ब्याधि मन्दिरम् अर्थात शरीर रोगको घर हो भनिएको छ । आयु कर्म सम्पत्ति विद्या र निधन यी ५ कुरा मानिस गर्भस्थ हुँदा नै निर्धारण भएको हुन्छ भनेको छ । बिरामी हुँदा मर्छु कि भनेर आत्तिनु भन्दा बाँच्ने उपाय गर्नु श्रेयस्कर मानिएको छ । यस्ता विपत र महाव्याधिहरुमा आध्यात्मिक चिन्तन गर्ने र भगवन्नामस्मरण गर्नु हाम्रा शास्त्रीय निर्देशन हुन् । सबै रोगका वैद्य स्वयं नारायण हरि हुन् उनको नाम संझनु भन्ने शास्त्रीय वचन रहेको छ । मनले प्रायः सबै भगवान नामको मानस जप गर्दा समय कटाउन र मन स्थिर गराउन धेरै सजिलो अनुभव हुदो रहेछ । संकट र रोग नाश गर्नका लागि गणेश, देवी, शिव, विष्णु, हनुमान, नवग्रहको मानस जप गरिरहें ।
आमा, दाजु, भाउजू, भाइ, बुहारी, दिदी, बहिनी, जुवाइँ, भान्जा भान्जी, जेठान जेठीसासु, जेठीसासुतर्फका छोरी जुवाइँहरु, भान्दाजु, मामा मामाका छोराचोरी र अन्य आफन्तहरुको मायाका टेलीफोन कल निरन्तर आइरहंदा हाम्रा लागि थप औषधिको काम गर्दथ्यो । साथीभाइ , छर छिमेकी र धार्मिक क्षेत्रबाट संस्थाका नेतृत्वमा रहनुभएका गुरुहरुका साथै सहकर्मी साथीहरुको कल धेरै आए । कति त उठाइएन । स्वास्थ्य अवस्था बुझ्ने र उपचार पद्धतिको जानकारी लिंदै सुझाव दिनेहरुको दैनिक २५ कलको हाराहारीमा छोटो छोटो कुराकानी हुने गर्थ्यो । लामो कुरा गर्न गाह्रो हुन्थ्यो । कसै कसैले लामो कुरा गर्न खोज्नुहुँदा झर्को र गाह्रो पनि हुन्थ्यो ।
घरमा सबैजना विरामी हुँदा घरको दैनिक सरसफाइ, खाना पकाउने खुवाउने र भाँडा माझ्ने कार्यमा निकै अफ्ट्यारो हुंदो रहेछ । अझ गृहलक्ष्मी नै बिरामी हुनुको पीडा कतिकती रु बिरामी हुँदा हुँदै पनि मेरी पत्नी कमलाले भान्सा संगै जोडिएको कोठामा ओछ्यान राखेर एकैछिन सुत्दै फेरि उठ्दै उभिंदै भान्सामा काम गर्दै धेरै कष्टले भान्सा उतारिन । पटकपटक पकाउनु पर्ने, वाफ लिन पानी तताउनुपर्ने , खानेपानी दिनको २५ लिटर जति तताउनुपर्ने, धेरै पटक खाँदा पकाएको खाएको भाँडा धेरै हुनाले बिरामी कमलालाई धेरै गाह्रो भएको थियो । उभिन सक्ने भएका बखत भान्सामा मैले र छोरीले पनि केही सहायता त गर्यौं तर कमलाले आफै बिरामी भएर पनि निरन्तर काममा खटिनुपर्यो । पति र छोराछोरी सहित सबै बिरामी हुनुको पीडा बेग्लै थियो उनको । बेलाबेलामा उनी भक्कासिएर रुन्थिन पनि । परिवार बिरामी भएको पीडाले मलाई त रोगको पीडा नै अनुभव भएन भन्थिन । एकपटक त मेरा माइल्दाजुलाई फोन गरेर दाइ हामी मर्यौं भने पनि छोराछोरीलाई अस्पताल लगेर भए नि बचाइदिनुस् है भन्छु भन्दैथिन् । राती दुई बजेसम्म उठेर मलाई जाउलो खोले र तातोपानी खुवाउँथिन् । बाहिरबाट ल्याउनुपर्ने सामानहरु माइल्दाजु बासुदाइले पटकपटक ल्याइदिनुभयो । घरमै पसल राख्ने कृष्ण थापा र रुकु शारदा, छिमेकी चन्द्रप्रकाश गिरिदाइ, यशोदा पराजुली दिदी, पवित्रा ढकाल बहिनी, कोपिला निरौला बहिनीलगायतको सहयोग अविस्मरणीय रहेको छ । होटल काजीदाइ औषधि च्यवनप्रास लिएर घरमा भेट गर्नै आउनुभयो, त्यस्तो बेलामा पनि । बाहिर रोडमा उभिएर कुरा गर्नुभयो ।
दाजु प्र ना उ रामहरि पाण्डेको निरन्तर फलोअप रहेको थियो । हस्पिटलबाट टिकट कुपन ल्याइदिने छिमेकी नवीन श्रेष्ठ, महामारीको विचमा जोखिम उठाएर संक्रमितलाई आफ्नै गाडीमा राखेर कोरियन अस्पताल लगिदिने स्थानीय समाजसेवी वेदप्रसाद खरेल जीको सहयोगका लागि आभारी छु । पारिजात अम्बा पाती असुरो आदि खोजेर ल्याइदिनु हुने केशव पाण्डे दाजु र पं पूर्ण खतिवडा गुरु, महामृत्युञ्जय जप गराइदिनुहुने पं लेखनाथ न्यौपाने सहयोगका लागि तत्परता देखाउने समाजसेवी प्रल्हाद कार्की र बिदुर भट्टराई लगायतलाई हार्दिक धन्यवाद दिन्छु ।
कोबिड १९ ले नेपालमा झन्डै आठहजार जनाको जीवन छिनालिसकेको छ । आफन्त र साथीहरूसहित चिनेजानेका धेरै मान्छेले कोरोनाकै कारण ज्यान गुमाए । यस्तो महामारीमा संक्रमित भएर पनि बाँच्न पाएकोमा भगवानप्रति अनुगृहित छु । फेसबुकमा स्वास्थ्यलाभको शुभेच्छा प्रकट गर्नुहुने एक हजार जनाभन्दा बढी कमेन्टरको सद्भावनाप्रती आभारी छु ।
…
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)