
कोरोना डायरीः साहुजी, यता अधर्मपथ कता होला ?
प्रकाशप्रसाद उपाध्याय
काठमाडौँ मेरो निम्ति सदैव विस्मयमा पार्ने स्थल रहेको छ । यहाँका बजार क्षेत्र हुन् कि मठ–मन्दिर, वा दर्शनीय स्थल, जता जान्छु, म विस्मित हुने गर्दछु । मेरो अज्ञानताले मलाई पछ्याइरहेको हुन्छ ।
कोभिड–१९ को संक्रमणकालपछि घुमफिर बन्द छ र पनि खाली समयमा पुराना दिनहरूको सम्झना हुने गर्दछ । कति रमाइला थिए ती दिन, जब मस्तसित घुमिन्थ्यो, साथीभाईहरूलाई भेटिन्थ्यो, हाँस–ठट्टा गरिन्थ्यो ।
धेरै अघिको कुरा हो । काठमाडौँ घुम्ने क्रममा एकपल्ट म नयाँ सडकतिर गएँ । त्यहाँको भूगोल पार्कले मलाई स्कूले दिनको भूगोलको पाठ्यक्रमको सम्झना गरायो । त्यहाँ राखिएको ग्लोब हेर्नपट्टि लागेँ । वरिपरि धर्मपथ र शुक्रपथको नामपट्टिका देखेँ । अधर्मपथ र वृहस्पतिपथ पनि छन् कि भनी ती पट्टिका हेर्न मेरो नजर यताउति घुम्न थाल्यो । अनि एउटा पसलका साहुजीसित सोधेँ– साहुजी, यता अधर्मपथ र वृहस्पतिपथ कता होला ?
साहुजीले ट्वाल्ल परी मपट्टि हेर्दै भने– ‘त्यस्ता पथ त छैनन् । तर धर्मपथ र शुक्रपथ भने उ त्यता छन् । यी पथहरू सहीद धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीका नाउँमा राखिएका हुन् । तपाईंले नेपालको इतिहास नपढ्याजस्तो छ नि ?’
मुसुक्क हाँस्दै र उनलाई धन्यवाद दिँदै म त्यहाँबाट हिँडे । तर मेरो दिमागले मलाई पछ्याइरह्यो । देशका सहीदरूलाई अमरत्व प्रदान गर्न गरिएको यस किसिमको कामबाट मन प्रसन्न भयो । तर साथै खिन्न पनि । किनभने यी पाटी ती वीर सहीदहरूको सम्मानका लागि हुन् तर तिनीहरूको पूरा नाउँ लेख्नमा किन सानो चित्तको प्रदर्शन ? पूरा नाउँ लेखेर नामपट्टिका बनाउन लगाएको भए सरोकारवाला निकायको बजेट निश्चय नै असन्तुलित हुने थिएन । कति बर्ता पैसा खर्च लाग्ने थियो ? बाहिरबाट आउने पर्यटकहरूले कसरी थाहा पाउने कि यी पट्टिकाहरू देशका ती वीर सहीदहरूको नाउँलाई अमरत्व प्रदान गर्न झुण्ड्याइएका हुन्, जो राणा शासनको विरोधमा ओर्लेका थिए ।
यस्तै विचार दशरथ रंगशालाको ढोकामा लेखिएका अक्षरहरूमाथि नजर पर्दा उत्पन्न भयो । म त यो रंगशालाको नाउँ द्विपक्षीय सम्बन्धलाई सशक्त बनाउन अयोध्याका राजाको नाउँमा राखिएको होला भन्ने ठानिरहेको थिएँ । तर यस रंगशालाको नाउँ पनि राणा शासकहरूका कोपमा परेका अर्का सहीद दशरथचन्दको नाउँमा राखिएको रहेछ ।

हरेक वर्ष सहीद सप्ताह मनाइने गरिन्छ । तर देशका अधिकारीहरूको ध्यान यी नामपट्टिकाहरूपट्टि नपुगेको देख्दा मन खिन्न भइरहेको अवस्थामा एकपल्ट पर्यटन विभागसित सम्बन्धित एक जना अधिकारीसित भेट भयो । मैले आफ्नो मनको उकुसमुकुस उनीसामु राखेँ । उनले भनेँ– ‘तपाईंलाई थाहा छैन । यो तपाईंले भनेजति सजिलो छैन । संविधानमा संसोधन गर्नुपर्छ ।’ मानों यो एउटा विभागीय संविधान बाइबिल हो, वेदव्यासले रचेका पुराण हो, वाल्मिकीले लेखेका रामायण हो, जसमा जोडघटाउ गर्न मिल्दैन । देशकै संविधान त एकपछि अर्को बन्दै गयो र अहिले पनि संशोधन गर्नुपर्ने आवश्यकता भइरहेको छ भने यो विभागीय संविधानमा संशोधन गर्न किन अनुदारता ? तर उनले संशोधनको भय देखाएर मेरो कुरालाई पन्साए ।
देशमा पर्यटन वर्ष सफल बनाउन र यस सम्बन्धमा अधिकारीहरूलाई विदेश यात्राका लागि पठाउनका लागि लाखौँ–करोडौँ रुपैयाँ खर्च गर्नसक्ने निकाय वा सम्बन्धित अधिकारीहरू यी पाटीहरूका नाउँलाई पूर्ण रूप दिन किन अनुदार भएका ? थप केही हजार रुपैयाँ खर्च गर्न किन नसकेका ? संविधानमा संसोधन गर्न कथित उपाय अपनाउन किन हिचकिचाइरहेका ? मेरो सानो बुद्धिले बुझ्नसकेको छैन ।
कोरोनाकालले गर्दा म विगत १६–१७ महिनादेखि घुम्नको निम्ति निस्किनसकेको छैन । यसो हुँदा ती पट्टिकाहरूमाथि मेरो नजर परेको छैन । तर मनमा प्रश्न उठिरहन्छ– देशका लागि सहीद हुनेहरूको समुचित सम्मान गर्ने तरिका के यस्तै हुन्छ ?
(कविता, कथा, लघुकथा, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)