
कोरोना डायरीः पानीको जार
प्रकाशप्रसाद उपाध्याय
चिया खाँदै थिएँ । फोनको घण्टी बज्यो । उठेर फोन समाएँ र कुरा गर्न थालेँ । बिराटनगरबाट भाईको फोन थियो, भलाकुसारी गर्न । सबैलाई आफन्तको चिन्ता । कोभिडको यस महामारी कालमा सम्पर्कको साधन इन्टरनेर र फोन नै रहेको छ । नजिक बस्नेहरूसित त भेट हुन पाउँदैन भने बिराटनगरवासीहरूले भेट्न आउने कुरै भएन ।
कुरा सकिएपछि फोन राखेँ । पत्नीले भनिन्– ‘जारको पानी सकियो, झिकाउने होइन ?’
‘हुन्छ’, भन्दै मैले पानी ल्याउने भाईलाई फोन मिलाएँ ।
‘बुआ, मलाई सञ्चो भएन, रातिदेखि ज्वरोमा छु, अस्पताल जाने सुरमा छु ।’
‘खोकी पनि छ कि ?’
‘अँ बुआ ।’
‘अनि ज्वरो १०० डिग्रीभन्दा कम छ कि माथि ?’, एउटा डाक्टरले सोधेसरह सोधेँ ।
‘माथि नै छ बुआ ।’
‘उसो भए गई हाल । डाक्टरले भनेबमोजिम औषधिमूलो गरी बसे । हाम्रो चिन्ता नगरे । म व्यवस्था गरी हाल्छु ।’ यति भन्दै फोन राखेँ र अर्को विकल्प सोच्न थालेँ । यो कोभिडको महामारी सुरु भएदेखि अलिक बढी नै चिन्तनशील हुन थालको छु । सकारात्मक सोच राख्ने व्यक्ति भए पनि मनमा संशयको भाव उत्पन्न हुन थाल्यो, ‘मानिसहरूले हिँडडुल गरिराखुन्जेल को कोभिडमुक्त छ वा को संक्रमित, छुट्याउनै गारो । तर, काम चलाउन सम्पर्कमा नबसी पनि नहुने । अब पानी ल्याउने यो नयाँ भाई नै संक्रमणमुक्त छ भनी कसरी पत्ता लगाउने ? तर, कति कुरामा आँखा चिम्लनुपर्ने हुन्छ । मैले पनि आँखा चिम्लँदै उसलाई फोन गरेँ ।
‘हुन्छ नि बुआ । एकछिनमा ल्याएँ । बरु कुकुर छ भने, बाँधेर राख्नु होला’, उसले भन्यो । मनमा कुराहरू खेल्न थाले ।
पानी ल्याएपछि ढोका बाहिरै राख्न लगाएँ । जारलाई राम्ररी सेनिटाइज गरेँ र हात धुन बाथरुम पसेँ ।
‘पानीले खाँचै छ कि ?’, पत्नीसित सोधेँ ।
‘अहिलेको त काम सकियो, भोलिलाई एक थोपा छैन’, पिठो मुछ्दै उनले भनिन् ।
‘
‘उसो भए जार बाहिरै रहोस् । तिमीले जार नचलाए । बिहान ल्याउँला ।’
‘
किन ?’, उनले प्रश्न तेर्साइन ।
अब आफ्नो संशयबाट उनलाई पनि सशंकित पार्ने मन नगर्दै भनेँ, ‘अहिले खाँचो नभएपछि किन कम्मर झुकाउनु घिसार्नको निम्ति । रातभरि त्यसै रहोस् न जार ।’
त्यति भन्दै म चियाको खाली कप राख्नको निम्ति भान्साभित्र पसेँ ।