ठमेल फेरि कहिले ठमेल हुन्छ ?

जनार्दन अर्याल
ठमेल, काठमाडौं ।

दुइ वर्ष अगाडिसम्म विदेशी पर्यटकहरुको मुखमा नेपाल भन्नासाथ ठमेल स्वतः आउँथ्यो मानौँ, नेपाल भनेकै ठमेल हो । विदेशीको कुरै छाडौँ काठमाडौँ, पाटन र भक्तपुरका तन्नेरीहरुको डेटिङस्पट ठमेल, अधवैँसेहरुको घुम्ने ठाउँ ठमेल र वालवालिकाहरुको खेल्ने ठाउँ ठमेल । जो जहाँबाट काठमाडौँ छिरे पनि ठमेल एकपटक नछिरे काठमाडौँ आएको स्वादै नहुने । अचार भएको थियो ठमेल ।

शुक्रबार र शनिबार त ठमेलमा जात्रै लाग्थ्यो । हामी यतैका वासिन्दालाई पनि सञ्चयकोषबाट सातघुम्ती पुग्न आधा घण्टा लाग्थ्यो । रेष्टृरेण्ट, होटल र लजहरु खचाखच हुन्थे । नुनदेखि सुनसम्मको व्यापार हुन्थ्यो । व्यापारीले ठगे पनि या थोत्रो र कमसल सामान भिडाए पनि ठमेलमा किनेको सामानको महत्व बेग्लै । बाहिर ३ सय रुपियाँमा पाइने वियर ठमेलको रेष्टुरेण्टमा लगभग ६ सय रुपियाँ तिर्दा झन रमाइलो लाग्ने । १ सय २० रुपियाँमा पाइने ममको ३ सय रुपियाँ तिर्दा झन् मिठो । वेलुकी अबेला घर पुग्दा कहाँ गएर आइस् भन्दा ठमेल भन्न पाउँदा कुनै युद्ध जितेको जस्तै हुने ।

वर्षदेखि ठमेल गृष्ममा सबै पात झरेर नाङ्गो भएको पिपलको बुढो रुखजस्तै उजाड र र निरस थुप्रै शहरहरुको बीचमा एक्लो भएको छ ठमेल । लठ्ठी टेकेर पनि धर्मराउँदै हिँड्ने वृद्ध भएको छ ठमेल । व्यापार शुन्य, बाटोघाटो निरस र गत्तव्यविहिन यात्रीजस्तै ।

ठमेल अब फेरि कहिले ठमेल हुन्छ ? कहिले रौनक फर्किन्छ ? यसको जवाफ केहि ठमेलसँग र धेरै सरकारसँग छ । सबै कुरा सधैँ उस्तै रहँदैन । समयको खेल हो, पर्खन सक्नु पर्छ । अहिले विश्वव्यापी महामारी कोरोनाले थलिएको मात्र हो, मरेको होइन ठमेल । यसलाई अक्सिजनको खाँचो छ, सास फेर्न गाह्रो भएको छ । उपचारको जिम्मा सरकारले लियो भने दौडिन्छ ठमेल । हुनसक्छ दुई डोज खोपले नपुग्ला यसलाई तर पनि मर्दैन । व्यवसायीहरुले पनि फेरि पहिला जस्तै रौनक र व्यापार ठमेलमा खोज्ने हो भने केहि बढी योगदान गर्नैपर्छ ठमेललाई ।

यसमा घरधनीहरुको पनि उत्तिकै हात रहन्छ । अहिले नाफा कमाउने उद्देश्य कसैले नराख्ने हो भने परिस्थिती केहि सहज हुनासाथ ठमेल हिँड्न थाल्छ । नाफापछि कमाउँला, पछि घरभाडा पनि बढाउँला । अहिले बाँच र वाँच्न देउ सिद्धान्त अपनाउँ । सुखमा मात्तिने र दुःखमा आत्तिने हो भने संसार चल्दैन । सबै रोगको सर्वोत्तम औषधि समय हो । जे हुन्छ, राम्रोको लागि हुन्छ ।

सबैले होस्टेमा हैँसे गर्ने हो भने चाँडै नै आफ्नै धुनमा नाचेर नयाँ उत्साहका साथ दौडन्छ ठमेल ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button