
पत्नीको स्वर सुनेँ, ‘के भो ? किन टोलाएको ? आउने होइन ?’
कोरोना ‘एन्ड’ कोरेसो
प्रकाशप्रसाद उपाध्याय
एउटा कृतिको अनुवाद कार्य सकिएपछि समय बिताउने समस्या हुन थाल्यो । देश कोभिड–१९ (कोरोना) को दोस्रो लहरबाट आक्रान्त छ । विश्वव्यापी रूप लिएको यस संक्रामक रोगले गर्दा सर्वत्र त्रास र आतसको वातावरण छ । कोभिडको .नयाँ जात (भेरियन्ट)मा संक्रामक क्षमता बढी भएको हुँदा संक्रमितहरूको संख्या बढेको देख्दा मुटु काम्दछ । लकडाउनको नियम कडा पारिँदै म्यादसमेत थपिएको छ । यस्तोमा कम्पाउन्डबाहिर जाने आँट हुँदैन । समय कसरी बिताउने भन्ने समस्या छ । कत्ति पढ्ने ? कत्ति सुत्ने ? कत्ति टीभी हेर्ने ?
यसो सोचेँ– कोरेसाबारीमा नपसेको धेरै भयो । एकछिन पसूँ । पत्नीलाई भनेँ । उनले भनिन्– ‘राम्रो विचार हो । एक्सरसाइज पनि हुन्छ । बरु फर्किने बेलामा अलिकति धनिया पनि टिपेर ल्याउनुहोला । अचार बनाउन काम लाग्छ । अब पानी पर्न थालेपछि त यी झारहरू अरू झाँगिन्छन् र यिनले अरू बिरुवाहरूलाई पलाउन दिँदैनन् ।’
तल ओर्लेँ । हुन पनि लेखपढ्मै लागिरहँदा बारीतिर धेरै दिनदेखि ध्यान दिन पाएको थिइँन । केही साता अघि छरिएका धनियालाई झारहरूले थिचिरहेका रहेछन् । झारहरू उखेल्न थालेँ । झारहरू उखेल्ने क्रममा धनियाहरू पनि मिसिएर उखेलिन थाले । तर के देखेँ भने– धनियाका जति गेडा छरिएका थिए, त्यस अनुपातमा ती उम्रेका रहेनछन् । बोडीका बोटहरू देख्दा पनि दिक्क लाग्यो । प्रकृतिको लीला पनि गज्जबको हुँदो रहेछ । नछरिएका झारका बीउहरूमा छरिएका बीउहरूका दाँजोमा उम्रिने, पलाउने र झाँगिने क्षमता बढी रहेको देख्दा अचम्म लाग्यो ।
झारहरू उखेल्दै गर्दा के देख्छु भने झारहरूले आफ्ना जरा यति तलसम्म पु¥याएका रहेछन् कि तान्दा तल्लो भाग भइँमै अड्किने र माथिल्लो भागमात्र चुँडिने । यसै छाड्दा तलबाट फेरि पलाउने सम्भावना । यसो हुँदा माथिल्लो तल्लाबाट चियाइरहेकी पत्नीलाई खुर्पी खसाल्न भनेँ । उनले खुर्पी खसालेपछि जरासहित उखेल्ने, गोडमेल गर्ने प्रक्रियाले गति प्राप्त ग¥यो । आधा घण्टाको यस कसरतपछि धनिया टिप्दै उठेँ, भोलि फेरि बसुँला भन्दै ।
फर्किन लाग्दा यसो हेर्छु त इस्कुसका लहराहरू झाँगिएर जताततै फैलिरहेका छन् । त्यहाँबाट इस्कुसको बोटपट्टि लागेँ । विगत दिनहरूका पानीबाट यिनले राम्रो खुराक पाएका अनुभव भयो । थाँक्रामा यिनलाई मिलाउन थालेँ, एउटा दिशा प्राप्त गरुन भन्दै । तर, लहराका मुन्टाहरू त यति कलिला कि लहरालाई यसो तान्दा पनि भाँचिने । यस क्रममा २–४वटा मुन्टाहरू भाँचिए । तिनलाई तल राख्दै अरू लहराहरू मिलाउन थालेँ । फेरि भाँचिए । अनि यसो सोचेँ, २–४ वटा कलिला लहरा पनि टिपि हालूँ, फर्सिका मुन्टा पनि फैलिरहेका छन्, त्यताबाट पनि २–४ वटा कलिला लहराहरू टिपेँ भने भोलि बिहानको भोजनमा सितन हुनेछ । अनि त्यतापट्टि लागेँ । दुइटै हातमा धनियाका पात र इस्कुस र फर्सीका मुन्टाहरू । अब हातले केही गर्न नसकिने । फर्कँदै गर्दा लाग्यो, आँप र हलुवाबेदका बोटहरू मपट्टि हेर्दैछन् । अनि त्यतापट्टि लागेँ । त देख्दछु, पछिल्लो वसन्तमा लटरम्म मञ्जरी लागेका बोटहरूमा कलिला फलहरू झुण्डिरहेका । तर, केही चिचिलाहरू पछिल्लो हावा हुरीको वेगलाई थेग्न नसक्दा तल झरेर सोतर ।
चिचिलाहरू झरेका देख्दा माया लागेर आयो । मानिसहरूसरह बोट–बिरुवाहरूलाई पनि आफ्ना चिचिलाहरूको जीवन रक्षा गर्न समस्या पर्दो रहेछ । मानिसलाई कोभिड र अन्य रोगहरूको भय र यी बोट–बिरुवाहरूलाई हावा–हुरी र असिना–पानीको डर । हरेकको सामु जीवन–रक्षाको प्रश्न । किंकर्तव्यविमूढ हुँदै उभिइरहेँ । माथिल्लो तल्लाबाट पत्नीको स्वर सुनेँ– ‘के भो ? किन टोलाएको ? आउने होइन ?’