महामारीपछि सुनाउन र भन्न आफ्नाहरु नै नरहलान् कि भन्ने पीर लागेको छ

महामारीमा नेपालनाम्चाले सुरु गरेको लकडाउन वार्तामा कवि मणि लोहनी

लकडाउन छ । तर, तपाईको कन्फिडेन्स त डाउन भएको छैन नि ?
यो विषम परिस्थिति हो । आफ्नै नजिकका साथीभाइ, इष्टमित्रहरुको निधनको खवर निरन्तर आइरहेको छ । अक्सिजन, आइसियु र बेड मिलाई दिन पटक पटक फोनहरु आइरहेका छन् । सन्त्रासको वातावरण छ । हरेक पटक बज्ने फोनको घण्टीले झस्काई रहन्छ । यस्तोबेला आफुभित्रको आत्मविश्वास बेलाबेलमा बिथोलिन खोज्छ । तर घरमा रहेका प्रिय र निर्दोष अनुहारहरुले आत्मविश्वासलाई डगमगाउन दिएको छैन ।

दिन कसरी बित्दै छन् ?
टेलिभिजनसँग आवद्ध भएका कारण कार्यालय र घर गरेरै समय बितिरहेको छ । बिहान अफिस । अपरान्ह एक बजेपछि घर । घरमा छोरीहरुसँग के के खेलेर रमाइलो गरेर बस्छु । अफिसमा छउञ्जेल न्युज बनाइरहे पनि म घर आएर समाचार हेर्दिन । लेखपढ गर्न सकिरहेको छैन । मनमा केही कतै भारी महशुश हुन्छ । यो सन्त्रासको भारी हुनसक्छ ।

कसरी गर्दै हुनुहुन्छ यो समयको सदुपयोग ?
सदुपयोग होइन । यो समय बिताईरहेको छु – संभव भएसम्म सामान्य किसिमले । आफू र आफ्ना नजिकका मानिसहरुमा कसरी भरोसा बाड्न सकिन्छ भनेर सोच्छु र फोन- च्याट गरेर हालखवर बुझ्छु । धेरै समय चाहिँ छोरीसँग चलेर नै बिताउँछु ।

अघिल्लो बर्षको लकडाउन र यो बर्षको लकडाउन तपाईंलाई उस्तै लाग्दैछ कि फरक ?
अहिले निकै फरक छ । सन्त्रास पहिलेकोभन्दा ज्यादा र डरलाग्दो छ । हरेकको घर नजिक महामारी पुगेको छ र राज्यले पनि आफ्ना दायित्व र जिम्मेवारी पूरा गर्न सकेको छैन । राम्रो कुरा के हो भने यसपाली मानिसमा सजगता बढेको छ । होशियारी बढेको छ । तर भाईरसले पनि आफ्नो स्वरुप बदलेर निकै क्षति पुर्याइरहेको छ ।

छिमेक र वरिपरिको वातावरण कस्तो छ ?
मैले अघि पनि भने वातावरण निकै सन्त्रासपूर्ण छ । मेरै उमेरका मेरा निकै हितैषी छिमेकीको कोरोनाकै कारण निधन भयो । केही साथी र प्रिय अग्रज स्रष्टाहरुको मृत्युले हैरान पारेको छ । परिवेश अत्यन्त असहज छ ।

यदि लकडाउन नभएको भए आज तपाईं कहाँ र के गर्दै हुनुहुनथ्यो ?
म घुम्न मन पराउने मान्छे । उपत्यका आसपास कतै निस्फिक्री घुमिरहेको हुन्थेँ होला । साहित्यिक गतिविधिमा सक्रियता बढ्थ्यो होला । या त्रासरहित भएर निर्धक्क घरअफिस गरिरहेको हुन्थेँ होला ।

लकडाउनको यो समयलाई भविष्यमा कसरी सम्झनु होला ?
जीवनका कष्टकर पलहरु तत्कालका लागि पीडादायी हुन्, बितिसकेपछि त ती सम्झन र मानिसहरुलाई बताउन रमाइलै हुन्छ । तर यो महामारीपछि हामीले सुनाउन र भन्न आफ्नाहरु नै नरहलान् कि भन्ने पीर लागेको छ । म सबैलाई हात जोडेर बिन्ती गर्छु- कृपया सुरक्षित होउँ, पछि एकअर्काका अनुभव बाड्न पनि हामी बाच्नु पर्छ ।

के तपाईंलाई लाग्छ, लकडाउन नै समस्याको समाधान हो ?
पूर्ण समाधान त नहोला । तर निषेधाज्ञाले पनि निकैलाई जोगाएको छ ।

कोरोनाको यी बर्षहरुपछि तपाईंको जीवनदृष्टिमा के कस्तो परिवर्तन आएको अनुभव गर्नु हुन्छ ?
मेरो बाबाले सधै स्वास्थ्यलाई महत्व दिइसिन्छ । अनि परिवार सबथोक हो भनिसिन्छ । बाबाको व्यवहारबाट बाल्यकालबाटै यहि कुरा हामीले पनि सिक्यौं । मलाई पनि आफ्नो स्वास्थ्य र परिवार नै ठूलो भन्ने लाग्छ- यसपाली कोरोना महामारीमा यो कुरा प्रमाणित पनि भयो । र, अर्को कुरा वर्तमानमा बाँच्नु पर्छ भन्ने मेरो जीवनदर्शन अहिलेको अवस्थाले झन धेरै उपयोगी सिद्ध भएको मलाई लागेको छ ।

भविष्यप्रतिको तपाईंको धारणा के छ ?
वर्तमानमा बाँच्ने मान्छे म । मलाई आजप्रति पूर्ण भरोसा छ । आज पूर्ण रुपमा जिउने प्रयासले भविष्यलाई पनि पक्कै राम्रै बनाउला भन्ने मलाई लाग्छ ।

केही थप्न चाहनुहन्छ ?
सबै सुरक्षित र आनन्दित बसौं ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button