लकडाउन वार्ताः मृत्युको भयभन्दा जीवनको महत्व बढी रहेछ

महामारीमा नेपालनाम्चाले सुरु गरेको लकडाउन वार्तामा लेखिका क्रान्ति पराजुली

लकडाउन छ । तर, तपाईको कन्फिडेन्स त डाउन भएको छैन नि ?
विश्व नै दुःखेको छ । मृत्युका दर्जनौँ समाचार लिएर आएका छन् बिहानीहरु । दैनिक घाटसम्म पुग्ने लासहरुले मलामी पाएका छैनन् । मृत्यू नै सस्तो भएको छ, न त आफन्तको लासलाई धित मरुन्जेल अंगालेर रुन पाउनु छ ? यस्तो समयमा सरकारले जनताप्रति पूरा गर्नुपर्ने दायित्व र कर्तव्य पनि पूरा गर्न सकेको छैन दुःखी छु र कहिलेकाहिँ कन्फिडेन्स पनि डाउन हुन्छ ।

दिन कसरी बित्दै छन् ?
कता कता उत्साह नै ओइलाएजस्तो अनुभूति हुन खोज्छ तर म पानीको अभावमा ओइलाएको विरुवालाई वर्षातले सिञ्चित गरे झैँ आफैभित्र उत्प्रेरणाहरु जगाइरहन्छु । पढ्ने, पढाउने, लेख्ने काम गरिरहेकै छु ।

कसरी गर्दै हुनुहुन्छ यो समयको सदुपयोग ?
विशेषतः दोस्रो उपन्यासमा काम गरिरहेकी छु ।

अघिल्लो र यो बर्षको लकडाउन तपाईंलाई उस्तै लाग्दैछ कि फरक ?
पोहोर सालको तुलनामा यो वर्ष गम्भीरतासँगै त्रासदि बढेको छ ।

छिमेक र वरिपरिको वातावरण कस्तो छ ?
सजगता र सुरक्षाका लागि छिमेकमा सामाजिक दूरी बढेको छ ।

लकडाउन नभएको भए आज तपाईं कहाँ र के गर्दै हुनुहुन्थ्यो ?
लकडाउन नभएको भए आज म कहाँ के गर्दै हुन्थेँ त्यो त ठ्याक्कै भन्न सक्दिन तर बिन्दासले बिना त्रासदि बाँचिरहेकी हुन्थेँ यदि कोभिड हुन्थेन भनेँ ।

लकडाउनको यो समयलाई भविष्यमा कसरी सम्झनु होला ?
जीवनमा प्रकृतिले मानवजातिलाई दिएको एउटा चेतावनीको रुपमा मैले यो समयलाई बुझेकी छु, जसले बाँच्ने स्वास दिन्छ उसैलाई दोहन गर्ने, जुन थालमा खायो, त्यही थालमा थुक्ने मान्छेको प्रवृत्तिलाई यो चुनौति हो ।

तपाईंलाई लाग्छ, लकडाउन नै समस्याको समाधान हो ?
लकडाउनले कोभिड निरुपण गर्न सक्दैन नियन्त्रण गर्न सहयोग पुर्याउँछ । कोभिड यो संसारबाट कहिले बिदा हुन्छ त्यो त यकिन छैन यो भन्दा भयंकर भाइरस आउन पनि सक्छ त्यसैले लकडाउनको निरन्तरताले रोगले भन्दा भोकले मर्नेको संख्या बृद्धि नहोला भन्न सकिन्न । सरकारले लकडाउन त गर्यो तर गरिब, निमुखाहरुले कसरी दुई छाक टार्दैछन् ? त्यो त वेवास्ता गरेको छ । त्यसैले सबै जनता आआफ्नो ठाउँमा सचेत भएर सावधानी, सतर्कता र सुरक्षाका नियम पालना गरेर आफ्नो आफ्नो दैनिकीमा फर्कनु पर्छ भन्ने पनि लाग्छ ।

कोरोनाको यी बर्षहरुपछि तपाईंको जीवनदृष्टिमा के कस्तो परिवर्तन आएको अनुभव गर्नु हुन्छ ?
मृत्यू अन्तिम सत्य हो र यसलाई कसैले रोक्न सक्दैन भन्ने थाहा थियो तर मृत्युको भयभन्दा जीवनको महत्व बढी रहेछ भन्ने अहिले बुझ्दैछु ।

भविष्यप्रतिको तपाईंको धारणा के छ ?
भविष्यको बाटो आजभन्दा भोलि सहज, सरल र सरस होस् म आशामा विश्वास गर्छु ।

‘लास्ट’मा केही थप्न चाहनुहन्छ ?
प्रकृतिको दोहनले महामारीलाई निम्तो दिन्छ । आ-आफ्नो ठाउँबाट धरती माताको रक्षा गरौँ, वनजंगल, नदीनालाको रक्षा गरौँ कमसेकम आफ्नो जीवनमा एउटा मात्र भएपनि रुखको बिरुवा रोपौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button