उत्सव होइन, अब नेपाल साइकल महोत्सव !
‘उत्सव होइन, साइकल महोत्सवको आयोजना गर्नेतिर सोच्नु पर्छ’ भन्ने फिड्व्याकले खुशी छ । नेपाल साइकल उत्सवका संयोजक पुष्कर शाहसहित महाकाली–मेची साइकल यात्रा टोली झन् बढी खुशी होलान् ।
अशोक सिलवाल/वालिङ,स्याङ्जा
‘ग.२ च ६६१७ तपाईंको टेन्ट नम्बर ।’
‘हजुर !’
‘ग.२ च ६६१७ तपाईंको टेन्ट नम्बर’, मेरो टेन्टतिर देखाउँदै साइक्लिस्ट साथी महेन्द्र अधिकारीले फेरि पनि दाहोराए । त्यसपछि मैले बुझिहालेँ, उनले के भनेका रहेछन् !
खासमा मेरो टेन्ट ओतसहितको पार्किङस्थलमा गाडेको थिएँ । तर, त्यहाँ जीप थिएन । त्यसअघि नै मेयर दिलिप प्रताप खाँणले मसँग अन्तरवार्ताकै सुरुमा भनेका थिए, ‘त्यो मेरो गाडी राख्ने ठाउँ हो ।’ ओतसँगै जीप नम्बर पनि उल्लेख थियो, ग.२ च ६६१७ ।
हामी बुटवलबाट साइक्लिङ सुरु गरेर साँझ स्याङ्जाको वालिङ आइपुगेका छौं । यो नेपाल साइकल उत्सवको १२ औं दिन हो । पिंक सिटीको रुपमा परिचित हुन थालिसकेको वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खाँणले नगरपालिका परिसरमै हामीलाई स्वागत मात्र गरेनन्, त्यहीँ हाम्रा टेन्टहरुले जमिन पनि पाए । र, खानाको लागि नजिकैको गुराँस क्याफेमा बन्दोबस्त गरिदिए । हामी अहिले गुराँस क्याफे आइपुगेका छौं । मेरो टेवलमा ल्यापटप छेउमै एक बोतल नेपाल आइस छ । थकानको हल्का साथी नेपालआइसलाई चुस्सचुस्स लगाउँदै म दिनभरको ती अति सुन्दर क्षणहरु सम्झिरहेको छु ।
अरु दिनजस्तै दीपकले मीठामीठा गीत बजाइरह्यो । साइकल टीमको रेस्क्यु कोस्टरको सबभन्दा अघिल्लो सीटमा बसेको म र मेरा कानहरुलाई कति आनन्द ! बर्तुङ कटेपछि साइकल रोकेर मुक्ति पान्डे, राजेन्द्र सापकोटालगायतका साथीहरुले सडकछेउको रुखबाट झारेको अमला मेरो खल्तीभरी छ । ती झनै मीठा ! बर्तुङ नआइपुग्दै पुष्कर शाह र नीरा बरालले केराबारीबाट ल्याएर दिएको मगरहरुको विशेष बटुक परिकार झनै स्वादिलो । बुटवल–वालिङ खण्डमा छुटाउनै परिकार हो यो ।
अघिल्लो रात नै माधव नेपालले हाम्रो भाइबर ‘ग्रुप वेस्ट टु इस्ट साइक्लिङ’मा मेसेज पठाएका थिए, ‘भोलि लगभग सय किलोमिटर । अपहिल राइड । क्याम्प एट वालिङ ।’ बुटवलको पुरानो बट्यौलीबाट पुरानै खस्यौली, सिद्धबाबाको मन्दिर, रामापिथेकस पार्क, कालीगन्डकी नदी र अरु थुप्रै मोडहरुसहितको लामो र कठिन तर निकै मोहक साइकल यात्रा गरेर आएका साथीहरुलाई एकै छिनमा नेपाली दालभात टेबलटेबलमा आउँदैछ ।
तर, मलाई भर्खरै मेसेन्जरमा एउटा मेसेज आएको छ, ‘नेपाल साइकल उत्सवको समयावधिमा नेपालनाम्चामा तपाईले आजसम्म लेख्नु भएको सबैसबै पढ्नेमध्येको म पनि हुँ । बुटवलको छेवैबाट बहने तिनाउको किनारमा बसेर लेखेको तपाईको ‘बटौली कि बुटवल साइकल सिटी !’ शीर्षकको साइकल डायरी बढी रुचाएँ । सहभागी साथीहरुलाई मेरो अनुरोध सुनाईदिनुस्– अब साइकल उत्सव होइन, साइकल महोत्सवको आयोजना गर्नेतिर सोच्नु पर्छ ।’ नेपाल पर्यटन बोर्डका सदस्य दीपक महतको मेरो डायरीप्रतिको प्रशंसाले भन्दा पनि ‘उत्सव होइन, साइकल महोत्सवको आयोजना गर्नेतिर सोच्नु पर्छ’ भन्ने उनको फिड्व्याकले खुशी छ । नेपाल साइकल उत्सवका संयोजक पुष्कर शाहसहित महाकाली–मेची साइकल यात्रा टोली झन् बढी खुशी होलान् । कामामै पुगेको नेपाली पर्यटनलाई व्युँताउन र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले जारी यो साइकल यात्रालाई देशव्यापी रुपमा भइरहेको स्वागत र आत्मीयताको प्रभाव हो यो । त्यसैको पछिल्लो प्रमाण हुन्, वालिङका मेयर खाँण । मार्शल आर्टमा ब्ल्याकबेल्ट विज्ञानका विद्यार्थी उनी कुल प्लस लजिकल लाग्यो । उनीसँग नगरपालिका छिर्नेबित्तिकै वालिङ किन पिंक सिटी ? किन र कसरी स्मार्टसिटी ? लगायत अन्य थुप्रै विषयमा लामो तर रोचक अन्तरवार्ता गरेको थिएँ । त्यसबारे विस्तृतमा केही दिनमा लेखौला ।
भोलि चाँडै पोखरा हिंड्नु छ । महेन्द्रजीले नामाकरण गरिदिएको मेरो ‘टेन्ट नम्बर ग.२ च ६६१७’ सुत्न जान्छु अब ।
तर, जानुअघि मेयर खाँणलाई धन्यवाद दिँदै अहिलेलाई वालिङबारे नगरपालिकाको वेभसाइटबाट यत्ति साभार गर्छु :
साविक वालिङ, धनुवासे र पेखुबाघखोर गाँउ विकास समिति मिलाएर नेपाल सरकारबाट २०५३।१०।११ गते वालिङ नगरपालिका घोषणा गरिएको थियो । २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा हालको वालिङ नगरपालिकामा साविकको वालिङ नगरपालिका, साविक गा.वि.सहरु माझकोट शिवालय, एलादी, जगत भञ्ज्याङ, केवरे भञ्ज्याङ, सिर्सेकोट र थुमपोखराको सबै वडाहरु तथा छाङछाङ्दीको (१,४-६) वडाहरू, मल्याङकोटको वडा नं. ४ तिनदोबाटेको (२-५) वडाहरू, कालिकाकोटको (१,२,९) वडाहरू, पेलाकोटको (५,६) वडाहरू स्वरेकको (२-४,८) वडाहरूलाई समेटिएको छ। वालिङ नगरपालिका स्याङजा जिल्लाकै करिब करिब मध्यभागमा अवस्थित छ। यस नगरपालिकाको बीच भागबाट ऐतिहासिक आंधीखोला बगेको छ । पर्यटकीय नगरी पोखरा र ऐतिहासिक स्थल लुम्बिनीलाई जोड्ने राष्ट्रिय राजमार्ग सिद्धार्थ मार्गले काटेर गएको वालिङ बजार आँधीखोलाको किनारमा पर्ने मुख्य व्यापारिक केन्द्र पनि हो । त्यसैले गर्दा यस नगरपालिकाले विविध संभावनाहरु बोकेको देखिन्छ । वालिङ नगरपालिका, प्रदेश सदरमुकाम पोखराबाट ६५ कि.मि. तथा जिल्ला सदरमुकाम पुतलीबजारबाट २७ कि.मि. टाढा रहेको छ ।आकार हेर्दा चरा जस्तो देखिने वालिङ नगरपालिका समुन्द्र सतहबाट ७३१ मिटरदेखि १५९६ मिटर उचाईसम्म रहेको छ ।
नेपाल सरकारबाट वालिङ नगरपालिकालाई स्मार्ट सिटीको रुपमा विकास गरिने भनी घोषणा गरिएकोले स्थानीय सरकार पनि सो परिकल्पनालाई साकार बनाउन लागि परेको छ । नगरपालिकाको बजारक्षेत्रलाई स्मार्ट सिटी तथा गाँउहरुलाई स्मार्ट भिलेजहरु बनाई स्मार्ट वालिङ बनाउने योजना रहेको छ।