
सुवेदी सर ! ती किताबका ठेलीले हजुरलाई खोजिरहेका होलान्
हिमाल जिसी, काठमाडौँ ।
नेपाली साहित्यको विशेष गरी अनुसन्धान तथा समालोचनाको क्षेत्रमा महत्वपूर्ण योगदान दिने प्रा.डा. राजेन्द्र सुवेदीको कोभिड–१९ को कारण ७३ वर्षको उमेरमा आज बिहान ५ बजे निधन भएको छ । २००२ साउन १९ गते पाँचथरमा जन्मनु भएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक राजेन्द्र सुवेदीको शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो ।
‘तपाईंको निधन नेपाली वाङ्मयका लागि अपूरणीय क्षति हो । तपाईंको गुरुत्व, शालीनता, विषयप्रतिको गम्भीर दृष्टिकोण, तपाईंसँग जोडिएर गरेका प्राज्ञिक सहकार्य र सहयात्रा अब सबै स्मृतिशेष भएका छन् । तपाईं आफ्ना प्राज्ञिक–सृजनात्मक कार्यका कारण अनन्तसम्म अमर रहनुहुनेछ । हार्दिक शब्दश्रद्धासुमन अर्पण गरेँ’, त्रिभुवन विश्वविद्यालय, नेपाली विभागका प्रा.डा. लक्ष्मणप्रसाद गौतमले सुवेदीप्रति शब्दश्रद्धा सुमन व्यक्त गर्दै भनेका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सविच जगतप्रसाद उपाध्यायले सुवेदीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भनेका छन्, ‘वरिष्ठ समालोचक, निबन्धकार तथा कवि, त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका पूर्व प्रमुख, महेन्द्ररत्न क्याम्पस, इलामका पूर्व प्रमुख एवम् गोरखापत्र संस्थानका पूर्व अध्यक्ष आदरणीय गुरु प्राध्यापक राजेन्द्र सुवेदीको निधन भएको समाचारले स्तब्ध र मर्माहत छु ।’
यसैगरी गोरखापत्रका निवर्तमान सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ले ‘कस्तो दुखको समाचार । कोरोनाले किन साहित्यकारलाई नसहेको । क्षतिमाथि क्षतिले नेपाली साहित्यलाई निकै घाटा पु-याइरहेको छ । हार्दिक श्रद्धाञ्जली राजेन्द्र सर’ भनी दुःख व्यक्त गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापन गरेका सुवेदी वरिष्ठ समालोचक, निबन्धकार तथा कविसमेत थिए । नेपाली समीक्षा परम्परामा आधिकारिक मूल्य, निर्णय सामथ्र्यसम्पन्न समीक्षकका रूपमा उनलाई अब्बल मानिन्थ्यो । पूर्वीय दर्शन र नेपाली समाज चिन्तनका क्षेत्रमा पनि त्यत्तिकै सक्रिय थिए । उनले तीन दर्जनभन्दा बढी पुस्तकहरु नेपाली भाषा, साहित्य, समालोचन, अनुसन्धानको क्षेत्रमा योगदान दिएका छन् ।
गत वैशाखको पहिलो हप्ता शोधप्रबन्धको लागि उनकै निवासमा यो पङ्क्तिकारको भेट भएको थियो । उनले ‘श्रीमतीको शोधप्रबन्ध कहाँ पुग्यो ? के हुँदैछ ? मैले गर्न सक्ने सहयोग गर्नेछु । जुनसुकै बेला हिमाललाई मेरो घरको ढोका खुल्ला छ’ भनेका थिए र मदनमणि दीक्षितसँगका विगतका सम्झना सुनाउँदै चिया पिएका थियौँ । सायद त्यही बाहिरको टेवलमा त्यो ल्यापटप त्यस्तै अवस्थामा होलान् । ती किताबका ठेलीहरुले हजुरलाई खोजिरहेका होलान् । नेपाली वाङ्मयका कतिपय क्षेत्रमा बाँकी अधुरा कार्यहरुले हजुरकै कलम र हातको सहारा खोजिरहने छन् ।
चीर आत्माको शान्तिको कामना र परिवारमा गहिरो समवेदना व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली गुरु !
Our heartfelt condolence to Rajendra sir. Rest in PEACE.