नेपालनाम्चाको ‘राजनीति’मा डम्बर खतिवडा

विशेष स्तम्भ राजनीतिमा नेपालनाम्चा प्रस्तुत गर्छ, विश्लेषकका रुपमा विशेष छवि बनाएका जनता समाजवादी पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडा

राजनीतिमा कहिलेदेखि लाग्नु भयो ?
२०३६ सालको विद्यार्थी आन्दोलन र जनमतसग्रहको माहौलबाट प्रभावित भए । त्यसलाई राजनीतिमै लागेको त नभनौं । सानै उमेरमा दाई पुस्ताको संगत गरेर उनीहरुको टिमको पछिपछि हिडे । राजनीतिले तान्दै लगेको त्यतिखेरदेखि नै हो ।

राजनीतिमा किन र कसरी लाग्नु भयो ?
त्यतिखेर देशभरि विद्यार्थी आन्दोलनको लहर थियो । निम्न माध्यामिक विद्यालयमा पनि विद्यार्थी संगठनले आफ्ना एकाई बनाउँथे । म सुनसरी सिंगियाको जनता निमाविमा पढ्थे । ४ कक्षामा । कक्षा ६ र ७ पढनेहरु त्यो बेलै अलिक उमेर खाएका हुन्थे । उनीहरुले अनेरास्ववियुको प्राक कमिटी बनाए । जुनियर क्लासको प्रतिनिधि भनेर मलाई पनि बैठकमा बोलाउन थाले । त्यही दाई पुस्ताको टिममा पछिपछि लागेर अनेक गतिविधिमा संलग्न हुन थालेँ । लगत्तै जनमत संग्रहको लहर आयो । बहुदल पक्षका आमसभा र भेलाहरु सुन्न जान थाले । मेरो दाई पुस्तामा लक्ष्मी काफ्ले एक प्रभावशाली वक्ता थिए । बहुदल पक्षका स्थानीय भेला र आमसभामा उनलाई वाल वक्ता भनेर बोल्न दिन्थे । म उनले भाषण गर्दा ताली बजाउन पाइन्छ भनेर उनको पछिपछि लाग्थेँ ।

राजनीतिक जीवनमा तपाईंले शुरुदेखि अहिलेसम्म के कस्ता जिम्मेवारीमा रहेर काम गर्नु भएको छ ?
मेरो संगठित जीवनको शुरुवात मावि स्कुल पढ्दा अनेरास्ववियु स्कुल प्राकको उपाध्यक्ष र गाउँमा प्रगतिशील अध्ययन समूहको सचिवबाट भएको थियो । त्यो बेलाका ती सबै जिम्मेवारी सम्झेर सम्भव छैन । विद्यार्थी संगठनमा म जिल्लाभन्दा माथि गइन । तुरुन्तै स्थानीय पार्टी संगठनमा फर्किएँ । तत्कालिन नेकपा (माले)को गाउँ कमिटी सेक्रेटरी, इरिया सदस्य र सेक्रेटरी, जिल्ला सदस्य आदि बने । २३ बर्षको उमेरमा पहिलोपटक जिल्ला पार्टीको सदस्य बनेको थिए । १७ बर्ष होल टाइमर भएर काम गरेँ ।
एमालेको छैठौं, सातौं र आठौं महाधिवेनको प्रतिनिधि थिए । २०५४ सालको स्थानीय चुनाव लडेँ र जिल्ला विकास समितको सदस्यमा जितेँ । २०४६ सालको आन्दोलन र ज्ञानेन्द्र शाहको ओभरटेकको वेला गरी दुई पटक जेल परेँ । २०६६ सालको अन्त्यतिरबाट राजनीति पुरै छोडेर निक्रिय भएँ । करिब ६ बर्ष पुरै राजनीतिबाट बाहिर गएँ । त्यसपछि २०७३ सालमा नयाँ शक्ति पार्टी गठन हुँदा केन्द्रिय सदस्यका रुपमा मेरो राजनीतिक जीवनको दोस्रो इनिङ भयो ।

के सोचेर राजनीतिमा लाग्नु भयो ? त्यस अनुसारको प्राप्ती भएजस्तो लाग्दछ ?
साम्यवादी राजनीतिक रोमान्टिसिज्मबाट प्रभावित भएर म राजनीतिमा लागेको थिएँ । कम्युनिष्ट सरकार आयो भने कोही धनी हुँदैनन्, कोही गरिब हुँदैनन्, कसैले कसैको शोषण र अपमान गर्दैन, जोत्नेको जमिन हुन्छ, मजुदरको कारखाना हुन्छ, कोही सामन्त, जमिन्दार, पुँजीपति, मिल मालिक हुँदैनन्, शिक्षा, स्वास्थ्य, आवास र रोजगारी सबैलाई समान र बारबरी हुन्छ । यस्तो समाज ल्याउनु पर्छ भन्ने एक सैद्धान्तिक आग्रहले प्रेरित भएर म राजनीतिमा लागेको थिएँ ।
प्राप्ती केलाई भन्ने ? त्यतिखेर निर्दलीय पञ्चायती व्यवस्था र राजतन्न्त्रको जगजगी थियो । स्थानीय पञ्च र मण्डलेहरुसंग जोगिएर हिड्न पथ्र्यो । पञ्चायतविरुद्ध लाग्यो भने नागरिकता दिँदैन, पुलिस रिपोर्ट बिग्रन्छ, जागिर खान पाइँदैन भन्ने भय थियो । आज देशमा लोकतन्त्र छ, गणतन्त्र छ, संघीयता छ, समावेशिता र सामाजिक न्यायको सिद्धान्तलाई राज्यले स्वीकार गरेको छ । यी त राम्रो कुरा हुन् ।
तर, सोचे जस्तो छैन । शोषण उस्तै छ । राजनीतिको गुणस्तर र संस्कृति राम्रो छैन । नेतृत्व वृत्त असक्षम र अल्पदृष्टि भएको छ । बेरोजगारी उस्तै छ । गरिबी उस्तै छ । कसरी सन्तुष्ट हुने ?

राजनीतिमा लागेर के पाउनु भयो ? के गुमाउनु भयो ?
जुन समयमा जुन विचार र पार्टीमा लागे त्यतिखेर सांसद हुने, मन्त्री हुने, पदमा पुग्ने, पैसा कमाउने, ठुलो मान्छे हुने त्यस्तो कुनै सोच नै आउँदैनन्थ्यो । तराईको एउटा सामान्य गाउँमा बस्ने, सामान्य परिवारको एउटा नवयुवा जो जनमत संग्रहपछिको पञ्चायतको जगजगीमा थियो, पार्टी भने त्यतिखेरको सबैभन्दा उग्र क्रान्तिकारी मानिने, नक्सलवादी, झापाली भनिने मालेमा थियो, व्यक्तिगत रुपमा खै के पाउने आशा हुन सक्थ्यो ?
केही गुमाएजस्तो पनि लाग्दैन । सानै उमेरमा बामपन्थी आन्दोलनका पूर्वी नेपालका व्यक्ति व्यक्तित्वसँग संगत गर्ने अवसर पाएँ । उनीहरुबाट केही ज्ञान, शिक्षा र अनुभव सिक्न पाएँ । मनमोहन अधिकारी, मदन भण्डारीजस्ता किंबदन्ती पुरुष भइसकेको व्यक्तित्वहरुको नजिक पुग्ने, उनीहरुले संवोधन गर्ने आमसभा र बैठकको सहभागी र सञ्चालक हुने म्झनाहरु पाएँ, पाएको त्यस्तै हो ।

अहिलेको राजनीतिक स्थितिबाट सन्तुष्ट, असन्तुष्ट के हुनुहुन्छ ?
विल्कुल असन्तुष्ट छुृ । तर, असन्तुष्ट भएर के गर्ने ? त्यसैले सन्तुष्ट छु । देश र जनताको हितमा गर्न पर्ने, गर्न सकिने थुप्रै कुरा देख्छु । तर, राज्यको नेतृत्व गर्नेहरुको ध्यान त्यता छैन । पार्टीहरुको आन्तरिक लोकतन्त्र र व्यवस्थापन राम्रो छैन । मेरो ताकतले पुग्ने भए ठूलो आमूल परिवर्तनको प्रयास गर्थें । राज्य संचरना, पार्टी संरचना, कर्मचारीतन्त्रको पुनर्गठन, शासकीय स्वरुप, निर्वाचन प्रणाली, अर्थतन्त्रको ढाँचा, आम मनोविज्ञान र संस्कृति सबै क्षेत्रमा एक व्यापक बदलाव जरुरी छ जस्तो लाग्छ । त्यसबारे केही कल्पना र योजना पनि छन् दिमागमा । तर शक्ति छैन । समाजले तिनै नेता र पार्टीलाई पार्टीलाई भोट दिइरहेको छ विगत ३० बर्षदेखि । उनै मान्छे, उनै नेता, उही पार्टी, उही कार्यशैली र परिणाम, तर मतदाताले उनीहरुलाई मन पराउँछन भने हामी के गर्न सक्छौं र ?

राजनीतिमा लाग्दाका रमाइलाहरु सम्झनु हुन्छ, अनि नरमाइलाहरु ?
धेरै संस्मरण छन् । कुन कुरा भन्ने कुन नभन्ने ? यो प्रश्न अरु कुनै बेला गरौंला । संस्मरणहरु लेखौला । यो राजनीतिक भन्दा पनि साहित्यिक प्रश्न जस्तो भयो । यो श्रृंखलामा खासै मिल्दैन पनि होला ।

तपाईका आदर्शहरु कोको हुन् ?
विश्व राजनीतिका ऐतिहासिक व्यक्तित्वमा मलाई अब्राहम लिंकन, महात्मा गान्धी र नेल्सन मण्डेला सबैभन्दा मन पर्दछ । कम्युनिष्ट धारका नेतामा लेनिन, रोजा लक्जेम्बमुर्ग, एन्टोनियो ग्राम्स्की र हो चि मिन्ह मन पर्दछ । सिंगापुरका संस्थापक नेता लि क्वान युको किताबबाट असाध्यै प्रभावित छु । सिंगापुर मोडेलमा नेपालका लागि सिक्ने सकिने, लागु हुन सक्ने धेरै कुरा छन् जस्तो लाग्दछ ।
कुनै खास व्यक्तिलाई मैले आदर्श बनाएको छैन । नेपालको राजनीतिमा गणेशमान सिंह, किशुनजी र मनमोहनको इमान्दारिता र सादगी एकदमै मन पर्दछ । बौद्धिकता र संघर्षशील जीवनमा बीपी कोइरालाको हाइटको नेता अहिलेसम्म जन्मेजस्तो लाग्दैन । मदन भण्डारीमा भने योजनाबद्ध क्रियाशीलता र मासलाई तान्न सक्ने आक्रामक भाषणको क्षमता थियो ।
समकालिन नेताहरुको विश्लेषण चाहिँ यहाँ नगरौं कि ? समग्रमा यदि कसैलाई धेरै अनुशरण गर्ने प्रयत्न गर्दछु भने म लि क्वान युलाई गर्दछु । डा. बाबुराम भट्टराईमा नेपालका लागि अर्को लि क्वान यु हुने क्षमता देख्छु । तर, उहाँले अवसर पाउनु हुन्छ कि हुन्न भन्ने कुरामा शंका लाग्दछ ।

तपाईको बुझाई र ब्याख्यामा राजनीति के हो ?
मेरो बुझाईमा राजनीति भनेको सोच–संघर्ष, कन्फ्क्टि आफ आइडिया वा कन्सेप्ट–स्ट्रलग हो । हरेक मान्छेलाई राजनीतिमा आफू ठीक छु भन्ने लाग्दछ । आफ्नो पार्टी, विचार, आन्दोलन र सोच ठीक छ भन्ने लाग्दछ । तर, यथार्थमा कुन मोडेल देश र जनताको सुरक्षा, विकास र संमृद्धिका लागि बढी उपयोगी होला त? त्यसको संघर्ष नै राजनीति हो । कुन बुझाईका मान्छेले जित्छन् र कस्ता नीति लागु गर्दछन्, समाज त्यस्तै बन्दै जान्छ । फेरि अपर्याप्त हुन्छ । नयाँ सोच खोजि हुन्छ । यो क्रम अनन्तअनन्त चलिहरन्छ । मानव समाजमा क्रान्ति र प्रतिक्रान्तिको प्रक्रिया कहिल्यै अन्त्य हुँदैन । क्रान्तिकारी र प्रतिक्रान्तिकारीहरु बीचको अनन्त संघर्ष नै राजनीति हो । हिजोका क्रान्तिकारीहरु आज प्रतिक्रान्तिकारी बन्छन् । नयाँ क्रान्तिकारी जन्मिन्छ । मानव समाज चल्ने र विकास हुने विश्वव्यापी नियम नै यही हो ।

जे सोचेर राजनीतिमा आउनु भयो, फर्केर हेर्दा नरमाइलो लाग्दैन ?
यो प्रश्नको उत्तर माथि कतै आइसके जस्तो लाग्दछ । विशेषतः राजनीतिको पहिलो चरणका मेरा सोच के थिए भन्ने सन्दर्भमा । नरमाइलो त लाग्दैन । किन लाग्नु ? आखिर मानव जीवन यस्तै त हो । एकबारको जुनीमा कस्ले पो के नै गर्दछ र एकाध आइकनहरु जन्मिने हुन् । बाँकी मान्छे जन्मिने, बाँच्ने र मर्ने त हो । मानव जीवनको अरु के सार छ र ? त्यसैले नरमाइलो लाग्दैन ।

राजनीतिबाहेक तपाइँको रुचिको क्षेत्र के हो ?
मैले जीवनमा अलिअलि नछोएका क्षेत्र कमै छन । किसानको सन्तान हुँ । गाउँमा हलो जोतेको, गोठालो गएको अनुभव छ । विद्यार्थी जीवनमा विभिन्न ठाउँमा पढियो । लेभल नै पिच्छे फरक स्कुल, कलेजमा । राजनीतिमा लागे। जेल परेँ । त्यो. भइहाल्यो । २०५४ पछि ५ बर्ष निर्वाचित जनप्रतिनिधि भएर काम गरेँ, त्यो पनि एउटा अनुभव हो । करिब २० बर्षदेखि स्तम्भ लेखनमा छु । धरानको ब्लास्टबाट शुरु देशका सबैजसो नाम चलेका दैनिकमा कुनै न कुनै समय केही लेख लेखँे । अलिअलि साहित्यमा पनि रुचि थियो । त्यो छुट्यो । मेरो लेखनको मोड फिक्सनबाट ननफिक्सनतिर मोडियो । समाजवादको यात्रा भन्ने किताब पनि लेखेको छु । ननफिक्सन लेखक पनि भएँ । १२ बर्ष स्कुल, कलेज पढाएँ, जागिर र अध्यापन क्षेत्रको पनि अनुभव भयो । प्रतिवेदन लेखन र ट्रेनरको रुपमा पनि केही काम गरेँ । कुन क्षेत्र छोइएन छ भन्नुस् अब ? कुनलाई रुचि कुनलाई अरुचि भन्ने ? म जतिखेर जुन काम गर्दछु, पूर्ण रुचिका साथ गर्दछु । जब छोडिदिन्छु, पूर्ण अरुचिका साथ छोडिदिन्छु ।

राजनीतिमा नहुनुभएको भए कहाँ हुनुहुन्थ्यो होला ?
सायद जागिरे हुन्थँे होला । डिभी परेको भए अमेरिका हुन्थेँ कि ? राजनीतिको मोहले नबाँधेको भए विदेशतिर पनि हुन सकिन्थ्यो । अरु बढी पढ्न पढाउनतिर लाग्न सकिन्थ्यो । जे पनि हुन सक्थ्यो । जीवन भन्नुु नै एक संयोग त हो, जन्मदेखि मृत्युसम्म अनेक संयोगै संयोगको जालो ।

राजनीति फोहोरी खेल भयो भन्छन् कतिपयले, तपाईंलाई के लाग्छ ?
राजनीति आफैमा फोहोर वा नफोहोर हुँदैन । जस्तो फुटबल खेलको म्याच आफैमा गुणस्तरीय वा गुणस्तरहीन हुँदैन । खेलाडीको स्तर अनुरुप खेलको गुणस्तर हुन्छ । राजनीति पनि त्यस्तै हो । फोहोर खेलाडी धेर भए राजनीति फोहोरी हुन्छ । असल खेलाडी धेरै भए राजनीति असल हुन्छ । राजनीतिलाई हामी जतिसुकै गाली गरौं वा श्रापौं, असल राजनीति विना बनेको देश संसारमा कुनै पनि छैन । अहिले हाम्रो राजनीतिको गुणस्तर घटेको छ । फोहोर चरित्रका खेलाडी राजनीतिमा धेर छन् । तर यो राजनीति गर्नेहरुको मात्र दोष हैन । मतदाताको पनि कुरा हो । फोहोरहरुलाई किन भोट दिएका त ?

राजनीतिमा लाग्ने मान्छेमा नभइ नहुने ३ गुण के हुन भन्ने लाग्दछ ?
प्रस्ट विचार र एजेण्डा, निरन्तर क्रियाशीलता र विनयी व्यवहार ।

राजनीति सत्तामा पुग्ने प्रक्रिया मात्र हो कि त्यो भन्दा फरक पनि ?
राजनीति र सत्ताबीच अन्योन्याश्रित सम्बन्ध छ । जसरी फुटबल खेलाडी गोल हान्न चाहन्छ, त्यसरी नै राजनीति गर्ने मान्छेमा पुग्न चाहन्छ । यसमा नराम्रो केही छैन । तर, गोल त नियमभित्र बसेर हान्नु पर्दछ नि । फुटबलमा हातले हानेर गोल गर्न पाइन्न । त्यसको त उल्टै दन्ड लाग्दछ । हामी कहाँ नियममा बसेर गोल गर्ने कम, नियम तोडेर गोल गर्ने धेरै भए । हाम्रो सिष्टमले नियम तोड्नेलाई दन्डित गर्न सकेन । फलतः तिनै मान्छेहरु प्रोत्साहित भए जो सत्ताका लागि मात्र हरतरहले मरिहत्ते गर्दछन् ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button