
दण्डपाणीको फेरो समातेर देवघाट
ब्राम्हणपुत्र लकडाउन डायरी – १७
भरत शर्मा
‘देवघाटको खास महत्व के हो ? तपाईं त देवघाट गइरहनु हुन्छ । यसो बुझेर आउनुसन्’, सरकारी सेवाका मित्रले सेवाबाट निवृत्त भएपछि देवघाटतिर बस्ने इच्छा जाहेर गरे, ‘अबको तीन बर्षपछि जागिर छोड्ने । त्यसपछि पेन्सनमात्र आउँछ । यता भन्दा उतै बस्न पाए हुने ? देवघाटको महत्वका बारेमा पनि थाहा पाउन पाए गजबै हुन्थ्यो ।’
सनातनीहरुको पावन तीर्थस्थल देवघाट चितवन, नवलपरासी र तनहँु जिल्लाको सङ्गमस्थलमा दामोदरकुण्डबाट बगेर आएकी कालीगण्डकी र गोसाईँकुण्डबाट आएकी नदीको सङ्गमस्थल पनि हो । कालिगण्डकी र त्रिशुली दुवै नदीका बीचमा सेती, मस्र्याङ्दी, दरौंदी, मादी, बुढी गण्डकी, श्वेतगण्डकी(आँखु) नदीको जल समावेश भएको पवित्र संगमस्थल हो देवघाट ।
काठमाडौं आउनुभन्दा पहिले सानैमा जन्मथलो धादिङको सल्यानटारबाट पहिलो तीर्थ । पहिलो लामो यात्रा गरेको ठाउँ नै देवघाट हो । मावली तर्फबाट पं. हजुरबा दण्डपाणी लोहनीको फेरो समातेर देवघाटको महिमा सुन्दै पावन क्षेत्र घुम्दाका बालसुलभ सम्झना छ । पशुपतिनाथपछि सबैभन्दा बढी यात्रा गरेको स्थान पनि देवघाट नै होला ।
चीनको एकबर्षे बसाईँ पुरा गरी स्वदेश फर्केपछि पहिले यात्रा गरेको स्थान नै देवघाट हो । एक बर्षको विदेश बसाईंमा पितृहरुको उद्धार कार्यमा भएका क्षमायाचनाका लागि देवघाट पुगेर संगमस्थान गरी मनलाई सन्तुष्ठ बनाएर फर्केपछि देवघाट यात्रा रोकिएको छ ।
हरेक दिन स्नानको समयमा गंगाको नाम सम्झँदा दुई नदीको सम्झना आउँछ । एउटा कालिगन्डकी । अर्को त्रिसुली । यही दुई नदीको काखमा रमाउने भएर पनि होला, घरमा ग्यालिनमा राखिएको मुक्तिनाथ र गोसाईंकुण्डका जललाई अलिकति सेचन गर्दा पनि आनन्द आउँछ ।
‘भविष्यमा पुराणहरु पढ्नु नातिकेटा, देवघाटको महत्व बताएर सकिन्न’, हजुरबाले भनेको यही मात्र याद छ पुराण पढ्नु । हजुरबा पुराणहरुका पाखरी हुनुहुन्थ्यो । त्यसैले उहाँले यात्राको बीच–बीचमा भन्नुहुन्थ्यो, ‘तिमीले पनि हामीले पढेका कुरा पढ्यौं भने हामी माथि गए पनि आशीर्वाद दिन्छौं नि ।’
उसैबेला भन्नुभएको थियो, व्याकरण बुझेर शुद्व पाठ गर्न सक्ने भएपछि एकपटक देवघाटमा सातदिनसम्म बसेर पाठ गर्नु । हजुरबा अहिले बैकुण्ठतिर लागिसक्नु भयो । तर, उहाँको निर्देशनपथमा हिँड्दै छु । श्रीमद्भागवत महापुराण शुद्वपाठको अम्यास चल्दैछ । निकट भविष्यमा सात दिन देवघाटमा बस्ने र पढ्ने दिनको प्रतीक्षामा छु ।
राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा.डा.माधव भट्टराईं हरेक भेटमा सधै सोध्नुहुन्छ, ‘भागवत पाठको अभ्यास कस्तो हुँदैंछ ?’
अभ्यास जारी छ । गुरु भट्टराईसँग संगत भएको १७ बर्ष भयो । मित्रता भएदेखि गुरुसँग नेपाल–भारतका विभिन्न मन्दिहरुमा कयौं पटक तीर्थयात्रामा गएँ । उहाँ जहाँसुकै यात्रा गर्दा पनि भागवत पुस्तक झोलामा अनिवार्य हुन्छ नै । हरेक दिन बिहान पाठ छुटाउनु हुँदैन ।
भारत जाँदा ट्रेनमा पनि बिहान सखारैं उठेर पञ्चस्नान गरी पाठ गर्न थाल्नुभएको देखेका कारण मेरो मनमा पनि पाठ गर्ने प्रेरणा जागेको हो । ११ बर्षदेखि निरन्तर स्वदेश विदेश यात्रामा पनि भागवत पाठ सकेसम्म छुटेको छैन ।
हजुरबासँगको देवघाट यात्रा र माधव भट्टराईसँगको तीर्थयात्राले श्रीमद्भागवत महापुराण पाठ पठन संस्कृति जारी रहेको हो । देवघाटमा बसेर सात दिन पाठ गर्ने समयको प्रतीक्षा गर्दैछु । गृहस्थ आश्रमको जिम्मेवारी पुरा गरेपछि वानप्रस्थ आश्रम देवघाटमा बन्नेछ ।
भगवान विष्णुको वामन अवतार भएको बेला बलिराजामाथि विजय प्राप्त गरेपछि त्रिविक्रम बनी भगवानले उहाँको चरण राख्नुभयो, त्यहाँ एउटा सुन्दर तलाउ बन्यो । त्यो नै देवघाट हो भनिएको छ ।
देवाधिदेव महादेव शिवको त्रिशूलबाट उत्पन गराइएको गोसाईँकुण्डबाट बगेर आउने त्रिशुुली, भगवान विष्णुको चक्र भएको स्थान दामोदरकुण्डबाट बगेर आउने कालिकण्डकी नदीको संगममा स्नान गर्नुको पुण्य शब्दमा बयान गरेर सकिन्न ।
नेपाल र भारतका धेरैजसो तीर्थस्थलको यात्रा गरे पनि दामोदरकुण्ड जाने इच्छा अहिलेसम्म पुरा भएको छैन । यस पटक त जाने भनेर जिल्ला समन्वय समिति, मुस्ताङका हाकिम मित्र सुरेन्द्र थापा यात्राको जाँजोपाँचो मिलाउँदै थिए ।
माघेसङ्क्रान्तिमा सबैभन्दा ठूलो भीड हुन्छ देवघाटमा । बर्षका ११ औं सङ्क्रान्ति, ठूली एकादशी, बालचतुदर्शी, ग्रहण लागेको समय र साउन महिनामा भक्तजनको भीड हुने गर्छ ।
दामोदरकुण्ड, मुक्तिनाथ, गोसाईंकुण्ड जान अलि बढी समय, खर्च र यात्रा कठिन नै छ त्यसैले सहज यात्रा गर्न सकिने देवघाट गएर स्नान गर्दा पनि मोक्ष प्राप्त गर्न सकिन्छ । देवघाटमा गएर पनि जीवनमा जान–अन्जानमा गरेको गल्तीहरुको क्षमा माग्न सकिन्छ ।
सङ्गममा स्नान गर्दा पनि विधि छ । गंगा, कुनै नदी वा पोखरीमा स्नान गर्दा पानीमा प्रवेश गरिसकेपछि तीनपटक पानीलाई चलाउनु पर्छ, त्यसपछि डु्बुल्की मानेर नुहाउनु पर्छ । नियम अनुसार गरिएन भने स्नानको फल मिल्दैन भनेर हजुबाले सिकाउनुभएको विधि अहिलेसम्म पनि जारी छ । मुक्तिनाथको कागबेनीमा स्नान गर्दा केही बर्षअगाडि नियम पालना गर्न भुलेछु । त्यहाँ रहेका एकजना भक्तले नियम अनुसार भएन भनेपछि पुनः स्नान गरेको रमाइलो घटना पनि याद छ ।
देवघाट यात्रा गर्दा पहिले संङ्गममा गएर स्नान गर्ने, पितृहरुलाई जल अर्पण गर्ने, सूर्यनारायणका जल दिएर गक्ष अनुदान दानपुण्य गरेपछि दर्शनीयस्थलको अवलोकन गर्दा राम्रो हुन्छ ।
देवघाटमा वशिष्ठ ऋषिको गुफा छ । अयोध्याका राजा रामचन्द्रका गुरु हुन् वशिष्ठ । उहाँले देवघाटमा आएर तपस्या गर्नुभएको थियो । गुरु वशिष्ठ गुफा नजिकै सीता गुफा पनि छ । यो गुफामा सीताको विलय भएको भनेर दर्शनार्थीहरुले दर्शन गर्दै आएका छन् ।
गलेश्वर आश्रम परिसरको पूर्वतिर चक्रेश्वर मन्दिर छ । त्यहाँ चक्रैचक्र भएको ठूलो शीलाको दर्शन गर्न सकिन्छ । त्यस क्षेत्रमा गणेश, सूर्य, भैरव, कालिकाको मन्दिर छ । केदारनाथ, बागीश्वरी, मौलाकालिका मन्दिर रहेको देवघाटको हरियाली क्षेत्रमा घुम्न एकदिनको समय चाहिन्छ ।
देवघाटमा संस्कृत भाषाको स्नातकोत्तर आचार्य तहसम्म अध्ययन गर्ने गुरुकुल समेत रहेको छ । २०५० सालमा स्वामी रामानन्द गिरिले शुरु गर्नुभएको महेश सन्यास गुरुकुलम्मा कक्षा ६ देखि आचार्यसम्मको पढ्न पाइन्छ । र, सबै शिक्षा निशुल्क रहेको छ । त्यहाँको हरिहर सन्यास आश्रम र गलेश्वर आश्रममा पनि संस्कृत अध्ययन हु्रन्छ । गलेश्वर आश्रममा ज्योतिर्लिङगेश्वर महादेवको मन्दिर छ । महेश गुरुकुलमा भगवान विद्येश्वरको मन्दिर दर्शन गर्न छुटाउनु हुँदैन देवघाट यात्रामा ।
कलियुगको मध्य महामारीले देवघाट यात्रा रोकिए पनि हरेक दिन देवघाट महेश गुरुकुलम्बाट स्वामी रमणानन्द गिरि र प्राचार्य डा. गुरुप्रसाद सुवेदीका कक्षाहरुमा अध्ययन निरन्तर रहेकाले हरेक दिन देवघाट गएको महसुस गदैं घरभित्र देवघाट घुमेको चित्र सजाएर ज्ञानगंगा स्नान मात्र गरिरहनु परेको छ ।
jaya hos bhanja!