
१०४ बर्षे आमा साथी नभए विरामीजस्ती, गफ गर्न पाए सोह्र बर्षे तरुनीजस्ती
ह्याप्पी बर्थ डे आमा
जनार्दन अर्याल
ठमेल, काठमाडौं ।
१९७४ सालमा जन्मिएकी मेरी आमा लेखपढ गर्नु हुन्छ । दुई वर्ष अगाडिसम्म दैनिक रुपमा पत्र–पत्रिका पढ्नु हुन्थ्यो । आजकल पत्रिकाको हेडलाइन र ठूलो अक्षर भएका किताबहरु पढ्नु हुन्छ । सुन्दा दन्त्यकथा जस्तै लाग्ने कुरा गर्नुहुन्छ । साथी भएन भने विरामीजस्तै, गफ गर्न पाए सोह्र वर्षकी तरुनीजस्तै ।
मावलिका हजुरबा पण्डित । लालदरबारका पुजारी । एक पटक भोजखान गएको बेला हामीलाई लालदरबारको कथा व्यथा याक एण्ड यती होटलमा बसेर सुनाउनु भएको थियो, एउटा ज्यूँदो इतिहास हाम्री आमा । नेपालदेखि भारतसम्मका प्रमुख स्थान घुमिसक्नु भएको छ । कसले झुक्याउन सक्छ मेरी आमालाई ?
१७ वर्षको उमेरमा विवाह भएको रे । बाबा कहिल्यै स्थिर भएर एकै ठाउँमा नबस्ने । घुमन्ते स्वभावको । घरमा हुँदा पनि अहिलेको एनसिसियस क्याम्पस, साउनेपाटी (डोरनरसिंह राणाको घर)मैै बास हुन्थ्यो । घरको हजुरबा मासुको सौखिन । डोरनरसिंहकै घरबाट सुकुटी आउँथ्यो रे । मलाई पनि याद छ, म त्यो घरमा परेवाको अण्डा लिन जान्थें । त्यहाँ काम गर्नेले ल घरमा लगेर काटेर खानु भनेर परेवा लुकाएर दिन्थे ।
आमाको भनाइमा आजकल नैतिकता हरायो । मानिसले धर्ममा ध्यान दिन छाडे । नातिनातिनाहरुलाई ‘बाह्रखरीको किताबमा सरस्वती र गणेशस्तोत्र छ, पढ्ने गर’ भन्नुहुन्छ । सरकारले संस्कृतलाई बाहुनको पेवा भनेर कोर्षवाटै झिक्यो भन्ने आमालाई के थाहा ? मैलेसम्म पढेको त्यो बाह्रखरी किताब अहिले कहाँ पाउनु ?
१९९० सालको महाभुकम्पमा घर भत्किएर ६ महिनाकी साँहिली सानीमा पुरिएर भोलिपल्ट मात्र झिकेको रे । आमाको चार दिदीबहिनीमा आमासहित २ बहिनी वाँकी हुनुहुन्छ । जेठी दिदी १०२ वर्षको उमेरमा र काईँली वहिनी उमेर नपग्दै बित्नुभयो ।
पन्डितकी छोरीको नाताले शशीशमशेरको श्रीमतीको आग्रहमा बनारस पुगेर एक वर्ष बस्नु भएछ । उताबाट नेपाल फर्किंदा नेपालमा राणा शासन अन्त्यको शुरुआत भएको र राजा त्रिभुवन भारतीय दुतावासमा पुगेको खबर व्यापक भैसकेको थियो रे । त्यसपछि बनारस नगएको सम्झना छ आमालाई । राणाहरुले माइलो नाती ज्ञानेन्द्रलाई राजा बनाए, त्यसले पनि राणा शासन जोगिएन । राजा त्रिभुवन भारतबाट फर्किएको दिन विमानस्थल पुगेको कथा चलचित्र हेरेजस्तै गरी भन्नुहुन्छ ।
उहिलेको कुरा गर्ने भने औसत नेपालीको अवस्था भनेको भरे के खाउँ नै हो । त्यसमाथि पण्डितको काम जजमानी । आम्दानी भनेको तिथी पर्वमा ! हाम्रो परिवारमा पाँच जनामा बाबा स्वर्गे हुनुभयो । दिदीको घर बालाजुमा छ । भाई विराटनगरमा बस्छ । यहाँ आमा र एउटा नाती, म र श्रीमती छौं । जेठो अमेरिका हानियो ।
मेरो बाल्यकाल त्यति सुखद थिएन । सात कक्षामा पुगेपछि हात्तीघोडाको चित्र भएको कमिज, पाइन्ट लगाएर स्कूल गएको दिन मैले आफुलाई कुनै रजौटा भन्दा कम ठानिनँ । स्कुल पुगेर नेपालको राष्ट्रिय धावक वैकुण्ठ मानन्धरलाई नयाँ जुत्ता देखाएको सम्झना ताजै छ ।
पोहोर सालसम्म काठमाडौ विराटनगर आउजाउ गर्नु हुन्थ्यो । अब ‘विराटनगर जान्न’ भन्नु हुन्छ । दाँत कमजोर भएर चपाउने कुरा खान सक्नु हुन्न । घोलेर खुवाउनु पर्छ । उमेर १०० नाघेपछि मान्छे पुनः बालक हुन्छ रे । मन नपरे रोइदियो । मन परे खुसी भयो । धेरै जिद्दी गर्ने । खान किचकिच गर्ने, ४ वर्षको बालकजस्तै । बेलाबेला म ‘अब स्कूल खुलेपछि तपाईंलाई सिद्धिगणेशमा लगेर चार कक्षामा भर्न गरिदिन्छु, नेपाली आइहाल्छ, अंग्रेजी पनि अलिअलि जानी हाल्नुहुन्छ’ भनेर जिस्क्याउँछु ।
पेशा फोटो पत्रकारिता भएकोले मेरो पनि एकठाउँमा बास कहिल्यै हुँदैन । रात बिताउने गरी कतै जानु पर्दा एक दिनअगाडि नै ‘म भोलि बाहिर जान्छु, राती आउँदिन’ भन्नु पर्छ । नभनी हिँडे घरमा महाभारत शुरु हुन्छ ।
यसपाला नयाँ वर्षमा कामको लागि रात बस्ने गरी त्रिशुलीको रिभर स्पेस रिसोर्टमा गएँ । भोलिपल्ट नयाँ वर्षको दिन मनकामना दर्शन गर्न पुगेँ । फर्किदा रातको ९ वज्यो । घरमा आमाले बिहान म नभए खाना खान्न भनेर महाभारत मच्चाउनु भएछ । कान्छो नातीले फकाएपछि ‘तेरो बाउ त्यस्तै हो, सुट्ट भाग्छ, लौ भैगो’ भनेर खानुभएछ । भोलिपल्ट बिहान ‘आमा ! म हिजो मनकामना गएको । प्रसाद ल्याएको छु । लगाउनोस्’ भनेँ । लगाउनु भयो ।
‘जा, खानेकुरा ल्या’ भन्नुभयो । ल्याइ दिएँ । चुपचाप खानु भयो ।
कान्छो करायो, ‘आमा हेर्नास् त, हिजो हामीसँँग झगडा गरेर फकाउँदाको सास्ती । छोरो देखेपछि चुपचाप । ल अब गाली गर्नोस् ।’
‘भैगो छोडी दे यसको सानैदेखि बानी यस्तै हो’ आमाले भन्नु भयो ।
८० बर्षको उमेरमा डाइविटिज देखियो र प्रेसर पनि बढ्यो । १ सय ४ वर्षमा आएर सबै गायव भयो । औषधी खानुपर्दैन ।
हुन त औषधि लेख्ने बेलामा हाल टिचिङ अस्पतालका डाइरेक्टर डा. प्रेम खड्काले भनेका थिए, ‘यो उमेरको कारणले देखिएको हो । आफै ठिक पनि हुन सक्छ ।’
नभन्दै त्यस्तै भयो ।
अस्ति मात्रको कुरा हो, ‘आमा ! हिंड्दा खुट्टा धरमर होला लडिन्छ, लठ्ठी टेक्नोस्’ भन्दा ‘के तैँले म बुढी भएँ भनेर लठ्ठी टेक् भनेको ? पर्दैन लठ्ठी’ भन्ने खप्की पाइयो । सकेसम्म आफ्नो काम आफै गर्नु हुन्छ । बिहानै ४ बजे उठेर हामीले पत्तै नपाई लुगा धोएर सुकाइ सक्नु हुन्छ ।
यो उमेरकी आमालाई हामी छोराछोरीले कति खुसी राख्न सक्यौँ, आफ्नो ठाउँमा छ । सकेसम्म रोएर बस्नु परेको छैन आमाले । मेरो जेठो छोरोले ‘आमा ! म जेठमा आउँछु भनेपछि सधै ‘लौ मुवाइलमा मुख देख्ने गरी फोन लाइदे’ भन्नुहुन्छ ।
आमाको खुसीको ठेगानै छैन । कोहि घरमा आउँदा या कसैले फोन गर्दा आमाको पहिलो वाक्य नै ‘नाति जेठमा आउँछ रे’ निस्कन्छ । त्यसै फुरुङ्ग हुनुहुन्छ ।





