बुद्धजन्मथलो आइपुग्यो नेपाल साइकल उत्सव
कोभिड–१९ ले पर्यटन ‘कोमा’मै पुगेको यो बेला आन्तरिक पर्यटन प्रवद्र्धनको उद्धेश्यसहित नेपाल साइकल उत्सव टोली शान्तिका अग्रदुत बुद्धको जन्मथलो लुम्बिनी आइपुगेको छ ।
लुम्बिनी । कोभिड–१९ ले पर्यटन ‘कोमा’मै पुगेको यो बेला आन्तरिक पर्यटन प्रवद्र्धनको उद्धेश्यसहित नेपाल साइकल उत्सव टोली शान्तिका अग्रदुत बुद्धको जन्मथलो लुम्बिनी आइपुगेको छ । टोलीले लुम्बिनी प्रदेशको राजधानी भालुवाङबाट बिहान साइक्लिङ सुरु गरेको थियो । बाटामा पर्ने चन्द्रौटा, तिलौराकोटलगायतका क्षेत्रमा टोलीलाई साइकलसँग सम्बन्धित संस्थाहरुले मात्र होइन, चेम्बर अफ कमर्शलगायतले पनि स्वागत गरेका थिए । काठमाडौंबाट हिंडेको दशौं दिन साइकल टोली यहाँ आइपुगेको हो ।
टोलीलाई तिलौराकोट व्यवस्थापनले तिलौराकोटकोे भ्रमण पनि गराएको थियो । यता लुम्बिनीको ५ नम्बर गेटमा साइकल टोलीलाई भव्य स्वागत गरिएको थियो । टोलीलाई पञ्चकन्याले स्वागत गरेका थिए भने स्थानीय ‘बुद्धविरहा’ साँस्कृतिक टोलीले साइकल टोलीको स्वागतार्थ स्थानीय साँस्कृतिक बाजागाजासहित अनेक साँस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए । टोलीको स्वागतार्थ लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठ, लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी, लुम्बिनी संरक्षण नागरिक समाजका अक्रमुद्धिन खान, लुम्बिनी पर्यटन व्यवसायी संघका पिन्टु बनिया, लुम्बिनी विकास कोषका भोला गुप्ता, बुद्धग्रामका पुरुषोत्तम अर्याललगायत उपस्थित थिए । टोलीले लुम्बिनी मन्दिर परिसरमै क्याम्प गरेका छन् । लुम्बिनी होटल संघका महासचिव लीलामणि शर्माले यसको संयोजन गरिदिएका हुन् ।
नेपाल पर्यटन वोर्डको प्रवद्र्धन तथा ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन अफ टुर्स् एन्ड ट्राभल एजेन्ट्स् एशोसिएसन (नाटा) र नेपाल पर्वतारोहण संघ (एनएमए)को सहयोगमा भइरहेको तीन साताको यो साइकल यात्रा इलामको अन्तुडाँडामा गएर समापन हुनेछ । पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म यो साइकल यात्राको दुरी १ हजार ६ सय २४ किलोमिटर रहेको छ ।
विश्व साइकलयात्री पुष्कर शाहको नेतृत्वको साइकल टोलीमा राजेन्द्र सापकोटा, सुभाष केसी, एक्सपान्सन दाहाल, सम्राट पान्डे, महेन्द्र अधिकारी, हिम गुरुङ, माधव नेपाल, मुक्ति पान्डे, अशोक सिलवाललगायत रहेका छन् ।