लकडाउन वार्ताः संस्कृत भाषाको स्वअध्ययन गर्दैछु

महामारीमा नेपालनाम्चाले सुरु गरेको लकडाउन वार्तामा रुपन्देही, तिलोत्तमास्थित न्यू इन्भाइरन्मन्ट माविकी शिक्षक कविता पन्थी

लकडाउन छ । तर, तपाईको कन्फिडेन्स त डाउन भएको छैन नि ?
लकडाउन छ, मेरो कन्फिडेन्स डाउन त भएको छैन तर कताकता मानसिक रुपमा कमजोर अनुभव भने पक्कै भएको छ । सहज, सरल दिनहरु जसरी लकडाउनका दिनहरु बितेका छैनन्, घटनाक्रम सुन्दा, हेर्दा दुःख लागेको छ ।

दिनहरु कसरी बित्दै छन् ?
जस्तो सुकै समस्या किन नहोस्, दिनहरु बितिहाल्दा रहेछन्, अहिले लेख्ने, पुस्तकहरु पढ्ने, बच्चाहरूसँग समय बिताउने, फुलबारीमा काम गर्ने यसरी नै बित्दै छन् ।

कसरी गर्दै हुनुहुन्छ यो समयको सदुपयोग ?
यो समय पटक्कै उत्साहप्रद छैन । केही गर्न खोज्यो, बितिरहेका घटनाक्रमहरुले निराश बनाइदिन्छन् । मानिसलाई केही गर्नको लागि आन्तरिक उर्जा चाहिने रहेछ । तैपनि अहिले केही अनलाइन क्लास चलिरहेका छन् । विद्यार्थीसँग समय बिताउँदा उनीहरूको मनोविज्ञान बुझ्न सजिलो हुन्छ । संस्कृत भाषाको स्वअध्ययन गर्दैछु ।

अघिल्लो बर्षको लकडाउन र यो बर्षको लकडाउन तपाईंलाई उस्तै लाग्दैछ कि फरक ?
समय कहिल्यै एकनाश हुदैन । अघिल्लो वर्ष यो वर्षको जस्तो तनाव भएन । त्यति धेरै संक्रमणको केन्द्र हाम्रो देश नबनेको भएर होला अघिल्लो वर्ष यो वर्ष जस्तो मन निराश थिएन ।

छिमेक र वरिपरिको वातावरण कस्तो छ ?
अहिले रुपन्देही संक्रमणको उच्च जोखिम रहेको जिल्ला भएको छ । मेरो छिमेकमा भइरहेका मृत्युका घटनाले आहत बनाएको छ । अस्पतालमा बेड नपाएर मेरो घरनजिकै एकजना भर्खरको दिदी बित्नुभयो । उहाँ अस्पतालबाट घर फर्काइनुभएपछि घरमै अक्सिजन लगाएर राखिएको थियो । यही बैशाखको १७ गते विवाह भएको एकजना भाइ बित्नुभयो । सानो समस्यामा पनि एकजुट हुने छिमेकीहरु त्रसित मानसिकताका साथ घर भित्रै बन्द छन् । मानिसहरु अस्पताल र अक्सिजन नपाएर उपचार अभावमा भएका मृत्युले निकै व्यथित बनाउने रहेछ ।

यदि लकडाउन नभएको भए, आज तपाईं कहाँ र के गर्दै हुनुहुन्थ्यो ?
लकडाउन नभएको भए म मेरो नियमित काममै व्यस्त हुन्थे । साथीभाइ, परिवारसँग घुम्न जाने योजना पनि थियो ।

लकडाउनको यो समयलाई भविष्यमा कसरी सम्झनु होला ?
लकडाउनको यो समय हाम्रो पुस्ताको लागि स्मरणीय हुनेछ। मानव जीवनमा यी र यस्ता समस्या आउँछन्, जसले हामीलाई निकै महत्वपूर्ण पाठ सिकाएर जान्छन् । यो समयलाई पनि म जीवनभोगाइको महत्वपूर्ण सिकाइको समयको रुपमा सम्झन्छु ।

के तपाईंलाई लाग्छ, लकडाउन नै समस्याको समाधान हो ?
लकडाउनमात्र नै समस्याको समाधान त होइन । यो महामारी अन्त्य गर्ने अरु अभ्यासको सहयोगी बन्न चाहि सक्छ । हरेक कुराका फाइदा बेफाइदा भएजस्तै यसका पनि छन् । सामाजिक, आर्थिक, मानसिक रुपमा यसले धेरै प्रभाव पारेको छ । यस्तो समयमा निम्न आय भएका दैनिक काम गरेर जीविकोपार्जन गर्ने वर्गहरुलाई बाँच्न समस्या हुन्छ । हुनेखानेले आफुले सकेको सहयोग गर्नुपर्छ । संकटको समयमा अवसरको रुपमा लिएर कालोबजारी गर्ने, कृत्रिम अभाव सृजना गर्ने, औषधी सामग्रीमा समेत भ्रष्टाचार गर्ने, औषधी उपचारमा सहयोग नगर्ने जस्ता कामहरु गर्नुहुँदैन ।

कोरोनाको यी बर्षहरुपछि तपाईंको जीवनदृष्टिमा के कस्तो परिवर्तन आएको अनुभव गर्नु हुन्छ ?
कोरोनाका यी वर्षहरुले मानिसलाई व्यवहारिक रुपमै नयाँ सिकाइ सिकाएका छन् । मानव जीवनको अस्तित्व, जीवनको अनित्यताको पाठ राम्रोसँग सिकाएका छन् । समस्या जीवनमा आइरहन्छन्, मानिस समस्यासँग भागेर होइन, जुँधेर अगाडि बढ्न सिक्नुपर्छ । धेरै अनिश्चितता बिच निश्चितता खोज्नु नै जीवनको सत्यता हो । जीवन सोचेको जस्तो र व्यवस्थित कहिले बन्न सक्दैन ।

भविष्यप्रतिको तपाईंको धारणा के छ ?
सधैभरी समय उस्तै रहँदैन । म भविष्यप्रति निकै नै सकारात्मक र आशावादी छु । अध्यारो रातपछि अर्को दिनको सुर्योदय कति धेरै आशाहरु बोकेर आएको हुन्छ । हावाहुरीले तहसनहस पारेपछि फेरि पालुवाहरु झनै सुन्दर बनेर आउने गर्छन् । मानव जीवनमा आउने यी र यस्ता समस्याहरुले हामीलाई जीवनयात्रामा मजबुत बनाइरहन्छन् ।

केही थप्न चाहनुहन्छ ?
दुःखभित्र नै सुख लुकेको हुन्छ । धर्म गर्न मठमन्दिर नै पुग्नुपर्छ भन्ने छैन, समस्यामा परेकालाई सहयोग गर्नु नै धर्म हो । सत्कर्मले नै जीवन सार्थक हुन्छ । हामी कोही पनि अजराम्बर छैनौ, जीवन अनित्य छ, जीवनको अनित्यताको बारेमा अहिले बोध नगरे कहिले गर्ने ? समयले अहिले हामीलाई आत्ममूल्यांकन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ । सधै दौडधूप गरिरहनुपर्नेलाई आफ्नो लागि सोच्ने, चिन्तन गर्ने मौका मिलेको छ । ध्यान गरौं, साधना गरौं, जीवन र जगतलाई अझै नजिकबाट चिन्ने प्रयत्न गरौं ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button