आज अक्षय तृतीयाः सातु–सर्वत खाने यो दिनको खास महत्व काशीमा बुझेँ

ब्राम्हणपुत्रको लकडाउन डायरी – १६
भरत शर्मा

अक्षय तृतीयाको दिनलाई अझ बढी स्मरणयोग्य कसरी बनाउने ? बिहिबारदेखि नै अध्ययन–अनुसन्धान कार्ययोजना तयारीमा लाग्दै थिएँ । महेश संस्कृत गुरुकुलम्बाट मित्र सन्तोष गिरीले दैनिक सत्संगको कार्यतालिका मसेन्जरमा पठाए ।

बिहान ८ देखि नौ बजेसम्म ‘बुहतदारण्यकोपनिषद्’ र दिउँसो चार बजेदेखि पाँच बजेसम्म ‘अध्यात्म रामायण’ र साँझ सात बजेदेखि आठ बजेसम्म ‘वेदान्त प्रवेशिका’ कक्षा आज अक्षय तृतीयाकै दिनदेखि शुरु हुने र ती कक्षामा भच्र्युअल्ली सामेल हुन अनुरोध आएपछि खुसीले मन हलुङ्गो भयो ।

आहा ! यो त मलाई लकडाउनले दिएको उपहारजस्तो लाग्यो । तीन घण्टाको समय अध्ययनमा बिताउन पाउने यो अवसर पनि महामारीले दिएको सौगात सम्झेर दराजमा थन्काएर राखेका ग्रन्थहरु निकालेर सिरानीमा राखेँ ।

शास्त्रले अक्षय तृतीयाको महत्वबारे अनेकन् व्याख्या गरेको छ । हरेक बर्ष आउने यो दिन नयाँ बार्षिक योजना बनाउने र गत बर्षका आफ्ना कर्मको समीक्षा गर्ने दिन हो । गाउँघरमा हुँदा सातु र सर्वत खाने अक्षय तृतीया पर्वको महत्व काशीमा बस्दा बुझेँ । मेरो आफ्नै अनुभवमा पनि यो दिन राखेका लक्ष्यहरु कठिनाइका बाबजुत पनि सफल भएका छन् ।

अक्षय तृतीया बैशाख शुक्लपक्षको तृतीया तिथिलाई भनिन्छ । शास्त्रमा भनिएको छ, यो दिन गरेको शुभ कार्यको अक्षय फल पाइन्छ । ज्योतिषशास्त्रले यो दिनलाई स्वयंसिद्ध मुहूर्तको तिथि मानेको छ । भविष्यपुराणमा यो तिथिलाई युगादि तिथिमा गणना गरिएको छ ।

सत्य र त्रेता युगको आरम्भ यसै तिथिबाट भएको थियो । द्वापर युगको समापन पनि यही तिथिमा भएको हो । भगवान विष्णुले नर–नारायण, हयग्रीव र परशुरामको रुपमा अवतरण पनि अक्षय तृतीयाको दिन नै गरेका थिए ।

तीन बर्ष लगातार काशीमा बस्दा अक्षय तृतीयाको दिन बिहान ४ बजे ब्रम्हमुहूर्तमा गंगाघाटमा स्नान गरेको सम्झन्छु । र, त्यो दिनका कार्ययोजना सफल भएको हुनाले स्मणीय ठानेको छु ।

काशीमा बस्दा अक्षय तृतीयाको दिन तीन संकल्प गरेको थिएँ । १. अध्ययन–अध्यापनलाई निरन्तर छात्र बनेर जारी राख्ने, २. लेखन यात्रामा विश्राम नलिने, ३. जीविकोपोर्जनका लागि तीर्थयात्री घुमाउने । यी तीन लक्ष्यको बाटोमा निरन्तर हिँडदै छु । लक्षभेदी यात्रामा शनि, राहु र केतुले दुःख दिँदा पनि हिम्मतलाई दह्रो बनाएर अक्षय तृतीयाको दिन लिएको तीन लक्ष्य पुरा गर्न अहिले पनि दौड्दै छु ।

अर्थ के रहेछ भनेर अमरकोष पल्टाएर हेरेको त कहिल्यै क्षय नभएर स्थायी रहनेलाई अक्षय भनेर लेखिएको रहेछ । अक्षय तृतीयाको दिन विष्णुले परशुराम अवतार लिएकाले यो दिनलाई परशुराम जयन्तीका रुपमा पनि मनाउने गरिएको छ । पुराणमा लेखिएको छ, परशुरामलाई विष्णुका दश अवतारमध्ये एक मानिन्छ । उनी चिरन्जीवी छन् । आयु र युगमा क्षय नभएको दिन भएर होला, यसलाई चिरन्जीवी तिथि पनि भन्ने गरिन्छ ।

महर्षि वेदव्यासले आजको दिन नै महाभारत ग्रन्थको रचना शुरु गरेका थिए । महाभारतका १८ दिनसम्म चलेको दाजुभाई खलक कौरव–पाण्डव पक्षको युद्धको पनि समाप्त भएको दिन अक्षय तृतीया नै परेको छ । सत्यको पक्ष र विधर्मीको नाश गर्न गरिएको युद्धमात्र थिएन त्यो, सत्यको विजय देखाउनका लागि गरिएको युद्ध पनि थियो । महाभारत त सनातनी र समस्त संस्कृत ग्रन्थहरुको स्रोत नै मानिन्छ । संसारमा सबैभन्दा बढी पढिएको र धेरै भाषामा प्रकाशित भएको ग्रन्थ ‘श्रीमद्भगवतगीता’ महाभारतको भीष्म पर्वको एउटा खण्ड हो । र, त्यो कृष्णले आफ्ना प्यारा मित्र अर्जुनलाई युद्ध मैदानमा खटिएको बेला आत्मबल र उर्जा भर्नका लागि दिएको आशीर्वाद वचन हो ।

सनातनीहरुको पाँचौं वेद नै हो महाभारत । महाभारतमा सबैथोक छ । के छैन त्यहाँ ? वेद, वेदाङ्ग, न्याय, शिक्षा, ज्योतिष, राजनीति, कूटनीति, अर्थनीति, वास्तुशास्त्र, शिल्पशास्त्र, कामशास्त्र, खगोलशास्त्र, योगशास्त्र, धर्मशास्त्र, जे खोजे पनि त्यही भेटिने ग्रन्थ ।सयौं पटक सुने र पढे पनि पुरानो नहुने । नयाँ कुरा र नयाँ सोच दिने ग्रन्थ हो महाभारत । महाभारत पढेर, सुनेर र बुझेर सकिदैन ।

अक्षय प्राप्तिको कामना गर्दै दान गरिन्छ, आफना पूर्वजहरुको सम्झना गरिन्छ । सामाजिक लोकचलनमा आज आफन्त, छरछिमेक र गाउँघरतिर बटुवाहरुलाई सातु (चना, जौ, गेडागुडी र अन्न भुटेर बनाइएको) र सर्वत खुवाउने हाम्रो परम्परा छ । यो लामो यात्रा गर्दा बोक्न पनि सजिलो र शरीरलाई अडिलो र पोषिलो खाना हो । कर्मकाण्ड भास्करमा लेखिएको छ, ‘आजको दिन सत्पात्र ब्राह्मणलाई गच्छे अनुसार अन्न दान गर्दा दातालाई फल मिल्ने छ ।’ ‘दान दिने व्यक्ति र लिने व्यक्ति सत्कर्मी सत्पात्र भयो भनेमात्र दान लिएको र दिएको सतत् फल मिल्ने नत्र त्यो दिने र लिने काम मात्र हुन्छ’, शास्त्रले भनेको छ ।

कैलाशनिवासी महादेव र हिमालयकी पार्वतीले पनि अक्षय तृतीयाको दिन विवाह गरेको विश्वास छ । त्यसपछि लोकमा अक्षय तृतीयाको दिन विवाह गर्न साइत आवश्यक नपर्ने चलन सुरु भएको हुनुपर्छ । भगवान कृष्ण र उनका प्रिय सखा सुदामाको द्वारकामा भेट भएको दिन पनि अक्षय तृतीया नै परेको छ । उनीहरु बालसखा थिए । पछि कृष्ण द्वारकाका राजा भए, सुदामा केवल सन्तोषी ब्राम्हण । सुदामा पत्नी सुशीलाको अनुरोधपछि द्वारका हिँडेका सुदामा–कृष्ण मिलनको कथा समाजका लागि प्रेरणादायी छ ।

पूर्वजले भनेको कुरालाई काट्ने आधार हामीसँग छैन । कति महत्व रहेछ है आजको दिन ! त्यसैले आजको दिन केही नयाँ सोच, योजना र सकारात्मक कार्यरम्भ गर्न आँटनु भएको छ भने त्यो पक्कै सफल हुने कुरा अकाट्य नै छ । यस्तो महिमा भएको दिन तपाईं हामीले पनि महामारीलाई परास्त गर्ने आत्मबल आफैभित्र जगाउने अठोट गरौं ।

One Comment

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button