उषाको मार्मिक ‘मिना’ उवाच

मिना थापा

हुम्लाबाट सशस्त्र द्वन्द्वकालमा १३ बर्षको कलिलो उमेरबाट राजनितीमा होमिएकी उषा थापाले जीवनमा पहिलो पटक हिजो १११ औं अन्तरार्ष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बर्दियाको बढैयाताल गाउँपालिकामा माइक समाएर बोलिन् । यसरी बोलेको यो पहिलो अवसर भएको अनुभव सुनाउदै उनले वक्तृत्वकलामा भाग लिँदा आफुलाई गर्व लागेको कुरा सुनाइन् ।

१० बर्षे सशस्त्र द्वन्द्वकालमा बुर्जुवा पढाई भन्दा पनि महिला मुक्तिका लागि महिला आन्दोलनमा लागेर महिलाका हक र अधिकार सुनिश्चित हुनु पर्छ भन्ने मान्यताले घरपरिवारको असहमति हुँदाहुँदै पनि घर त्यागेर साथीहरूसँग महिला मुक्तिका लागि कि मृत्यु कि मुक्ति भन्ने कुरालाई आत्मासाथ गर्ने प्रण गरेर राजनितीमा होमिएकी थापाले भनिन्, ‘देशमा गणतन्त्र ल्याउन हामीले धेरै लडाई लड्यौं । गणतन्त्र पनि आयो । केही त परिवर्तन पनि भएको छ । राजनितीमा महिलाहरू आउन भनेजति सहज त छैन तर केही सहजता भने पक्कै भएको छ ।’ जीवनका अनेक कालखण्डमा धेरै दुख कष्ट भोग्दै हुम्लाबाट अहिले बर्दियाको बढैयाताल गाउँपालिकाको वडा नं ९ मा बस्दै आएकी उषाका ५ सन्तान छन् र श्रीमान छन् ।

‘५२ प्रतिशत महिला भएको हाम्रो देशमा ३३ प्रतिशत महिला सहभागिता राजनितीमा किन भन्ने प्रश्नले मलाई सधै अनुत्तरित बनाउँछ सधै । अझै अधिकारका लागि महिलाले कति आन्दोलन गर्नु पर्ने हो ?’, सशस्त्र द्वन्द्वकालमा बर्दियाको गणेशपुर घटनामा सामान्य घाइते भएकी थापाले भनिन्, ‘गणतन्त्र ल्याउनका लागि कतिले जीवन बलि चढाए । देशको लागि आफ्नो जीवन आहुती दिए । वीर सहिदहरूको सपना अझै पूरा भएको छैन । अझै हामी महिला मुक्तिका लागि कति दिन लडनु पर्ने हो ?’

‘हामीले लडेर ल्याएको गणतन्त्रमा हामीले न्याय पाउने कि नपाउने रु प्रश्नका चाङ र तरंग मनमा सधै तैरिरहन्छ’,
तीन चरणको प्रमाणीकरणमा पर्न नसकेकी उषाले भनिन्, ‘यी कुरा गरिरहदा कसैलाई एकादेशको कथा बन्ने छ । तर म त्यही पात्र हुँ । मैले जीवनमा भोगेका यहि कुरा हो । र, सत्य पनि यहि हो ।’

हिजो उनीसँगै रहेर उनका भनाईलाई जस्ताको तस्तै शब्दमा भर्ने कोसिस गरेकी छु । अन्यथा नलागोस् ।

जय नारी ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button