केटीमात्र पढ्ने कलेज पढ्दा

नारी दिवस विशेष

गोसाई केसी

स्कुलहरु थुप्रै हुन्थे । तर अक्सर स्कुलहरु छोरीविहीन हुन्थे । म स्कुल जान्थे“ । मेरै उमेरका छोरीहरुलाई कुटो, डालो बोकाएर खेतबारीको काममा लगेको मैले देखेकी थिएँ ।

कक्षा एकमा बाह्रखरीको एउटा किताब पढेपछि पास भइन्थ्यो । उत्तरपुस्तिकामा लेखिरहनुपर्दैनथ्यो । दुई एकान दुई भनेर दशसम्म भन्दा हामी पास हुन्थ्यौ । कालोपाटीमा हामीहरु खरीले लेख्थ्यौ । हामीलाई सानो “क” लेख भनेर भन्दा सानो अनि ठूलो ‘क’ लेख भनेर भन्दा कालोपाटीभरिको लेख्नुपथ्र्याे । ठूला वर्णमाला पढ्थ्यौ“ । त्यसमा गणितका, नेपालीका, अङ्ग्रेजीका सबै कुराहरु हुन्थे । त्यो किताब अहिले पनि मनपर्छ । निवेदन, चिठ्ठी, सानातिना अङ्गे्रजी–नेपाली वाक्यले धेरै कुरा अहिले पनि सिकाउँछन् जस्तै लाग्छ ।

जावलाखेलमा टन्नै स्कुल थिए । तर म महेन्द्रोदय विद्यालय, मदन मेमोरियल गल्र्स हाइस्कुलमा पढेँ । मलाई मिसहरुले पढाउँदा–पढाउँदै सबै कण्ठ भइसकेको हुन्थ्यो । टिफिन लाने, झोलामा किताब लाने चलनै थिएन । दाजुहरु फुटबल खेल्न जाँदा मलाई किताब लैजाऊ भन्नुहुन्थ्यो । म खुसी भएर बोक्थे“ । धेरै किताब बोक्दा विद्वान भएँ कि भन्ने लाग्थ्यो ।

फाउन्टेन पेनबाट चुहिएर हातमा मसी लाग्दा अरुले धेरै पढन्दास रहिछे यो भन्छन् भन्ने लाग्दथ्यो । देख्दा पनि राम्री र पढ्नमा राम्री भएकोले मलाई सानैदेखि ठूलाले माया गर्दथे । स्कुल जानु र घरको कोठामा बसेर पढ्नुमात्र मेरो काम थियो । बाहिर कतै जान पाउँदिन थिएँ । प्राइमरी स्कुलपछि मलाई मदन मेमोरियल गल्र्स हाइस्कुलमा बुबाले कक्षा चारमा भर्ना गरिदिनुभयो ।

एकदिनको घटना हो । मदन मेमोरियल गल्र्स हाइस्कुलमा छ कक्षामा पढ्दा, पाठ बुझाउन नसक्ने साथी जानुका भन्नेलाई मिसले पिट भनेर भन्नुभो । मैले लौरोले उसलाई हातमा हाने । उसले चुरा लगाएकी रहिछ । पिट्दा चुरामा लाग्यो र फुट्यो । ऊ रोई । मलाई नरमाइलो लाग्यो । मिसले मलाई बिस्तारै पिट्ने होइन, बेस्कन हिर्काउन हात समातेर लगाउनुभयो । साथी रोई । म पनि रोएँ । म डरले र साथीको मायाले रुन्थेँ । साथी दुखेर रुन्थिन् ।
मिस गएपछि ऊसँग मैले माफी मागेकी थिएँ ।

स्कुले पलको सम्झना गर्दा मलाई त्यो घटनाको याद आउँछ, अनि म दुःखी हुन्छु । मलाई धेरै पढ्छे भनेर साथीहरुले डाहा गर्थे । मेरो साथीहरु ठूलाठूला भएकाले गर्दा उनीहरुको ग्रुपमा मलाई राख्दैनथे । हरेक स्कुलमा वर्षमा एकचोटि सरस्वती पूजा हुन्थ्यो । त्यो बेलामा हामीहरु आफैले घरबाट खाजा लिएर जानुपथ्र्याे । लगनखेल बटुक भैरवमा सरस्वतीको मन्दिर छ । सरस्वती पूजामा त्यही जान्थ्यौ । त्यसरी जाँदा हामी सानासानाहरुलाई ठूलाठूलाहरुले आफ्नो ग्रुपमा राख्दैनथे । मेरा ज्ञानी शोभा, मिरामैया (हाल सर्वाेच्च अदालतको न्यायाधीश), मथुरा दली भन्ने स्कुलका साथी थिएँ । उनीहरुकोे पनि वर्ष बढाएर हामीले सँगै एसएलसी दिएका थियौ । हामी अरुभन्दा उमेरले साना भएकाले कक्षामा त हामीलाई कमिलाजस्तै गर्थे ।

हाम्रो कक्षामा सपना र बबिता पनि पढ्थे । हिन्दी फर्माइस गीतको प्रोग्राममा सपना, ममता र बबिता भनेर नाम फर्माइस हुन्थ्यो । उनीहरु धेरै चर्चित थिए । बबिता भन्ने अग्ली, पातली र राम्री थिइन् । मैले मेरो हरेक नोटबुक उसलाई मायाले दिन्थे । उसका दिदीबहिनीहरु उसलाई ज्यान्ट र मलाई एन्ट भनेर जिस्काउँथे । म दुइटा नोटकापी बनाएर एउटा उनीहरुलाई दिन्थे“ र अर्काे म पढ्थे“ । सानैदेखि म दाताराम हो । जाँचमा पनि उनीहरु मेरो पछाडि बस्थे । जाँचमा मेरो कापी उनीहरुलाई दिनुपर्ने हुन्थ्यो । त्यसरी कुनैकुनै विषयमा त मेरो भन्दा उनीहरुको नम्बर बढी आउँथ्यो । त्यो बेलामा म आश्चर्यचकित हुन्थे“ । अहिले सोच्दा थाहा भयो कि मेरो कापी हेरेपछि र आफ्नो बुद्धि पनि थपेपछि धेरै नम्बर पाउँदा रहेछन् ।

उनको कपाल लामो थियो । मलाई साथीदेखि रिस उठ्यो भने खाइरहेको चुइगम उसको कपालमा टाँसिदिन्थे“ । तर पनि ऊ धेरै रिसाउँदिनथी । सायद मेरो बदमासी नै त्यही होला । खेल्नका लागि म इँटाको साततले, गुच्चा र चारपाते खोज्थे । हामीहरुलाई आरुबखडा किन्दा ५ पैसाको ६ वटा दिन्थे । तर हामीहरु ७–८ वटासम्म लिन्थ्यौ । उमेरले गर्दा मैले धेरै बदमासी गर्न पाइनँ । नृत्य, गीत आदिमा कहिले पनि भाग लिँदिनथे“ । मेरो घरमा कडा अनुशासन थियो । समयमा घर पुग्नुपर्ने । नृत्य, गीतको कक्षा विद्यालयको समयभन्दा पछि हुन्थ्यो । अबेरसम्म बस्न पाइँदैन थियो । त्यसैले मेरो घरबाट त्यस्ता कुराहरुमा अनुमति नै थिएन ।

स्कुलपछिको समयमा एक मिनेट पनि ढिला गर्नु हुँदैनथ्यो । वादविवाद, हाजिरीजवाफ, निबन्ध प्रतियोगीतामा मैले भाग लिएको छु । स्कुलबाहेकको समय घरैमा बिताउनुपर्ने भएकाले गर्दा मैले धेरै अतिरिक्त क्रियाकलापहरु गर्ने मौका पाइनँ । मन लाग्थ्यो तर पनि मैले पाइन । कविताहरु भने थोरैथोरै लेख्थे“ । मेरो कक्षा खाली भएको बेलामा म उपन्यासहरु पढ्थे । त्यो पनि लुकीलुकी पढ्नुपर्र्ने हुन्थ्यो । मेरो बुबालाई त्यस्ता किताबहरु पढेको थाहा भयो भने स्कुल जान बन्द भनेर भन्नुहुन्थ्यो । कोर्सभन्दा बाहिरका किताब पढ्यो भने मगज बिग्रन्छ भन्ने उहाँहरुको धारणा थियो ।

बिहान १० बजे र बेलुकी चार बजेमात्र स्कुलको गेट खोलिन्थ्यो । त्यसैले हामीहरु खानेकुरा किन्न पालेदाइलाई पठाउँथ्यौं । त्यो बेलामा भुटेको केराउ, तितौरा, समोसा, आरुबखडा आदि किनेर खान्थ्यौ“ । स्कुलमा मुख फेर्ने खाजा भनेको डल्लो पाउरोटी थियो । चाउचाउ कुन दुनियाँमा थियो कुन्नि, हाम्रा पालामा थिएन । अरु कुरामा हलुवाई पसलको जेरी, हलुवा र बर्फी घरमा कहिलेकाही“ खान पाइन्थ्यो ।

हामीलाई शृङ्गार गर्न स्वीकृति थिएन । पढ्ने समय छाडेर शृङ्गारपटार गर्ने होइन भनेर भूमा शर्मा, ज्योती र कलावती मिसले भनेको सम्झन्छु । आज पनि बचपन मसँगै छ । धेरै शृङ्गार गर्न मन लाग्दैन । सबै मिसहरुलाई मेरो आज पनि नमन छ ।

समय पनि अचम्मको हुने । आजकलका बुबाआमा केटासँग पढ्दा केटी बाठी हुन्छे भन्छन् । उतिबेला केटा भएको स्कुल पढाउन नपाए हुन्थ्यो भन्ने बुबाआमा बढी हुन्थे । म एसएलसी उतीर्ण भएपछि पाटन क्याम्पसमा हुने सह–शिक्षा पढ्न पाइएन । घरनजिक कलेज भए पनि म बागबजार आउनुप¥यो । म जावलाखेलबाट बागबजार एक्लै जान सक्दिनथेँ । त्यसैले साझा बस चढ्नुपथ्र्यो । जम्मा दुईवटा साझा बस थियो । रत्नपार्कदेखि जावलाखेल, लगनखेल आउने–जाने गर्दथ्यो । दिनको २० पैसा भाडा तिर्नुपथ्र्यो । बुबाले दिनको १ रुपैयाँ खर्च दिनुहुन्थ्यो । त्यसमा ४० पैसा आउन–जान बस भाडा र ६० पैसा खाजा हुन्थ्यो । २० पैसाको चिया २५ पैसाको समोसा–तरकारी आउँथ्यो । तर साथीहरु मिलेर खाँदा कहिले कसले, कहिले कसले तिर्नुपथ्र्यो । अनि केही पैसा बचत पनि हुन्थ्यो ।

५ रुपैयाँँ बाल्कोनीमा बसेर सिनेमा हेर्नलाई लाग्थ्यो ।

मेरो साथी पद्मा केसी आदर्श निकेतनमा पढ्थिन् । ऊ पनि एउटा माथिल्लो तहमा पुगेकी महिला हो । टेलिकमबाट मसँगै रिटायर्ड भएकी छिन् । उसले कानुन पढी । मैले पद्मकन्यामा आर्ट्स पढे । म सानी थिएँ । अरु मेरा साथीहरु ठूला थिए । साथीहरु सिनेमा हेर्न, ब्युटीपार्लर आदि जान्थे । तर हामी साना भएकाले उमेर भएको छैन भनेर लाँदैनथे ।

मेरा उमेरका साना साथीहरु तीनजना जति थियौ । हामीहरु घ्वाइँचा खेलेर बस्थ्यौ । हामीहरु गुच्चा खेल्थ्यौ“ । काम नपाएको अवस्थामा हामीहरु चारपाते खोज्थ्यौ“ । म धेरै खोज्थेँ । अहिले पनि मलाई त्यो खोज्न मन लाग्छ । मसगँ अहिले पनि चारपाते छ । अङ्ग्रेजी पढाउने ज्योति मिस, कमला मिस, वृन्द्रा शाक्य आदि हुनुहुन्थ्यो । त्यो मदन मेमोरियल गल्र्स हाइस्कुल भएकाले गर्दा शिक्षकहरु पनि सबैजना महिलामात्र हुनुहुन्थ्यो । उहाँहरुले धेरै राम्रो पढाउनुहुन्थ्यो । उहाँहरुले गाली गर्दा एकजनामात्र अङ्गे्रजी बोल्छ, तिमीहरु सबैजना लद्दु भनेर भन्नुहुन्थ्यो । साथीहरु भागेर सिनेमा हेर्न जान्थे ।

भृकुटीमण्डपमा दशैमा रमाइलो मेला लाग्थ्यो । बुबाले अफिसबाट बिदा लिएर भए पनि गाडीमा राखेर लैजानुहुन्थ्यो । साथीकोमा गएर बस्ने त कल्पनै थिएन । मसँग एसएलसी पास भएकी लक्ष्मी बस्नेत थिइन् । उनी पद्मकन्या कलेज पढ्न जाँदा र आउँदा साथी हुन्थिन् । उनी पुलचोकबाट बस चढ्ने, म जावलाखेलबाट । कलेज जाने बेलामा धेरै भीड हुने हुनाले साथीले सिट रोकेर राखिदिन्थिन् । साझा बसमा निकै भीड हुन्थ्यो । त्यो सानो बसमा धेरै मानिसहरु झुण्डिएर यात्रा गर्दथे ।

कलेज भनेको कलेज नै हुँदो रहेछ । रमाइलो । त्यो चढ्दै गरेको समयमा जति नै कडा घर भए पनि कलेजबाट फिल्म हेर्न गइयो । मैले फिल्म हेरेको जीवनकै पहिलोपल्ट थियो त्यो । हामीहरुको ५ बजेसम्म पढाइ हुन्थ्यो । १० बजेको पिरियड लिन सर आउनुभएन भने ५ बजेको पिरियड लिन कुरेर बस्नुपर्ने हुन्थ्यो । त्यो बेला लाइब्रेरीमा बसेर पढ्न मन लाग्दैनथ्यो । त्यस्तो बेला सिनेमा हेर्न जान्थ्यौ“ । सर नआउँदा मिसलाई कक्षा नलिनुस् भनेर हामी फिल्म हेर्न जान्थ्यौ“ । फिल्म हेर्ने प्लान हुँदा हामी सारी बोकेर जान्थ्यौ । हाम्रो भोटे झोला भन्ने हुन्थ्यो । कलेज लाइफमा हो, मैले झोला पहिलोपल्ट बोकेको । पिके कलेज भए पनि मेरा धेरै नयाँ साथीहरुमात्र हैन धेरै नयाँ कुराहरु सिकायो कलेजले । फुपूको सारी ब्यागमा हालेर बाथरुममा चेन्ज गरेर फिल्म हेर्न जान सिकायो । हिरो–हिरोइन नचिने पनि फिल्म हेर्न मज्जा लाग्ने । छोरी मान्छेलाई टीका लगाएर पैसा दिने चलन भएकाले हामी सबैसँग पैसा हुन्थ्यो । टिकट लेराउन भनेर एकजनालाई पैसा दिएको, खाएर बेपत्ता भयो ऊ । फिल्म हलमा पुगेपछि उसलाई नदेखेर हामी लाजले कलेज पनि नगईकन घरतिर फक्र्यौं ।

डान्सलगायत अन्य कार्यक्रमको रिहर्सल हुँदा झ्यालबाट हेरेर बस्थेँ । त्यसरी हेर्दा घर जान ५–१० मिनेट जति ढिला हुन्थ्यो । मेरो घरको नियम कडा भएकाले गर्दा म घरमा केही नहोस् भन्दै भगवान् पुकार्दैपुकार्दै जान्थेँ । साझा बस छुट्यो भने अर्काे पाउन गाह्रो थियो । त्यसैले समयमा नै बस स्टेशन पुग्थँे । पिके कलेजको धोती लगाएकोले कन्डक्टरले पनि आउने–जाने गरेकाले चिनिसकेको थियो । परैबाट मलाई देख्दा रोकिदिन्थ्यो ।

मलाई मेरा क्लासमेटहरुले लाँदैनथे खेल्न । म फस्र्ट बेन्चर भएर पनि होला । हामीहरु हल्ला पनि गर्दैनथ्यौ“ । रजनी पनि फस्र्ट बेन्चर हो । ऊ टिचिङमा रिसर्चर छे अहिले । मथुरा दली (मसँगै रिटायर्ड, बिमा संस्थानमा कार्यरत), मेरा साथीहरु बबिता, सुजन शाह, जानकी राणा, मिरामैयाँ श्रेष्ठ खड्का (सर्वाेच्च अदालतको न्यायाधीश) आदि । हामी सानालाई ठूला साथीहरुले साथमा राख्दैन थिए । उनीहरुका कुरा सुुन्छन् भन्ने ठान्थे ।

अर्की सुलोचना भन्ने ठूली थिइन् । पहिलो बेन्चमा बस्थिन् फेरि पछि उनी आफ्नै ग्रुपमा जान्थिन् । हामी मसिनाहरुमात्र हुन्थ्यौ“ । मेरो बुबाले घर जान पाँच मिनेट ढिला भयो भने पनि दूरबीन लगाएर हेर्नुहुन्थ्यो । हामी स्कुल छुट्नेबित्तिकै घर जान्थ्यौ । त्यसैले होला अहिले पनि बाहिर जानुभन्दा कोठामा किताब लिएर बस्न पाएँ भने सबैभन्दा आनन्दित हुन्छु । घरको कोठाभित्रै बस्न मनपर्छ किताब साथी भए पुग्छ ।

काठमाडौमा उतिबेला असाध्यै जाडो हुन्थ्यो । पचास दिन स्कुल बिदा हुन्थ्यो । त्यतिबेला खेल्ने, मामाघर जाने, साह्रै रमाइला दिन थिए ती । बच्चा भनेको पचासपल्ट मुस्कुराइरहन्छ । दुःख र सुख उसलाई मतलब नै हुँदैन । अहिले भर्खर कसैले पिटेको छ भने पनि ऊ एकैछिनमा बिर्सन्छ । ठूलो भएपछि मान्छेले कसैले घोचेर भन्यो भने वर्षै वर्र्षसम्म सम्झिइन्छ । बिर्सन सकिँदैन । जसले गाली ग-यो त्योसँग भित्रबाट बचपनको जस्तो मुस्कुराउन सकिँदैन ।
त्यसैले त बाल्यकाल । आहा कति रमाइलो ।

लोकल खाजा खाइन्थ्यो । ती स्वादहरु अहिले पनि मेरो जिब्रोमा छन् । घिउ–चिउरा–चिनी, आलु–चिउरा मकै–भटमास, हरियो मकै खाइन्थ्यो । कोठाबाट सामान झिकेर ल्याउनू है भन्दा चोर्नु हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि एक डल्लो घिउ र एक फाँको चिनी क्वाप्प मुखमा हालेर आइन्थ्यो । तामा बहुत मनपथ्र्याे । घर नै बास्ना आउने तामा खाएको धेरै बेरसम्म पनि मेरो हात बास्नादार हुन्थ्यो । खाइसकेपछि म हात सुँघ्थेँ । पेट भरिए पनि तामाले, मन भरिँदैनथ्यो । अहिले पनि मनपर्छ तर स्वास्थले खान दिएन ।

म १२ बर्षदेखि नै व्रत बस्थेँ । हजुरआमाको सङ्गतले एकादशी, मङ्गलबार, सोमबार व्रत बस्थेँ ।
मीन पचासकै समयमा पौष महिनाको पूर्णिमादेखि माघको पूर्णिमासम्म १ महिना स्वस्थानीको कथा घरघरमा भनिन्थ्यो । राति सबैले खाना खाएपछि सबै परिवार बसेर भनिने स्वस्थानीको महिमा रमाइलो लाग्थ्यो । तिलकौडी, निम्की, मकै, भटमास, अ‍ैठे, घिउमा मुछेको चिनी हालेको खट्टे आदि स्वस्थानीको प्रसाद हुन्थे । त्यो खान हामी नसुतीकन बस्थ्यौ । जाडोमा दौरा–सुरुवालमा खल्ती अनि त्यसमा मकै–भटमास खाएको कहिल्यै बिर्सन्नँ । मामाघरमा मलाई नै भन्न लगाउनुहुन्थ्यो । आफैले भनेको कारण मलाई स्वस्थानीको अगाडि–पछाडि पुष्पाञ्जली लिँदा भनिने स्त्रोत अहिले पनि कन्ठस्थ आउँछ ।

हेर्दाहेर्दै एसएलसी पूरा गरेँ । उमेर बढाएर एसएलसी दिइयो । मेरा साथी मथुरा दली र म १३ वर्र्षमै १६ वर्र्षका भयौँ । जागिरबाट पनि सँगै रिटायर्ड भयौँ । मथुरा वल्र्ड टुरमा छिन् । अरु साथीहरु अझै सम्पर्कमा छन् ।

श्रीमद्भागवत् पुराण लगाइएको बेलामा पनि म चोखो भएर व्रत बसेर पूजा गर्थें । कथा सुन्न बस्दा निद्रा लाग्दथ्यो । तर पनि व्रत बसेर एक छाक खाएर बस्थेँ । त्यहाँ चढाइएका प्रसाद र फलफूलहरु सबै आउने भक्तहरु र बच्चाहरुलाई बाँडिदिन्थेँ । त्यसरी बाडेर दिँदा औधी आनन्द लाग्दथ्यो ।
बुबाले मलाई कक्षा पाँचबाट छ मा गएपछि कापी, कलम, मसी, किताब आदि घरैमा ल्याइदिनुहुन्थ्यो । हामीले किन्नु पनि पर्दैनथ्यो । चलेको लुगा पनि ल्याइदिनुहुन्थ्यो । लुगा ल्याइदिएपछि त्यो लाएर अरु ठाउँमा घुम्न जान भने पाइँदैनथ्यो । कोठामा लाएर हे¥यो, बस्यो । एकदिन मामाघरमा जाँदामात्र लाउन पाइन्थ्यो । मेरा सबै लुगा विवाह भएपछि काम गर्नेले लाए । मैले राम्रो लुगा लगाएर घुम्न जान पाएकी थिइनँ । विवाहपछि पनि मेरो रहर पूरा हुन पाएन ।

(घोस्ट राइटिङ नेपालले छापेको केसीकृत मेरो जीवनचक्रबाट)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button