श्रीपञ्चमीमा सरस्वती स्तुति
सरस्वती विद्याकी देवी हुन् । सरस्वतीका प्रार्थना र स्तुतिहरूमा उनको दिव्य रूपको वर्णन हातमा लिएका उपकरणहरूको नाम तथा उनको वाहनको उल्लेख गरिएको छ । उनको स्तुतिगानमा गाइएका पद्यहरूले सेतो हाँसलाई आफ्नो सवारी साधन बनाएर दिव्य ज्ञानले अभिसिञ्चित मानिस रजहाँस जस्तै दूधको दूध पानीको पानी छुट्याउन सक्ने विवेकी बन्न सक्छ भन्ने सङ्केत गरेको छ भने उनको सेतो कपडाले सौम्य विचारको जागरण र वैज्ञानिक दृष्टिले सूर्यबाट आउने परावैजनी किरणबाट सुरक्षा गर्ने जानकारी दिइएको छ । उनले लगाउने मालाले ध्यान र एकाग्रताको सङ्केत गरेको छ भने हातमा लिने कमलको फूलले संसार रचनाको आदिम समयलाई सङ्केत गरेको छ ।
विद्यार्थीले पढ्नुभन्दा अघि, सङ्गीत साधकले वाद्यवादन बजाउनु अघि र शिल्पकारहरूले कलाकौशल निर्माण गर्नुभन्दा पहिले सरस्वतीको प्रार्थना र वन्दना गर्दछन् । अझ कतिपय पूर्वीय काव्यशास्त्रीहरूले त आफ्ना रचना निर्बाध रूपमा सम्पन्न होस् भनेर सरस्वती माताप्रति श्रद्धा भक्तिपूर्वक निकै मीठो नम्र, शुभ्र गीत कविता स्तवनको रूपमा प्रस्तुत गरेका छन् ।
वास्तवमा इहलोकलाई उपभोग गर्न सक्ने र परलोकलाई उज्ज्वल बनाउने पुरुषार्थ सरस्वतीकै असीम कृपा हो । भनिएको छ –
‘सुवर्ण पुष्पितां पृथ्वी, विचिन्वन्ति नराःस्त्रय ।
शूरश्च कृत विद्यश्च यश्च जानाति सेवितुम् ।’
अर्थात् विशाल पृथ्वीमा फुलेको सुनौला फूल तीन जनाले मात्र टिप्न सक्छन् । ती हुन्-
१. शूरवीर
२. आध्यात्म एवं भौतिक विद्या पढेको
३. सेवा नै धर्म हो भनेर समाज सेवामा सरिक हुने।
शौर्य वा पराक्रम आर्जन गर्न ज्ञान नभै सम्भव छैन, परा-अपरा विद्यामा सरस्वतीको दृष्टि अनिवार्य पर्नैपर्छ । सेवाको भाव जगाउन ‘परोपकार पुण्याय पापाय परपीडनम्’को शारदावाणीलाई अनुसरण गर्नुपर्ने हुँदा सरस्वतीभन्दा महान् कोही छैन ।
बिहान उठ्नेबित्तिकै विद्याभ्यासी सात्विकजनहरू हात हेर्दैै भन्ने गर्छन्,
‘कराग्रे वसते लक्ष्मी, करमध्ये सरस्वती ।
करमूले स्थितो ब्रहृमा प्रभाते करदर्शनम् ।।’
अर्थात् हातको अधिल्लो भागमा लक्ष्मी मध्यभागमा सरस्वती र मूल भागमा ब्रहृमाको निवास छ । अतः यही कर्मवादी हातलाई ब्रहृमाको सिर्जनाशीलता, लक्ष्मीको सम्पन्नतालाई जोड्ने र गतिशील संसारलाई मोड्न मध्यभागमा सरस्वतीलाई राखेर सम्मान गर्ने परम्परा रहि आएको छ ।
मन्त्र
सरस्वती माया दृष्टा विणा पुस्तकधारिणी ।
हंस वाहनसं युक्ता विद्यादानं करोतुमे ॥
प्रथमं भारती नाम, द्वितीयं च सरस्वती ।
तृतीयं शारदा देवी, चतुर्थं हंसवाहिनी ॥
पञ्चमन्तु जगन्माता, षष्ठं वागीश्वरी तथा ।
सप्तमं कौमुदी प्रोक्ता, अष्टमं ब्रहचारिणी ॥
नवमं बुद्धिदात्री च, दशमं वरदायिनी ।
एकादशं चन्द्रघण्टेती, द्वादशं भुवनेश्वरी ॥
द्वादशैतानि नामानि त्रिसन्ध्यं यः पठेन्नरः ।
जिह्वाग्रे वसते नित्यं ब्रह्म रूपा सरस्वती ॥
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ॥
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता ।
सा माम् पातु सरस्वती भगवती निःशेषजाड्यापहा ॥१।।
नेपाली अनुवाद:
जो विद्याकी देवी भगवती सरस्वती कुन्दको फूल, चन्द्रमा, हिऊँ र मोतीको हार जस्तो श्वेत(सेतो) वर्णको हुनुहुन्छ र जो श्वेत(सेतो) वस्त्र धारण गर्नुहुन्छ, जसको हातमा वीणा-दण्ड शोभायमान छ, जसले सेतो कमलमा आसन ग्रहण गर्नुभएको छ तथा ब्रह्मा, विष्णु एवं शङ्कर आदि देवताहरुद्वारा जो सदा पूजित हुनूहुन्छ, उनै सम्पूर्ण जडतत्व र अज्ञानलाई दूर गर्ने माता सरस्वती हाम्रो रक्षा गर्नुहोला ।
शुक्लां ब्रह्मविचारसारपरमाद्यां जगद्व्यापिनीं ।
वीणा-पुस्तक-धारिणीमभयदां जाड्यांधकारपहाम् ।।
हस्ते स्फाटिकमालिकां विदधतीं पद्मासने संस्थितां ।
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम् ।।२।।
नेपाली अनुवाद:
शुक्ल(सेतो सफा)वर्ण वाली, सम्पूर्ण चराचर जगत्मा व्याप्त, आदिशक्ति, परब्रह्मको विषयमा गरिएको विचार एवं चिन्तनको सार रूप परम उत्कर्षको धारण गर्ने, सबै भयहरूबाट भयदान दिने, अज्ञानलाई अँध्यरोलाई मेटाउने, हातमा वीणा, पुस्तक र स्फटिकको माला धारण गर्ने र पद्मासनमा विराजमान् बुद्धि प्रदान गर्ने, सर्वोच्च ऐश्वर्यले अलङ्कृत, भगवती शारदा (देवी सरस्वती)लाई म वन्दना(पुजा) गर्दछु ।
(स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट)