पशुपतिनाथः जलहरीको कुरो र विवादको चुरो
पशुपतिनाथको जलहरी र जलहरी विवादबारे अध्ययन अनुसन्धानमा खप्पीस सम्पदा पत्रकार दामोदर न्यौपानेसँग नेपालनाम्चाको कुराकानी ।
पशुपतिनाथको जलहरी कस्तो हुँदो रैछ भनेर मिहिन तरिकाले अध्ययन गरियो भनेर फेसबुकमा लेख्नु भएको थियो । कस्तो हुदो रहेछ जलहरी ?
पशुपतिनाथको दर्शन धेरै पटक गरेर पनि मैले मुर्ति मिहिन तरिकाले हेरेको थिइन । किनभने यो गर्भगृह भएको मन्दिर हो । गर्भगृह भएको मन्दिरमा भित्र दुई वटा घेरा हुन्छन् । पशुपतिनाथको बाहिर एउटा वरिपरि घेरा छ । त्यो भन्दा भित्र अर्को घेरा छ । भित्री घेरामा पशुपतिनाथको ज्योर्तिलिङ्ग छ । गर्भगृह भएको मन्दिरमा मुर्ति नजिक जान पाइदैन । त्यही भएर बाहिरबाटै हेर्ने गरेको थिएँ । अस्ति आइबार बेलुका आरती पुजा हुने बेला पहिलो घेरामा गएँ । यहाँबाट ज्योर्तिलिङ्ग सजिलै देखियो । त्यही बेला जलहरी पनि देखे । फेर्न लागेको जलहरी कस्तो रहेछ भनेर मिहिन तरिकाले हेर्ने मौका मिल्यो । त्यही बेला जलहरि कसरी राख्ने भनेर छलफल पनि भइराखेको थियो । त्यसले पनि जलजलहरीबारे बुझ्ने मौका भयो ।
खासमा के रहेछ जलहरी भनेको ?
पशुपतिको ज्योर्तिलिङ्गमा मात्र नभई अरु शिवलिङ्गमा पनि जलहरी हुन्छ । पशुपतिनाथमा यही जलहरीबाट झरेको पानी बगेर बम्हनालसम्म पुग्छ । ब्रम्हनाल बागमतिमा मिसिन्छ । यो ठाउ त्रिवेणी धाममा रुपमा पनि चिनिन्छ । अन्तिम संस्कारका लागि आर्यघाट ल्याएका मृतकलाई यही ब्रम्हनालमा राखेर पानी खुवाइन्छ । अहिले विवादमा आएको जलहरी यही हो ।
शिवलिङ्गमा चढाएको पानी बगेर झर्ने भाग नै जलहरी हो । लिङ्ग रूप प्रतिमा र मानव रूप प्रतिमा गरी शिवका दुई थरीका प्रतिमा हुन्छन् । पशुपतिको लिङ्ग प्रतिमा रूप हो । शिवलिंगमा भोगभाग, भद्रपीठ र ब्रह्मपीठ गरी लिङ्गका तीन भाग हुन्छन् । लिङ्गको माथिल्लो भाग भोगपीठ, बीचको भद्रपीठ र सबभन्दा तल्लो ब्रह्मपीठ हो । जलहरी ब्रह्मपीठमा हुन्छ । माटोबाट बनेको, काठबाट बनेको, प्रस्तरको, धातुको, रत्नबाट र बालुवा, चामल, चन्दन, रुद्राक्षबाट बनेको गरी ६ प्रकारका शिवलिङ्ग हुन्छन् । पशुपतिको शिवलिङ्ग प्रस्तरको हो ।
सुन र चादीको कुरा पनि आएको छ । खास कुरो के हो ?
पशुपतिमा अहिले चादीको जलहरी छ । ज्योर्तिलिङ्गमा पहिला यसरी मोरिएकै थिएन । राणाकालमा कहिले तामा र कहिले पित्तलले मोरियो । त्यो समय क्रममा थोत्रो हुदै गयो । अहिले पनि चादीको जहरी थोत्रो भएको छ । थोत्रो भएको ठाउँबाट पञ्चामृत चुहिन्छ । चुहिएर खन्काउने समेत भएको पुजारीले गुनासो गर्दै आएका छन् । यसलाई फेर्ने क्रममा अब सुनको राख्ने तयारी भएको छ ।
किन जलहरी भन्ने शब्दको पछि लागेको ? चर्चा कमाउन हो ?
हामी जलहरी शब्दको मात्र पछि लागेको होइन । सम्पदको पछि लागेको हो । म व्यक्तिगत रुपमा लामो समयदेखि सम्पदको पछि लागेको छु । सम्पदामा केही गर्न अहिले हामी संगठित भएका छौं । हामीले संगठित रुपमा संस्कृति सम्पदामा देखिएका समस्यामाथि प्रश्न गर्ने छौं । अहिले जलहरी विवादमा छ । स्थानीयवासी राख्नु हुदैन भनिराखेका छन् । विश्व सम्पदा स्थल भएकाले विश्व सम्पदा क्षेत्रको मुल्यमान्यता विपरित छ । प्राचीन स्मारक संरक्षण ऐन विपरित छ । सम्पदा क्षेत्र जस्तो छ, त्यस्तै राख्नु पर्ने यो ऐनले व्यवस्था गरेको छ । चाँदी हटाएर सुन राख्नासाथ नया काम हुन्छ, जुन ऐन विपरित हो । अर्को कुरा शिव तडकभडक नगर्ने देवता भएकाले महंगा गरगहना राख्नु हुदैन भन्ने शैवमार्गीकै मत छ । अर्कोतिर भण्डारको सामानको जिम्मा लिने भण्डारीले जिम्मा लिंदैनौ भनिराखेका छन् । यो विवादको निकास के हो त भनेर हामीले सरोकारवालबीच छलफल चलाउन लागेका हौं । सबैलाई हामीले प्रश्न गर्न लागेका हौं । अब हामी निरन्तर प्रश्न गर्ने छौं । पत्रकारले गर्ने नै प्रश्न हो भनेर हामी समाजमाफर्त सन्देश दिन चाहन्छौं । यी काम चर्चाका लागि होइनन् । हाम्रो जिम्मेवारी हो । प्रश्न गर्नु पत्रकारको जिम्मेवारी हो ।