स्वस्थानी सिरिज ४ः अमेरिकी विद्धान जेसिका भन्छिन्, ‘एसियाकै उत्कृष्ट’

‘माधवनारायण स्वस्थानी व्रत एसियाकै उत्कृष्ट’

बीए पढ्दै गर्दा उनी पहिलो पटक साँखुमा सन् १९९९ मा आएकी थिइन् । पछि सन् २००५, २००६, २००८ र २०१४ मा पनि केही दिनको लागि साँखु आएकी थिइन् । उनी दक्षिण एशियाका महिलाहरुको परम्पराका साथै (माधवनारायण) स्वस्थानी व्रतकथामा विद्यावारिधी हुन् । अमेरिकाको यूनिभर्सिटी अफ इलिनोयसका सहप्राध्यापक जेसिका वान्थाईन विरकेन्होल्जसँग स्थानीय प्रविणराज श्रेष्ठको घरमा पत्रकार पवनलाल श्रेष्ठले सन् २०१४ जनवरी २६ मा संस्कृति, परम्परा र माधवनारायण स्वस्थानी व्रत आदिबारे अन्तर्वार्ता गरेका थिए । त्यही अन्तवार्ता यहाँ प्रस्तुत गरिएको छ ।

पहिलोपटक साँखु कहिले आउनुभएको थियो ?
म सन् १९९९ मा पहिलो पटक बीए पढ्दै गर्दा साँखु आएको थिएँ । दक्षिण एशियामा महिला परम्पराबारे अध्ययन गर्ने सिलसिलामा म यहाँ आएकी थिएँ । पछि, मैले दक्षिण एशियामा भाषा र सभ्यताबारे विद्यावारिधी (पीएचडी) गरेको थिएँ ।

नेपालको कुन कुन सहर घुम्नुभएको छ ?
मैले काठमाडौँ, साँखु, भक्तपुर, पाटन, जनकपुर लगायतका साँस्कृतिक सहरहरु घुमेको छु । साथै तराईका कतिपय जिल्लाहरुमा पनि पुगेको छु । राम्रोसँग सबै जिल्लाहरुको नाम मलाई सम्झना छैन । विशेषगरी मैले तराईका जिल्लाहरुमा मनाइने जितिया, छठ, तीज, विवाह पञ्चमी, अनि साँखुको माधवनारायण स्वस्थानी व्रत सम्बन्धी अध्ययन गरेको थिएँ । त्यसमा पनि मैले स्वस्थानी व्रतलाई अन्य चाड पर्व र व्रतहरुको तुलनामा अति उत्कृष्ट र कठिन व्रतका रुपमा पाएकी छु । यो व्रत पूजा दक्षिण एशियाकै उत्कृष्ट व्रत पूजा हो ।

तपाईंले गर्नुभएको अनुसन्धान अनुसार सबैभन्दा पुरानो स्वस्थानी कति वर्ष पुरानो रहेको छ ?
सम्भवतः ४४१ वर्ष अगाडिको पुस्तक हुनुपर्छ । त्यो पुस्तक ने.सं. ६९३ को स्वस्थानीको पुस्तक हो । त्यसमा स्वस्थानीको व्रत सम्बन्धी पूजा विधीहरु २ दिन र १ रातको मात्रै वर्णन गरिएको छ । त्यसपछि ने.सं. ७२३ को स्वस्थानी पुस्तकमा भने १ महिनाको व्रत पूजाको वर्णन गरिएको पाएको छु ।

स्वस्थानी व्रतमा छुवाछुतको व्यवस्था तपाइँलाई कस्तो लाग्यो ? त्यहाँ विभिन्न जातिका मानिसहरुलाई अछुतको रुपमा व्यवहार गरेको पाईन्छ नि !
म खुल्ला समाजको मान्छे । अनि म क्रिश्चियन धर्मावलम्बी त्यसैले मैले अर्को धर्म र संस्कृतिबारे बोल्दा अलिकति विचार पु¥याउनै पर्ने हुन्छ । तर पनि मलाई व्यक्तिगतरुपमा केही कुराहरु अप्ठ्यारो महसुस पनि भएको छ । मलाई लाग्छ यो परम्परा र संस्कृति पनि सदियौँदेखि अगाडि बढिरहेको र यहाँको समाजले स्विकारेको देखिएको हुँदा मलाई कुनै आश्चर्य लागेन । सम्भवतः यो व्रत पूजा चलाएको समयमा यस्तो खाले व्यवस्था जरुरी थियो कि ! फेरि यो व्रत अत्यन्त कठिन व्रत भएको हुँदा यस व्रतपूजामा केही कठिन र गाह्रो साह्रो नीति नियम बनेको पनि हुनसक्छ । तर मैले त्यस्तो विशेष केही कुरा लिखितरुपमा भने पाईन । मैले अध्ययन गरेको समय १९९९ मा र आज २०१४ मा हेर्दा केही फरक महसुस समेत गरेको छु ।

स्वस्थानी व्रत पूजासम्बन्धी अध्ययन गर्ने क्रममा आफूलाई कस्तो महसुस भयो ?
रमाइलो अनुभव भयो । तर, व्रत पूजामा सरिक व्रतालुहरुलाई गाह्रो भएको देख्दा आफूलाई पनि यो व्रत वास्तवमै कठिन भएको महसुस भयो ।

तपाईंको अध्ययनमा स्वस्थानी व्रत र माधवनारायणबीच के सामञ्जस्यता पाउनु भयो ?
मैले विभिन्न कालखण्डका पुस्तकहरु अध्ययन गर्दा पनि माधवनारायण र स्वस्थानी व्रत पूजा जोडिएको पाइनँ तर माधवनारायण र विष्णु भगवान एउटै भनिने भएकोले पार्वतीलाई विष्णु भगवानको मुखारविन्दबाट स्वस्थानी व्रत पूजासम्बन्धी विधी बताइएको हुँदा मात्रै जोडिएको हो कि जस्तो लाग्छ । हुनतः माधवनारायण व्रत भनेर भक्तपुरमा पनि पाइँदो रहेछ । तर, स्वस्थानी मन्दिर मैले अहिले साँखुमा पाएको छु । पहिल्यै थिएन । तर, मैले सुने अनुसार काठमाडौँको मखन टोलमा स्वस्थानीको मन्दिर रहेको छ । हुनतः माधवनारायणको व्रत खोकनामा पनि मनाउने गरेको सुनेकी छु ।

स्वस्थानीमा वर्णित लावण्य देश कहाँ होला जस्तो छ ?
ठ्याक्कै त्यस्तो भूगोलमा उल्लेख गरिएको मैले पाइनँ । तर, सम्भवतः साँखु वा नगदेश हुन सक्ने सम्भावना मैले पाएको छु ।

साँखु नगरी कस्तो लाग्यो ?
बडो सुन्दर नगरी । मलाई साँखुको हावापानी र यहाँका मानिसको संस्कृति र परम्परामा रहेको अगाध विश्वास देख्दा अति रमाइलो र बिर्सनै नसकिने सहरको रुपमा मैले साँखुलाई पाएको छु । त्यसैले त म पटक पटक साँखु आइरहेको छु ।

अन्त्यमा केही ?
यस सुन्दर नगरी साँखु, शंखरापुरका स्थानीयलाई धन्यवाद दिन चाहन्छु । उहाँहरुको सहयोगकै कारण मात्र मैले यहाँको समाज, रितिरिवाज, परम्परा र स्वस्थानी व्रतबारे जान्ने मौका पाएँ । नेपाल संस्कृति र परम्परामा धनी रहेछ । त्यसमा पनि नेवारी परम्परा अति उच्च रहेको मैले पाएँ । अरुको विश्वास नतोड्ने नेवार परिवारको संस्कृतिले म प्रभावित भएँ ।

जेसिका वान्थाईन विरकेन्होल्ज

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button